• मंसिर ११ २०८१, मंगलवार

सफलताको शिखरमा संगीतकार अनुरागी

फाल्गुन २६ २०७७, बुधबार

तत्कालिन धौलागिरि अञ्चलको मुकाम रहेको बाग्लुङ बजारको दक्षिणपट्टिको डाँडामा रहेको भकुण्डे गाउँमा इन्द्रेणी टोल थियो । त्यहाँ रामलाल रसाइली र पवित्रा रसाइलीको परिवारको बसोबास थियो । रसाइली दम्पत्तीको एक छोरा र २ छोरी पछि काँहिलो सन्तानको रुपमा फेरि छोरा जन्मिए, २०३२ साल फागुन ७ गते । उनको जन्म इन्द्रेणी गाउँमा इन्द्रेणी आए झैँ भयो । रसाइली परिवारमा ३ छोरी र १ छोरा थपिए । पाँच बहिनी छोरी र तीनभाइ छोरा गरी जम्मा ८ सन्तान जन्माएका ती दम्पत्तीका माहिला छोरा अरु छोराछोरीभन्दा केही विशेष देखिए । ती हाल नेपाली सङ्गीतको दुनियाँमा मूर्धन्य बनेर उदाए, संगीतकार बीबी अनुरागीका नामबाट ।

पाठकवृन्द ! आउनुहोस् उनको जीवनलाई पर्गेल्ने कोशिस गरौं ।

चञ्चले बाल्यकाल :

पञ्चायती राजनीतिक व्यवस्था उकालो लागिरहेको बेला पछौटे ग्रामीण परिवेश बोकेको भकुण्डे डाँडा आफ्नै गतिमा अघि बढिरहेको थियो । बाग्लुङ्ग गीत संगीतको उसैपनि उर्वरभूमि हो । त्यहाँ गीतसंगीत राम्रोसँग फल्ने र फक्रने  गरिरहेको छ । चञ्चले स्वभावका बालक अनुरागीले उनीभित्र रहेको प्रतिभा बाहिर प्रस्फुटित गर्न थाले । आमाका पोल्टाबाट झरेर बारीमा खेल्दा उनले माटोमै संगीत भर्न थाले । बाउको आरनमा गालिरहेको फलाम र हावा फुकिरहेको खलाँतीमा संगीतको झङ्कार सुने । खलाँती चलाउँदा निस्कने हावाले आरनको गोललाई फुकेर बनाएको रातो आगो र त्यै आगोमा काँचो फलाम हाल्दा रातै बन्ने फलामे गेलमा उनले मेलोडी खोजे । फलामकै अचानोमा फलामकै घनले गेल बनेको फलामलाई पिट्दा निस्कने आवाजमा उनले संगीतको ताल खोजे । रसाइली अर्थात् विश्वकर्मा परिवार भएकाले घरमा उनको बुवाको आरनमा गाउँका मात्रै होइन, छिमेकी गाउँका समेत हँसिया, खुँडा, खुकुरी, बन्चरो, भाँडाकुँडा लगायत कृषिकर्म गर्दा चाहिने औजार निर्माण तथा मर्मत गर्न आउँथे । अनुरागीका बुवा आरनमा आफै मुख्य कालिगढ थिए ।

परम्परागत कृषिकर्म पनि उनीहरु गर्थे । पवित्रा दैनिक रुपमा कृषि कर्मको मेलापात धान्थिन् भने रामलाल आरनको काममा जुटिरहन्थे । रामलाल अर्थात् बीबी अनुरागीका बुवा खास गरेर खुकुरी बनाउनमा माहिर थिए । उनले बनाएका खुकुरी बाग्लुङमा मात्र होइन, बाग्लुङ भकुण्डेको खुकुरी भनेर पर्वत, बाग्लुङ, मुस्ताङ र पोखरामा समेत चिनिन्थ्यो । टाढाटाढाबाट मानिस उनले बनाएका खुकुरी किन्न आएको स्मरण गर्छन् अनुरागी । उनी भन्छन्, ‘खासगरी खुकुरीको बिँड राम्रो बनाउन राम्रो सिप चाहिन्छ, त्यो मेरो बुवामा थियो ।’ उनको बुवाको खुकुरी बनाउने सिपको प्रख्यातीका कारण नै हुनुपर्छ, बाग्लुङ्ग बजारमा तत्कालिन शाही नेपाली सेनाको व्यारेकबाट उनको आरनमा खुकुरीको अर्डर आउँथ्यो । शाही सेनाले परेडमा भिर्ने खुकुरी रामलालले नै बनाएका हुन्थे ।

बालकहुँदै खुकुरी पुर्याउन बुवासँग शाही सेनाको व्यारेकमा जाँदा भएका र बिग्रिएका अरु खुकुरी पनि मर्मत गर्नुपर्ने भयो । त्यै कामका लागि अनुरागी उतिबेलै ३ दिनसम्म व्यारेकमा बसे । गाउँघरमा ठुलाबडाले गर्ने कामको उनी अनुसरण गर्थे । पाका पुरानाले अंगालेको बाँसका डोकाडाला बुन्ने कामलाई उनले दुरुस्तै उतारे । ठुलाहरुले बाँसको चोयाबाट डोकोडालो बुन्ने काम गरे भने उनले त्यै चोयाबाट आफ्ना खेलौना बनाउन थाले । सानै उमेरमा अनुरागीले अल्मुनियमको गुच्छा बनाएर आफुले खेल्ने मात्रै होइन, साथीभाइलाई समेत बेच्ने गर्थे ।

माटोमा, आरनमा र चुटिरहेको फलाममा संगीतको मेलोडी र ताल खोज्ने बालक अनुरागीले साच्चिकै संगीत त्यतिबेला देखे, जब उनको घरमा एकदिन सारंगी रेट्दै गाइने दाई आइपुगे । गन्धर्व दाइले उनको दैलोमा कर्खा गाइसकेपछि सारंगी मागेर त्यसलाई खुब सुमसुम्याए । अहिले पनि गाउँघरमा सारंगी किन्न पाइँदैन भने त्यो समयमा झन् पाउने कुरा थिएन । खिर्रोको काठबाट सारंगी बन्ने कुरा उनले गन्धर्व दाइलाई सोधेर थाह पाएका थिए ।

मादल किनिदिएपछि मात्रै विद्यालय जान थालेका:

बालक अनुरागीमा संगीतको नशा कतिसम्म रहेछ भनेर बुझ्नलाई वा जाँच्नलाई एउटै घटना काफी छ । जब उनी ५ वर्ष पुगे २०३७ साल फागुनमा उनका आमा बुवाले उनलाई विद्यालयमा औपचारिक शिक्षा दीक्षाको लागि भर्ना गरिदिए । विद्यालय जान नमानेका अनुरागी मादल किनेर भिराइदिएपछि चाहिँ खुरुखुरु विद्यालय जान थाले । तीन कक्षामै पढ्दा उनले आफैले बाँसुरी बनाएर बजाउन थाले । सर्लक्क परेका बाँसुरी हुने किसिमका निगाला वा बाँस देख्यो कि काटेर घरमा ल्याइहाल्ने बानी थियो उनको । उनको यो बानीले उनकी आमालाई पनि सहयोग पुग्यो । उनले थुपारेका सबै निगाला र बाँसबाट बाँसुरी बन्दैनथे, तर खाना पकाउने दाउराको भने काम हुन्थ्यो ।

६-७ कक्षामा पढुन्जेल उनी बाँसुरी बनाउन माहिर भइसकेका थिए । त्यतिन्जेल अनुरागीले मार्मिक धुनमा बाँसुरी बजाउन सिकिसकेका थिए । उनको त्यो कला टोल, छिमेक, गाउँघर र वरपरसमेत परिचित बन्यो । आफ्नो गाउँमा मात्रै होइन, वरिपरिका गाउँबाट समेत सांस्कृतिक कार्यक्रम हुँदा, मेला पर्व हुँदा वाद्यवादन, खासगरी बाँसुरी वादनका लागि उनलाई निम्तो आउन थाल्यो । सानो छँदै खिर्रोबाट सारंगी बन्ने कुरा चाल पाएका उनले ८ कक्षामा पढ्दा एकजना साथीलाई लिएर वनभरि डुली बेलुका दुईवटा खिर्राका मुढा जम्मा गरे । छोरोले सारंगी बनाउन ल्याएका मुढा भनेर उनका बुवाले थाह पाएनन् । बाल्ने दाउराको लागि होला भन्ठानेर एउटा मुढा उनको बुवाले चिरिहालेछन् । बचेको एउटा मुढाबाट अनुरागीले आफैले आफ्नो सारंगी निर्माण गरे । कक्षा ९ मा पढ्दा उनी आफैले एउटा नाटक लेखे । नाटकको शीर्षक ‘घर छोडेपछि ।’ ‘घर छोडेपछि’ साथीभाइसँगको सहयोगमा उनीहरुले गाउँमा मञ्चन गरेर समेत देखाए । इन्द्रेणी गाउँका जनताले पहिलोचोटी मञ्च र मञ्चन गरेको नाटक हेरे । उनको कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थिए । पढाइमा आफू त्यति जाँगरिलो नभएको बताउँछन् अनुरागी । अलिकति गृहकार्य भने गर्थे । कक्षामा प्रथम हुने, शैक्षिक रुपमा अरुलाई जित्ने त उनले आशा गरेनन्, त्यसअनुसार मेहनत पनि गरेनन् तर प्रायजसो कक्षा उक्लंदा उनी दोस्रो भएर उक्लने गरे । अरुभन्दा उनलाई गणित रुचीको विषय थियो ।

२०४८ सालमा उनले एसएलसी पास गर्दा उनका दाई भारतीय सेनामा जागिरे भइसकेका थिए । कक्षाबाट सबैले एसएलसी दिँदा उनीसहित ३ जनामात्र नियमित पास भए । त्यो समयमा गाउँघरमा एसएलसी पास गरेका मानिस कमै हुन्थे । उनका जेठा दाजु नै गाउँका पहिलो एसएलसी पास थिए। छोराले नियमित रुपमा एसएलसी पास गर्दा उनको बुवा खुसी मात्रै भएनन्, उनको पनि प्रतिष्ठा समेत बढ्यो ।

उच्च शिक्षासंगै संगीतको संसारमा हेलिनु:

एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि उनी पोखरा आए । नेपालकै सबैभन्दा ठूलो क्याम्पस भनेर चिनिने पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भएर आइएड पढ्न थाले । खासमा पोखरा आएपछि नै उनको जीवनको अलि बढी संघर्ष सुरु भयो । रामलाल रसाइलीका जेठाछोरा भारतीय सेनामा लाहुरे भइसकेका थिए । कान्छो छोरा सानै थिए । त्यसकारण माहिलो छोरालाई राम्रै शिक्षादीक्षा होस् भनेर उनले छोरा बीबीलाई पोखरा पढ्न पठाएका थिए ।

सोचेजस्तै र अरुको देखेजस्तै सरल रेखामा कहाँ बग्दो रहेछ र, जीवन ! मानिसको जीवन त हण्डर ठक्कर खाँदै, पीडा र घाउ सहँदै पो अघि बढ्ने रहेछ । पृथ्वीनारायण क्याम्पसमा आइएड पढ्दाको दोस्रोवर्ष बीबी अनुरागीको जीवनमा बज्रपात आइलाग्यो । त्यै वर्ष उनका बुवा रामलाल रसाइलीको देहान्त भयो । बुवाको देहान्तपछि अनुरागीको सपनाको आधार भाँचियो । बुवाको मृत्युबाट उनी विचलित भए । जिन्दगीले अर्कै खालको मोड लिने भयो । निःसन्देह उनमा औपचारिक पढाइभन्दा प्रयोगात्मक संगीतमा बढी रुचि थियो । वर्षाको समयमा उर्लने कालिगण्डकीका भेलभन्दा बढी आफ्नो मनभित्र उर्लने संगीतको बाढी थाम्न उनलाई महामुस्किल भयो ।

क्याम्पसको पढाइ र विद्यालय संगीत प्रशिक्षण केन्द्र पोखरामा सिक्न सुरु गरेको संगीतलाई सेती दोभानमा छोडेर बुवाको मृत्युपछि उनी घर आए । गाउँमै बसेर १ वर्षसम्म बुवाको आरन चलाएर गुजारा गरे उनले । उनलाई गाउँमा बसेको, पढाइ छोड्न लागेको देखेर उनले पढेको विद्यालयका शिक्षक साथै  उनको विद्यालयका प्रधान अध्यापक जगन्नाथ शर्मा , शिक्षक खिमबहादुर थापा, स्थानीय अगुवा नरबहादुर थापा लगायत घरमै आएर ‘तिमीजस्तो राम्रो विद्यार्थीले यसरी पुख्र्यौली काम गरेर जीवन गुजार्ने होइन, जसरी पनि पढ्नु पर्छ, कि त तिमी संगीतमै लाग्नुपर्छ’ भन्न लागे । खर्चको अभाव भए शिक्षकले उठाएर भएपनि सहयोग गर्ने वचन दिए । आमाले बरु आफूले दुःख गर्ने तर छोरालाई जसरी भए पनि पढाउने अठोट गरिन् । लाहुरे दाजुले पढाइ खर्च पठाउने भनेर पढ्न नै जान भने । सबैले हौसला, प्रेरणा र उत्साह दिंदा झण्डै १ वर्षपछि फेरि पढाइलाई निरन्तरता दिन उनी पोखरा आए ।

गाउँमा बसेर रुपरंग अर्कै भइसकेको, धेरै समयपछि आउँदा क्याम्पसका उनका सहकर्मी, सहपाठीले उनलाई चिन्नै धौधौ भयो । परीक्षा फारम त भरे तर हाजिरी नपुग्दा स्वास्थ्य तथा शारीरिक लगायतका विषयको प्रयोगात्मक परीक्षामा क्याम्पसले उनलाई समस्या देखायो । सबैले उनलाई सहयोग गरे । स्ववियुले मध्यस्थता र सहयोग गर्यो । क्याम्पसमा पनि राम्रो अंक ल्याएर पास गरे उनले । आइएड पास गरेर फेरि भकुण्डे आए । उनी गणितका राम्रा विद्यार्थी थिए । त्यसमा झन् शिक्षा नै पढेका । गाउँको भर्खरै खुलेको निजी विद्यालयमा शिक्षक बने उनी । प्राथमिक स्तरको निजी विद्यालय थियो, त्यहाँ पढाए । एसएलसी दिनेलाई गणितको ट्युसन पनि पढाए । एक वर्ष गाउँको विद्यालयमा पढाइसकेपछि बाग्लुङ्ग बजारको ठूलो निजी विद्यालयले उनलाई बोलायो । बाग्लुङमा उनको धेरै मानिससँग सम्पर्क भयो ।

धौलागिरि सांस्कृतिक संगम :

स्वभावैले गाउँभन्दा सहर ठूलो बिसौनी हुन्छ । ठूलो बिसौनीमा धेरै मानिसलाई ठाउँ पनि रहन्छ । झन् बाग्लुङ बजार धौलागिरि अञ्चल सदरमुकाम नै थियो । बाग्लुङ बजारमा शिक्षक बनेर आउँदा आफूभन्दा अगाडिका कलाकार वसन्त के.सी., शुभराम भारी लगायतसँग उनको सम्पर्क भयो । तिनै अग्रजको पछि लागेर बीबी  बाग्लुङ बजारमा ‘धौलागिरि सांस्कृतिक संगम’को  संस्थापक सदस्य भए । सो सांस्कृतिक संगममा केही समयपछि म्याग्दीका कलाकारसमेत मिसिए । ‘धौलागिरि सांस्कृतिक संगम’ को सदस्य भएर उनी विभिन्न कार्यक्रममा गाउन, बजाउन थाले । गायनभन्दा बढी उनले सो संस्थामा सारंगी र बाँसुरीको वाद्यवादन गरे । संगमको तर्फबाट उनीहरु म्याग्दी, बाग्लुङ्ग, मुस्ताङ्ग र पर्वत लगायत पूरै धौलागिरिका गाउँवस्तीमा सांस्कृतिक अभियान चालेर मानिसलाई नाचगान, नाटक देखाउँदै गए । सोही अवसरमा उनीहरुले गाउँघरका भाकाहरु सालैजो, यानीमाया, शिरफुले माया लगायत टिपेर संगीतबद्ध गरे । २०५३ सालको मध्यसम्ममा बाग्लुङ्ग बजारमा निजी विद्यालयमा पढाउँदै त्यसरी संगीत कर्म गरेर बिताए ।

पहिलो पटक स्टुडियोमा गीत गाउँदा :

२०५१ सालमा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराले पश्चिमाञ्चल लोकदोहरी गीत सम्मेलन आयोजना गर्यो । उनी पोखरा आएर सो सम्मेलनमा सहभागी भए । रेडियो नेपाल पश्चिमाञ्चल क्षेत्रीय प्रसारण केन्द्र पोखराले २० जना नयाँ कलाकार छान्ने गरी लोकदोहरी गीत सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा आएर अनुरागीले आफ्नै रचना र संगीतमा ‘दुःखी मुहार आँशुले धुँदै’ बोलको गीत गाएर घर फर्किहाले । सम्मेलन अर्थात् प्रतियोगीताको परिणाम आउन ४-५ दिन लाग्ने भएकाले र पोखरामा त्यतिदिन बस्ने खाने खर्च अभावमा उनी घर फर्किएका थिए । घर गएको हप्तादिनमा कतै आफ्नो नाम आयो कि भन्ने आशमा उनले गाउँबाट २ घण्टा हिँडेर बाग्लुङ बजार आई रेडियो नेपाल पोखरामा फोन गरेर सोधे । तर फोन उठाउने मानिसले उनको नाम ननिस्केको बतायो । आफ्नो नाम आउला जस्तो पनि उनलाई लागेको थिएन किनकि २० जना चाहिएको ठाउँमा त्यहाँ सम्मेलनमा झण्डै ८/९ सयजना सहभागी भएका थिए । फेरि अनुरागीलाई आफ्नो स्वरमा त्यति धेरै भरोसा पनि थिएन । के थाह मेरोभन्दा अरुको राम्रो थियो होला भन्ने सोचेर चित्त बुझाए ।

उनले सम्मेलनमा गाएको गीतको शब्द जस्तै ‘दुःखी मुहार’ लिएर उनी बजारबाट घर फर्किए । तर कुरा अर्कै रहेछ खासमा उनको नाम त्यो सम्मेलन अथवा प्रतोयोगितामा तेस्रो नम्बरमा निस्किएको रहेछ । अर्कै काम विशेष पोखरा आउँदा एकचोटी रेडियो नेपालले निकालेको सूचना हेरिहालौं न त भनेर पोखरा मालेपाटन रेडियो नेपालको सूचना बोर्डमा आँखा डुलाइरहेका अनुरागीको समूहलाई देखेर तत्कालिन रेडियो नेपाल पोखराका संगीत विभाग प्रमुख सरोज गोपालले ‘ए भाई ! के हरेको तिमीहरुले ?’ भनेर सोधे । उनीहरुले आफ्नो जिज्ञासा सरोज गोपाललाई सुनाए । सरोज गोपालले अनुरागीलाई तिमी बलबहादुर विश्वकर्मा होइन ? तिमी कहाँ हराएका थियौ ? यहाँ तेस्रो नम्बरमा नाम निकालेर यसरी चुप लागेर बस्न मिल्छ ? भनेर उल्टै हपारे । उतिबेलै फोनबाट सोध्दा नाम आएको छैन भनेर जानकारी पाएको अनुरागीले बताए ।
त्यसपछि भित्र कार्यालयमा गएर सरोज गोपालले फोन उठाउने मानिस सबैलाई बेस्सरी हप्काए । तर त्यसदिन त्यो फोन उठाउने मानिस नै थाह लागेन । प्रतियोगितामा गाएको अनुरागीको त्यो गीत रेडियो नेपाल पोखराले रेकर्ड गरिदियो । अब त झन् अनुरागी रेडियो नेपालमा गीत रेकर्ड गराएको गायक नै भैगए । पछि उनले आधुनिक गीततर्फ पनि रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरे ।

 फेरि पृथ्वीनारायण क्याम्पस र पोखरामा सांगीतिक संघर्ष :

समयसँगै फक्रंदै र फैलंदै गयो । एकगेडा रोपेको विरुवा विस्तारै बढेर अरु लाखौँ गेडा दिने क्रममा फैलिन खोजे झैं बीबी अनुरागी पनि फैलन खोजे । धौलागिरि पूरै उनले चालिसकेका थिए । अब त्यो घेरा पनि उनलाई अलि साँघुरो महशुस हुन थाल्यो । नेपालको पश्चिमतिर दोस्रो राजधानी मानिने पोखरा गएर उच्चशिक्षालाई बढाउने र संगीतका लागि संघर्ष गर्ने विचार गरे । पोखरा आए । स्नातकमा उही पृथ्वीनारायण क्याम्पसमा भर्ना भए । अब उनको उमेर पनि परिपक्व भइसकेको थियो भने जिम्मेवारी पनि बढेको थियो ।

आफ्नो पढाइ खर्च गर्नुपर्ने, भाई बहिनीहरुलाई पढाउनुपर्ने र घरमा पनि आमालाई केही खर्च पठाउनु पर्ने दायित्व उनमा थियो । उनी आफैं त्यो महशुस गर्थे । बिहान स्नातक पढ्न क्याम्पस जाने, बेलुका पोखराका होटेल र रेष्टुरेण्टमा सारंगी र बाँसुरी बजाएर दिन, समय व्यतित गर्न थाले ।आखिर उनले गरेरै भ्याएपनि। पहिले दुईजना बहिनी एसएलसी पास गरेर पोखरा आए अनि कान्छो भाई र कान्छी बहिनी पनि संगै एसएलसी पास गरेर पोखरा नै आए। चारजना भाईबहिनीको क्याम्पसको पढाई साथै संगीतकर्मबाट आएको पैसाले आफ्नो खर्च चलाएर घरमा पनि आमालाई खर्च पठाउँदै गरेर स्नातक पास गरे । अब उनी नेपाल सरकारको हाकिम हुन योग्य थिए । माध्यमिक विद्यालयको शिक्षक समेत हुने योग्यता र प्रमाण–पत्र उनको हातमा थियो । तर उनलाई यस्ता काममा अल्झिनु थिएन । साउनमा बिहार नै बगाउला झैं गरि उर्लेर आउने कोशीजस्तै उनको मनभित्र बग्ने विशाल संगीतको कोशी थियो । यसलाई उनले नेपाली संगीतको धर्तीमा बगाउन चाहन्थे । त्यै आफूभित्र उर्लने विशाल कोशीजस्तै संगीतले नेपाली संगीत क्षेत्रको सुख्खा जमिनलाई भिजाउन चाहन्थे उनी ।

उनले स्नातक पास गरुञ्जेल पोखरामा पप संगीतका वादशाहको रुपमा चिनिने तिलकबम मल्लले ‘परिवेश’ ब्याण्ड स्थापना गरिसकेका थिए । तिलक बम र अनुरागी दुवै बाग्लुङकै थिए । पोखरामा बाग्लुङेहरुको भेट हुँदा मन मिल्यो, सहकार्य गर्न थाले । ‘परिवेश’मा उनले गीत कम्पोज गर्ने वा भनौं शब्दमा संगीत भर्ने काम गर्न थाले । बाँसुरी त उनको बाल्यकाल देखिको साथी नै थियो । अर्को उनको साथी थियो, सारंगी । ‘परिवेश’ले स्टेज कार्यक्रम गर्दा अनुरागीले तिनै आफ्ना साथीजस्ता बाजा बजाए । त्यसको अलावा उनले कि-बोर्ड पनि बजाए । उनी संघर्ष गर्न र परिआउँदा अत्यधिक परिश्रम समेत गर्न पछि पर्दैनथे । कतिसम्म भने एउटै गीतमा पालैपालो कि-बोर्ड र बाँसुरी बाजाइदिन्थे उनी ।

‘परिवेश’बाट उनी देशका हरेक कुना कन्दरामा स्टेज कार्यक्रम लिएर पुगे । सो ब्याण्डका प्रायजसो कार्यक्रममा देशका बिभिन्न कुना कन्दरामा पुगे । देशबाहिर सिक्किम र दार्जिलिङ्गका नेपाली माझ उनी प्रत्यक्ष पुगे । २०५४-०५५ सालतिर पोखराको फूलबारी रिसोर्टमा चर्चित गायक रामभक्त जोजिजू र तबला बादक श्यामलाल श्रेष्ठहरुको साथ लागेर त्यहाँ उनी संगीत कर्म गर्ने जागीरे भए । रिसोर्टमा मुख्यगरी उनी वाद्यवादन गर्थे, अनि गायन पनि उनको भागमा पर्यो ।

फूलवारी रिसोर्टमा संगीत कर्मलाई अगाडी बढाई रहँदा उनलाई वाद्यबादनको लागि बिदेश पुग्नुपर्यो। २०५६ सालमा सांगीतिक सम्मेलनमा उनि थाइल्याण्ड पुगे। जो उनको भारत बाहेक पहिलो बिदेश भ्रमणको रुपमा रह्यो। थाईल्याण्डमा आयोजित लोकधुनको सम्मेलनमा अनुरागीले नेपालबाट प्रतिनिधित्व गरेर वाद्यबादनको प्रस्तुती दिए। १५ मिनेट सारंगी र १५ मिनेट बाँसुरी बजाएर सोलो प्रदर्शन गरेर उनि स्वदेश फर्किए।

जीवनको महत्वपूर्ण घुम्ती :

सबै मानिसको जीवनको करिअरमा कुनै न कुनै घुम्ती, मोड र विन्दु रहेको हुन्छ । जुन विन्दुबाट मानिसको जीवनले छलाङ् मारेको हुन्छ । कुनै एउटा घटना हुन्छ अथवा गरिएका काममध्ये एउटा काम यस्तो भइदिन्छ, जो काम मानिसको पहिचान बनेर आइदिन्छ । बीबी अनुरागी भनेर संसारभरिका नेपाली माझ उनलाई चिनाउने एउटा गीत छ । त्यै गीतले उनलाई चिनायो र बनायो भन्दा अतिशयोक्ति नहोला । २०५५ सालमा रेडियो नेपालले देशव्यापी रुपमा खुल्ला आधुनिक गीत प्रतियोगिता गर्ने भयो । रेडियो नेपालबाट सो कुराको उद्घोष गरियो । रेडियो नेपालले गीत माग गर्यो । पोखराबाट राजकुमार बगरका शब्दलाई बीबी अनुरागीले संगीत भरेर रामभक्त जोजीजुको स्वरमा एउटा गीत उनीहरुले प्रतियोगिताको लागि रेडियो नेपाल काठमाडौँ पठाए । ‘उडेर जून छुन्छु भन्थे, तर आज पिंजडाको चरी भा’छ जीवन ! जुगौंजुग जीउँछु भन्थे, तर आज आफ्नै काखमा मरिरा’छ जीवन !!’ बोलको गीत सो वर्षको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा सर्वप्रथम भयो ।

राष्ट्रव्यापी प्रतियोगितामा उनले संगीत सिर्जना गरेको गीतले लिड गरिसकेपछि सारा दुनियाँले संगीतकार बीबी अनुरागीको नाम सुन्यो । ‘उडेर जून’ले उनलाई संगीतकारको रुपमा चिनायो, स्थापित गरायो । पोखरामा नै बीबी अनुरागी बस्ने थाह पाइसकेपछि पोखरा र आसपासका गीतकार साथै गायक उनलाई भेट्न लायालित भए । हुन पनि उडेर जूनमा उनले मनछुने शब्दलाई हृदयभित्रै पसेर संगीत सिर्जना गरेका थिए । त्यसपछि शब्दहरुमा संगीत भर्न उनलाई धेरै अफर आयो । शब्दहरुमा संगीत सिर्जना गरेको पारिश्रमिक पनि आउन थाल्यो । अब उनको जीवनले आर्थिक रुपमा अलि सजिलो मोड लिन थाल्यो । पोखरामा उनी आफ्नो समयका चर्चित तथा निर्विरोध संगीत सर्जक (कम्पोजर) का रुपमा चिनिन थाले । २०५८ सालबाट अनुरागीले शब्दलाई संगीतमा ढाल्ने मात्रै होइन, एरेञ्जरको रुपमा समेत काम गर्न थाले । २०५८÷०५९ सालमा पोखराको संगीत दुनियाँमा उनले तहल्का नै पिटे । तिनताका पोखराका स्टुडियो फेवा डिजिटल स्टुडियो र वार डिजिटलमा एकदमै लोकप्रिय संगीतकार र एरेन्जरको रुपमा उनले निरन्तर काम पाइरहे ।

राजधानी काठमाडौँमा :

संगीतकार अनुरागीले अब हात फैलाउन चाहे, खुट्टा पसार्न चाहे । उनको चाहनालाई बुझेर होला वा भनौं प्रतिभा चिनेर पनि हुन सक्छ २०६० सालको सुरुमा नेपाली गीतसंगीत तथा रङ्गमञ्चका सम्मानित र एकदमै चर्चित हस्ती नारायण रायमाझीले उनलाई राजधानी काठमाडौं बोलाए। रायमाझीले अनुरागीलाई काठमाडौंमै बस्न सल्लाह दिए । तर अनुरागी डराए । राजधानीमा चल्न सक्दिन कि, प्रतिस्पर्धा गर्न सक्दिन कि भन्ने उनको मनको कताकता डर थियो । अनुरागी अकमकाउँदा रायमाझीले आफ्नै रीमा रेकर्डिङ्ग स्टुडियोमा संगीतकार, एरेञ्जर राखेर भए पनि उनलाई काठमाडौं बसाले । त्यो समयमा रायमाझीले उनलाई लाउनु गुण लाए अथवा माथिल्लो सिढी चढ्न गर्नु सहयोग गरे। कतिसम्म भने रायमाझी आफै चलेका संगीतकार हुदाहुदै अनुरागीलाई राम्रा राम्रा गीतमा संगीत सिर्जना गर्न र संगीत संयोजन गर्ने जिम्मा दिए।

रीमा रेकर्डिङ्ग स्टुडियोमा धेरै हिट गीतहरुमा अनुरागीले काम गरे वा यसरी पनि भन्न सकिन्छ अनुरागीले संगीत सिर्जना गरेका अनि संगीत एरेञ्जरको काम गरेका धेरै गीतहरु नेपाली भाषाका श्रोताको रोजाइमा परेर हिट भए । लोक तथा दोहोरी गीतहरुको संगीत सिर्जना र एरेञ्जरमा नेपालमा त्यतिबेला लगभग उनको एकछत्र राज भयो भन्दापनि हुन्छ । त्यो कुरा २०६० सालको वरिपरि निस्कने गीती एल्बममा संगीत र एरेञ्जर भनेर प्रायःजसो बीबी अनुरागीको नाम देखिनुले पुष्टि गर्छ । काठमाडौँमा भर्खरै आएको त्यो समयमा उनलाई भ्याइनभ्याई भयो । एकदिनमाgb bv ४÷५ वटासम्म गीतमा संगीत सिर्जना र संगीतको एरेञ्ज गरे उनले । निःसन्देह कामसँगै उनलाई दाम पनि आयो । सुरुसुरुमा काठमाडौँमा गरिखान सकिंदैन कि भन्ने डर थियो, तर अहिले लगातार एरेञ्जरको काम पाइरहँदा आफ्नो मुख्यकाम संगीत सिर्जना पो छुट्छ कि भन्ने डर पनि भयो ।

प्रिज्म डिजिटल रेकर्डिङ्ग स्टुडियो स्थापना :

अनुरागीकै रेकर्डिङ्ग स्टुडियोमा अनुरागीसँग लेखक

काठमाडौँ आएपछि उनी संगीतको काममा अघि बढ्दै गए । यतिन्जेलसम्म आउँदा बीबी अनुरागी राजधानी काठमाडौँमा पनि स्थापित भए । अथक संघर्षको प्रतिफल स्वरुप संगीतकार अनुरागी भनेर उनी नेपाली संगीतका स्रोतामुखी भइसकेका थिए । त्यसो त जीवनमा उनले आफ्नो संघर्षको परिणामस्वरुप कहिल्यै पछि फर्केर हेर्नुपरेन । जीवनका हरेक खुटकिलामा उनी अघि बढ्दै गएनन् मात्रै, सफल पनि बन्दै गए । उनी भन्छन् ‘जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन ।’ पाइला संगीतका चाल्दै अघि बढेका अनुरागीले धेरै समय अरुका कम्पनीमा कर्म गरेर समय गुजारे । चलेका संगीतकार र एरेञ्जर भइसकेपछि उनमा आफैले केही गर्ने सोच पलायो । अब आएर उनलाई आफैले स्टुडियो खोल्ने हुट्हुटी चल्यो । अरुकै स्टुडियोमा मात्रै काम गरिरहनु भन्दा ‘आफ्नै स्टुडियो भयो भने कस्तो हुँदोहो’ भन्ने विचारले आफैले उनले केही गर्ने अठोट गरे जसअनुसार २०६२ सालमा उनले बबरमहल काठमाडौँमा प्रिज्म डिजिटल स्टुडियो स्थापना गरे । अरुको स्टुडियोमा काम गरिरहेका अनुरागीले अब प्रिज्म स्टुडियोमा अरुलाई काम दिने भए ।

प्रिज्म डिजिटल स्टुडियो

आजभोलि मानिसहरु अडियोमा गीत सुन्नुभन्दा गीतलाई भिडियोमा हेर्न बढी मन पराउँछन् । भिडियोसहित हेरेपछि मात्रै गीतको मान्यता दिनेजस्तो चलन आजका समयका युवायुवतीमा देखिन्छ । तर २०६० को दशक यस्तो थियो, त्यतिबेला संगीतकर्मी अडियोमार्फत् नेपाली स्रोतासँग जोडिने गर्थे । गीति एल्बममार्फत् आफ्ना रचना र सिर्जना निकालेर स्रोतासम्म पठाउने गर्थे । कि त रेडियो नेपाल र अरु त्यतिबेला स्थापित सामुदायिक र निजी रेडियो (एफ्एम्) बाट गीत सुन्नु पर्दथ्यो । आजको जस्तो डिजिटल जमाना त्यतिबेला थिएन । सुविधासम्पन्न थोरै मात्र स्थानमा टेलिभिजनको पहुँच थियो । त्यहाँबाट भने दर्शकहरु श्रष्टासँग जोडिने मौका पाउंथे । धेरै कलेक्सन गीति एल्बमहरुमा अनुरागीले संगीत सिर्जना गरेको कुरा यतिञ्जेल तपाइँलाई थाह भैसक्यो । चलचित्रहरुमा पनि उनले संगीत दिए । चलचित्रको व्याकग्राउण्डमा पनि उनको संगीत पर्यो ।

संगीतको सागर :

एउटा दुईटा गीतमा अनुरागीले संगीत सिर्जना गर्ने वा भनौं एरेञ्ज गर्ने काम मात्रै गरेनन्, उनले आफ्नो संगीतमा सोलो एल्बम निकाले । २०५६ सालमा उनले आफ्नो एकल संगीतमा पहिलो सोलो गीति एल्बम निकाले ‘तस्बिर’ ‘तस्बिर’बाट उनी एल्बममा देखा परे । त्यसपछि ‘आधार’, ‘शिरीष’, ‘लक्ष्य’, ’फूल’, ‘मोहनी’, ‘निरमाया’, ‘आकर्षण’, ‘विकल्प, ‘शुभ–यात्रा’, ‘तरंग’, ‘तरंग–२’, ‘संकल्प’, ‘समय’, ‘दुरी’, ‘साक्षी’, ‘आउन प्रिय’, ‘सगुन’, ‘बहार’ र ‘सचेतना’ लगायतका आफ्ना सिर्जना पोखिएका गीति एल्बममा मात्रै होइन, ‘बाटुली’, ‘जीवन लिला’, ‘गोर्खा पल्टन’, ‘नागबेली’, ‘निसानी’, ‘दृष्टिकोण’, ‘परदेशी’, ‘मेरो कथा’, ‘मेरो देश’ लगायतका १८ नेपाली कथानक चलचित्रमा समेटिएका चर्चित गीतहरुलाई आफ्नो संगीतको सागरले सिञ्चिएका छन् । दर्जन बढी नेपाली कथानक चलचित्रमा ब्याक ग्राउण्ड संगीत दिएका छन् ।

संगीत सिर्जना मात्रै होइन, लोक, आधुनिक, भजन र राष्ट्रिय गीतहरु गरेर ५० भन्दा बढी गीतहरुमा उनले स्वर समेत दिएका छन् । त्यस्तै अनुरागीले ६० भन्दा बढी गीतका शब्द सिर्जना गरेका छन् । राष्ट्रिय गीत, भजन, आधुनिक गीत, पपगीत, लोकगीत साथै नेपाली कथानक चलचित्रका गीत गरेर जम्माजम्मी २,००० भन्दा बढी गीतका शब्दहरुमा आफ्नो संगीत सिर्जनाको जादु छोडेका उनले त्यस्तै गरेर ७,००० बढी गीतहरुमा संगीत एरेञ्ज (संयोजन) गरेका छन् । ‘फूलको डाली काटेर’, ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’, ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’, ‘जहाँ तिमी त्यहाँ म हुन नपाउँदा’, ‘रुमाल धोको छु, यो खोलीको पानी कोई नखानु मैले छोको छु’, ‘छुट्ने कुरा नगर है सानू तिमी छौ र मुटुको यो ढुकढुकी चल्छ’ बाटुली चलचित्रको ‘वनमा न्याउली, म त पहाडकी छोरी भन्छन बाटुली’ गोर्खा पल्टन चलचित्रको ‘जाउला रेलैमा सरर गोर्खा पल्टन’ लगायतका तपाई पाठक वृन्दले संगीत बजारमा सुन्ने हिट र चर्चित गीतमा उनकै संगीत पोखिएको छ ।

बिवाह :

पहिले पनि भनियो काठमाडौँमा अनुरागी वरिष्ठ संगीतकर्मी नारायण रायामाझीको साथमा रहे या भनौं रायमाझीले उनलाई काठमाडौँमा संघर्ष गर्न सिकाए, सजिलो बनाए । संगीतमा कर्म गरेर अहोरात्र खटिरहँदा त्यो दिन र समय पनि आयो । अब अनुरागीले प्रणय जीवन सुरुआत गर्नुपर्ने भयो । अर्थात् अब अनुरागीको वैवाहिक जीवनमा जोडिने समय आयो । रायमाझीको अभिभावकत्वमा अनुरागी २०६३ साल माघ २७ गते जन्ती लिएर बुटवल पुगे, जहाँ सुनिता सुनार उनलाई स्वयम्वर गर्न माइतीले बुटवलको सिद्धबाबा मन्दिरमा बनाएको जग्यमा बसेर   कुरिरहेकी थिइन् । माघ २८ गते कन्यादान लिएर सुनितालाई गाडीमा राखेर अनुरागी काठमाडौँ आए । वैवाहिक जीवनमा बाँधिएपछि अनुरागी र सुनिताले २०६५ चैतमा पहिलो सन्तानको रुपमा छोरी शिक्षा रसाइलीलाई जन्म दिए । त्यसपछि २०७१ सालको चैतमै उनीहरुले दोस्रो सन्तानको रुपमा छोरा सर्जक रसाइलीलाई जन्म दिए ।

पुरकार तथा सम्मान :

संगीत कर्ममा संघर्ष गरिरहँदा अनुरागीलाई विभिन्न स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले विभिन्न समयमा मान, सम्मान र पुरस्कारबाट विभूषित गरेका छन् । दुई दर्जनभन्दा बढी संगीतका अवार्ड आफ्नो पोल्टामा पारेका उनका केही पुरस्कार तथा प्राप्तिहरू हेरौं । २०५४ सालमा उनको अवार्ड तथा प्रमाणपत्र पाउने क्रमको ढोका खुलेको देखिन्छ । सोही वर्ष उनलाई पोखरेली तमु युवा परिवारले संगीतको अवार्ड प्रदान गरेको थियो । त्यसपछि २०५७ सालमा लेखनाथ जेसीसले उनलाई वर्ष संगीत पुरस्कार प्रदान गर्यो । पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनले २०६० सालमा उनलाई सम्मान तथा अवार्ड दियो । दलित उत्थान एकीकृत विकास समूहले २०६२ सालमा अनुरागीलाई संगीतमा योगदान गरेवापत अवार्ड प्रदान गर्यो । कर्णाली सम्पदा संरक्षण मञ्चले २०६५ सालमा उनलाई कर्णाली संगीत पुरस्कार दियो ।

विहानी सांगीतिक समूह काठमाडौँले २०६६ सालमा विहानी संगीत पुरस्कार उनलाई दियो । सरगम कला मन्दिर काठमाडौँले उनलाई २०६६ सालमा सरगम कला संगीत पुरस्कार दियो । २०६७ सालको पोखेरेली संगीत पुरस्कार उनको पोल्टामा आइपुग्यो, जो पोखेरेली युवा सांस्कृतिक परिवारले वितरण गरेको थियो । २०६७ सालमै सुर्खेतमा अयोजित मध्यपश्चिमाञ्चल क्षेत्रीय महोत्सवमा उनलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । पोखराबाट प्रदान गरिने अर्जुन नेपाली स्मृति पुरस्कार २०६८ सालमा उनलाई नै प्रदान गरियो । पर्यटन प्रवद्र्धनका लागि कलाकार समूह बाग्लुङले उनलाई २०६८ सालमा सम्मान तथा पुरस्कार प्रदान गर्यो । बाग्लुङबाट प्रदान गरिने कलाकार बाबुराम-सरस्वती स्मृति पुरस्कार २०६९ सालमा उनै अनुरागीलाई नै प्रदान गरियो । २०६९ सालमै नेपाल कुवेत सम्पर्क समितिले लाली गुराँस सांस्कृतिक अवार्ड उनलाई सुम्पियो ।

भगत सर्वजित स्मृति प्रतिष्ठान रुपन्देहीले उनलाई २०७० सालमा सम्मान तथा पुरस्कार प्रदान गर्यो । २०७१ सालमा जुल्फी सांस्कृतिक नाट्य समूह बाग्लुङले उनलाई नेपाली संगीतको क्षेत्रमा योगदान गरेवापत सम्मान तथा पुरस्कार प्रदान गर्यो । भद्रकुमारी घले संगीत सम्मान पुरस्कारबाट उनी २०७१ सालमा सम्मानित भए । १२औं इमेज अवार्डमा उनले सर्वोत्कृष्ट संगीत सर्जकको उपाधी हात पारे । पाँचौ नेफ्टा फिल्म अवार्डमा उनले चलचित्र गीतबाट वर्षकै सर्वोत्कृष्ट संगीत सर्जकको उपाधी जिते । अमेरिकाको टेक्सासबाट प्रदान गरिने हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत अवार्ड २०७१ सालमा उनले नै पाए । बेलायतबाट प्रदान गरिने नेपाली प्रतिभा पुरस्कार २०७२ उनलाई प्रदान गरियो । नारायण गोपाल युवा संगीत पुरस्कार २०७३ मा उनले पाए । नविन कला पुरस्कार २०७३ पनि उनैले भेट्टाए । नेपाल पर्यटन नागरिक सम्मानद्वारा २०७५ सालमा उनलाई सम्मान गरियो । सम्पदा कला मन्दिर पोखराले उनलाई २०७६ सालमा धुन सम्राटको उपाधीले विभूषित गर्यो । बिना कुनै बिदेसी फ्रेञ्चाईज नेपालमै मौलिक रुपमा आयोजना गरिएको नेपाली लोकगीतको रियालिटी सो नेपाल स्टारको ४ जना निर्णायकहरुमध्य अनुरागी एक रहेका थिए। जहाँ उनले प्रतियोगीहरुलाई आफ्नो विज्ञताबाट महत्वपुर्ण सल्लाह, सुझाव दिएको दुनियाँले देखिसकेको छ।

एउटा संगीतकर्मी परिवार :

माथि नै थाहा भैसक्यो कि अनुरागीका ५ दिदी बहिनी र ३ दाजुभाई रहेका छन् भनेर । तर अब हामीले जान्ने कुरा के छ भने अनुरागीको पुरै परिवार संगीतकर्मी रहेको छ । जहाँ परिवारका सबैजना संगीत कर्ममै लिन भएका छन् । यो कथा अनुरागीको हो, तर उनका परिवारका सबैजना कुनै न कुनै रुपमा संगीतकर्ममै रहेका छन् । उनकी ७६ वर्षीय आमा अहिले पनि गीत गाउनमा माहिर छिन्, खासगरी धौलागिरि क्षेत्रमा प्रचलित यानीमाया, सालै जो, सुनीमाया, ठाडो भाका, साइँलो भाकामा आमा पवित्रा सुमधुर स्वरमा गीत गाउन सक्छिन् । आमाका गीतहरु अनुरागीले केहि रेकर्ड समेत गराइसकेका छन् बने बाँकी रेकर्ड गराउने सुरसारमा छन् । उनका जेठोदाई शुकुराम रसाइली भारतीय सेनाको सेवा निवृत्त भएर पनि संगीतकर्ममै रहेका छन् । शुकुराम गाउन मात्रै होइन, जुनसुकै नेपाली मौलिक बाजा बजाउन सक्छन् । कान्छो भाई श्यामश्वेत रसाइली नेपालमा चलेका संगीत एरेन्जर (व्यवस्थापक) हुन् । कान्छी बहिनी स्वरुपा रसाइली नेपालकी चिनिएकी व्यवसायिक गायिका रहेकी छिन् ।

साथै, दिदी रत्नकुमारी लगायतका सबै दिदीबहिनी, भाउजु पुतली रसाइली, उनकी जीवनसंगिनी सुनिता, बुहारी श्रेया रसाइली भतिजाहरु सुवास र निशान गाउन र बाजा बजाउनामा पोख्त नै छन् । अब उनकी छोरी शिक्षा रसाइली अर्थात् जुनकिरी दोहोरी घरकि सञ्चालिका ‘सानी सानी, जूनकिरी नानी ’ लाई त तपाईंले पक्कै पनि सुन्नु र देख्नु भएकै होला । संगीतकर्मी मात्रै होइन, यो परिवार एउटा संगीतको उद्यमी परिवार पनि रहेको छ । जहाँ प्रिज्म डिजिटल रेकर्डिङ्ग स्टुडियो सबैजना मिलेर सञ्चालन गर्छन् ।

अन्त्यमा :

नेपालका प्रायः जसो गीतकारको शब्दमा आफ्नो संगीतको जादु भरिसकेका अनुरागीले धेरै जसो गायकको स्वर आफ्नो संगीतमा रेकर्ड समेत गराइसकेका छन् । सबै गायक तथा गीतकारसँग काम गर्न सजिलो महशुस गर्ने संगीतकार अनुरागीलाई गायक उदित नारायण झासँग काम गर्दा बडो आनन्द आएको कुरा व्यक्त गर्छन् । आफ्ना कान्छाभाई श्यामश्वेत रसाइलीलाई संगीतको बाटो देखाएर डोर्याएका उनी सबैभन्दा पहिले गीतको संगीत संयोजन (एरेञ्ज) गरेवापत रू.१ हजार पारिश्रमिक लिएको सम्झना गर्छन् भने अहिले उनको त्यही कामको पारिश्रमिक रू.२० हजार रहेको छ । तर प्रतिभावान कुनै मानिस छ र उसको गीत राम्रो छ, कसैलाई बाहिर नल्याइ नहुने छ भने उनले बिना पारिश्रमिक काम मात्रै गरिदिने होइन, अरु सहयोग समेत गर्ने गर्छन् ।

दाजुभाई सबै मिलेर राजधानी काठमाडौँमा संगै आमाको काखमा रमाइरहेका रसाइली वा भनौं अनुरागीको ११ जनाको परिवार  एकै छानोमुनि मिलेर बसेका छन् । एउटा घर अलि साँघुरो भएको महशुस हुँदा अब सबैभाई मिलेर एउटै आँगन भएका तीनवटा घर बनाएर आमाको काँख कसैलेपनि नछोड्ने अठोट गरेका अनुरागी दाजुभाई बीबी अनुरागीले भने जस्तै ‘गास, बास, कपासजस्तै आज सङ्गीत पनि मानव जातिलाई अति नै आवश्यक छ ।’ त्यस्तै आमाको काख सबै दाजुभाई र दिदीबहिनीलाई गास, बास, कपास जस्तै अनिवार्य लाग्छ । वरिष्ठ संगीतकार ‘धुन शिरोमणि’ अनुरागीको बाँकी जीवन यस्तै सफलतामा बितोस् । परिवार सधैं मिलेर बसोस्, शुभकामना !