• मंसिर ११ २०८१, मंगलवार

क्रान्तिकारीबाटै प्रतिक्रान्ति भएपछि कस्को आशा गर्ने ?

चैत्र १६ २०७७, सोमबार

देशको समग्र क्षेत्रको परिवर्तन र देशलाई नै आज चरम संकटमा पारिएको छ । जनजीविकाको अवस्था पनि कम संकटमा छैन । तर जनवादी क्रान्तिको पूर्णता, स्थायित्व तथा राष्ट्रिय क्रान्तिको सफलता र संरक्षण भएमा जनजीविका स्वतः सहज र सरस हुने निश्चित हुन्छ । हुन त नेपालमा जनवादी क्रान्ति नभएको होइन, तथापि यो दह्रो र दीगो हुन नसक्दा प्रतिक्रान्ति र प्रतिगमन भइरहने गरेको छ । यो विडम्बनापूर्ण विपरित प्रकृया बारम्बार हुने गरेको छ । त्यसैले प्रतिक्रान्ति र प्रतिगमनका विरुद्ध संघर्ष गर्दै जनवादी क्रान्तिलाई पुनः र पूर्ण सफल गरेर यसको संरक्षण र सम्वर्द्धन गर्नु, प्रतिक्रान्ति र प्रतिगमनलाई ठोक्दै र रोक्दै जनवादी क्रान्तिलाई सुरक्षित र विकसित गर्नु अहिलेको हाम्रो एउटा राष्ट्रिय आवश्यकता भएको हो ।

नेपालमा बारम्बार क्रान्ति र अग्रगमन त हुने तर फेरि बारम्बार प्रतिक्रान्ति र प्रतिगमन पनि भइरहने र अझ त्यसमा पनि पछिल्लो स्थितिमा त क्रान्तिकारीहरुबाटै प्रतिक्रान्ति हुने गरेको बिचित्र विडम्बनापूर्ण इतिहास र वर्तमान विद्यमान छ । यसै दुःखद विडम्बनाबाट मुक्ति पाउनको लागि देशमा आज क्रान्तिकारी ध्रुवीकरण अर्थात् विभिन्न क्रान्तिकारी शक्ति, संघसंस्था र संगठनहरुको एकीकरणसहित विभिन्न शक्तिहरुभित्र रहेका वा बाहिर स्वतन्त्र रुपमा रहेर क्रान्ति, परिवर्तन र अग्रगमनको निम्ति संघर्ष गरिरहेका सच्चा क्रान्तिकारी र जनवादी र लोकतन्त्रवादीहरुको एउटै क्रान्तिकारी दिशामा ध्रुवीकरण हुनु नै अहिलेको एउटा आवश्यकता भएको छ ।

यसरी नै कुनै पनि देशको क्रान्तिको अर्को एउटा मुख्य पाटो राष्ट्रिय क्रान्तिको पाटो हो । यो त हाम्रो देशमा भएकै छैन बराबर भएको छ । बरु उल्टै जनवादी क्रान्तिको विजय र सफलतासँगै नेपाल राष्ट्र र यसको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता, अक्षुणता र अखण्डता जस्ता गर्व र गौरवका विषयहरु झन् पछि झन् संकटग्रस्त बन्दै धराप र ध्वंसको स्थितिमा पर्दै आएको एउटा अपत्यारिलो विडम्बना उत्पन्न भएको छ ।

सायद यसै विडम्बना हुने देखेर नै कमरेड माओले आफ्नो नयाँ जनवादी क्रान्ति सम्बन्धी थेसिसमा संश्लेषण स्वरुप साम्राज्यवादी युगमा जनवादी क्रान्तिका दुई मुख्य कार्यभार जनवादी (लोकतान्त्रिक) र राष्ट्रिय हुने निष्कर्ष निकालेर चीनमा सो प्रयोग गरेर पनि देखाउनु भयो । यसरी नै माओले घरेलु प्रतिकृयावादी सामन्ती (पुँजीवादी शोषण) दमनबाट र वैदेशिक साम्राज्यवादी उपनिवेशवादी शोषण, उत्पीडन र हस्तक्षेपबाट चिनियाँ जनता र राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउनु भएको हो ।

नेपालमा पनि चीनमा माओले गर्नुभएकै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी घरेलु र वैदेशिक शोषण र उत्पीडनबाट जनता र राष्ट्रलाई स्वतन्त्र र मुक्त बनाउने भन्ने महान् उद्देश्य अनुसार नै शान्तिपूर्ण र सशस्त्र संघर्ष गर्दै जाने क्रममा २००७ सालमा राजतन्त्रात्मक बहुदलीय संसदीय प्रजातन्त्र आयो । तर २०१७ मा प्रतिक्रान्ति र प्रतिगमन भै निर्दलीय पंचायती प्रजातन्त्रको रुपमा निरंकुश राजतन्त्र स्थापित भयो । अनि त्यसका विरुद्धमा २०२८ मा सशस्त्र झापा विद्रोह हुँदै २०४६ मा जनआन्दोलन भयो र संवैधानिक राजतन्त्र सहितको बहुदलीय संसदीय प्रजातन्त्र पुनर्वहाली भयो ।

तत्पश्चात पनि जनताका जनतान्त्रिक हकहित र राष्ट्रका स्वाधीनता र स्वाभिमानका कुराहरु संरक्षित र सम्बर्धित हुन सकेनन् र दिनानुदिन जटिल र गमुख्यतः २०५२ मा माओवादी जनयुद्धको स्वरुपमा विद्रोह भई जनवादी क्रान्तिको सुरुवात सशस्त्र संघर्षको रुपमा समेत भएको थियो । त्यसको सफलता स्वरुप एकीकृत र केन्द्रीकृत सामन्ती राजतन्त्रात्मक उच्चजातीय हिन्दु धार्मिक अधिराज्यको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको पनि २०६५ सालमै स्थापना गरिएको हो । तर दुःखको कुरा के भयो भने, न त अहिले पनि जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता जनवादी हकहितसँग सम्बन्धित संविधान प्रदत्त आधारभूत जनअधिकारहरुको व्यवहारतः उपयोग र उपभोग गर्न पाएर जनजीवन केही सहज भएको छ न त राष्ट्रियताको दृष्टिबाट देश मुक्त भई स्वाधीन, स्वतन्त्र र समृद्ध हुन पाएको छ ।

बरु यस्तो विचित्र विडम्बना भएको छ कि जनवादी क्रान्तिको सफलताको सँगसँगै देश त झन् पछि झन् वैदेशिक शोषण, उत्पीडन र हस्तक्षेपको झन झन् बढी सिकार हुँदै गएकोले देश त पूरै परनिर्भर, परजीवी र परमुखापेक्षी भएको छ । यसरी नेपालको राष्ट्रिय अस्मिता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान मात्र हैन पहिचान र स्वत्व अस्तित्व नै समाप्त हुने सर्वाधिक गम्भीर, संवेदनशील र जटिल अवस्था उत्पन्न भएको छ ।

त्यसै कारणले गर्दा नै आज पनि एकातिर जनवादी क्रान्तिलाई पूर्णता दिन र हालको नेपालको संविधानद्वारा प्रदान जनताका गरिएका सम्पूर्ण अधिकारहरु व्यवहारतः प्राप्त गर्न तथा थप र उन्नत अधिकारहरु पाउँदै जानको लागि पनि क्रान्तिकारीहरुको ध्रुवीकरण र एकता जरुरी भएको छ भने अर्कातिर राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र भौगोलिक आदि सबै हिसाबले देशको उदारीकरण र औपनिवेशीकरण स्वरुप फिजीकरण र सिक्किमीकरण हुँदैजाँदा देशको अस्तित्व र नामनिसान नै गुम्ने चरम खतरा भएको हुँदा राष्ट्रिय मुक्तिको निम्ति हुने राष्ट्रिय क्रान्तिको लागि देशका सबै राष्ट्रवादी र देशभक्त शक्ति र व्यक्तिहरुको राष्ट्रिय ध्रुवीकरण र एकता पनि अनिवार्य आवश्यकता बन्न गएको हो ।