• मंसिर ११ २०८१, मंगलवार

‘सूर्यास्त्र’ प्रहार गर्ने मुडमा ओली : प्रचण्डका सांसद अब ‘स्वतन्त्र’ बन्ने खतरा !

चैत्र १ २०७७, आईतवार

संसद बिघटन र पुनर्स्थापनापछि पनि आफ्नो अचुक सेटिङमा सफलहुँदै आएका प्रधानमन्त्री ओली अब अर्को अस्त्र प्रहारको तयारीमा रहेका छन् । यो अस्त्र भनेको प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका सांसदहरुलाई ‘स्वतन्त्र सांसद’मा परिणत गर्ने अस्त्र हो । माओवादी केन्द्रको बैठक बसी ओलीतिर रहेका आफ्ना नेता तथा सांसदहरुलाई ‘कि त फिर्ता आउन, नभए राजीनामा दिन’ लगाउने निर्णय गरिएपछि ओली ‘सूर्यास्त्र’ प्रयोगको तयारीमा देखिएका हुन् ।

प्रचण्ड नेतृत्वका सांसदहरु सूर्यचिन्हबाट बिजयी भएकाले उनीहरुलाई ‘हाल पार्टीमा नरहेको’ वा ‘छोडिसकेको’ भनी प्रम ओलीले पार्टी विधान तथा निर्वाचन आयोगको ऐनअनुसार कारबाही वा पार्टी निस्कासन गर्न सक्ने छन् । यसपछि प्रचण्डका निर्वाचित सांसदहरु ‘स्वतन्त्र सांसद’मा परिणत हुने छन् । यसपछि प्रचण्डपक्षीय निर्वाचित सांसदहरुको हैसियत माओवादी केन्द्र पार्टीसँग जोडिने छैन । पार्टी पूर्ववत अवस्थामा फर्किएपछि एमालेको निर्वाचन चिन्ह स्वतः सूर्य र माओवादी केन्द्रको हसियाँ-हथौडा भैसकेको छ । तर गठबन्धन बनाएर चुनावमा जाँदा तात्कालीन माओवादी केन्द्र र एमाले दुवैले एकअर्काका चुनाव चिन्हमा निशंकोच भोट हालेका थिए ।

निर्वाचित सांसद कुन पार्टी र कुन चिन्हबाट विजयी भएको हो, यसले निकै गहिरो अर्थ राख्ने भएकाले माओवादी केन्द्रका सांसदहरु अहिले जोखिमको यात्रामा छन् । एमालेकै नेपाल-खनाल पक्षले समानान्तर कमिटी निर्माण गरेर अघि बढ्ने भएकाले तत्काल उनीहरुका सांसदमाथि माओवादी केन्द्रको जस्तो निशाना लाग्ने भने देखिदैन । तर पनि सांसदको कार्यकाल अर्को आवधिक निर्वाचन नहोउन्जेलसम्मका लागि रहने भएकाले नेपाल-खनाल  पक्षमा पनि यसको मनोवैज्ञानिक असर पर्ने भने देखिन्छ ।

अहिले राजनीतिक विश्लेषकका माझमा ‘सूर्यास्त्र’ को चर्चा भैरहेको छ । के यसको प्रयोग होला ? प्रयोग भएमा यसको असर के होला ? यसले संसदीय संकटलाई कहाँ पुर्याउला ? के साच्चै निम्तिएला त अर्को संवैधानिक संकट ? संभावना बढी नै छ । संसदीय खेल सधैं अंकगणितीय खेल हुने भएकाले ‘स्वतन्त्र सांसद’ को गणना कसरी होला ? यिनलाई पनि एकेक गरी ओलीले खाने त होइनन् ? ‘सूर्यास्त्र’ को प्रयोगले प्रचण्ड पंक्तिलाई मात्र असर पुर्याउला कि अरुलाई पनि ? यी अहिले गम्भीर विमर्शका कुरा भएर आएका छन् ।

‘सूर्यास्त्र’ प्रहारपछि संसद झनै तरलतामा बग्न थाल्ने छ । राष्ट्रिय सभामा तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  सांसदका रुपमा एमाले र माओवादी केन्द्रका  सांसदहरुले भाग लिइरहेकाले तात्कालीन सत्तारुढ नेकपा नभएको हालको अवस्थामा ती सबै फिर्ता हुने छन् । किनकि, ती नेकपाद्वारा मनोनित हुन्, निर्वाचित होइनन् । राष्ट्रियसभामा यसपछि ‘कोल्याप्स’ को अवस्था सिर्जना हुने छ । त्यस अतिरिक्त प्रतिनिधि सभामा पनि तात्कालीन सत्तारुढ नेकपाबाट चुनिएका समानुपातिक सांसदको पनि अब आधिकारिकता रहने छैन । ‘सूर्यास्त्र’को असर सातवटै प्रदेश सरकार र प्रदेशसभामा पनि पर्नेछ । यसले प्रदेश सरकार र प्रदेशसभालाई पनि ‘कोल्याप्स’ को अवस्थामा पुर्याउने छ ।

नेपाली संसदमा हाल चलिरहेको ‘नयाँ महाभारत’को युद्ध अन्तिम चरणमा आइसकेको प्रतित हुन्छ । यसले ओलीलाई उनीसँग बाँकी रहेको ‘सूर्यास्त्र’ प्रयोग गर्ने दिशातिर डोर्याइरहेको छ । ओली पनि परिआएको खण्डमा यसको ‘बाध्यात्मक प्रयोग’ गर्न तयार रहेका देखिन्छन् । १८ दिनसम्म चलेको भीषण महाभारत युद्धको अन्तिम समयमा गुरु द्रोणाचार्यका छोरा अस्वत्थामाले आफूसँग रहेको ‘ब्रह्मशीरास्त्र’ लाई अर्जुनको बध गर्नका लागि अरुको अनुनय विनयको वास्ता नै नगरी प्रहार गरेपछि यसले सिंगो ब्रह्माण्डमा त्राहीमामको अवस्था सिर्जना गराएको हुन्छ । नेपाली संसदमा पनि ओलीसँग बाँकी रहेको एकमात्र ‘सूर्यास्त्र’ प्रयोग गर्न उनी पछि पर्लान् भन्ने अनुमान लगाउन गाह्रो छ ।