• मंसिर ११ २०८१, मंगलवार

खड्ग ओलीविरुद्ध संघर्षको खड्ग उठाउँदै नेपाल-खनाल

चैत्र ४ २०७७, बुधबार

बुधवारदेखि काठमाडौंमा आयोजित नेपाल-खनाल एमालेको राष्ट्रिय भेलाबाट खड्ग ओलीविरुद्ध वैचारिक संघर्षको  खड्ग उज्याइने भएको छ । राष्ट्रिय भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यो कुराको स्पष्ट संकेत गरिएको छ । नेता कार्यकर्तालाई गैरवैचारिक बनाउने र पार्टीलाई फुटको संघारमा धकेल्ने वर्तमान अध्यक्ष ओली अबको संघर्षको निशानामा पर्ने भएका छन् ।

भेलामा छलफलका लागि वितरित प्रतिवेदनमा सारतः पार्टी अध्यक्ष ओलीको व्यक्तिवादी स्वेच्छाचारिताको विरोध तथा एमाले एकताको रक्षा हुने गरी कार्यकर्तालाई छलफलमा दिशा निर्देश गरिएको छ । राजनीतिक महत्वको अर्थ राख्ने यो निष्कर्ष आफैमा एमालेभित्र सिर्जित गैरराजनीतिक प्रवृत्तिविरुद्ध केन्द्रित छ ।

दस्तावेजमा विचार, संगठन र नेतृत्वको द्वन्द्वात्मक सम्बन्धलाई मिहिन पाराले उन्दै, उजिल्याउँदै र त्यसका अन्तरविरोधलाई औंल्याउँदै लगिएको छ । यही क्रममा एमालेभित्र पछिल्लो चरणमा राज गर्न पुगेको व्यक्तिवादी प्रवृत्ति कसरी र के कारणले उदय हुन पुग्यो यसको पनि चर्चा गरिएको छ । यी सारा कुरा गर्दा एमालेभित्रै सिमित रहेर यी सबैको उत्खननतर्फ संकेत गरिएको देखिन्छ । तर माओवादीसँगको गठबन्धन र तात्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण यो व्यक्तिवाद मौलाउनमा के कति मलजल पुग्यो त्यसका बारेमा दस्तावेजमा केही पनि बोलिएको छैन ।

हालको एमाले पार्टी फुट निकट पुगेको अवस्थालाई एक असाधरण परिस्थितिका रुपमा व्याख्या गरिएको छ । यस परिस्थिति निम्त्याउने कारकका रुपमा प्रवृत्तिगत हिसाबले ओलीको महत्वाकांक्षी व्यक्तिवादी गुटबादी प्रवृत्तिलाई औंल्याइएको छ । यो प्रवृत्ति एमालेमा पछिल्लो समयमा झांगिदै गएको असैद्धान्तिक र अराजनीतिक परिस्थितिका कारण मौलाउँदै गएको उल्लेख गरिएको छ ।

 

पार्टीभित्र मौलाएर गएको यो प्रवृत्ति सरकारमा पुग्दा संसद बिघटन गर्ने र स्वेच्छाचारिता लाद्ने अवस्थामा पुगेको उल्लेख गरिएको छ । हाल संसद पुनर्स्थापना  भएपछि पनि यो प्रवृत्तिले अनैतिकताको पराकाष्ठा प्रदर्शन गरिरहेको प्रति कटाक्ष गरिएको छ ।

त्यस अतिरिक्त नेपालमा गरिनु पर्ने संघर्ष सामन्त, दलाल तथा नोकरशाही पुँजीवाद विरोधी जनवादी क्रान्ति नै रहेको ठहर गरिएको छ । यससँगै नेपाली कम्युनिष्ट आन्दोलनमा हुने फुट र एकताको कारकका रुपमा विचार, कार्यदिशा र अन्तरविरोधको पहिचान र परिचालनका विषय वस्तुहरु रहने गरेको बताइएको छ । तिनमा क्रान्तिको हिंसात्मक वा शान्तिपूर्ण बाटो, नेपाली कांग्रेस र भारतलाई हेर्ने दृष्टिकोण, अर्धसामन्ती र अर्धऔपनिवेशिक नेपाली समाज र एमालेले अवलम्बन गर्न खोजेको उदार लोकतन्त्रसँगैको समाजवादी ध्येय आदि रहेको बताइएको छ ।

यसका साथै पार्टीभित्र रहेका नेता तथा कार्यकर्ता मात्र नभएर यसको दायरा फराकिलो पार्दै नीति निर्माणमा विज्ञ, विशेषज्ञ तथा आमजनताको राय तथा सुझावलाई पनि ठाउँ दिइने उल्लेख छ । यसका लागि तत्कालको कार्यनीतिक नाराका रुपमा पार्टी अध्यक्षको तानाशाही र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरौं, नेकपा एमालेको एकताको रक्षासहित सिंगो कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने नारालाई अघि सारिएको छ ।