• मंसिर ११ २०८१, मंगलवार

अनुहारमा सदाबहार चमक ल्याउन यसो गरौं

चैत्र ५ २०७७, बिहीबार

आकर्षक सौन्दर्य भित्रको र बाहिरको मिलिजुली रुप हो । रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोगले केहि समयको लागि त सुन्दर भइन्छ, तर पछि भने विपरीत असर पर्न थाल्छ । चर्मरोग विशेषज्ञको भनाइअनुसार सौन्दर्य प्रसाधनबाट छाला बिग्रिएका रोगी धेरै जचाउन आउने गर्छन् । सेतो कपाल कालो बनाउनका लागि जुन रसायन प्रयोग हुन्छ, त्यसले आँखाको रोशनीमा धेरै नराम्रो प्रभाव पार्छ । प्रशन्नताभन्दा ठुलो अन्य कुनै पनि प्रसाधन छैन । अतः क्रोध एवम् मानसिक तनावलाई बिल्कुल निकालिदिनुपर्छ । सधै सकारात्मक सोच राख्नुपर्छ ।

सौन्दर्य निखारका लागि प्राकृतिक प्रसाधनको प्रयोग:

१. मानिसको अनुहारको सौन्दर्य आहारमा निर्भर हुन्छ । हरियो तरकारी सलाद, फल, जुस आदिको यथोचित सेवनले अनुहारमा सौन्दर्य, लालीमा एवम् आकर्षण पैदा हुने मात्र होइन, बृद्धावस्थासम्म पनि मुखका आउने चाउरिपन एवम् सामान्य बिकृतिबाट बचाइरहन्छ ।

२. धेरै मसला, नुन, तेलमा तारिएका मिठाइ, भुटेका खानेकुरा आदि सौन्दर्यका लागि घातक हुन्छन् ।

३. कब्जियत रहनु, रातमा निद्रा नलाग्नु, अधिक समयमा जागिरहनु सुन्दरताका शत्रु हुन् ।

४. अनुहारलाई सुन्दर बनाउन र चाउरीपन हटाउन अनुहारको अनेक खालका आकृति बनाउने अभ्यास गर्नुपर्छ ।

५. अनुहारमा पाउडर, क्रिम र विभिन्न रसायनबाट बनेका सौन्दर्य प्रसाधन सकभर कम प्रयोग गर्नुपर्छ । बढी कृत्रिम प्रसाधनको प्रयोगले छालामा रहेका ससाना छिद्र बन्द हुन गई स्वाभाविक सौन्दर्य नष्ट हुन्छ ।

६. हल्का ब्यायाम गर्दै खुल्ला हावामा लामो श्वास लिनुपर्छ ।

७. बीस पच्चीस ग्राम किसमिस राती पानीमा भिजाएर बिहान उठ्ने बित्तिकै पानीसहित सबै खानाले अनुहार गोलभेंडाझैं रातो हुन्छ ।

८. नुहाउने समयमा पैंतालामा कुनै ढुंगा वा खस्रो चिजले रगड्नाले पैंतला जति चम्कन्छ, उत्तिकै हाम्रो अनुहार चम्कने गर्छ ।

९. दुईहप्तासम्म कालो, चिल्लो, चम्किलो मोटोको लेप लगाउनाले पनि अनुहारमा धेरै निखार आउँछ । संसारमा योभन्दा राम्रो क्रिम अरु कुनै पनि छैन ।

१०. छाला धेरै तैलीय छ भने दही, बेसन र महको लेप लगाएर सुकिसकेपछि रगडेर त्यसलाई हटाइ सफा पानीले धुनुपर्छ ।

११. दशपन्ध्र दिनमा दहीले कपाल नुहाउनाले कपाल झर्ने बन्द हुन्छ र कपाल चम्किलो पनि हु्न्छ ।

१२. चियापत्तिको पानी उमालेर छानिसकेपछि कागती निचोरेर कपाल धुनाले कपाल सुन्दर र चम्किलो हुन्छ ।

१३. आँखाको मुनी रहेको कालो धब्बा हटाउन काँचो आलुको भित्रिभाग राख्नुपर्छ ।

१४. काँचो दुधको फिंजसहितको तरलाई कोल्ड क्रिमको सट्टामा प्रयोग गर्न सकिन्छ ।

१५. सुन्तलाको बोक्रालाई धोएर सुकाई पिसेर मसिनो बनाई दुधमा मिसाएर अनुहारमा लगाउनाले अनुहारको सुख्खापन हराउँछ ।

१६. जीरा उमालेर त्यसैको पानीले अनुहार धुँदा निखार आउँछ ।

१७. तुलसीको पातमा कागती मिसाएर लगाउनाले झुरोपन हटेर अनुहार चम्किलो हुन्छ ।

१८. दुधको तरमा बेसार मिसाएर अनुहारमा लगाउनाले दाग वा धब्बा हट्छ ।

१९. गोरो हुनका लागि बिहान, दिउँसो र साँझ गोलभेडाको रस पिउनु पर्छ ।

२०. हप्तामा एकपटक अनुहारलाई वाष्प क्रियाद्वारा सफा गरेपछि पानीमा कागतीको रस मिसाएर लगाउनाले अनुहार सफा बनाउँछ ।

(स्रोत : रोशन दाहाल र शान्ता सिंखडाद्वारा लिखित ‘प्राकृतिक स्वास्थ्य सूत्र’)