• मंसिर १२ २०८१, बुधबार

५ लाख लगानीकर्ता अनलाइन कारोबारमा आवद्ध

चैत्र ८ २०७७, आईतवार

काठमाडौं । पाँच लाख लगानीकर्ता अनलाइन कारोबारमा आवद्ध भएका छन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अनलाइनको यूजरनेम र पासवर्ड लिने सेयर लगानीकर्ताको संख्या ४ लाख ९९ हजार ६ सय ९३ जना पुगेको छ ।
सक्रिय लगानीकर्ताको संख्या २ लाख ४३ हजार ३ सय ४८ जना रहेका छन् । नेप्सेका अनुसार ६ लाख २७ हजार ६ सय ६२ जना लगानीकर्ता सेयर बजारमा सक्रिय रहेका छन् । सक्रिय लगानीकर्तामा अनलाइन अफलाइन दुवै समावेश गरिएको छ ।

नेप्सेका अनुसार सबैभन्दा बढी नाशा सेक्युरिटिजबाट ४८ हजार ४१३ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । त्यस्तै सानी सेक्युरिटिजबाट ३० हजार ८५६ जना, मिदास स्टक ब्रोकिङ कम्पनीबाट २३ हजार ६०५ जना, भिजन सेक्युरिटीजबाट २१ हजार २०९, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट २० हजार ६९६ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएका छन् । सबैभन्दा थोरै सगरमाथा सेक्युरिटिजबाट ८७१ जनाले अनलाइनको यूजरनेम र पासवर्ड सेवा लिएको नेप्सेको भनाइ छ ।

विश्वब्यापी रुपमा सुरु भएको कोरोनाको महामारीपछि सेयर कारोबार अनलाइनबाट गर्ने क्रम निकै बढेको छ । तत्कालिन समयमा ब्रोकर कार्यालय नखुल्ने भएका कारण घरबाटै अनलाइन कारोबार गर्नु पर्ने भएकोले अनलाइनको यूजर नेम र पासवर्ड लिनेको संख्या निकै बढेको हो ।