• मंसिर ११ २०८१, मंगलवार

वसन्तपुरमा तीनतले चीर ठडिएसँगै सुरुभयो होली

चैत्र ८ २०७७, आईतवार

काठमाडौंको वसन्तपुरमा होलीको चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको छ । हरेक वर्ष यसरी नै ठड्याइने चीर यो वर्ष पनि ठड्याइएपछि आजबाट होलीको रौनक नै छाउन थालेको छ । मेला तथा पर्व औपचारिक रुपमा सुरु गरिने नेपालको परम्परा अनुसार यस वर्ष पनि तीन छतरी भएको चीर आइतवार बिहान वसन्तपुरमा ठूलो उत्साहका साथ ठड्याइएको हो ।

होली पर्व नेपालमा नेपालकै आफ्नो विशिष्टता अनुसार मनाइन्छ । होली पनि पर्व भएकाले यसका मान्यता विधि विधान पनि आफ्नै छन् । प्रत्येक फागुन शुक्ल अष्टमीका दिन होली सुरु भएको औपचारिक जानकारी यही चिर ठड्याएर गरिन्छ । त्यस दिनदेखि होलीका अन्य दिनका प्रक्रियाहरु विधिवत अगाडी बढाइन्छ ।

सुरुआतको अष्टमीकै दिन शुभसाइत हेराएर मंगलधुन र बजागाजासहित यसको प्रारम्भ गरिन्छ । यति बेला नेपाली सेना र गुर्जुको पल्टनले साथ दिने गर्दछ । गुरु पुरोहित तथा अन्य सहयोगीहरु यस काममा खटिरहेका हुन्छन् । काठमाडौंमा मनाइने जात्रा र पर्वमध्ये होली पनि निकै धुमधामका साथ मनाइन्छ ।

कठमाडौंबाट सुरु गरिएपछि देशव्यापी यसको रंग आउन थाल्छ । मानिसहरु रंगमा रमाउने हुनाले यो पर्व आफैमा रंग पर्व पनि हो । विविध रंगहरु प्रयोगमा ल्याइए पनि रातो रंग होलीको पहिचान बनेको छ । यो पर्वमा सप्त रंगको प्रयोग गरी रमाइला खेलहरु खेलिन्छ पनि । होली आफैमा सप्तरंगी पर्व यसअर्थमा हुने गरेको देखिन्छ । वसन्तपुर चिर ठड्याइएसँगै ध्वजा र पताकाले सिंगारिन थाल्छ ।

यो पर्व आफैमा एक प्राचीन र पौराणिक पर्व पनि हो । पौराणिक कालमा हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णु भक्त भएर निस्किए । तर हिरण्यकश्यपु आफैले आफूलाई देवता घोषणा गरेका थिए । विष्णुलाई देवता मान्न उनी तयार थिएनन् । त्यसैले उनले आफ्नो छोराको बध गर्न चाहे । यसका लागि आगोमा नजल्ने बरदान पाएकी उनकी बहिनी होलिकाको सहारा लिएर उनलाई आगोमा जलाउने प्रयास गरे । उल्टै होलिका जलिन्, तर प्रह्लाद भने सकुशल आगो बाहिर आए ।

सांकेतिक रुपमा यही कथामा भएको होलिका दहनलााई लिएर होली मनाइने गरिन्छ । नेपालमा पहाडी क्षेत्रमा पूर्णिमाका दिन र तराइका अर्को दिन मनाउने गरिन्छ । त्यसैले नेपाल मात्र यस्तो देश हो, जहाँ होली दुईदिनसम्म मनाइन्छ ।