सन् १८६० को कुरा हो । तात्कालिन राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीले नयाँ चुनौतीको सामना गर्न पुग्यो । प्रतिद्वन्द्वी डेमोक्रेट पार्टीको तर्फबाट स्टेफेन डगलस सशक्त उम्मेदवारका रुपमा खडा भए । उनी प्रखर नेता, वक्ता, वकिल तथा सिनेटर थिए ।
यसका विरुद्धमा उनलाई ठाडो चुनौती दिनसक्ने उम्मेदवारका रुपमा अब्राह्म लिंकनलाई राष्ट्रपति पदमा उठाउने फैसला गरियो रिपब्लिकनका तर्फबाट । प्रखर बक्ता डगलसलाई लिंकनले आधा दर्जनभन्दा बढी बहस कार्यक्रममा तथ्ययुक्त तर्क र कलाकौशलताको प्रयोग गरी पछारेको पछार्यै गरे । यो क्रम बढ्दै जाँदा उनले अन्तिममा डगलसलाई चुनावमा पनि पछि पारे । लिंकन विजयी भए ।
राष्ट्रपतिको चुनावताका डेमोक्रेटिक पार्टीमा दासप्रथा उन्मूलनको विषयमा ठूलो बहस चलिरहेको थियो । यो विषयलाई लिएर पार्टी नै विभाजित हुन पुगेको थियो । यसरी उठेको बहस र विवादसँगै डेमोक्रेटिक पार्टीका उम्मेदवार डगलसविरुद्ध उनकै पार्टीका नेता बागी उम्मेदवार बनेर निर्वाचनमा उठ्ने घोषणा गरे । डगलसविरुद्ध उठेका ‘कैंची उम्मेदवार’ का कारण लिंकन स्वात्तै माथि आए । यसले डगलसको हारलाई सुनिस्चित गरिदियो ।
उक्त निर्वाचनमा लिंकनले करीब १८ लाख ६५ हजार मत प्राप्त गरे । उनका सबै प्रतिद्वन्द्वीहरुको जम्माजम्मी मत २८ लाख २४ हजार थियो । यो अमेरिकी इतिहासमा निकै ठूलो राजनीतिक परिघटना थियो । यसले दासप्रथा उन्मूलन गरेर अमेरिकाको भाग्य र भविष्यको फैसला गर्ने शुभमुहूर्तको ढोका खोलिदिएको थियो । यसैका कारण लिंकन अहिले पनि अमेरिकी इतिहासमा निकै सम्मानित र पुज्य छन् ।
सन् १८६० को नोभम्बरको ६ तारेखका दिन उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भयो । राज्यले उनको विजयमा हर्षोल्लास मनायो । अमेरिकी इतिहासमा त्यस दिनदेखि मामुली गरीब परिवारमा जन्मिएका साधरण नागरिक देशकै सर्वोच्च स्थानमा पुगे । एक गरीब नागरिकले धनी देशको सत्ता सम्हाल्ने मौका पाए । आश्चर्यको विषय त यो पनि थियो कि उनले रिपब्लिकनजस्तो धनी पार्टीबाट निर्वाचनमा उम्मेदवारी पाएका थिए । यसका पछाडि उनको विचार, कला र क्षमताकै करामत थियो ।