• मंसिर १२ २०८१, बुधबार

चिनियाँ आर्थिक वृद्धि ५ वर्षसम्म सुस्त रहने प्रक्षेपण

चैत्र १६ २०७७, सोमबार

एजेन्सी, उपभोगमा आधारित चीनको आर्थिक वृद्धि आगामी पाँच वर्ष सुस्त हुने प्रक्षेपण गरिएको छ । कोभिड-१९ महामारीका कारण रोजगारी र निर्माण लगायत काम हुन नसक्दा उपभोग घटेको त्यहाँको सरकारी अनुसन्धानले देखाएको छ । ‘कुल गार्हस्थ उत्पादनमा उपभोगको हिस्सा विगत वर्षहरूको तुलनामा सुस्त हुने रहेको छ’ चाइना एसोसिएसन अफ पोलीसी साइन्सेस, इकोनोमिक पोलीसी कमिटीका उपनिर्देशक सु होङकाइले भनेका छन् । उक्त पोलीसी साइन्सेस चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति मातहतको नीति अनुसन्धान थिंक टयांक हो ।

उपभोगमा आधारित आर्थिक वृद्धि सुस्त हुने भन्दै त्यस्को विकल्पमा लगानीमा आधारित आर्थिक विस्तारलाई बढावा दिनुपर्ने उनको भनाई छ । बेइजिङले यसअघि नै ऋणमा आधारित बजेट बढाएर लगानीलाई आर्थिक वृद्धिको साधन बढाउने भन्दा पनि उपभोग बढाउनेतर्फ ध्यान दिदैं आएको छ । विगत एक दशकमा तुलनात्मक रूपमा तीव्र ढंगले उपभोग बढेपनि कोभिड-१९ महामारीका कारण यसमा गिरावट आएको छ ।

ब्लुमवर्गले गरेको सर्वेक्षणमा औद्योगिक उत्पादन मार्च महिनामा तीन वर्ष यताकै महगो भएको उल्लेख गरिएको छ । चीनले भने बजेटमा कडाइँ गरेको छ । चीनले वित्तीय घाटा समेत घटाउने लक्ष्य राखेको छ । यो वर्ष सरकारको खर्च र राजस्वको खाडल कुल गार्हस्थ उत्पादनको ३.३ प्रतिशत छ । सन २०२० मा त्यस्तो घाटा ३.६ प्रतिशत थियो । बजेट घाटा कम हुनुको अर्थ चीनले अलिक कठोर वित्तीय नीति अबलम्बन गरेको आकलन गरिएको छ ।

चीनले स्थानीय सरकारले जारी गर्ने विशेष बचतपत्रको कोटा समेत कटौती गरेको छ । यो वर्ष स्थानीय पूर्वाधारमा ५ सय ६० अर्ब अमेरिकी डलर लगानी हुनेछ भने अघिल्लो वर्ष ५७६ अर्ब डलर लगानी भएको थियो ।

त्यस्तै बेइजिङले केन्द्रीय सरकारले जारी गर्ने बचतपत्र पनि जारी गरेको छैन । चीनको केन्द्रीय सरकारले गत वर्ष १ सय ५४ अर्ब डलरको बचतपत्र बिक्री गरेको थियो । चीनले कर्जा प्रवाहमा पनि कडाइँ गरेको छ । विगतको विश्वव्यापी आर्थिक मन्दीमा जस्तै ऋण कर्जामा अंकुश लगाउने बहुवर्षीय अभियान नै शुरु गर्ने संकेत चीन सरकारले गरेको छ ।

अमेरिका र युरोपेली देशले भने अझै पनि प्रोत्साहन प्याकेजहरू जारी गरिरहेका छन् । सो हिसाबले आगामी दिनमा चिनियाँ अर्थतन्त्र अन्य देशको तुलनामा आर्थिक विस्तारको दृष्टिले अग्रपंक्तिमा हुने आकलन गरिएको छ ।