काठमाडौं । काठमाडौंसँग तराइ जोड्ने सबै भन्दा छोटो ७२ दशमलव ५ किलोमीटर सडक काठमाडौँ-तराई द्रूतमार्ग (फास्ट ट्रयाक) को निर्माण दोस्रो चरणमा प्रवेश गरेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको पहिलो चरण अन्तर्गत ‘रोड वे’ भित्र कटिङ, फिलिङसहित सव ग्रेड फरमेसन तयार गर्ने, वक्स कल्भर्ट, पाइप कल्भर्ट बनाउने तथा चट्टानसहित माटोको प्रकृति र भौगर्भिक बनोट परिक्षणको काम सकिएपछि सेनाले निर्माणको गतिलाई दोस्रो चरणमा अघि बढाउने तयारी गरेको हो ।
द्रुत मार्ग अन्तर्गत सुरुङ खण्डमा पर्ने चट्टान तथा माटोको प्रकृति र भौगर्भिक बनोट परिक्षणको कामसमेत सकिएपछि सेनाले ठेक्का प्रक्रियामा आएका निर्माण कम्पनीहरुको बोलपत्र सम्बन्धि आवश्यक प्रक्रिया वैशाख भित्रै सम्पन्न गरेर जेठबाटै निर्माणको काम थाल्ने जनाएको छ ।
नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अपरेशन प्रमुख प्राविधिक प्रमुख सेनानी विश्ववन्धु पहाडीले द्रुत मार्ग निर्माणमा आवश्यक पहिलो चरणका सबै काम सकिएको बताए । दोस्रो चरणका लागि आवश्यक ठेक्का बन्दोवस्त सम्बन्धि सबै प्रक्रिया पुरा गर्ने काम भइरहेको र ती सबै काम सकेर आगामी जेठभित्रै सुरुङ निर्माणको काम सुरु गरिने उनले बताए ।
द्रुत मार्गको रोड वे मा कटिङ र फिलिङ सहितका काम सकिएको छ भने सुरुङ खण्डमा पर्ने चट्टान तथा माटो परिक्षणको काम पनि सकिएको हुँदा निर्माण कम्पनीसँगका केही प्रक्रियागत काम सकाएर जेठ भित्रै सुरुङ मार्गको निर्माणको काम दोस्रो चरणमा प्रवेश गराउने तयारीमा आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखाले जनाएको छ ।
राष्टिय गौरवको एवम् रणनीतिक मार्गको रुपमा रहेको द्रूतमार्गको सबै भन्दा जटिल काम सुरुङ निर्माणलाई नै मानिंदै आइएको छ । सेनाले सो सडक आयोजना अन्तर्गत हालसम्म भौतिक प्रगति करिब १२ प्रतिशत भएको बताएको छ भने तीनवटै सुरुङको काम सक्दा सो प्रगति उल्लेख्य रुपमा बढ्ने बताइन्छ ।
काठमाडौंबाट निजगढसम्म पर्ने द्रुतमार्ग आयोजनामा कूल तीनवटा सुरुङ मार्ग बन्ने छन् । जस अन्तर्गत महादेवटार (३ दशमलव ३५५ किमी), धेद्रे (१ दशमलब ६३ किमी) र लेनडाँडाँमा (१ दशमलब ४३ किमी) सुरुङ निर्माण गर्ने तयारी छ । यी तीन सुरुङको कूल दुरी ६ दशमलब ४१ किलोमिटर रहनेछ । हाल सुरुङ निर्माणका लागि पूर्व योग्यता मूल्यांकन गरी कम्पनी छनोट भएसँगै अन्तराष्ट्रिय बोलपत्र आह्वानको प्रक्रिया अघि बढेकोले यस बीचमा कुनै व्यवधान नभए आगामी चार वर्ष भित्रमा सुरुङ निर्माणको काम सम्पन्न गर्न सकिने सेनाले जनाएको छ ।
यी तीनै वटा सुरुङ मार्गमा भित्रने र बाहिरीने दुई दुई दुई मुखे सुरुङ मार्ग हुनेछन् । ती स्थानमा सवारी भित्रिने र बाहिरिने ठूला विषेश प्रकारका ९ वटा पुलसमेत एकसाथ बन्ने छन् । स्वीकृत डीपीआर अनुसार द्रूतमार्ग निर्माणको अनुमानित लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । यो द्रुतमार्ग आयोजनाको निर्माण आर्थिक वर्ष २०८१ मा सम्पन्न गर्ने लक्ष्य छ ।
२१ वैशाख २०७४ मा सरकारले सेनालाई सो द्रुत मार्र्ग आयोजना निर्माणको जिम्मेवारी दिएको थियो । तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लामो समयसम्म उपलब्ध नहुनु र उपलब्ध भइ सकेपछि पनि स्वीकृति हुन नसक्नु तथा अन्तराष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई र कोभिड १९ का कारण केही समय आशातित गतिमा निर्माण कार्य अघि बढ्न नसकेको सेनाले स्वीकार गरेको छ ।
हालसम्म १६ अर्व ६६ करोड कुल वित्तीय खर्च भएको सो आयोजनाको निर्माण कार्य विभिन्न कारणले ढिला भएको भन्दै सेनाले हाल भने कामले गति लिएको जनाएको छ ।
सेनाले डीपीआर प्राप्त गरेपछिको समयलाई पनि गणना गर्दै अगामी २०८१ मा कार्य सम्पन्न गर्ने उल्लेख गरेको हो । २०७४ बैशाख २१ आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई दिए पनि सरकारले परियोजनाको डीपीआर दुई वर्ष केही महिनापछि अर्थात् २०७६ भदौ १ गते स्वीकृत गरेको थियो । सो आयोजना एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने छ भने ललितपुर, काठमाण्डौं, मकवानपुर र बारा जिल्ला गरी ७२ दशमलब ५ किलोमीटर लामो दुरी रहने आयोजनाले बागमती प्रदेश र प्रदेश २ का गरी चार जिल्ला छुने छ । सो मार्गको निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।
कुल लम्बाई ७२ दशमलब ५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६ दशमलब ४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १० दशमलब ५९ कि.मी. र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५ दशमलब ५ कि.मी.रहेको छ ।
यसैगरी पुल निर्माण सम्बन्धि भौगर्भिक अध्ययन कार्यसमेत सुचारु गरिएको छ । यस्तै विभिन्न स्थानमा बेलिबृज जडान गरिपहुँच मार्ग निर्माण गर्ने कार्यसमेत अन्तिम चरणमा छ ।