काठमाडौँ। । नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । शनिवार भएको फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
टियु क्रिकेट मैदानमा एपीएफले दिएको १ सय ६ रनको लक्ष्य पुलिसले २४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए । दिपेन्द्र सिंह ऐरी ११ रनमा अविजित रहे ।
एपीएफका अविनास बोहरा र भुवन कार्कीले १-१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।
एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८-१८ रन बनाए ।
भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन बनाए । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए ।
कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे । कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४र ४ विकेट लिए । गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए ।
पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए ।
उपाधिसँगै पुलिसले ५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ३ लाख हात पार्यो । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो ।