• मंसिर ११ २०८१, मंगलवार

अध्यक्ष ओलीले फागुन २८ को निर्णय फिर्तालिए एकतामा अप्ठेरो हुँदैन : डा. भीम रावल

चैत्र ६ २०७७, शुक्रबार

(सर्वोच्च अदालतबाट दलसम्बन्धी निर्णय आएपछि साबिकका एमाले र माओवादी केन्द्र पुनर्स्थापना हुन पुगे । तर तात्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चलिरहेको पक्षधरता विवाद भने साम्य हुन सकेन । फलतः एमाले दुई कित्तामा बाँडिन गयो- ओली पक्षधर र नेपाल-खनाल पक्षधर । ओलीले आफू पक्षधरको मिटिङ बोलाएर एकलौटी रुपमा पार्टीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी प्रदेश इञ्चार्ज र प्रमुखसमेत तोकिसकेपछि नेपाल-खनाल पक्षले पार्टीका आफूपक्षीय राष्ट्रिय भेला बोलाएर आफ्ना नीति तथा कार्यक्रमसहित १७-बुँदे निर्णय लिए पछिको अवस्थामा नेपाल-खनाल पक्षका नेता भीम रावलसँग समसामयिक विषयलाई लिएर गोलमिडिया संवाददाताले लिएको अन्तर्वार्ताको मुख्य अंश पाठकसामु प्रस्तुत गरिएको छ- सं)

कसका कारण सिर्जना हुनगयो हालको संकटपूर्ण परिस्थिति ?

हालको संकटपूर्ण परिस्थिति वर्तमान प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीका कारण सिर्जना हुन गएको हो । संविधान र संवैधानिक मूल्यमान्यताको ख्याल नगरिनु, मनपरि र स्वेच्छाचारिता लाद्नु र मैले भनेकै कुरा हुनुपर्छ भन्ने अहम्ताका कारण यो सबै हुन गएको हो ।

राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नु भयो, अब केपी ओलीसँग बाटो फाटेकै हो ?

होइन, हामी एकताकै पक्षमा छौं । प्रधानमन्त्री रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा एक्लै निर्णय लिनु भएको छ । त्यसपछि उल्टै हामीलाई पार्टी विधानविपरीत राष्ट्रिय भेला बोलाए भन्नु भएको छ । हाम्रो तर्फबाट कुनै पनि समस्या छैन । उहाँले फागुन २८ गते गर्नुभएको पार्टी विधान विपरीतको निर्णय फिर्ता लिनुस् भनेका छौं । उहाँले के गर्नु हुन्छ, त्यो हर्न बाँकी छ ।

उहाँले उक्त निर्णय फिर्ता नलिए के गर्नु हुन्छ ?

यसै विषयलाई लिएर हामीले राष्ट्रिय कार्यकर्ता भेला बोलाएका हौं । भेलाले यसको बारेमा समीक्षासहित महत्वपूर्ण निर्णय लिएको छ । हामी २०७१ साल साउनमा सम्पन्न भएको नवौं राष्ट्रिय महाधिवेशनद्वारा पारित जनताको बहुदलीय जनवादको कार्यक्रम लिएर अघि बढ्छौं । बहुदलीय जनवादी कार्यक्रमको मर्म र भावनाको रक्षा तथा विकास गर्ने दायित्व हाम्रो काँधमा आएको कुरालाई राष्ट्रिय भेलाले गम्भीरताका साथ बोध गरेको छ ।

साबिक एमालेका दुवै पक्षले त्यही जनताको बहुदलीय जनवादको कार्यक्रम अघि बढाउनु हुने भयो त ?

हामीले फेरि पनि के जोड दिन चाहन्छौं भने अध्यक्ष केपी शर्मा ओलीले उक्त राजनीतिक कार्यदिशा र कार्यक्रमलाई सही ढंगले बोध गर्न र त्यसलाई पक्रेर अघि बढ्न सकिरहनु भएको छैन । यसका बारेमा भेलामा निकै गम्भीरताका साथ छलफल पनि भएको छ । छलफलबाट आएको हाम्रो सामुहिक निष्कर्ष पनि त्यही हो कि हाल सरकारका कुनै पनि नीति तथा कार्यक्रममा त्यसको अभिव्यक्ति समेत् हुन सकेको छैन ।

सांगठनिक रुपमा कसरी अघि बढ्छ, तपाईहरुको यात्रा ?

पछिल्लो चरण फागुन २३ गते सर्वोच्च अदालतद्वारा दलदाबीको बारेमा दिइएको फैसलाले हामीहरुलाई पुरानै अवस्थामा धकेलेको छ । त्यसैले हामीले साबिक एमाले छँदाका पार्टी, पार्टी कमिटी, विभाग, जनवर्गीय संगठन, मञ्च तथा पेशागत संगठनलाई जस्ताको तस्तै क्रियाशील बनाउने निर्णय लिएका छौं ।

अब त यी सबैका भेला स्थानीय स्तरसम्म हुँदै जाने त होलान् ? कमिटी समानान्तर बनिसक्यो ?

पहिले देशव्यापी रुपमा पार्टी कमिटीको काम सकिसक्ने छौं । त्यति नै बेला बैठक प्रशिक्षण पनि साथसाथै लगिने छ । जनवर्गीय संगठनहरुको वैठक, प्रशिक्षण र भेला पनि साथै गरिने छ । यसका लागि आगामी तीन महिना संगठन परिचालन कार्यक्रम नै तय गरिएको छ । यो केन्द्रदेखि, प्रदेश र जिल्लाहुँदै स्थानीय स्तरसम्म जाने छ ।