मेरो देश पटक पटक रोएको छ । २००७ साल पछि २०७७ सम्म पटकपटक दुःखेको छ । कहिले कुन पात्र अनि कहिले कुन पात्र ! पात्रैपिच्छे देश निचोरिएको छ । पाउनुभन्दा लाग्छ धेरै गुमाएको छ । यसो भनिरहँदा देश आज पनि दुःखेकै छ । पात्र फरक, तर उद्देश्य उस्तै छन् । हिजो जो जो छन्, आज पनि प्रायः तिनै छन् । राजनीतिलाई पेवा ठानेर ब्यापार गर्न पल्केका झिल्के, मिल्के, टिल्के सबै मेरो देशको मूल राजनीतिको वरपर टाँसिएकै अवस्थामा छन् ।
एक समय युवापुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ । पुरानाले मरिगए ठाउँ नछाडेको र अधिकांश युवा तिनकै पछुवामै रमाएका देखिन्छन् । आफ्नै युवा अवस्थालाई अघिल्ला पुस्ताका नेताले भुलेको देखिन्छ । किनकि, आफु युवा हुँदाकै उमेर समूहको युवाले जिम्मेवारी खोज्दा उमेर नपुगेको, हतारिएको, अनुभव नभएको, अझ केही समय पर्खनुपर्ने वा धैर्य गुमाएको भन्ने गरिन्छ । यस्ता भनाइ मात्र होइन, आलोचनात्मक चेतलाई मूलधारका पार्टीले नरुचाएको आभाष सर्वत्र छ । परिणामतः युवा राजनीतिबाट टाढिने क्रम बढ्दो छ । किन यस्तो हुँदै छ ? जवाफ अनेकौँ छन् । राजनीति गरिरहेका र यसलाई फोहोरी खेलको संज्ञा दिइरहेका दुवैथरीबाट युवालाई राजनीतिमा आउन हतोत्साही बनाउने गरेको पाइन्छ । यसमा युवापुस्ता सचेत बन्नैपर्छ ।
राजनीति फोहोर भयो भनेर किनारमा बसी औँला ठड्याएर मात्र युवाको दायित्व पूरा होला ? अवश्य हुँदैन । उसले आफैँभित्र पसेर यसलाई सफा गर्ने आँट गर्नैपर्छ । यदि यस्तो आँट नगर्ने हो भने खराब मानिसबाट सधैँ शासित हुन मञ्जुर हुनुपर्छ । एउटा सचेत युवाले कुन बाटो रोज्ने ? युवा र राजनीतिसँग अभिन्न रूपले जोडिएका केही सवाल छन् । जस्तो कि राजनीति केवल शान, सौकात र पदका लागि मात्र गर्ने कि, विकास र समृद्धिका लागि ? राजनीतिलाई सेवा ठान्ने कि पेसा बनाउने ? अरू क्षेत्रमा असफल भएपछि रोजिने क्षेत्र राजनीति बनाउने कि, हर क्षेत्रमा अब्बल हुनेको रोजाइको क्षेत्र बनाउने ? असल नीतिको नीति राजनीति बनाउने कि, खराबको शासन व्यवस्थाको भरिया बनाउने ?
युवालाई वर्तमानको साझेदार मान्ने कि भविष्यको भागिदार ? पालो कुरेर ऊर्जा मरिसकेपछि जिम्मेवारीमा आउने कि, समयमै पहलकदमी लिने ?
राजनीतिलाई देश र समाजको दर्पण बनाउन यी प्रश्नको उत्तर हरेक युवाले खोज्नैपर्छ । देश, दुनियाँ र विश्वलाई आफ्नै नजरले नियाल्नै पर्छ । आफैँभित्रका अनेक रूप र प्रतिभालाई उसले खोतल्नै पर्छ । तीव्र प्रतिस्पर्धा, उच्च प्रविधि र मोबाइल जेनेरेसनबिच उसले तादम्यता मिलाउनै पर्छ । हरेक नयाँ पुस्ता पुरानो पुस्ताभन्दा अब्बल हुनै पर्छ । यसका लागि राजनीतिमा युवापुुस्ता भित्रिन अपरिहार्य छ । राजनीतिमा युवापुस्ता स्थापित भएन भने समाज विकासको गति अवरुद्ध हुन्छ । देशको उर्जाशील पङ्क्तिका ज्वलन्त मुद्दा ओझेलमा पर्छ । देश विकासको मूल स्रोत नै खेर जान्छ । समाजको सबैभन्दा गतिशील पुस्ता नै युवा हो । उसको सहभागिताबिना देशको जीवन मेरुदण्ड बिनाको मानव शरीरजस्तै हो । यसर्थ, जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगटेको पुस्तालाई नजरअन्दाज गर्नु वा जे गरे पनि हुन्छ भन्नु देशको सामथ्र्यलाई नबुझ्नु हो । सामथ्र्यलाई नचिन्ने गम्भीर भूल नेतृत्वकर्ताले गर्नुहुँदैन । जसरी हिजो जीवन जोखिममा राखेर परिवर्तनको जग युवाले नै हाले, त्यसैगरी अब समृद्धिको युगमा उनीहरूको सक्रिय सहभागिता झनै टड्कारो बनेको छ । समृद्धि जसका लागि हो उसको सहभागिताबिना सकारात्मक नतिजा आउनै सक्दैन । यसर्थ, आन्दोलन, युद्ध र संघर्षका मोडहरूमा विगतमा जसरी युवाले अग्रमोर्चा सम्हाले त्यसैगरी समृद्धिको मार्ग कोर्न उनीहरू नै अघि सर्नुपर्छ । बाधा पन्छाउँदै अगाडि बढ्नुपर्छ ।
हाम्रोमा भनिने र गरिनेबिच भिन्नता देखिन्छ । बोल्दा युवा चाहिन्छ भन्ने, तर व्यवहारमा युवालाई पिछट्ने परिपाटी राजनीतिक वृत्तमा सहजै देखिन्छ । युवाहरूले मूलधारमा आउन अनेकौँ चुनौती सामना गर्नुपरेको छ । एक त आलोचनात्मक चेतलाई अस्वीकार गर्ने प्रवृत्ति हाबी छ । जसले समर्थक मात्र थप्न चाहन्छ, नेता जन्माउन चाहँदैन । विचार, विमर्श र बहसबाट टाढा भाग्छ । उसलाई पण्डित्याइँ ठान्छ । यो बिल्कुल युवाविरोधी चिन्तन हो । अर्को, समयले कोल्टे फेरिसक्दा पनि पुरानै ढर्राको विशेषतामा रमाउँछ । गतिशीलता, सिर्जनशीलता र युग सापेक्षतालाई अँगाल्न सक्दैन अर्थात् पुरातन मनोविज्ञान कायम राखिरहन्छ । त्यसैगरी तेस्रो पाटोबाट हेर्दा युवा स्वयमको योग्यता, क्षमता र निखारतामा समस्या छ । अमुक मान्छेको फुर्को समातेर नेता भइन्छ भन्ने परजीवी मानसिकताले केहीलाई नराम्रोसँग गाँजेको छ । यो भन्दा अलि भिन्न धारबाट नियाल्दा समाज र देशबारे सोचेर भुमरीमा पस्नुभन्दा ‘पैसा कमाऊ, परिवार पाल, घर बनाऊ, गाडी किन र मोजमस्ती गर’को सजिलो बाटो अधिकांश युवाले छनोट गरेको देखिन्छ । यसर्थ, लाहुरे र लौरे चिन्तन नै युवालाई राजनीतिमा स्थापित हुन रोक्ने मुख्य पर्खाल हुन् । यस्ता कोर्सलाई बदल्ने चुनौती नै आजको मुख्य कार्यभार हो ।
नेपालको सन्दर्भमा राजनीतिमा युवा सहभागिताका कैयौँ सकारात्मक पक्ष पनि छन् । सबैजसो राजनीतिक दलका शीर्ष नेताहरू विगतमा युवा र विद्यार्थी संगठनको नेतृत्वमा रहिआएको पंक्ति नै छ । उनीहरूले निर्माण गरेको व्यक्तित्वको जग नै युवा तथा विद्यार्थी आन्दोलन हो । त्यसैगरी संविधानसभाका दुवै खण्डमा युवा सांसदको प्रतिनिधित्व ज्यादै उत्साहजनक थियो । समावेशिता र युवा सहभागिताको दृष्टिले यो एक नमुना नै हो । यही कारण नयाँ संविधानमा युवाका मुद्दा भरपुर तवरले समावेश भएका पनि छन् ।
राज्यको तहमा युवाको वैधानिक प्रतिनिधित्व र प्रभावकारी भूमिकाका लागि राष्ट्रिय युवा परिषद गठन भएको छ । युवा परिषदका संरचना प्रदेश र स्थानीय तहसम्म बनेका छन् । युवालाई उद्यमशीलतामा जोड्न शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत कर्जा र विदेशबाट फर्किएका युवालाई सहुलियत कर्जा प्रदान गर्ने सरकारी नीति बनेको छ । देशलाई समृद्धिको मार्गमा लैजान र त्यसमा लाखौँ युवालाई प्रत्यक्ष जोड्न यसको पूर्ण कार्यान्वयन अति आवश्यक छ । युवालाई खासै नचिन्ने विगतको चित्र बदल्न राज्यस्तरबाट गरिएका कोसिस सकारात्मक त छन्, तर पर्याप्त भने छैनन् ।
राजनीतिमा युवापंक्तिको आकर्षण वृद्धि गर्न राज्यका विभिन्न तह र स्थानमा युवाहरूको प्रतिनिधित्व वैधानिक तवरले सुनिश्चिन गर्नुपर्ने देखिन्छ ।
जस्तै : स्थानीय, प्रदेश र केन्द्रीय तहमा उम्मेदवार चयन गर्दा हरेक पार्टीले न्यूनतम २५ प्रतिशत सिटमा ४० वर्षभन्दा मुनिका युवालाई अनिवार्य उम्मेदवार बनाउनु पर्ने, संघीय र प्रदेश सरकारमा न्यूनतम एकएकजना ४० वर्षभन्दा कम उमेर समूहबाट मन्त्री छान्नुपर्ने प्रावधान राख्नुपर्छ । त्यसैगरी राष्ट्रिय पार्टीका केन्द्र, प्रदेश, जिल्ला, नगर र गाउँ किमिटीमा कम्तीमा २५ प्रतिशत संख्या ४० वर्षमुनिका युवाका लागि सुरक्षित गर्नुपर्दछ । जसले गर्दा हरेक ठाउँमा युवाले आफ्नो अनुहार देख्न सक्छ । अवसरको न्यायोचित बाँडफाँड र क्षमतावानको स्वस्थ्य प्रतिस्पर्धाका लागि सांसद, मन्त्री र पार्टी केन्द्रको कुन जिम्मेवारीमा कतिपटकसम्म एउटा व्यक्तिले मौका पाउने त्यसको सीमा र मापदण्ड तोकिनुपर्छ । यस्ता विधि र नीति बन्न सके राजनीतिमा युवाहरूको आकर्षण बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।
वर्तमानको वास्तविकतालाई अस्वीकार गर्दै अब विद्यार्थी संगठन आवश्यक छैनन्, स्ववियुको औचित्य सकियो भनेको पनि सुनिन्छ । एकातिर राजनीतिमा युवा आएनन् भनेर चिन्ता पनि गर्ने अर्कोतिर त्यसको मुहान बन्द गर्ने कुचेष्टा पनि सँगसँगै भएको देखिन्छ । दश वर्षदेखि सशक्त भूमिका खेल्न सक्ने क्याम्पसका स्ववियुलाई नेतृत्वविहीन बनाउनु यही प्रक्रियाको एउटा उपक्रम मान्न सकिन्छ । यो वा त्यो बहनामा स्ववियुमाथि लागेको अंकुशले सक्षम युवा नेतृत्व निर्माणमा ठूलो बाधा परेको छ । यसरी युवाको उत्पादनको स्रोत बन्द गरेर युवा नेतृत्व खोज्नु भनेको कारखाना बन्द गरेर त्यसैको सामान खोज्न बजार दौडनु जस्तै हो । आजको राजनीतिक बजारमा उद्योगी, व्यापारी, ठेकेदार, कलाकार, बिचौलिया र दलालको उपस्थिति बाक्लिँदै जानु यसैको उपज हो । यसप्रति बेलैमा सचेतता नअपनाए राजनीतिले सही दिशा लिनै सक्दैन ।
यी सवाल केवल युवाका मात्र होइनन्, सिंगो राजनीतिक क्षेत्रका हुन् । मुद्दा केवल एउटा उमेर समूहका मात्र होइनन्, देशकै हुन् । यसर्थ, युवाहरूलाई भविष्यको कर्णधार मात्र होइन वर्तमानको साझेदार ठान्नु नै उनीहरूको अस्तित्वलाई स्वीकार गर्नु हो । समग्र युवापुस्तालाई न्याय दिनु हो ।