काठमाडौँ । दुई साताको अवधिमा शेयर लगानीकर्ताको सम्पत्ति साढे २ खर्ब रुपैयाँले घटेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुको सम्पत्तिको मूल्य २ खर्ब ५० अर्ब रुपैयाँले घटेर ३४ खर्ब रुपैयाँ भन्दा तल झरेको छ ।
फागुन ९ मा शेयर बजारको कुल बजार पुँजीकरण सर्वाधिक ३६ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ पुगेको थियो । बुधबारको अन्तिम कारोबारमा त्यस्तो पुँजीकरण ३३ खर्ब ८७ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ । यो करिब ६ दशमलव ९० प्रतिशतको गिरावट हो ।
बजार पुँजीकरण सबैभन्दा उच्च विन्दुमा रहेको अवस्थामा बजार परिसूचक नेप्से २ हजार ६ सय ४० अंकमा पुगेको थियो । अहिले नेप्से २ हजार ४ सय अंकमा आएको छ । शेयर बजार घट्दै जाँदा कारोबार रकममा पनि सुस्तता देखिन थालेको छ । नेप्से सर्वाधिक विन्दुमा पुगेर घट्न थालेपछि केही दिन देखि नाफा बुक गर्ने समुह हाबी हुन पुग्दा बजार घट्ने क्रम जारी रहेको छ ।
नेप्से र कारोबार रकम दुवै घट्नुलाई सकारात्मक रुपमा लिन सकिदैन । बजार घट्दा कारोबार कम हुनुको अर्थ मूल्य घटेर सस्तोमा शेयर बेच्न लगानीकर्ता तयार नभएको अवस्थालाई पनि बुझाउने गर्छ । यो भनेको अझै पनि सेयर होल्ड भैरहेको छ भन्ने बुझाउँछ । तर,परिसूचक घट्दा पनि कारोबार रकम नबढ्नुको अर्थ खरिदकर्ताहरु बजारप्रति अझै विश्वस्त हुन नसकेको भन्ने बुझिन्छ ।
यसैबीच १५ औं पञ्चर्षीय योजनाले सेयर बजारमा ९ वटा चुनौतीलाई उजागर गरेको छ । योजनामा धितोपत्रको प्राथमिक बजार देशभर विस्तार भए तापनि दोस्रो बजार विस्तार हुन नसक्नु, धितोपत्र बजारमा उत्पादनमूलक र वास्तविक क्षेत्रका संस्थाको सहभागिता न्यून हुनु, गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई धितोपत्र बजारमा आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी व्यवस्था नहुनु लगायतका रहेका छन ।
धितोपत्र व्यवसायीमा व्यावसायिकता तथा प्रतिस्पर्धात्मक क्षमताको अभाव हुनु, संस्थागत सुशासनको अभ्यास कमजोर हुनु, लगानीकर्तामा वित्तीय साक्षरताको कमी हुनु, धितोपत्र सम्बन्धी उपकरणको विविधीकरण हुन नसक्नु, धितोपत्र कारोबारको लागत उच्च हुनु र दोस्रो बजारमा धितोपत्रको मूल्यमा अस्वभाविक र अत्याधिक उतार चढाव हुनु नै धितोपत्र बजारको चुनौतीको रुपमा रहेको छ ।
धितोपत्रको दोस्रो बजार देशव्यापी रूपमा विस्तार गर्नु, संस्थागत लगानीकर्ता भित्रयाउनु, धितोपत्र बजारलाई पारदर्शी, प्रतिस्पर्धी, स्वच्छ र विश्वसनीय बनाउनु, बण्ड, डिवेन्चर लगायत पुँजी बजारका उपकरणको विस्तार गर्नु अहिलेका चुनौती रुपमा रहेको छ । उत्पादनमूलक र वास्तविक क्षेत्रलाई पुँजी बजारमा भित्रयाउन, वैकल्पिक लगानी कोषको विकास गर्नु र वस्तु विनिमय बजारलाई स्थानीय वस्तुसँग आबद्ध गराई देशको कृषि क्षेत्रको समेत स्तरोन्नति हुने गरी बजारको विकास गर्ने कार्य प्रमुख चुनौतीको रुपमा रहेको छ ।