काठमाडौं । विश्व कपको सपना छ जहाँ, पुग्छौं हामी भविष्य बनेर त्यहाँ’ भन्ने मूल नाराका साथ राजधानीमा १३ वर्ष मुनिको क्रिकेट लीग–२ हुने भएको छ । यु–१३ एञ्जल्स हर्ट नेशनल स्कुल जुनियर क्रिकेट लीग-२, २०७७/०७८ नाम दिइएको सो क्रिकेट प्रतियोगिता एञ्जल्स हर्ट नेशनल स्कुलको प्रायोजनमा हुन लागेको हो । यो १३ वर्ष मुनिका बालबालिका खेलाडीले भाग लिने सो खुल्ला क्रिकेट प्रतियोगिता २०७७ चैत २७ गतेदेखि काठमाडौँको मनमैंजुस्थित एञ्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएशन सेन्टरमा सम्पन्न हुनेछ । प्रतियोगिताबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइयो ।
साना उमेर समूहका नव प्रतिभावान खेलाडीहरुको खोज साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी निर्माण कार्यमा सहयोग गर्नु आफ्नो एकमात्र उद्देश्य रहेको आयोजक संस्थाले जानकारी दिएको छ । यस भन्दा पहिले सो संस्थाले जुनियर क्रिकेट लीग–१ ,१६ वर्ष उमेर समूहभन्दा मुनिका खेलाडीहरुको प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । सोही १६ वर्ष मुनिका खेलाडीहरुको प्रतियोगिताबाट उत्साहित हुँदै एञ्जल्स हर्ट नेशनल स्कुलले अर्को पटक पनि १३ वर्ष मुनिका खेलाडीहरुका लागि यो प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ८ देखि १२ वटा समूहका खेलाडीहरुको सहभागिता हुने एञ्जल्स स्पोर्ट एकेडेमी एण्ड रिक्रिएशन सेन्टरका कार्यकारी अध्यक्ष खिम थापाले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन तारकेश्वरका अध्यक्ष तथा एञ्जल हर्ट एकेडेमीका प्रधान अध्यापक धनराज पुनले विश्वमा नेपाललाई सबैभन्दा बढी खेलले नै चिनाएको धारणा व्यक्त गरे । प्रतियोगितामा विजेता खेलाडीको समूहले ३० हजार नगद सहित ट्रफी, गोल्ड मेडल साथै प्रमाण पत्र प्राप्त गर्नेछन् । खेलमा उपविजेताले २० हजार नगद सहित ट्रफी, सिल्भर मेडल साथै प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट क्रिकेट खेलाडीले क्रिकेट ब्याट, ट्रफीका साथमा प्रमाण पत्र पाउनेछ भने उत्कृष्ट ब्याट्स म्यानले क्रिकेट ब्याट, ट्रफी र प्रमाण पत्र पाउनेछन् ।
सो प्रतियोगितामा उत्कृष्ट बलरले क्रिकेट जुत्ता, ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उदियमान खेलाडीले क्रिकेट जुत्ता, ट्रफी र प्रमाण पत्र पाउनेछन् । प्रतियोगितामा म्यान अफ द म्याचले टीसर्ट र ट्रफीका साथ प्रमाण पत्र हात पार्नेछन् । सो प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशी र नेपाली बास्केट बल महिला राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक विकाश शाही लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रमको एञ्जल्स हर्ट नेशनल एकेडेमीका प्रधान अध्यापक टक थापाले सञ्चालन गरेका थिए ।