• मंसिर १२ २०८१, बुधबार

गोंगबु भैरब सहकारीले शेयरधनीलाई प्रमाण पत्र वितरण गर्यो

चैत्र २१ २०७७, शनिबार

काठमाडौंको गोंगबुमा अवस्थित गोंगबु भैरव बहुउद्देश्यीय सहकारी संस्थाले शेयरधनीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । टोखा–९, शान्ति समाज टोलमा रहेको सो सहकारीको कार्यालयमा आयोजीत एक कार्यक्रमकाबीच आफ्ना शेयरधनी सदस्यहरूलाई शेयर प्रमाण–पत्र वितरण गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ अनामणिको सभापतित्वमा भएको कार्यक्रममा टोखा न.पा. वडा नं ९ का वडा सदस्य रामभक्त घिमिरेको प्रमुख अतिथिको रुपमा सहभागी थिए । प्रमाण पत्र वितरण कार्यक्रम कोषाध्यक्ष तथा प्रबन्धक कृष्णबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा वडाध्यक्ष घिमिरेले गोंगबु भैरव बहुउद्देश्यीय सहकारी संस्था टोखा नगरपालिका भरीकै अब्बल र उत्कृष्ट रहेको बताए । उनले यस्ता असल र उत्कृष्ट संस्थालाई आफ्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट पनि सहयोग गर्ने बचन दिए ।

कार्यक्रमका सभापति रत्नप्रसाद अनामणि श्रेष्ठले यो सहकारी समुदायको साझा संस्था भएकोले यसको विकास र विस्तारको लागि सबै शेयरधनी सदस्यहरूको साथ र सहयोग चाहिने बताए । उनले सञ्चालकहरूलाई सही बाटोमा हिडाउँदै सहकारीलाई बढी नाफामूलक बनाउन सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । कोषाध्यक्ष तथा प्रबन्धक कृष्णबहादुर केसीले संस्थाको आर्थिक गतिविधिमाथि प्रकाश पार्दै संस्थाको हिसाबकिताब सधैँ तन्दुरुस्त राखिने बताए ।

संस्थामा शेरधनी सदस्यहरु ८८ जना र दैनिक, नारी, बाल, जेष्ठ लगायत विभिन्न बचत कर्ता सदस्यहरु ६६ समेत गरी जम्मा १५४ जना सदस्यहरू रहेको कोषाध्यक्ष केसी ले जानकारी दिए । गत वर्ष टोखा न.पा.मा दर्ता भएको गोंगबुँ भैरव बहुउद्देश्यीय सहकारी संस्था लिसँग शेयरवापतको रु. २५,४८,०००।– समेत गरी हाल ४४,५९,८६४।– नगद रहेको अध्यक्ष श्रेष्ठले बताए ।