• मंसिर ११ २०८१, मंगलवार

नेपाल-खनाल पक्षलाई बाइपास गरेर ओलीले फुटाउँदै छन्, एमाले

चैत्र १ २०७७, आईतवार

१ चैत्र, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले बदर गरेपश्चात् पुनः यी दुई पार्टी ब्युँतिएका छन् । एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै यसका नेताहरू आआफ्नै पार्टीमा फर्किएका हुन् ।

तत्कालिन नेकपा अस्थित्वमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताको सबै पदिय दायित्व र जिम्मेवारी खोसेका थिए । त्यतिबेला देखि नै विभाजनको च्याप्टर सुरु भएको नेपालनिकट नेताहरू बताउँछन् ।

त्यतिबेला नेपाल–खनाल पक्ष प्रचण्डसँग पनि रुष्ट देखिन्थे । तथापि नेताद्वय खनाल–नेपालमात्रै ओलीको सिकार बनेनन् । समयक्रम गुज्रिदै गएपछि प्रचण्ड पनि ओलीको सिकार बन्नबाट बञ्चित भएनन् । त्यसपछि नेतात्रय प्रचण्ड, नेपाल र खनाल बिस्तारै ओलीप्रति असन्तुष्ट बन्दै गए र उनीहरू एकढिक्का हुँदै गएका थिए ।

प्रधानमन्त्री ओलीले एकलौटी र मनमौजी ढंगले काम गर्न थालेपछि पार्टीभित्रै अन्तर कलह सिर्जना भएको थियो । उक्त अन्तर कलह पार्टीभित्रैै छलफल र समिक्षा गरी समाधान गर्नुको साटो ओलीले विभिन्न सार्वजनिक कार्यक्रममा काम गर्ने वातावरण नभएको भन्दै अभिव्यक्ति दिँदै आएका थिए ।

त्यसपछि यस्तो अभिव्यक्ति दिनु उचित नभएको भन्दै प्रचण्डले पार्टीभित्र कुरा उठाएका थिए । यद्यपि ओली आफूले दिएको अभिव्यक्ति निराधार भएको भन्दै पानीमाथि ओभानो बने । पार्टीभित्रका कमीकम्जोरी सार्वजनिक कार्यक्रममै पोख्न थाले । त्यसपछि पार्टीभित्र यस विषयमा गम्भीर छलफल भयो । तर, उक्त छलफलका बारेमा ओली बेखबर भए ।

त्यसपछि ओलीले आफूनिकट नेताहरू मन्त्री तथा राजदूतमा नियुक्त गर्ने, अध्यादेश ल्याउने, संविधान विपरीत संसद विघटन गर्ने जस्ता बदनियतका कारण पार्टी विभाजनसम्म पुग्यो । त्यसैमा उनको अदालती सेटिङका कारण यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्थित्व नै समाप्त भएको छ भने एमाले र माओवादी केन्द्र पुनः अस्थित्वमा आएका छन् ।

यो सबै कार्यका लागि उनै ओलीलाई नै श्रेय जान्छ । उनकै कारण आज नेकपा अस्थित्वहीन हुन पुगेको छ । कानुनी रूपमै बदर भैसकेपछि नेकपा अब केवल इतिहासमा सीमित हुने पक्का छ भने ब्युँतिएका पार्टीद्वय एमाले र माओवादीको अवस्था पनि निकै नाजुक छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा बदरको फैसला गरेपछि पुनः अस्थित्वमा आएको एमालेभित्र यतिबेला ठूलो अन्तर कलह सुरु भएको छ । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्ति भर्खर नेपाल–खनाल पक्षलाई बाइपास गरे एमाले पुनर्गठन गरेका छन् ।

अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरिएको छ भने सातै वटा प्रदेशमा इन्चार्जसमेत तोकेको छ । जसअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।

प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा.राजन भट्टराईलाई दिइएको छ ।
प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवाली पाएका छन् । स्कुल विभाग प्रमुख भनेृ ओली आफैंले जिम्मेवारी समालेका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने भएको एमालेले जनाएको छ ।

ओली पक्षको एमालेले एकलौटी रूपमा इञ्जार्ज तोकेपछि बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल भने उपस्थित थिएनन् । तथापि उनीहरूले ओलीको कार्यविरुद्ध संघर्षमा उत्रिने बताएका छन् । ओलीले गरेको निर्णय अवैधानिक भएको भन्दै खनाल–नेपाल पक्षले एमालेभित्र समानान्तर कमिटी नै बनाएको छ ।

जसअन्तर्गत प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल, बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् भने शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारीसमेत दिइएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डे, र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावलले पाएका छन् । बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यसरी हेर्दा, नेकपा एमाले फुटको डिलमा पुगेको छ भने यसलाई प्रधानन्त्री ओली थप प्रश्रय दिएका छन् । नेपाल–खनाल पक्षलाई पाखा लगाएर उनले एमाले पुनर्गठन गरेका छन् ।

ओलीले पार्टीलाई एकढिक्का बनाएर लैजान खोजेको भए सायद पार्टी पुनर्गठन गर्दा नेपाल–खनाल पक्षलाई पनि समेटेर लैजान सक्नु हुन्थ्यो भन्छन्, खनालनिकट एक नेता । उनका अनुसार ओलीले पार्टी फुटाउनै खोजेकोले आफूहरूलाई बाइपास गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते राष्ट्रपतिसमक्ष सिफारिस गर्दै प्रतिनिधि सभा विघटन गरेका थिए । तर, त्यो संविधानविपरीत भएको कदम ठहर गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते संसद पुनःस्थापना गरिदिएको छ भने गत फागुन २३ गते नेकपा बदर गरिदिएको थियो ।
त्यसपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका छन् ।