७ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरेका थिए । उनले संसद विघटन गरेसँगै ओलीविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)पक्ष संयुक्त सडक आन्दोलन र संघर्षमा उत्रिए ।
दुई महिनाभन्दा लामो समय नेताद्वय प्रचण्ड र नेपालले संयुक्त रूपमा देशका ७७ वटै जिल्लामा सडक आन्दोलन र विभिन्न विरोध सभा लगायतका कार्यक्रम गरे । र, उनीहरूले गरेको सडक संघर्ष र विरोधले विघटित संसद फागुन ११ गते पुनःस्थापना हुन पुग्यो ।
हुन त प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु पूर्णतः असंवैधानिक थियो । २०७२ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै पनि अधिकार प्रदत्त छैन । तथापि साबिकको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र ओली–प्रचण्डबीच विवाद चर्किदै गएपछि उक्त विवाद पार्टीभित्रै छलफल र बहसको माध्यमबाट समाधान गर्नुको साटो ओलीले सनकको भरमा संसद विघटन गरेका थिए ।
संसद विघटन गरेसँगै प्रचण्ड–नेपाल सडक संघर्ष र विरोधमा उत्रिएका थिए भने नेता वामदेव गौतम कुनै पनि पक्ष–विपक्षमा संलग्न भएनन् । बरु उनले ओली र प्रचण्डलाई एक ढिक्का बनाएर लैजाने प्रयत्न गरिरहे । यद्यपि उनी यस कार्यमा आजसम्म पनि सफल हुन सकेका छैनन् ।
संसद विघटन भएको केही समय पश्चात् वामदेवले आफू कुनै पक्षमा नरहेको स्पष्ट पारेका थिए । त्यस यता उनी कुनै पनि पक्षमा संलग्न छैनन् । उनले पार्टी एकतालाई निरन्तर जोड दिएका थिए । तर, संयोगले सर्वोच्च अदालतले फागन २३ गते नेकपा बदरको फैसला गरेको छ ।
नेकपा बदर भए पश्चात् पुनः साबिकका ठूला दुई राजनीतिक पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् । यी दुई पार्टी ब्युतिएसँगै ओली र प्रचण्ड आआफ्नै पार्टीमा फर्किएका छन् ।
तथापि एमाले र माओवादी केन्द्र औपचारिक रूपमै अलग भएपनि वामदेवले पार्टी एकताको प्रयासलाई निरन्तरता दिएकै छन् । उनले यतिबेला एमाले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व र ओली, नेपाल पक्षबीचको मत भिन्नता र दरारलाई एकता गर्न अस्ति भर्खरै चार दिन अगाडि नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान नै सञ्चालन गरेका छन् ।
साबिकको नेकपा रहँदा पनि उनले पार्टी एकताका लागि जोड दिएका थिए भने अहिले एमालेभित्र देखिएको दरार र ओली, नेपालबीच एकीकरण प्रयासमा छन् । यसका लागि उनी कहिले ओली पक्षको बैठकमा उपस्थित हुन्छन् भने कहिले नेपाल पक्षकोमा सहभागी हुन्छन् ।
उनी यो बीचमा एमालेका अध्यक्ष ओली, बरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका लागि राखेको बैठक र छलफलमा वामदेवले उपस्थिति जनाएरै एकताको प्रस्ताव राख्ने गरेका छन् । तर, उनको यो कार्यले आजसम्म कुनै पूर्णता पाउन भने सकेको छैन ।
उनको एकताको प्रस्ताव ओली, नेपाल र प्रचण्डले खेलाची सम्झिएका छन् । वामदेवले पार्टी एकताको लागि उहिलेदेखि बारम्बार प्रस्ताव राखे पनि यसबारेमा यी नेताले बेवास्ता गर्दै आएका छन् । तर पनि उनले हालसम्म पार्टी एकतालाई उनले छोडेका छैनन् ।
यसलाई कतिपयले सकारात्मक पक्षका रूपमा ग्रहण गरेका छन् भने कतिले नाटक मञ्चनका रूपमा लिदै आएका छन् । हुन त वामदेव गौतमका आफ्नै मत, अभिमत र पार्टीप्रतिको बुझाइमा भिन्नता होला । तर, उनले पार्टी एकताको नाममा ओलीसँग पदको बार्गेनिङ गर्ने गरेको तथ्य बेलाबखत सञ्चार माध्यममा सार्वजनिक हुने गरेका छन् ।
एक महिना अगाडि वामदेवलाई ओलीले गृहमन्त्री र पार्टी अध्यक्षको लागि पनि प्रस्ताव नगरेका होइनन् । तथापि उनी ओलीको प्रस्तावमाथि विश्वस्त देखिएनन् । उनी स्वयम् भन्छन्, –‘ओलीले केवल आश्वासनमात्र बाड्छन् । वाचा पूरा कदापि कर्दैनन् । त्यसैले उनको भर छैन ।’
उनले ओलीको भर नमाने पनि ओलीसँगै बेला–बेला पार्टी अध्यक्षको बार्गेनिङ गर्ने गरेको रहस्य खुलेको छ । वामदेव पार्टी एकताको नाटक मञ्चन गर्दै अध्यक्ष ओलीसँग अध्यक्ष पदकाका लागि डिल गर्ने गरेको ओलीनिकट एक नेताले बताए ।
ती नेता भन्छन्, –‘उनले ओलीलाई कहिले गोप्य त कहिले बैठकमै भेट्ने गरेका छन् । भेटमा उनले अध्यक्षको बार्गेनिङ गर्ने गरेको र उक्त बार्गेनिङ ओलीज्यूले मान्नु भएको छैन ।’
उता वामदेव गौतमनिकट एक नेताका अनुसार गौतमले आजसम्म कुनै पनि पदका लागि अध्यक्ष ओलीसँग बार्गेनिङ नगरेको जिकिर गरे । उनी भन्छन्, –‘गौतमजी पार्टी एकता जोगाउने ध्याउन्नमा हुनुहुन्छ । उहाँलाई कुनै पदको मोह छैन । पार्टी एकता कसरी जोगाउने भन्नेमा उहाँको चिन्ता छ । कहाँबाट पदको बार्गेनिङ गर्नु ?’
यद्यपि ओलीनिकट नेताहरूले वामदेवलाई पार्टी एकताको नाटक मञ्चनको संज्ञा र अनेकन् लालछना लगाए पनि उनले निकट भविष्यमा पार्टी एकता टुंगोमा पुर्याउँछन् या पुर्याउँदैनन् । त्यो हेर्न बाँकी छ ।