• मंसिर ११ २०८१, मंगलवार

फेरि किन हाने ओलीले ‘कर्णाली बम’ ?

चैत्र ६ २०७७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि हानेका छन् ‘कर्णाली बम’ । ओलीको यो पुनः राजनीतिक परीक्षणका रुपमा हानिएको ‘कर्णाली बम’ उत्तर कोरियालाई अमेरिकाले तर्साएको जस्तो रुपमा लिन थालिएको छ । अमेरिकाले उत्तर कोरियालाई नाकाबन्दी पनि लगाउने र आणविक निशस्त्रीकरणको पनि ध्वाँस दिइराख्ने गरे झैं ओलीले त्यसैको सिको गरेको देखिन्छ ।

यसभन्दा पहिले केन्द्रीय राजनीतिमा भूइँचालो आउन थालेपछि ओलीले २४ असोज २०७७ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रदेश सरकारलाई लक्षित गरेर पहिलो ‘कर्णाली बम’ प्रहार गरेका थिए । यो बम एमाले संसदीय दलका नेता तथा पूर्वमन्त्री यामलाल कँडेल पक्षद्वारा ‘अविश्वासको प्रस्ताव’का रुपमा कर्णाली प्रदेशसभाभित्र छिराइएको थियो । यसले सोचेभन्दा ठूलो तहल्का मच्चाएको थियो पनि । यसले केन्द्रमा निकै ठूलो तरंग ल्याएको थियो ।

ओलीको लक्ष्यअनुसार यसले दुईवटा मुख्य काम गरेको थियो । एउटा, प्रचण्डपंक्तिलाई हदैसम्म तर्साउने र अर्को, माधव नेपाललाई आफूबाट टाढा रहेको सन्देश दिने । पहिलोमा ओली सफल भए, प्रचण्डलाई तर्साए र उनको राजनीतिक हैसियतको पाइन पनि छामे । प्रचण्ड सम्झौतामा गए । ओलीले त्यो अस्त्र सुटुक्क फिर्ता लिए र सुरक्षित राखे, अविश्वास प्रस्ताव फिर्ता लिएको नाममा । तर पनि यसले ओलीपक्षधर र प्रचण्डपक्षधरका बीचमा ठूलो मनोवैज्ञानिक दरार ल्यायो ।

अर्को सफलता, ओलीले माधव नेपाललाई पार्टीकै विरुद्धमा छन् भनेर देखाउनु थियो, कार्यकर्ताका बीचमा । ओलीले माओवादीमाथि ‘कर्णाली बम’ हान्दा माधव नेपाल उतै लागे भनेर व्यवहारतः पुष्टि गर्नु थियो । त्यतिबेला नेपालपक्ष अविश्वास प्रस्तावको विपक्षमा उभियो । आन्तरिक रुपमा ओलीले नेपाल पक्षलाई एमालेबाट बहिर्गमित होस् भन्ने चाहन्थे र चाहन्छन् पनि । एक स्टेप भए पनि माधव नेपाललाई अलि पर धकेले र आफ्नो सोच र प्रयोग केही सफल भएको निष्कर्षमा पुगे पनि ।

ओली गठबन्धनरुपी पार्टी विभाजन गर्न नै चाहन्थे । त्यसमा पनि थप माधव–खनाल पक्षलाई पनि पाखा लगाउन चाहन्थे । यसको स्पष्ट छनक गत बैसाखमा आधा रातमा दल फुटाउने विधेयक र संवैधानिक परिषदमा सत्ताधारी पार्टीको एकलौटी हालीमुहाली हुने विधेयक राष्ट्रपतिद्वारा स्वीकृत गराएर दिइसकेका थिए । यो व्यवहारतः पुष्टि भएको कुरा हो । कर्णाली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपामा स्पष्ट दुई धार देखिनुका साथै एमालेमा पनि फुट्नसक्ने चिरो देखा पर्यो । चिरामा पूर्व एमाले र पूर्व माओवादी त देखिन्थे नै, त्यसमा ओली र माधव नेपालको पनि विभाजन-रेखा कोरिइसकेको थियो ।

अहिले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केन्द्र र कर्णाली प्रदेशमा ओली पक्ष ठूलो दलका रुपमा सिढि चढ्यो । फलतः चैत ४ गते उसले कर्णाली प्रदेशमा फेरि ‘कर्णाली बम’ प्रहार गर्यो । सरकारलाई दिएको ‘समर्थन फिर्ता’ लियो । यसपाला पनि माधव नेपाल पक्षले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई साथ दियो ।

यसबाट ओलीलाई फेरि फाइदा पुग्यो । एमालेको अर्को पक्षका रुपमा रहेको माधव नेपाललाई थप पर धकेल्न सफल भयो । उसलाई माओवादी केन्द्र निकट भएको देखायो । आफू ‘चोखो एमाले’ बनेको नाटक मञ्चन गर्यो ।

यसको अर्थ नेपाल पक्ष एमाले भन्दा पनि अरुअरु नै देखियोस् भन्ने ओलीको चाहना केही बढि पूरा हुँदै गयो । यद्यपि केन्द्रीय राजनीतिको समीकरणअनुसार नै प्रदेशमा समीकरण हुने संभावना कर्णालीमा मौजुद रहेकाले ओलीको कर्णाली बम बिष्फोटनको अवस्थामा पुग्न पाएन । अझै पनि प्रचण्ड–माधव कर्णालीको मामलामा एक ठाउँमा देखिए । फलतः ओली प्रदेशका नेता, कार्यकर्ता, सांसद र मन्त्री फकाउनतिर लागिपरेका छन् ।

अहिले यमलाल कँडेल र मुख्यमन्त्री शाही ओली र प्रचण्ड जस्ता देखिएका छन् । यसले केन्द्रको संघीय प्रमुख राजनीतिक अन्तरविरोध र कर्णाली प्रदेश सरकारको राजनीतिक अन्तरविरोध उस्तैउस्तै देखिइन थालेको छ । संघीय संसदमा मुख्य गरी प्रचण्ड र ओलीबीच नै मुख्य अन्तरविरोध छ ।

ओलीको ‘कर्णाली बम’ पड्किएर नोक्सानी त पुर्याएको छैन । तर पनि नेपाली राजनीतिमा हाल चलिरहेको शीत युद्धलाई यसले गहिरो र सघन बनाउँदै लगेको छ । भित्री कुरो त कस्तो पनि देखिन्छ भने कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन ओली पक्षले फिर्ता लिए माओवादी केन्द्रलाई पनि ओलीको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि नैतिक दबाब बढ्दै जानेछ । यसले नयाँ ध्रुवीकरणमा सहयोग पुर्याई ओलीलाई फाइदा पुग्ने देखिन्छ । ओली अबका दिनमा ह्वीप जारी गरेर भए पनि माधव पक्षका सांसदहरुलाई गलहत्याउन निकै ठूलो निहुँ र बखेडाको थालनी गरिरहेका छन् ।

ओलीले अहिले प्रहार गरेको ‘कर्णाली बम’ बाट तत्काल हानीनोक्सानी नदेखिएला तर यो बढी रणनीतिक महत्वको देखिन्छ । अर्कोतिर ओलीलाई साथ दिएर बसिरहेको नेपाली कांग्रेस ‘अर्लि इलेक्सन’ दाउँ कुरिरहेको छ । ओली पनि नेपाली राजनीतिक कोर्सलाई त्यही दिशामा डोर्याउन लागिपरिरहेका देखिन्छन् ।