सर्वोच्च अदालतले ‘आआफ्नो गरेर खाऊ’ भनी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई आआफ्नै घर फर्काइदियो । तर आफ्नै घरमा पनि फर्केर बस्न सकेनन् एमाले र माओदीहरु ! कतिपय माओवादीहरु एमाले नै हुन तयार भए । उतै बसे पनि ! एमाले भने कोही पनि माओवादीमा बसेनन् । तर आश्चर्यको कुरा त के देखियो भने एमाले नै एकापसमा मिल्न सकेनन् । सँगै बस्नुको सट्टा एकअर्कालाई ‘हान्न र हुन्न’ गरिरहेका छन् । अब त देशभर समानान्तर कमिटीहरु निर्माण भैरहेका छन् ।
आफ्नै घर फर्केको माओवादी केन्द्र एमालेको बुई चढेर हेरेको जस्तो टाढा हेर्न नसक्ने अवस्थामा छ । त्यसो त यसको उचाइ पनि घटिसकेको छ । यसले सत्तारुढ ओली एमालेको सरकारविरुद्ध न त अविश्वासको प्रस्ताव ल्याउने हैसियत राख्छ, न त सरकारको समर्थन फिर्ता नै । बरु यसलाई कतै ‘सभामुख’ पो गुम्ने हो कि भन्ने त्रासले थरिकम्म बनाएको छ । महराको पालामा प्रचण्डले गरेको गल्तीले अहिले सापकोटाको पालासम्म आएर पीर्ने भएको छ ।
प्रचण्डका लागि राजनीतिक परिस्थिति अनुकुल छैन । बादलसहितका केही नेता एमालेमै बसिदिए । हुन पनि हो, माओवादीलाई शान्ति प्रक्रियामा आएपछि माओवादी भैराख्नु निकै कठिन थियो । यो कि त एमाले हुनु पथ्र्यो, कि त नेपाली कांग्रेस हुनुपथ्र्यो । बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ त्यसै खोलेका होइनन् । यो कुराले बल्ल प्रचण्डको घैंटो तताएको हुनुपर्छ । बाबुराम अहिले कहाँ छन् यो बहसको अर्को विषय हुन सक्छ । तर बादल पनि त माओवादीमा फर्किएनन् । धेरैले सहजै रुपमा प्वाक्कै बोलिदिन्छन्- ‘बादल पदलोलुप हुन्, गृहमन्त्री खानका लागि एमाले भएका हुन् ।’
सतही रुपमा झट्ट हेर्दा ‘हो क्यारे’ जस्तो पनि लाग्न सक्छ । तर हरेक कुराका आआफ्नै जिली र गाँठी हुन्छन् । धेरैजसोको टिप्पणीमा कि त विगतको ‘ह्याङ ओभर’ देखिन्छ, कि त आगतको श्वैर कल्पनिक अनुमान मात्र ! कुरो वर्तमान के हो भन्ने नै हो । ‘बाउन्न पत्तिका त्रिपन्न खेल’ वर्तमानमा हुन्छ । बादलले बुझे होलान्, ‘माओवादी’का लागि विचार र कार्यदिशाका हिसाबले ‘एमाले’ वा ‘कांग्रेस’ नभई सुखै छैन । यसको बोध प्रचण्डलाई स्थानीय निर्वाचनमा कांग्रेससँग सहकार्य गर्दा र प्रादेशिक तथा संघीय निर्वाचनमा एमालेसँग सहकार्य गर्दा भैसकेको हुनुपर्छ पनि ।
माओवादी स्वयम् ‘एमाले’ र ‘कांग्रेस’ हुन जाँदा एमाले र कांग्रेस अझै पर पुगेर ‘अमेरिकी’ र ‘भारतीय’ लबीका बाँडिइरहेको भक्कु लाटोले पनि बुझ्छ । त्यही भएर ‘माओवादी’ त परै जाओस् ‘एमाले’ र ‘कांग्रेस’ पनि अमेरिका र भारततिर सोझिएको देखेपछि बादललाई माओवादी बनेर फर्कनुमा कुनै गुन्जायस नरहेको बोध हुनु स्वभाविकै हो । उनको निर्णय अन्यथा मान्न सकिन्न ।
‘अमेरिकी लबी’ र ‘भारतीय लबी’का कारण कांग्रेस च्यातिन तम्तयार छ । यही दुई ‘अमेरिकी’ र ‘भारतीय’ लबीका कारण एमाले फुटेको फुट्यै छ । ओलीजीले भारतीय लबी स्वाद नमान्ने र माधवजीले अमेरिकी लबी देखिनसहने, एकता कसरी संभव हुनु ? त्यसैले एमाले जुट्ने संभावना क्षिण हुँदै गएको छ । नेपालमा अन्तर्राष्ट्रिय ध्रुवीकरण पेचिलो बनेर आएको छ । यसले देशको आफ्नो स्वत्वसहितको राजनीति र नेताहरुको स्वाभिमानमा ठूलो आँच पुर्याएको छ ।
हाल नेपालमा तत्कालका लागि चीनको जीटुजी सम्बन्धमात्र क्रियाशील छ । चीन नेपालको आन्तरिक मामलाको सन्दर्भमा दुई कदम पछि हटेको छ । यसको अर्थ हो, चिनियाँ लबी नेपालमा तत्कालका लागि अस्तित्वमा छैन । सुषुप्त अवस्थामा हुन सक्ला पनि । चिनियाँ लबी अनुपस्थित भएको यो अवस्थामा राजनीतिक तथा वस्तुगत अन्तरविरोधको नियमले पनि नेपालको ‘माइक्रो म्यानेजमेन्ट’मा कसको बर्चस्व कायम राख्ने भन्नेमा अमेरिका र भारतको खिचातानी स्वाभाविक रुपमा प्रबल बनेर आउँछ । यद्यपि चीनविरोधी अन्तर्राष्ट्रिय लबीमा अमेरिका-भारत एउटै गठजोडमा किन नहोऊन् ।
चिनियाँ लबीको क्रियाशील उपस्थिति नहुनुका कारण अमेरिकी र भारतीय स्वार्थ जुध्न र बाझ्न पुग्दा एमालेका दुई पंक्ति ‘ओली खेमा’ र ‘नेपाल खेमा’ एक ठाउँमा अटाउन सकिरहेका छैनन् ।
यो सबै नेपालमा अमेरिकी ध्रुवीकरणका कारणले नै हो । नेपालको सन्दर्भमा अमेरिकाको हात माथि परेको र भारतको हात तल परेको यस पालादेखि मात्र हो ।
व्यवहारमा यी खेमाहरु खुल्लमखुल्ला विदेशी लबीको वकालत गरिरहेका छन् । ओलीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन खोज्दा’ पार्टीभित्रैबाट म र मेरो सरकारविरुद्ध चलखेल सुरु भयो भन्नु र प्रचण्ड-माधव साथै हुँदा प्रचण्डले ‘दिल्ली-कम्फर्टेबल’ सरकार निर्माण गरिनु पर्छ भन्नु आफैमा दिनको घाम झैं छर्लंग हुने अभिव्यक्तिहरु हुन् ।
यदि नेताहरुमा कहिंकतै आत्मस्वाभिमान र देशको माटोप्रति माया र बफादारिता छ भने एकपटक ‘इगोको लडाइँ’ छोडेर देश र जनतातिर फर्किएर सोच्ने आँट कतै पल्हाउला कि ?