• मंसिर १७ २०८१, सोमबार

‘भ्याक्सिन-वार’ सँगै विश्व अतिमहाशक्तिमा चीन

चैत्र ९ २०७७, सोमबार

विश्वमा सबैभन्दा पछिल्लो चरणमा आएर ‘भ्याक्सिन-वार’ चलिहेको छ । कोभिड महामारीसँगै चिनियाँ भ्याक्सिन, अमेरिकन भ्याक्सिन, बेलायतको अस्ट्राजेनेका तथा रुसी भ्याक्सिनमध्ये कुन बढी प्रभावकारी भन्ने लडाइँ चलिरहेको छ । फरक यत्ति छ, यसअघिका युद्ध र विश्व युद्धमा मानिस मारिने होडबाजी थियो भने अहिले कसको भ्याक्सिनले कति बढी मानिस बचाउँछ भन्ने होडबाजी चलिरहेको छ । यसको सिधा अर्थ हो, अहिलेको विश्व-युद्ध स्वास्थ्यसम्बन्धी व्यापार-युद्धमा परिणत भएको छ ।

पहिलो विश्वयुद्ध (सन् १९१४ देखि १९१८) मा हारजितको फैसला थलसेनाले गर्यो । निर्णायक हतियारका रुपमा यस युद्धमा राइफलले ठूलो भूमिका निर्वाह गरेको थियो । दोस्रो विश्वयुद्ध (सन् १९३९ देखि १९४५) मा हवाइसेनाले हारजितको फैसला गरेको थियो । अमेरिकी हवाइसेनाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको घोषणा गरिएको थियो । यो युद्धमा परमाणु बमले निर्णायक भूमिका खेलेको थियो ।

पहिलो विश्व युद्धमा युरोपको नेतृत्व र चकचकी थियो भने दोस्रो विश्वयुद्धमा त्यो केन्द्र सरेर अमेरिकामा पुगिसकेको थियो । हाल घोषित रुपमा तेस्रो विश्व युद्ध त भएको छैन । तर विभिन्न विषयहरुलाई लिएर अंशअंशमा विश्वयुद्ध भइ नै रहेको छ । यसले एशियालाई विश्व अतिमहाशक्तिका रुपमा अघि ल्याउँदै छ । त्यसको नेतृत्व चीनले गरिरहेको छ ।

यसका पछाडि चीनका मूलतः तीन रणनीतिक कुराले काम गरिरहेका छन् : (१) अमेरिकी सामुद्रिक–सामरिक रणनीतिविरुद्ध भूजडित रणनीतिको विकास र कार्यान्वयन, (२) विश्व व्यापार (औद्योगिक तथा प्रविधिगत दुवै) मा हासिल गर्दै गरेको श्रेष्ठता र (३) कोरोना महामारी नियन्त्रण र खोप विकासमा अद्वितीय अग्रता ।

पहिलो कुरा, विश्व व्यापारमा हासिल गरेको सफलताका कारण चीनले यति धेरै अमेरिकी डलर चीनमा थुपारेको छ कि यदि त्यो डलर समयमै खर्च गर्न नसक्ने हो भने यसले बेलायती साम्राज्य अस्तको दुर्दशा बेहोर्ने छ । त्यो भनेको हो, कहिल्यै सूर्य नअस्ताउने बेलायती साम्राज्यले आफूसँग रहेको पैसा लगानी गर्न सकेन र ‘फ्रिजिङ मनी’ का रुपमा त्यो सबै बर्बाद भएर गयो । अहिले पनि विश्वमा स्टर्लिङ पाउण्ड अर्थात् बेलायती करेन्सी सबैभन्दा महंगो छ, तर विश्व करेन्सी परिचालनको सन्दर्भमा त्यसलाई अमेरिकी डलरले खाइदिएको छ ।

हाल विश्वव्यापी बन्दै गएको चिनियाँ व्यापार मूलतः राजकीय प्रकृतिको छ । अर्थात् चिनियाँ राज्य आफैले विश्वमा व्यापार गरिरहेको छ । त्यो अथाह पैसा राज्यसँगै छ । त्यसैले त्यो पैसा खर्च गर्न र अमेरिकालाई माथ गरी उक्त स्थान लिन चीन भूजडित विश्व रणनीतिको विकास र कार्यान्वयनमा लागेको छ । यसलाई विश्वभर ‘रेशमी मार्ग’ अर्थात् ‘सिल्क रोड’ बिस्तारको नाम दिइएको छ । यसलाई अबधारणाका हिसाबले ‘वान बेल्ट वान रोड’ले चिनिने गरिएको छ । अमेरिकाले बाहिरफेर समुद्रबाट घेर्न खोजे पनि चीनभने बाटैबाटो विश्वका जनताका घरघरमा पुग्ने भएको छ । यसले अमेरिकाको तुलनामा चीनको प्रभाव र पकड निकै बलियो बनाउँदै लगेको छ ।

चीन विश्व व्यापारमा अंक गणितीय हिसाबले मात्र अमेरिकाभन्दा केही मुनी छ । तर ज्यामितीय हिसाबले यसले विश्वमा एक नम्बरको स्थान ग्रहण गरिसकेको छ । चिनियाँ मालवस्तु, सेवा तथा प्रविधि यति गुणात्मक रुपमा विश्वव्यापी हुँदै गएका छन् कि ‘अमेरिकी उत्पदनलाई प्राथमिकता देऊ’ भन्ने ट्रम्प आफै राष्ट्रपतीय निर्वाचनमा हार खाएर भागिसकेका छन् । अमेरिकी बजार क्रमशः चिनियाँ उत्पादनको बिक्रि कक्ष बन्दै गैरहेको छ । आँकलन त यतिसम्म पनि गरिएको छ कि सन् २०२४को अन्त्य सम्ममा चीनले अमेरिकालाई पछाडि पारिसक्ने छ । र, सन् २०२५ देखि चीनको विश्व बजारमा एकछत्र व्यापारिक राज सुरु भैसक्ने छ ।

अब रह्यो तेस्रो कुरा, अर्थात् जनस्वास्थ्यसँग सम्बन्धित खोप बजार, खोप व्यापार र खोपयुद्धका कुरा । कोरोना महामारी रोकथाम, नियन्त्रण र खोप विकासमा चीन निकै अगाडि छ । यसले कमिलासरी बढिरहेका आफ्ना त्यति ठूलो जनसंख्या ढुक्क बनाएर बचाइ राखेको छ । अर्कोतिर अमेरिका कोरोना महामारी संक्रमण नियन्त्रणमा असफल भैरहेको छ । युरोपले महामारी नियन्त्रण गर्न नसकी हार खाइरहेको छ । पँुजीवादी बूढेसकाल लागेको थोत्रो युरोप अब आफ्नो अवस्था धान्न सक्ने स्थितिमा देखिदैन ।

विश्वमा हाल घोषित विश्व युद्ध भएको छैन । विश्वका मानिसहरु, विज्ञहरु, विशेषज्ञहरु आश्चर्यमा परिरहेका छन् कि विना विश्वयुद्ध चीनले अति महाशक्तिको ताज कसरी हासिल गर्दै छ ? किनकि विश्वमा चकचकी हालीमुहाली कायम गरिरहेको युरोपीय वर्चस्व पहिलो विश्व युद्ध (सन् १९१४ देखि १९१८)सँगै क्रमशः संयुक्त राज्य अमेरिकातिर सर्दै गयो । एशियामा पुँजीवादको प्रतिध्रुवीय व्यवस्था कम्युनिष्ट समाजवाद रुसको विसाल भूभागमा भ्लादिमिर लेनिनको नेतृत्वमा स्थापित हुन गयो । केही समयपछि दोस्रो विश्व युद्ध (सन् १९३९ देखि १९४५) हुन गयो । दोस्रो विश्वयुद्धपछि युरोप छायाँमा पर्न गयो, अमेरिका खुल्लमखुल्ला अतिमहाशक्तिका रुपमा उदय हुन गयो । यसका साथै, एशियामा कम्युनिष्ट समाजवादको विस्तारित रुप र व्यवस्था जनगणतन्त्र चिनियाँ नेता माओत्सेतुङको नेतृत्वमा विसाल चिनियाँ भूगोलमा स्थापना हुन गयो । यो नेतृत्व र शक्ति केन्द्र परिवर्तनका यथार्थवादी र वस्तुवादी उदाहरणहरु हुन् ।

अहिले पनि कुरो यही सेरोफेरोमा उठेको हो । तेस्रो विश्व युद्ध भएकै छैन, शक्ति केन्द्र कसरी परिवर्तन होला ? तेस्रो विश्व युद्ध नै नभइकन चीन विश्व अतिमहाशक्तिका रुपमा कसरी उदय होला ? अमेरिकी लबीमा संलग्न भारत हाल अष्ट्रेलिया र जापान सम्मिलित ‘क्वाड’ मा सहभागी छ । क्वाडलाई चीनले ‘मिनी नेटो’ को संज्ञा दिएको छ । चीनविरोधी यही मिनी नेटोमा संलग्न भारतले पनि आश्चर्य व्यक्त गरिरहेको छ कि चीन विना विश्वयुद्ध कसरी अतिमहाशक्तिका रुपमा विकास भैरहेको छ ! यसका पछाडि केही वस्तुगत कारण रहेका छन् । अहिले पनि अमेरिका र उसका प्रतिद्वन्द्विता रहेका चीन लगायतका देशहरुसँग युद्ध विभिन्न रुप र इस्युहरुमा जारी छ ।

युद्ध र शीत युद्ध तथा लडाइँहरु निरन्तर चलिरहेका छन् । रोकिएका छैनन् । मध्यपूर्वका लडाइँ, सिरियाका लडाइँ, अफगानिस्तानको लडाइँ, दक्षिण अमेरिकी देशहरुमा सत्ता परिवर्तन, अफ्रिकामा भएका सत्ता छिनाझपटी, अन्तरीक्ष प्रतिस्पर्धा, चन्द्रमामा निर्माण गरिने अन्तरीक्ष स्टेशन तथा मंगलग्रहमा रोभर ल्यान्डिङको प्रतिस्पर्धा आफैमा अंशअंशमा भैरहेका घनिभूत विश्व युद्धका विविध रुपहरु हुन् । तीमध्ये अमेरिका–चीन व्यापार युद्ध अलि केही प्रकट रुपमा आएको थियो ।

युरोपेली देशहरुले चिनियाँ सेवा, प्रविधि तथा सामानहरुमा गरेका नाकाबन्दी र हुवावेइ लगायतका केही चिनियाँ प्रतिनिधिमाथि गरेका दुव्र्यहारले त्यो दिशातिर डोर्याउन थालेको थियो । तर यो युद्ध स्वयम् अमेरिका र युरोपका लागि घातक हुन गयो । अमेरिकामा त तात्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प धेरै अलोकप्रिय हुन गए र दोस्रो कार्यकालको राष्ट्रपतीय निर्वाचनमा हार बेहोर्न पुगे ।

अहिले कोरोना महामारीसँगै चलिरहेको ‘भ्याक्सिन वार’ अर्थात् ‘खोप युद्ध’ कम डरलाग्दो विश्वयुद्ध होइन । यो युद्ध अमेरिका–चीन व्यापार युद्ध टुंगिन आँटेको सिलसिलासँगै भित्रिएको छ । व्यापार युद्ध शतरञ्ज (चेस्) को खेल झैं अमेरिकी ‘राजा चेक’ अर्थात् ट्रम्पको आन्तरिक हारसँगै ‘भ्याक्सिन वार’मा बदलिएको छ । विश्वमा रहेको करीब ८ अर्ब जनसंख्या र तिनको जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको युद्धमा परिणत भएको छ । प्रश्न पनि उठिरहेको छ- यो महामारी प्रकृति सिर्जित हो या मानव निर्मित ? अमेरिकाले यसलाई ‘चिनियाँ भाइरस’ र चीनले यसलाई ‘अमेरिकी भाइरस’को संज्ञा दिइरहेका छन् । चीनको वुहान प्रान्तबाट फैलिएकाले अमेरिकाले यसलाई चीनबाट फैलिएको दाबी गरिरहेको छ, तर चीनले भने बुहानमा अमेरिका-चीन संयुक्त सैन्य अभ्यासलगत्तै कोरोना भाइरस देखिएकाले यो अमेरिकी सेनाले ल्याएर फैलाएको आरोप लगाइरहेको छ । यही विवादका क्रममा राष्ट्रपति ट्रम्पले चीनलाई कोरोना भाइरस ‘बेचेको आरोप’मा दुईजना अमेरिकी वैज्ञानिकलाई निलम्बन गरेका थिए पनि । यसले अमेरिका-चीन आरोप-प्रत्यारोपमा गम्भीर अनुसन्धानको खोजी हुनु पर्ने माग गरेको छ ।

कुरा जे होस् तापनि अब विश्वमा विश्वयुद्धका रुपमा खोप युद्ध देखा परिसकेको छ । यसले जनमत पनि बनाउने र पैसा पनि मनग्यै आर्जन गर्ने बनाएको छ । पहिलो र दोस्रो विश्वयुद्धमा हानिएका गोली र बमबारुद अब क्याप्सुल र इन्जेक्सनका नयाँ स्वरुप र संस्करणमा विश्वभर दागिइरहेका छन् । यसमा पनि अमेरिका-युरोपले आफ्नो बर्चस्व कायम गर्न खोजिरहेका छन् भने चीन-रसियाले पनि विश्व बजार लिइरहेका छन् । अमेरिका-बेलायतले हल्ला बढि गरिरहेका छन् तर चीनले चूपचाप विश्व बजार कब्जा गरिरहेको छ ।

भनिन्छ पनि ‘हुँडारहरु सिकार गर्दा हल्ला गर्छन्, तर सिंहले चूपचाप सिकार गर्छ ।’ विश्वमा अहिले सबैभन्दा बढी चिनियाँ भ्याक्सिन बिक्रि भैरहेको छ । बरु बेलायती अष्ट्राजेनेका तथा अमेरिकी भ्याक्सिनहरु विवादमा आइरहेका छन् । अमेरिकी तथा युरोपीय भ्याक्सिन आफ्नै देशमा पनि कामयाबी छैनन् । कोरोना महामारीले दैनिक हजारौंको संख्यामा मानिस मरि नै रहेका छन् । वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना महामारीका कारण प्रथम विश्वयुद्ध, द्वितीय विश्व युद्ध र भियतनाम युद्धमा भएको कूल क्षतिभन्दा पनि बढि क्षति कोरोना महामारीले गराएको स्वीकार गरेका छन् ।

६ वर्षसम्म चलेको पहिलो विश्वमा अमेरिकी सेना मात्र १,१७,००० जनाको मृत्यु भएको थियो । अर्को ६ वर्षसम्म चलेको दोस्रो विश्वमा ४०५३९९ जना अमेरिकीले ज्यान गुमाएका थिए । त्यसै गरी २० वर्षसम्म चलेको भियतनाम युद्धमा ४७,४३४ जना अमेरिकी सेना र गैरसैनिक, प्रशासन तथा स्वयमसेवक गरी कूल ५८,२२० जना अमेरिकीको मृत्यु भएको थियो । यो आँकडा सबै जम्मा गर्दा यी तीनवटै युद्धमा कूलजम्मा ६,२८,०५३ जनाको मृत्यु भएको थियो । तर हाल कोरोना महामारीबाट ५,५५,३१४ जनाको मृत्यु हुन गएको छ । यसले गर्दा पनि यिनीहरुको भ्याक्सिनप्रति विश्वमा आकर्षण पैदा हुन सकिरहेको छैन । तर चिनियाँ भ्याक्सिनले विश्व बजार खाइरहेको छ । किनकि चीनमा यसको प्रभावकारिता निकै रहेको छ ।

कोरोना महामारी आफैमा दीर्घकालीन महामारी हो । यसको नियन्त्रणका लागि रणनीतिक सोच र उपायहरु अबलम्वन गरिनु पर्छ । यसले कम्तिमा एक दशकसम्म मानव जीवनमा यो हाहाकार ल्याइरहने छ । यसको नयाँ नयाँ प्रजातिमा हुने विकास र त्यसका लागि आवश्यक पर्ने भ्याक्सिनको विकास र प्रयोगले अबको दुनियाँले कोरोना महामारीबाट सित्तिको मुक्ति पाउने देखिदैन । अहिलेको विश्व युद्धको नयाँ प्रवृत्ति बनिरहेको कोरोना महामारी विरुद्धको खोप युद्धमा पनि चिनियाँ श्रेष्ठता हासिल हुन देखिएको छ । यसले चीनलाई अबका चार वर्षमा अमेरिकालाई पछि पार्न ठूलो सहयोग पुर्याउने देखिन्छ ।