रोजगारीका लागि नेपालबाट विदेशिनेको संख्या प्रतिवर्ष झण्डै करोड पुग्न लागेको अनुमान गरिएको छ । स्वदेशमै रोजगारीको सिर्जना गर्न नसक्नु वा वातावरण नहुनु यसका कारणहरु हुनसक्छन् । यसबारेमा हाम्रो राज्य कति जिम्मेवार छ भन्ने कुरा त विदेशिएका नेपालीहरुको संख्याले बताइ नै हालेको छ । कतिपय अवस्थामा आफैले पनि सानो भएपनि उद्योग वा अन्य कामहरुबाट रोजगारी सिर्जना गर्नु सक्ने अवस्थामा पनि हामीले गर्न कति गर्न सक्यौं भनेर पनि हेर्नुपर्ने हुन्छ ।
खासमा हामीमध्ये धेरै त आफैले रोजगारी सिर्जना गर्नतिर नलागेर विदेश जानुपर्छ भन्ने वा विदेश गएर अर्कोले धेरै कमाएको कल्पना गरेर त्यतै हाम फाल्ने मध्येमा पर्छौं । यसमा नेपालमा कमाएको थोरै रकमलाई केही पनि होइन जस्तो ठान्ने र विदेश गएपछि पैसाको मुठो कमाइन्छ र पैसाकै भारी बोकेर नेपाल आउन पाइन्छ भन्ने ठान्नेहरु पर्दछन् । तर उनीहरुले विदेश गएपछि भोगिरहेका छन् कि विदेशमा गएर पैसा कमाउन कति गाह्रो रहेछ भनेर ।
यो एउटा प्रसंग हो । हुन त काम गर्नलाई कस्लाई पो सजिलो हुन्छ र ? पक्कैपनि जहाँपनि काम गर्न अफ्ठेरो हुन्छ नै, तर विदेशमा रहेका मजदूरलाई भने स्वदेशमा काम गर्नेलाई भन्दा बढि नै गाह्रो छ । कम्पनीको नियम मान्नुपर्ने, छोटो समयमा धेरै काम गर्नुपर्ने, कामको परिणाम नदेखिएमा साहुको गाली खानुपर्ने अवस्था विदेशमा रहेका मजदूरको बाध्यता बनेको छ । त्यसमा पनि अवैधानिकरुपमा काम गर्दै आएका कामदारका लागि त अवस्था निकै नाजुक छ । विदेशमा लुकिछिपी काम गर्नुपर्ने बाध्यता धेरै नेपाली कामदारको रहेको छ । मनचित्त लगाएर काम गरेपनि अवैधानिक कामदारलाई मालिकहरुले समयमा पैसा नदिने र भनेजति पनि नदिने अवस्था पनि रहेको छ ।
अझ त्यसमा पनि महिला कामदारलाई त झनै कठिन अवस्था छ । विदेशमा अवैधानिकमा काम गरिरहेका नेपाली महिला कामदारको अवस्था त झन निकै नराम्रो रहेको छ । कतिपय नेपाली कामदारले काम गर्दा अंग नै गुमाएका छन् । कतिले त ज्यान पनि गुमाएका छन् । यी र यस्तै कुराको तनाबले धेरैले आत्महत्या पनि गरेका छन् । दक्षिण कोरिया आएर सकुशल नेपाल फर्किन सक्नु पनि ठूलो जोखिमबाट मुक्त हुनु हो भने जस्तो पो लाग्छ त । खासगरी आफैले भोगेको वा देखेको अवस्थालाई खोतल्ने र व्यक्त गर्ने हो भने यो पीडा कोरियामा आएका काम गरिरहेको नेपाली महिला तथा पुरुष कामदारका लागि सत्य लाग्न सक्छ ।
एकातिर वैधानिक र अवैधानिक कामदारप्रतिको बुझाई नै फरक छ भने अवैधानिक महिला कामदारप्रतिको बुझाई त निकै फरक रहेको छ । कामदार भिसा प्रक्रिया पार गरेर आएका नेपालीका लागि काम पाउन वा पाएको काम गर्न त्यति अप्ठेरो छैन । तर उनीहरु पनि कामको निकै चापमा हुने गर्दछन् । विविध कारणले काम गर्ने कम्पनी छोडेर बेरोजगार भएका नेपाली कामदारको अवस्था पनि कम कहालीलाग्दो छैन । जब एक ठाउँमा काम गर्दागर्दै छोडेर हिंड्यो अर्को ठाउँमा सजिलो र गतिलो काम पाउन निकै गाह्रो हुन्छ । काम पाइहाले पनि अलि अविश्वास गरे जस्तो गर्छ । आफै काम खोज्ने अवस्था नभएका दलाललाई काम खोजिदिन भन्यो भने उनीहरुले काम खोजिदिए वापत पैसा लिने गर्दछन् । पैसा दिएर पाएको काम पनि गतिलो परेन भने वा साहु राम्रो परेन भने त यति गाह्रो हुन्छ कि कुरा गरिसाध्यै नै छैन ।
कतिपय ठाउँमा त काम गरेको पैसा साहुले नै दिंदैन । उत्पादनशील क्षेत्रभन्दा कृषि क्षेत्रमा काम गर्नेहरुका लागि त झन् निकै गाह्रो छ । कोरियन भाषा पास गरेर आएका नेपाली तथा अन्य देशका कामदारमध्ये धेरैले आत्महत्या गरेका समाचार त मिडियामा आइरहन्छन् । काम गर्न गाह्रो हुनु, तलव थोरै हुनु तथा जे सपना बोकेर दक्षिण कोरिया आएको थियो, त्यो सपना पूरा हुने नदेखेपछि मानिसमा आत्मग्लानी सुरु हुन्छ र तनाब सिर्जना भई आत्महत्या गरेका पनि छन् । यो अवस्था सिर्जना हुनु नेपाली कामदारका लागि निकै अप्ठेरो विषय हो । नेपालीले दक्षिण कोरियामा गएर करोडौं पैसा कमाएको देखेर वा सुनेर प्रभावित भएर यहाँ आइपुग्न सफल हुने मान्छेले थाह पाउँछ के रहेछ दक्षिण कोरिया भनेर ।
पाएको कामको समय अवधि सकिएर वा विरामी भएर वा अर्को काम नपाएर सेल्टरमा बस्नु पर्दाको पीडा यहाँ आउनेले मात्र बुझ्न र भोग्न सक्छ र पाउँछ । खास गरी यही अवस्थामा हो कामदारले आत्महत्या गर्ने वा पागल भएर दौड्ने । दक्षिण कोरियामा यस्तो अवस्थामा नेपाली धेरै छन् भन्ने सुनिन्छ । आफ्नै देशका कामदारलाई यस्तो अवस्थामा छन् भन्ने सुन्दा वा समाचार सुन्नुपर्दा घरको वा आफ्नै देशको याद धेरै नै आउने गर्दछ । बरु सानै भएपनि नेपालमै जागीर गरेको भए वा सानो भएपनि कुनै व्यवसाय गरेको भए हुने रैछ भन्ने लागेर आउनु स्वभाविकै हो । तर नेपालबाट कल्पना गरेजस्तो विदेश रहेनछ विदेशबाट सोचेजस्तो नेपालमा छैन । कतिपय नेपाली महिला कामदारलाई त बिरामी हुँदा राम्रो उपचार पनि हुँदैन । पैसा भए उपचार हुन्छ पैसा नभए उपचार कस्ले गर्ने ? त्यति भएपछि सजिलै नेपाल फर्कन पनि प्रक्रिया गाह्रो र लामो छ ।
सम्झिदा लाग्छ, विकसित भनिएका देशमा त यस्तो अवस्था छ भने गरिब देशका जनताको अवस्था कस्तो होला ? विकास भएका भनिएका ठूलठूला घर, सडक, सवारी साधन र अन्य सुविधा पनि जोसँग पैसा छ, उसले उपभोग गर्न पाउँछ । पैसा नहुनेले त्यो सुविधा उपभोग गर्न पाउँदैन । विकसित देशमा पनि यस्तो अवस्था हुनुलाई विकास भएको मान्ने कि मानवियता हराएको भन्ने ? दक्षिण कोरिया गएका नेपालीले त्यहाँ मासिक २-३ लाख कमाउँछन् रे भनेको सुन्दा त्यो ठाउँमा कसरी पुुग्ने होला भनेर मन आतुर हुन्थ्यो । तर जब धेरै लामो प्रक्रिया मिलाएर आफै यहाँ आएको त बल्ल देखियो यहाँको अवस्था । हाल यहाँ रहेर काम गरिरहेका नेपालीमध्ये धेरैको बुझाई पनि यस्तै रहेको छ । यहाँ खाने कुराहरु निकै नै महंगो छ । लगाउने कपडाहरु पनि निकै महंगो छ । यहीँ उत्पादन भएका वस्तुको पनि भाउ महंगो छ ।
विरामी हुँदा उपचार खर्च पनि निकै महंगो छ । धनी मालिकको लागि यहाँको व्यवस्था ठीक होला, तर यहीँकै पनि गरिब दक्षिण कोरियालीका लागि यहाँको व्यवस्था निकै दयनीय देखिन्छ । विदेशी कामदारका लागि त झन् के कुरा, जति कमाए पनि कमाएको पैसा यतै छोडेर घर फर्किनु पर्ने अवस्था रहेको छ । दक्षिण कोरिया आफ्नै परिश्रममा विस्वास गर्ने देश हो भनिन्छ तर यहीँ कै जनताको अवस्था नाजुक देख्दा विदेशी कामदार किन मगाएको होला जस्तो पो लाग्छ त ?
किन कि त्यहाँको भन्दा नेपाल, बंगलादेश, भियतनाम लगायतका देशहरुबाट झिकाइएका कामदारलाई ज्याला थोरै दिएपनि हुँदो रहेछ, त्यसकारण बाहिरबाट कामदार मगाउने गर्दा रहेछन् त्यहाँका कम्पनीका मालिकले । हिजो राजा र राणालाई गाली गर्ने नेपाली नेताहरुले लोकतन्त्र आएकै ३० वर्ष हुनलाग्दा पनि उद्योग र कारखानाको विकास गर्न नसक्नुमा के कारण रहेको छ ? यसको कारण पत्ता लगाउनु पर्दछ । र युवा-युवती नेपालमै रहेर स्वरोजगार हुने वातावरण तयार गर्नतिर लाग्नु पर्दछ ।