• मंसिर ११ २०८१, मंगलवार

कोरोना महामारीप्रति नेपालीको उपेक्षाभाव किन ?

चैत्र १ २०७७, आईतवार

कोरोना महामारीप्रति नेपालीको उपेक्षाभाव निकै बढ्दो छ । गर्दागर्दा त यो वेवास्तामा परिणत हुन थालेको छ । महामारीले विश्व आतङ्क फैलाइरहेको छ । तर नेपाल र नेपालीमा यसको कमैमात्र प्रभाव परिरहेको छ । यसका पछाडिका केही कारणहरु छन् ।

स्वास्थ्य चेतनाको कमी :

नेपालीहरुमा स्वास्थ्य चेतनाको निकै कमी छ । चेतनामूलक अभियान पनि कमै लगिने गरिएको छ । स्वास्थ्य संस्था आफूकहाँ आएका बिरामीको उपचार गर्ने मात्र उनीहरुको दायित्व भएको सम्झन्छन् । उनीहरुको काम यत्तिमै सीमित छ । उपचार गर्दा जनताबाट लिएको स्वास्थ्य शुल्कको केही प्रतिशत जनसेवामा लगाउनु पर्छ भन्ने धारणा छैन । बाध्यकारी नियम पनि छैन । जनता पनि रोगले सिध्याएर अन्तिम चरणमा पुर्याएका बेलामात्र अस्पताल जाने र उपचारको खोजी गर्ने गर्दछन् । यो बानीले कोरोना महामारीले आफूलाई ग्रस्त पारेर अन्तिम अवस्थामा नपुर्याउँदासम्म आफूलाई केही नभएको ठानिरहन्छन् ।

गरीबी र पछौटेपन :

अर्को कारण हो, गरीबी र पछौटेपन । यसले गर्दा मानिसले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकिरहेको छैन । यतिसम्म कि सरकारले निःशुल्क रुपमा दिइरहेको खोप लिने कुरा पनि उनीहरुको ध्यानमा आएको छैन । पहिलो चरणको खोप लिंदा यस्तै देखियो । दोस्रो चरणमा पनि कोरोनाको खोप लिने मानिस अपेक्षा गरिएभन्दा कमी नै रहे । सरकारी स्वास्थ्य संस्थाका मूल्यांकनमा नेपालीहरु माझ धेरै नै हेलच्यक्राइ भएको पाइएको छ । त्यो पनि जनताको पक्षबाट । साँझ बिहान खान लाउनकै समस्या भएकाले मानिसको रोजाइमा स्वास्थ्य धेरै परको प्राथमिकतामा धकेलिइरहेको छ ।

खोपबारे अनभिज्ञता :

खोप आफैमा औषधिको विकसित र दीर्घकालीन समाधान पनि हो । तर नेपालीहरुका माझमा खोपलाई सामान्य अर्थमा लिइएको छ । यो सिटामोलको ट्याबलेटजस्तो मानिएको देखिन्छ । सरकारले राखेको प्राथमिकीकरण पनि केही प्रवुद्ध बाहेक नेपाली जनतामाझमा जानकारीसम्म पुगेको छैन । खोपबाट हुने लाभ र हानीबारे कुनै पनि कुरा जनतालाई दिइएको छैन । यसले गर्दा पनि जनता मानसिक रुपमा तयार नभएको देखिन आएको छ ।

महामारीको विशिष्टता बोधमा कमी :

नेपाली जनताले कोरोना महामारीको सामान्य लक्षण आफैले बोध गरे । आफैले भोगे र अनुभूति आदानप्रदान गरे । यसले गर्दा उनीहरुले यसको असरलाई सामान्य रुघाखोकी जस्तो रुपमा बुझ्न थाले । हो, यो सरुवा रोग पनि हो । यसले भाइरल ज्वरो नै लिएर आउँछ । तर पनि यो त्यति मात्र होइन, वा रुघाखोकी मात्र होइन । यो नयाँ महामारी पनि हो । यो विशिष्टतालाई नेपाली जनमानसले बुझिसकेको छैन । त्यसैले पनि महामारी नियन्त्रण र रोकथाममा निकै ढिलासुस्ती र हेलच्याक्राइ देखिन थालेको छ ।

बजारिया मानसिकता :

जनतामा अहिले बजारीया मानसिकता हाबी हुँदै गएको छ । जे पनि बजारमा पाइन्छ भन्ने मानसिकताले काम गरिरहेको छ । कोरोनाजस्तो महामारीको औषधि पनि अबका दिनमा बजारमा आइहाल्छ, खोप छुटेर केही पनि हुँदैन भन्ने मानसिकता जब्बर छ । यसले पनि खोप अभियानमा ठूलो धक्का पुर्याएको छ ।

सञ्चारमाध्यमको प्रभाव :

अहिलेको सञ्चारमाध्यमको जमानामा सबैले सबै कुरा घरघरमा र क्षणक्षणमा सुनिरहेका छन् । आफ्नो पहुँचमा छ, सूचना जगत । यसले गर्दा पनि मानिसमा ढुक्कता बढ्न गएको छ । बेलायतमा, चीनमा, अमेरिकामा र रसियामा खोप बन्यो रे भन्ने बित्तिकै मानिस ढुक्क भएको देखिन्छ । यो आत्म विश्वासले पनि उनीहरुमा खोप लगाउन निकै हतारो गर्नु नपर्ने सोचमा पुर्याएको छ ।

कोरोना म्युटेशनबारे अनविज्ञता :

विज्ञ र केही प्रवुद्ध बाहेक अरुले कोरोना नयाँ नयाँ प्रजातिमा विकास भैरहेको छ र यसले डरलाग्दा हानी पुर्याउँददै आइरहेको छ भन्ने कुरामा आम जनतामा विज्ञता छैन । यसका बारेमा नयाँ र बुझ्ने किसिमले प्रचार पनि गरिएको छैन । बरु यी कुरा अफवाह वा भ्रमका रुपमा आएका झैं जनताका माझमा प्रचार भैरहेका छन् । यदि कोरोना म्युटेशनका बारेमा थाह हुन सके जनतामा खोपप्रतिको उपेक्षाभावमा कमी आउने थियो । कोरोना भाइरस संक्रमण कायमै रहिरहेको र दास्रो चरणको भाइरसको लहर प्रवेश गरिसकेको बेलामा समेत यी कुरा जनतालाई बोध गराउन सकिएको छैन ।

नेपालीको भावनात्मक सम्बन्ध :

नेपाली समाज बढि भावनात्मक छ । एकअर्कामा सामिप्यता साटासाट गर्नु उनीहरुको प्रथम सामाजिक दायित्व हो । उनीहरु समाजमा त्यत्तिकै घुलमिल भैदिने, सामूहिक रुपमा विनामास्क भोजभतेरमा सहभगी हुने, मुख जोडेर कुराकानी गर्ने, जोडसँग हाँस्ने र समूहमा रमाउने गर्दछन् । यसले महामारीको जोखिमलाई बढाउँदै लगेको छ ।

नेताहरुबीच सरकार खोसाखोसको चटारो :

नेपालका सत्ताधारीसहितका ठूला पार्टीहरु यति नै बेला सरकार खोसाखोसको अवस्थामा पुगेका छन् । यिनैले कार्यकर्ता तथा जनता उतारेर सडकहरुमा दैनिकजसो प्रदर्शन गराइरहेका छन् । पार्टीका भेला र प्रशिक्षण पनि यही बेलामा चलाइरहेका छन् । यस्तो बेलामा भौतिक दुरी कायम राख्ने भन्ने कुराको ख्याल नै रहंदैन ।

सरकारी मूल्यांकनमा कमजोरी :

संक्रमितको दर घट्दै गएको भनेर सरकारले आँकडा सार्वजनिक गर्नथालेपछि पनि नेपालीमाझमा अब कोरोनाको संक्रमण त्यति छैन भनेर उल्टो भान पर्न गएको हो । कम मात्रामा परीक्षण गर्ने र कम संक्रमित देखाउने चलनले नेपाल्किो स्वास्थ्य भविष्यमा खेलवाड त गरिरहेको होइन भन्ने प्रश्न उब्जिएको छ । नेपालीहरुले खोप अभियानमा चासो नदिनु मात्र होइन, मास्कको उचित प्रयोग गर्न समेत छाडिसकेका छन् ।

खाँचो प्रभावकारी प्रचार संयन्त्रको :

यी सबै कारणद्वारा सिर्जित समस्याको निराकरणका लागि प्रभावकारी प्रचार संयन्त्रको खाँचो छ । यसका लागि देशव्यापी सञ्चार नेटवर्क निर्माण गरिनु जरुरी छ । यसले मात्र सोचे अनुसार कामलाई अघि बढाउन मद्दत मिल्ने देखिन्छ ।