• मंसिर ११ २०८१, मंगलवार

किन देब्रे दिमागले बढि काम गर्छ ?

फाल्गुन २९ २०७७, शनिबार

मस्तिष्क मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो । यो आफैमा वस्तु वा गिदी पनि हो । यो आफैमा चेतना वा विचार पनि हो । यसले सिंगो शरीरको नेतृत्व गर्छ । सबैलाई आफ्नो कमाण्डमा राख्छ । यसले हरेक सेकेण्ड शरीरका विभिन्न अंगहरुलाई निर्देशन दिइरहेको हुन्छ ।

मानिस निदाउँदा पनि मस्तिष्कले काम गरिरहने भएकाले हामीले सपना देख्ने गर्दछौं । अहिले मानिसको यही अंगलाई कसरी क्रियाशील बनाउने भन्ने चिन्ता सबैलाई परिरहेको छ । अस्वस्थ वातावरण, अनावश्यक कार्यबोझ, चिन्ता, तनाव र असफलताका कारण मानिसको दिमागले सही किसिमले काम गर्न सकिरहेको हुँदैन ।

दिमागको बनावट :

दिमागको दुई भाग हुन्छ : दहिने भाग र देब्रे भाग । यो अवस्थितिका आधारमा मात्र होइन, यसले गर्ने कामका आधारमा पनि दिमाग दुई भागमा बाँडिएको हुन्छ । दायाँ भागले वद्धिमत्तापूर्ण निर्देशन दिन्छ । बाँया भागले भावनात्मक निर्देशन दिन्छ ।
दायाँ (अपोलोनियन) भाग :  दिमागको दायाँ भाग वुद्धिमत्ताको भाग हो । यसले हरेक वुद्धिमत्तापूर्ण काममा निर्देशन दिने गर्दछ । जोकसैले पनि तर्क गर्दा, अर्ति दिंदा, पढाउँदा र कुन काम कसरी गर्ने भनी सोचिरहँदा दिमागको दायाँ भागले निर्देशन दिइरहेको हुन्छ ।

बायाँ (डायोनिसियन) भाग :  दिमागको बायाँ भाग भावनाको भाग हो । यो अनुभूत गरिने भावनाको सचेतन केन्द्र पनि हो ।

यसले भावनामा आफ्नो निर्देशन कमाण्ड राख्छ । रुँदा, समवेदना जाहेर गर्दा, करुणा, दया, माया प्रकट गर्दा यसले निर्देशन दिन्छ ।

गिदी आफैमा दुई भाग, दुई फरक चेतना र दुई फरक केन्द्र भएर पनि सिंगो शरीरमा एकअर्काको निर्देशन अन्तरविरोधी वा बाझ्ने नगरी दिंदैनन् । अक्कलझुक्कल कसैको ‘टङ स्लिप’ हुँदा यी दुवैको निर्देशन एकैपटक आउँदा जुधेर हो कि त्यसो हुने गरेको पनि भनिन्छ । तर जीवनको गति, यति र लय यिनैले दिने गरेकामा भने कुनै आशंका छैन ।

दायाँ (अपोलोनियन) पक्ष :

दायाँ (अपोलोनियन) मस्तिस्कको मानसकि तथा शारीरिक अभ्यास :

१. कुनै नयाँ कामका बारेमा सोच्नुहोस् । अथवा, नयाँ कम्प्युटर प्रोग्राम सिक्न थाल्नुहोस् । यो निकै कडा भए पनि प्रयास जारी राख्नुहोस् ।
२. आउने सालको लागि लक्ष्य निर्धारण गर्नुहोस् । त्यसका लागि सिलसिलेवार कार्यक्रम पनि तयार गर्नुहोस् ।
३. हरेक कामको तालिका तयार गर्नुहोस् । तालिका निकै कलात्मक तर वस्तुपरक वा व्यावहारमा उतार्न सकिने बनाउनुहोस् । त्यो तपाई वरपर रहेको वातावरण अनुकूल होस् । बनावटी र नौटंकीपूर्ण नहोस् ।
४. आफ्नो डेस्कलाई व्यवस्थित गर्नुहोस् । लथालिंग र भताभुंग अवस्थामा काम नगनर््ुहोस् । फाइलिङ प्रणाली चुस्त गर्नुहोस् र काम निकै व्यवस्थित गर्नुहोस् ।

५. जरुरी कामको सूची बनाउनुहोस् । भैसकेका कामको लेखाजोखा राख्नुहोस् । सिस्टममा काम गर्नुहोस् ।
६. हरेक काम प्रोजेक्टका रुपमा सम्पन्न गर्नुहोस् । त्यसलाई चरणबद्धतामा सम्पन्न गर्नुहोस् । हतारमा काम गर्दा बिग्रने र निराशा आउने हुन सक्छ । काम पनि गरिरहने र लक्ष्य अनुसार उपयोग पनि गरिरहने गर्नु पर्छ ।
७. मिटिङमा समयमै जानु होस् । ढिलाइले तपाईको मनोविज्ञानमा नकारात्मक असर पार्न सक्छ । यसले लघुताभाष ल्याउने र अ?को टिप्पणीले कार्यक्रम नै खल्लो हुने हुनसक्छ ।
८. तर्कशक्ति हुने खेल खेल्नुस् । यसले मनोरञ्जन दिनुका साथै दिमाग पनि तेज गराउँछ ।

९. निर्णय लिने समयमा तर्क, सम्भावना र आँकडाहरुको सहयोग लिनुहोस् ।
१०. घरमा पुस्तक, फाइल र औषधि उचित ठाउँमा राख्नुहोस् ।
११. परिवार र परिवारका सदस्यले गर्ने काम, उनीहरुको रुचीअनुसार तय गरिदिनोस् । कार्यविभाजन उनीहरुको रुचीअनुसार गरिदिनोस् । लादेर कुनै पनि काम हुँदैन, त्यसमा गुणस्तरीयता आउने कुरा त परै जाओस् ।
१२. हरेक कुराको आआफ्नो स्थान हुन्छ । मानिसको पनि आआफ्नो स्थान हुन्छ । मानिसमा फरक यही हो, क्षमताले यसको निर्धारण गर्दछ । यसमा कहिले काँही पैसा, पद र शक्तिले पनि स्थानमानमा फरक ल्याएको हुन्छ । तर त्यो क्षमता र विद्वताको तुलनामा क्षणिक हुन्छ ।

१३. विगतको समीक्षा गर्नुहोस् । पाठ सिक्नुहोस् । तर पश्चात्ताप होइन ।
१४. आफ्नो काम समयमै पूरा गर्नुहोस् ।

बायाँ वा (डायोनिसियन) पक्ष :

 

त्यसै गरी बायाँ वा (डायोनिसियन) पक्ष मस्तिस्कको पनि मानसिक तथा शारीरिक अभ्यास जरुरी छ । यसलाई हामीले व्यावहारिक रुपमा सम्पन्न गर्न सक्छौं पनि । यसमा पनि दायाँ पक्षजस्तै नियम वा परिकल्पना र व्यवहारको उचित तालमेल र समायोजन गरेर अघि बढ्नु पर्छ ।
बायाँ (डायोनिसियन) मस्तिस्कको मानसिक तथा शारीरिक अभ्यास :
१. वैज्ञानिक आइन्स्टाइन भन्छन्- ज्ञानभन्दा कल्पनाशिलता कैयौं गुणा महत्वपूर्ण हुुन्छ । त्यसैले आजभन्दा दशकौं पछिको समृद्ध पारिवारिक स्थितिको परिकल्पना गर्नुस् ।

२. आफ्नो संगठन, पार्टी, छिमेक, देश, घरपरिवार र आफ्नो जोडाजोडीको उन्नत जीवनको परिकल्पना गर्नुस् ।
३. आफ्नो कार्यालय वा घरको मर्मत सम्भार गर्नुस् । भित्ता रंगाउनुहोस् । आफ्नो चित्तप्रशन्न हुने पोष्टर टाँस्नुहोस् ।
४. आफुले गरेको काम, व्यवसाय, उद्योग वा परिवारको लोगो बनाउनुहोस् । त्यो तपाईको प्रगतिको ब्राण्ड बनोस् ।
५. आफूले नै परिकल्पना गर्नुहोस् । आफैले सोच्नुहोस् । आफ्नै अन्तरज्ञानका आधारमा अघि बढ्नुहोस् । आत्मविश्वास बढाउनुहोस् ।

६. परिकल्पनाअनुसार नयाँ उत्पादनको थालनी गर्नुहोस् । त्यसको बजार व्यवस्थापन तथा बिस्तार गर्नुहोस् ।

७. आफ्नो चित्त प्रशन्न हुने संगीत सुन्नुहोस् । संगीतमा लिन हुँदै रचनात्मक काममा लाग्नुहोस् । तपाईको हृदय पनि त्यही संगीतको गति, यति र लयमा धड्कन थाल्छ ।

८. काम गर्दा निकै रमाइलो सहकार्य गर्नुहोस् । मैले सबैथोक जानेको छु भन्ने अहम् नलिनुहोस् । किनकि, त्यो कामका बारेमा तपाईलाई थाह होला पनि तर त्यही काम फेरि गर्न थाल्दा समय फेरिइसकेको हुनसक्छ, ठाउँ पहिलेको भन्दा भिन्न हुन सक्छ । परिवेश फरक हुन सक्छ र सहकर्मी फरक हुन सक्छन् । अहिले ‘फेयर एण्ड लभ्ली’लाई ‘ग्लो एण्ड लभ्ली’ भनेर अर्को नाम दिए झैं रुचीमा पनि फरक आइसकेको हुन सक्छ ।
९. विज्ञान तथा प्रविधिका कारण अबका काम सामूहिक हुँदै गएका छन् । समूहको छलफलबाट निर्णय लिनुहोस् ।

१०. हरेक कुरालाई शब्दमा मात्र होइन, चित्र बनाएर अनि परिकल्पना गरेर सचित्र अध्ययन गर्न थाल्नुहोस् । यसले तपाईको बुझाइमा दर्जनौं कोणबाट फरक ल्याउन सक्छ ।

११. बाल्यावस्थामा कुनै पनि काम नलाद्नुस् । उनीहरुसँग उनीहरुकै इच्छाअनुसार खेल खेल्नुहोस् । यसले उनको दिमागी विकासमा ठूलो र सकारात्मक असर पार्छ ।

१२. मानव निर्मितभन्दा पनि प्राकृतिक वातावरणमा रम्नुहोस् । हावा, पानी आदिसँग खेल्नुहोस्, रमाउन सिक्नुहोस् । यसले तपाईको वौद्धिक क्षमतामा निकै सहयोग गरिरहेको हुन्छ ।

१३. मानिससँग विनम्र हुनुहोस् । काम गरिसकेकालाई धन्यवाद दिनुहोस् । गल्ती गरेकालाई महसुस गर्ने गरी सम्झाउनुहोस् । घातक प्रहार नगर्नुहोस् ।

यी कामहरु मानसिक तथा शारीरिक रुपमा गर्न सक्यौं भने हामीले यसबाट दिमागमा रहेको भावनात्मक वा बायाँ पक्षलाई दैनिक सुधार गर्दै समृद्ध बनाइरहेका हुने छौं ।

निष्कर्ष :
यसरी हेर्दा मानिसको दायाँभन्दा बायाँ भागको मस्तिस्कले धेरै काम गर्ने गरेको देखिन्छ । मानिस र उसका व्यवहार अहिले पनि बढी भावनात्मक हुने गरेका छन् । त्यसमा उसको समाज र वरपरको वातावरणले पनि निकै प्रभाव पारिरहेको हुन्छ ।