दोलखा भीमसेनलाई पसिना आएको केही दिनपछि नै यसपाली देशमा सडक संघर्ष सुरु भयो । दलहरुमा सत्तोश्राप, एक अर्कामा खुइल्याउने, गिज्याउने, आमसभाको जवाफी फाइरिङ गर्ने, एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने, तभन्दा म ठूलो भन्ने पुरानै आनीबानीको विकास भएको छ । नागरिक अगुवादेखि सबैजसो दलहरु अब सडक सहारालाई विकल्पको रुपमा हेर्ने परम्पराको थाालनीमा पुगेका छन् । प्रतिनिधि सभाको अकाल मृत्युहँुदा अदालतमा मुद्दाको ओइरो लागेको छ भने युवा २५ से कानुन व्यवसायीदेखि बयोबृद्ध ९४ का कानुनवेत्ता प्नि अदालत छिरे ।
प्रतिनिधि सभा त ब्यूँतियो, तर निकास बिना । अब माखे साङ्लो सुरु भएको छ । सरकारमा आउन जान शर्त राख्न थालिएको छ । कसैलाई रेशम चौधरी छुटाउनु परेको छ त कसैलाई आलम । यही हो हाम्रो ३० वर्षको संघर्ष । अहिले सरकार त्रिशङ्कु बन्ने खतरा छ भने ३ वर्ष त झण्डै बहुमत त्यो पनि दुईतिहाईको भनेको त सरकार निर्दलीय पो रहेछ । कसलाई कुन दल भनेर थाहै भएको रहेनछ । पुनर्मूषिको भव, घुम्दैफिर्दै रुम्जाटार पठाएको छ अदालतले । भएन त फसाद, हिजो श्राप गर्नेसँग कुहिनु जोड्नु पर्ने नभए आप्mनो अस्तित्व नै नरहने अवस्था सिर्जना भएको छ, जनता भुक्याउने पनि हद हुन्छ नि ।
यो मातृभूमिले के के हेर्न चाहेको हो थाह छैन, तर सबैथोक अचम्मको भएको छ देशमा । कोरोना भन्दै चाड पर्व स्वस्थानी मेला समेत ओझेल परेका बखत राजनैतिक रंगकर्मीको भीडले देश उम्लिउको हेरेकै हो । राष्टृ प्रमुखबाट भीमसेनको क्षमापूजा गरेको त भन्थे, तर खड्गो टरेको जस्तोे छैन । नेपाल पूरै देवभूमि र तपोेभूमि त हुँदै हो । यो लेखमा दोलखाका भीमेश्वरबारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
स्कन्दपुराण हिमवत्खण्ड, नेपाल माहात्म्यले भीमेश्वर शिवजीका बारेमा विशद चर्चा गरेको छ ।
काठमाडौंँबाट पूर्व अरनिको राजमार्ग हुँदै बनेपा, दोलालघाट, लामोसाँगु, खरीढुङ्गा, जिरी सडकतर्पm चरिकोटहुँदै दोलखाबजार भीमेश्वरक्षेत्रसम्म पुग्न सकिन्छ । गौरीशंकर हिमालको काखमा दोलती, तामाकोशी र सुनकोशी नदीको संगम त्रिवेणीबाट उत्तरतिरको उच्च पर्वतक्षेत्रमा रहेको दोलखा बजारको छेउमा रहेका भीमेश्वरलाई दोलखावासीले दोलखा भीमसेन, भीमेश्वर, भीमसेनठाकुर, भीमसेनमहाराज, दोलखाधिपति भन्ने गर्छन् । दोलखा नगर भगवान भीमेश्वरबाट संरक्षित भएको महसुस गर्छन् ।
खुलाक्षेत्रमा भीमेश्वरको ३ फिट जति अग्लो शीलाको मूर्ति रहेको यो शिवलिङ्गलाई चारैतिरबाट खम्बा राखी चतुष्कोण बनाई सुनको गजुर स्थापना गरिएको छ । बीचमा तामाको जलहरीबाट जलधारा गराई नित्य रुद्री पाठ, जप, पूजा, आरती हुने गर्छ । मन्दिर परिसरमा धर्मशाला, धर्मस्तम्भ, भजन-कीर्तन स्थल रहेका छन् । पवित्र यसक्षेत्रमा गणेश, देवीका शिला मूति र अन्य मन्दिर पनि रहेका छन् । प्राचीन धारा, पोखरी, शीलास्तम्भ आदिले भीमेश्वरक्षेत्रको शोभा बढाएको छ । दक्षिणदिशापट्टि फर्किएको भीमेश्वरमन्दिरमा छानो राख्न नहुने किम्बदन्ती छ ।
शमीको छहारीमा रहेको भीमसेनलाई भीमेश्वर देवताका रुपमा पूजा गरिन्छ ।
भीमेश्वरको मूर्ति, रुद्र र देवीको अंश एक शिलामा समर्पित भएको त्रिभुजाकार कालो शिलामा ठडिएको छ । शिलाको एकभाग चोइटिएको अवस्थामा देखिन्छ भने अर्काेभाग पूरा देखिन्छ । चोइटिएको भागमा भीमसेनपाती राख्ने गरिएको छ भने अघिपछि पनि भीमसेनको पूजामा भीमसेनपातीलाई विशेष प्राथमिकता दिइन्छ । भीमेश्वरलाई तीनअवतार भएका एक देवताका रुपमा पूजा गरिन्छ । नित्य रुद्रीपाठ गर्दा यिनको अवतार शिवको, बली दिंदा देवीको र अन्य समयमा भीमसेनको रुप मानेर पूजा गर्ने गरिन्छ ।
बिहान ४ बजेदेखि निरन्तर ४ पटकसम्म विशेष पूजा गरिने यो मन्दिरमा पुजा गर्दा ढिकीमा कुटेको चामल अर्पण नगरी ओखलमा कुटेको चामल अर्पण गरिन्छ । प्रत्येक चतुर्दशी र भीमा एकादशीमा विशेष पर्वपूजा हुने सोक्षेत्रमा एकादशी, संक्रान्ति, शिवरात्रि र नवरात्रिमा पनि विशेष पर्वपूजा हुने गर्दछ । आदि ज्योतिर्लिङ्ग कुशेश्वर (सिन्धुली)देखि उत्तरक्षेत्रमा रहेको यसक्षेत्रमा सत्ययुगमा दैत्यले देवतालाई दुःख दिंदा इन्द्रादि देवता यहाँ आएर शिवजीको तप गरे ।
माघकृष्ण औंसीका दिन भीमस्वरुप शिवजीले दर्शन दिएर देवतालाई भन्नुभयो– नजिकै उत्तरतर्फ दोलती र ताम्रकोशीकी नदीका संगम नागतीर्थमा स्नान गरी दुर्गाको स्मरण गर । दुर्गादेवी खुसी भई वरदान दिंदा तिमी दानवमाथि विजय गर्न सक्छौ । भविष्यमा भीमेश्वरक्षेत्रमा आएर ब्रततीर्थ गर्नेहरूको मनोकामना पूर्ण हुने र लोककल्याणमा समर्पित हुने सक्नेछन् । शिवजीको त्यस्तो आदेश पाएका देवताहले त्यसै गरे । देवीले दर्शन दिइन् । दैवीशक्ति माहेश्वरी, कौमारी, ब्राह्मी आदि देवीहरू लिई भगवतीले कालकनामक दैत्यमाथि विजय गराई देवताहरूको रक्षा गरिन् ।
प्राचीन समयमा एक रुद्रशर्मानामक पितृभक्त व्यक्तिले श्राद्धका दिन आमिषपदार्थ सेवन गरेका कारण यमयातना पछि बँदेल भएर जन्म लिएछन् । त्यो बँदेलरुपी रुद्रशर्माले एकदिन देवतीर्थमा पानी पिएर अज्ञानवस उनी भीमेश्वर शिवक्षेत्रमा पुगेछन् । शिवजीको स्पर्श भएका कारण बँदेलको शरीर छुटेर शिव पार्षद भई कैलाशवासी हुने सुवर्ण अवसर प्राप्त गरेछन् । भीमेश्वर शिलाको दायाँ र बायाँ २ शिला छन् । जसलाई क्रमशः पाण्डवहरूकी आमा कुन्ती र द्रौपदीका रुपमा पूजा गर्ने चलन छ ।
भीमेश्वरको पछाडिपट्टि ठूलो काठको खम्बा छ । भीमेश्वरले अवतार फेर्दा त्यसमा पसेको भनिन्छ ।
अघि पाण्डव वनवास जाँदा एकपटक विराट राजाका दरवारमा शरण लिन पुगेछन् । विराट राजाकी सालीसँग किच्चकको कामुक दृष्टि पर्न जाँदा पाण्डवमध्येका वीर भीमसेनले किच्चकलाई वध गर्ने प्रण लिएर लखेट्न थालेछन् । किच्चक भाग्दै यसैक्षेत्र हालको दोलखासम्म आइपुगेछ । भीमसेन दोलखा पुगेर कौरवहरूलाई नास गर्न सकूँ भनेर शिव र शक्ति दुबैको संयुक्तरुपमा शक्तिसाधना गर्दै थिए । संयुक्त शक्तिसाधना गरेका भीमसेनमा महादेवका रौद्ररुप र भगवतीको अंशअवतार प्रवेश भयो ।
भीमसेन निकै बलिया भए । त्यसैक्षेत्रमा भीमको शिला उदय भयो । त्यही शिला भीमसेनका रुपमा परिचित भयो । पहिले एक सिद्ध बाबाले यहाँबाट घुम्दै कहाँ पुगिन्छ होला भन्दै हिँडेछन्, २ लाख पटक लगातार घुम्दा पनि जहाँबाट आएको त्यहीँ पुगेछन् । दुई लाख पटक घुमिएको हुनाले त्यो ठाउँलार्ई दुईलाखे भन्दै पछि अपभ्रंश हँुदा दोलखा भएको भन्ने किम्बदन्ती छ, नामकरणकोे सन्दर्भमा ।
दोलखा वास्तवमा लिच्छविकालदेखि नै व्यापारिक दृष्टिले तिब्बत तर्फको प्रवेशमार्ग हो ।
उत्तरतिरको लामाबगर व्यापारिक नाकाक्षेत्र हो अहिले पनि त्यहाँ नेवारजातिको बाहुल्यता छ । कुतीको बाटो हुँदै तिब्बततर्फ र दोलखाको लामाबगरहुँदै तिब्बत जाने मार्ग हो यो । चरिकोट सदरमुकामको शिर भागमा प्र्रसिद्ध कालिन्चोक भगवतीको निबास छ, जहाँबाट गोरीशंकर हिमाल र सगरमाथा देखिन्छ, कुहिरो नलाग्दा । भनिन्छ ब्रह्माजीले यहीँ बसेर संसारको सृष्टि गरेका हुन् । भीमेश्वरको प्रभावको कारणले यसक्षेत्रमा बस्ती बसेको हो । चरिकोटबाट तामाकोशी हँुदै पर्यटकीयक्षेत्र जिरी पुग्न सकिन्छ जहाँबाट सगरमाथाको ढोका खुल्छ । दोलखाक्षेत्र भीमेश्वरबाट संरक्षित र अभयपुरीका रुपमा रहेको भनिन्छ ।
भीमेश्वरको मूर्ति चोइटिएको सम्बन्धमा पनि एउटा किम्बदन्ती छ । एकपटक १२ जना ढाक्रेहरू त्यो मन्दिर नजिक पुगी बास बसेछन् । रातमा खाना (ढिंडो) पकाउन चुलो बनाउन तीनवटा ढुंगा ल्याई इँटा राखेर तयार गरिएछ । खाना पकाउँदा पहिलेदेखि नै गाडिएर रहेको ठूलो ढुंगोतर्फ भने खाना नपाकी काँचै रहेछ ।
एकापट्टि खाना किन नपाकेको भनी फलामे पन्यूँले हिर्काउँदा ढुंगाको एउटा चोइटो खसेछ र त्यहाँबाट रगत र दूध बग्न थालेछ । यहाँ देवता पो रहेछन् भनी ती ढाक्रेहरू डराएछन् । नराम्रो अनिष्ट नहोस् भनी दशैँंको महाअष्टमी पारेर विशेष पूजा गरेछन् । त्यसबेलादेखि यो क्षेत्रले अझ प्रसिद्धि पाएछ । दोलखा भीमेश्वरप्रति सम्पूर्ण भक्तहरूको अहिले पनि ठूलो श्रद्धा र विश्वास रहेको छ ।
यी भीमसेनको दायाँ अंगबाट पसिना आउँदा देशलाई र बायाँ अंगबाट पसिना आउँदा जनतालाई पिर्छ भन्ने मान्यता छ । वि.सं १९९० को भूकम्पपछि जव देशबासीलाई धेरै पिडा पर्यो यसबारे थप महसूस गर्न थालियो । ठेस नलागी आत्थाराम भन्न हामीलाई आउँँदैन पनि ! ९० को भूकम्पअघि त्यहाँ पसिना आउनु, १९९८ मा ४ शहीदको फाँसी अघि पसिना आउनु, ७ सालको राणा शासन अन्त्यको अघि, ११ सालमा त्रिभुवनको मृत्यु अघि, १८ सालको बाढ् पहिरो र अनिकालका अगाडि त्यहाँ पसिना आउनु संयोेग मात्र नहुन सक्छ ।
त्यस्तै २८ सालमा राजा महेन्द्रको मृत्युअघि र देशमा जनमत संग्रह अगाडि ३५ साल फागुनमा पसिना देखिनु, २०४५ साल चैत्रमा पसिना आएपछि पन्चायती व्यवस्थाको अन्त्य हनु, २०५७ साल माघ १ गते र १५ गते गरी २ पटक पसिना आउँदा नारायणहिटी दरबारको हत्याकाण्ड हुनु, २०६३ मा पसिना आउँदा धेरै नेपालीको मृत्यु हुनु, त्यसकै २ वर्ष अघि २०६१ को फागुनमा पसिना आउँदा देशमा भीषण जन आन्दोेलन हुनु, त्यसको १ दशकपछि २०७१ को माघ १ र १५ गते पसिना आउँदा २०७२ को असह्य पीडादायक विनाशकारी भूकम्प हुनु, २०७४ को असौजमा एकैदिन २ पटक पसिना आउनु, र १७ औं पटक २०७६ को फागुन ८ मा पसिना आउँदा देशैभरि कोरोना भित्रिएको आशंका हुनुमा संयोग मात्र नहुन सक्छ ।
पछिल्लो पटक यसै मार्ग महिनाको ९ गते विहान ८ः४५ बजेदेखि ३ः५४ बजेसम्ममा पटक पटक पसिना आएको हुदा देशमा अनिष्टको संकेत थियो । देशभरि नै देशबासीको धैर्य गुमेको छ र सडकभरि ओर्लिएको अवस्था रह्यो । कोरोना बन्दाबन्दीको मारमा परेका धेरै नेपालीले रोजगारी त गुमाएकै छन्, परिवारभित्र र समाजमा पनि भौतिक दूरीको आतंक छ, देशैभरि पूजा पाठ बन्द, आराध्यदेव पशुपतिनाथको मन्दिर झण्डै १ वर्षको बन्द, ठूला चाडबाडमा पनि शक्ति पीठ नखुलेको, बालाचतुर्दशीमा पितृ उद्धार हेतु बत्ति बाल्न नपाएको पीडा रह्यो । तर शिवरात्रिमा उत्साह देखियो, भक्तको भीड अपार देखियो यही फागुन २७ को महा शिवरात्रि पर्वमा ।
सरकार सत्तामा मस्त छ, देशमा ऋण वृद्धि भएको छ, विप्रेषणले देशको ढुकुटी चलायमान भएको छ, किसानलाई मल, बीऊ छैन, आयात बढेर निर्यात घटेर व्यापार असन्तुलन भई व्यापारघाटा चुलिएको छ । जनतामा चरम निराशा छ । राहत छैन, माछालाई पनि जाडो लाग्ने समयमा साना नानीहरुलाई विद्यालयमा उतारियो, वर्षभरि मनोवैज्ञानिक त्रासमा परेका नानीहरु थप त्रासमा परे । सँगै बाँचौं, सँगै स्वाद लिउँ भनेर जोडी मिलाएर निर्वाचनमा गएकाहरुको एकपछि अर्को रडाको थप्दै छन् । भरोसा त त्यही परमेश्वर हो, विरामी हुँुदा औषधि उपचार पाइएन, केही खोप त आयो तर यसको नाटक के हो, कहिले भनिन्छ ५५ वर्षकालाई दिने, कहिले ६५ वर्षकालाई, एउटै नीति भएन ।