काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात् पुनःस्थापनाको माग गर्दै पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले देशैभर सडक आन्दोलन र विरोध सभा गरेका थिए ।
त्यसपछि विघटित प्रतिनिधि सभा स्थापना भयो । प्रतिनिधि सभा स्थापना पश्चात् सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेको छ । नेकपा बदर भएपछि तत्कालिन ठूला राजनीतिक दल एमाले र माओवादी केन्द्रले पुनर्जीवन पाएको छन् ।
एमाले र माओवादी केन्द्रले पुनर्जीवन पाएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आआफ्नै पार्टीमा फर्किएका छन् । अध्यक्षद्वय आफ्नै पार्टीमा फर्किएसँगै एमालेमा दुई लाइन संघर्ष सुरु भएको छ । एकतिर ओली छन् भने अर्कोतिर नेपाल छन् । उनीहरूबीच कडा टक्कर सुरु भएको छ ।
यही टक्करकाबीच दुई साता पहिले नेपाल र उनी पक्षका नेताहरू भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरूलाई स्पष्टिकरणका लागि ओलीले १० बुँदे स्पष्टिकरण पत्र पठाएका थिए । ओलीले पठाएको स्पष्टिकरण पत्रको जवाफ नेपाल र रावलले दिएका थिए ।
तर, ओलीलाई उक्त पत्रको जवाफ चित्त बुझ्दो नभएपछि ६ महिनासम्मका लागि नेपाल र रावललाई पार्टीबाटै निलम्बन गरिएको छ । नेपाल र प्रचण्डले संसद विघटनपछि नेकपाको हैसियतमा नेपालले ओलीलाई साधारण सदस्य नरहने गरि हटाएका थिए ।
त्यसपछि अदालतले संसद पुनःस्थापना गरेपछि नेपाललाई एमालेको ढोका बाहिर राखेर ओलीले पार्टीबाट ६ महिनासम्मका लागि निलम्बन गरेका छन् । लिम्बनमात्रै होइन, ओलीले चेतावनीको भाषामा थप गतिविधि गरे कारबाहीको प्रक्रिया थप लम्बिनेसमेत नेपाललाई जनाउ दिएका छन् ।
योसँगै नेपाल पार्टीबाटै निलम्बनमा परेपछि उक्त पक्षमा उतार चढाव आएको छ । नेपालले अब के गर्लान् ठ्याक्कै अनुमान गर्न नसकिए पनि उनी पक्षका केही नेताहरूले नयाँ दल खोल्नुपर्ने अडान राखेका छन् । नेताहरूले दल खोल्ने अडान राखेपछि नेपालले यस विषयमा कुनै आधिकारिक धारणा नराखेको बताइएको छ ।
नेपाल पक्षका एक नेताका अनुसार, –‘हामीलाई नयाँ दल खोल्ने अवस्थामा ओलीले पुर्याएका छन् । तर, हामी अझै केही समय पार्टीभित्रै रहेर संघर्ष गर्छौँ । एमाले पार्टी ओली एक्लैले निर्माण गरेका होइनन् । हजारौँ नेता तथा कार्यकर्ताको खुन, पसिना र बलिदानीबाट निर्माण भएको हो । यसर्थ हामी तत्काल पार्टीबाट विचलित हुँदैनौँ ।’
तथापि नेपाल पक्षले सोमबारदेखि नै आफ्ना नेता तथा कार्यकर्ताहरूसँग भेटघाट र छलफललाई अगाडि बढाएका छन् । सोमबार साँझ नेपालले नेता भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदुराम भूषालसँग छलफल गरेका छन् । त्यसपछि उनीहरूले स्थायी कमिटीको बैठकमा बसी थप रणनीति तय गर्ने भएका छन् ।
त्यसभन्दा पहिले उक्त पक्षले देशका ७७ वटै जिल्लामा सामान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीका विभिन्न भातृ संगठनहरूमा सामान्तार कमिटी यसअघि नै गठन भैरहेका छन् । तर, सामान्तर कमिटी गठन हुँदैमा नयाँ पार्टी खोल्नु भनेको होइन । बरु ओलीलाई चुनौती दिएका हौँ, नेपाल पक्षका नेता अमृत बोहोरा बताउँछन् ।
बोहराका अनुसार, –‘सामान्तार कमिटी गठन हुनु भनेके नयाँ दल खोल्नु हुँदै होइन । तर, दल खोल्ने सोचाइ केपी ओलीबाटै हुनसक्छ । हामीले सोचेका छैनौँ ।’
गत साता एमालेको केन्द्रीय कमिटी र दलको दुवै बैठकले अध्यक्ष ओलीलाई संसद् सचिवालय, संवैधानिक आयोगलगायत पार्टीका तर्फबाट पत्राचार गर्ने अधिकार दिएको छ । उक्त अधिकार प्रयोग गरि ओलीले उनीहरुको सांसद पदसमेत खारेजीका लागि सिफारिस गर्न सक्ने भएकोले यसतर्फ नेपाल पक्ष निकै सजग रहेको छ । उक्त बैकठले पार्टी र सांसदबाट निलम्बन गर्न सक्ने अधिकार प्रदत्त गरेपछि ओली थप शक्तिशाली भएका छन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८ मा विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई दलले कारण खुलाई कारबाही गर्न सक्ने व्यवस्था छ । ऐनको दफा २८ मा संसदीय दलको नेताले दलका सांसदहरूलाई निर्देशन दिन सक्ने व्यवस्था छ ।
निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्नेछ । उक्त विवरण प्राप्त भएपछि दलको केन्द्रीय समितिले सुनुवाइको मौका दिई स्पष्टीकरण चित्त बुझ्दो नभए त्यस्तो सदस्यलाई दलबाट निष्कासन गर्ने व्यवस्था छ ।
ओलीले यहीँ कानुनी व्यवस्थामा टेकेर नेपाल र उनीपक्षका सांसद रिक्त गर्न सिफारिस गर्न सक्ने छन् । ओलीसँग यी प्रशस्त कानुनी उल्झन र विकल्प भएकै कारण नेपालपक्ष कि उनीसँग मिल्नु पर्छ । होइन भने, नयाँ दल खोल्न सक्नु पर्छ ।
नेपालले नयाँ दल खोल्ने चहाना राखेपनि उनीपक्षका केही नेताले स्वीकार्न सकेका छैनन् । यसर्थ नेपालले तत्काल दल खोल्ने सम्भावना न्यून छ । यद्यपि उनी आफ्ना नेताहरूसँग छलफल र भेटघाटकै क्रममा छन् ।