हो, अर्जुनधारा धाम पूर्वको पशुपति पनि हो, इलामको प्रसाद, मेचीको प्रसाद, कुरा भ्रमण क्रमकै हो । इलामयात्राको क्रममा मेरो झापा प्रवेश धेरैपटक भयो । झापा पुग्नासाथ मेरो दृष्टि पूर्वको पशुपति जलेश्वरधाम श्रीअर्जुनधारा र निर्माणाधीन मेची राजमार्गको मेची पुल र नजिकैको किचक्बधतिर पुग्यो । त्यसो त झापाका प्रसिद्ध स्थलहरु कन्काईमाई, सतासीधाम, पातालकुवा, समयगद, कृष्णथुम्की, केचनाकवल, बर्ने चियाबगान, बारादशी, कलवलगुडी आदि प्रसिद्ध छन् । हिजो आज त नेताहरुको प्रयासले भ्यू टावरदेखि विकासको चाङ नै पुगेको छ यहाँ । दुई तिहाईको मत राजनीति र संसद भंगको अभियान सम्म झापाले खूब चर्चा पाएको छ ।
झापामा केचनापोखरी, विराटपोखरी, चिलागढ, गौरादह पोखरी, धनुषपोखरी मावानदी, रतुवा, चिरिङ्ग र कन्काई नदी पनि हेर्न लायक छन् । पूर्वको मुख्य ढोका मानिने झापामा भारत तथा बङ्गलादेशवाट प्रसस्त पर्यटकहरु आउने गर्छन् । रमणीय ऐतिहासिक क्षेत्र झापा तराई भएर पनि तराईका अन्य भूभाग जस्तो साह्रै गर्मी हुँदैन यहाँ । अम्लीय माटो रहेको झापामा गृष्मकालमा ३२ देखि ३९ डि.से.सम्मको तापक्रम र जाडो समयमा ८ देखि १५ डि.से. सम्मको तापक्रम पाइन्छ । औषत वर्षा २७२ मि.मि. रहने झापामा अर्ध उष्ण र उपोष्ण हावापानी पाइन्छ । साविकमा ४७ गा.वि.स, ३ न.पा र १७ वटा इलाका बोकेको झापामा ७ निर्वाचन क्षेत्रहरुमध्ये जिल्लाको पूर्वी सीमाना भारतको बंगाल हो, पश्चिममा मोरङ्ग, उत्तरमा इलाम र दक्षिणमा भारतकै बिहार पर्छ ।
अहिले त न पा को ओइरो लागेको छ भनौँ अन्यक्षेत्रको जस्तै । सुरुमा झापाको प्रशासनिक कार्य मोरङ्ग गोश्वाराले हेर्दथ्यो । पछि मोरङ्गको गोश्वारा हालको कुमरखोद अन्तर्गत पर्ने झापा गाउँमा सारियो । अहिले पनि त्यो गाउँमा झापा बजार भन्ने चलन छ । झापा गाउँबाट जिल्लाको नाम झापा रहन गएको अनुमान गर्न सकिन्छ । झापा जिल्लाको कुल क्षेत्रफल १,५९,९०२ हेक्टर रहेको छ । कृषि खेतीयोग्य जमीन ६३ प्रतिशत, बसोबास क्षेत्र १३ प्रतिशत, वनक्षेत्र १२ प्रतिशत चरण क्षेत्र २ प्रतिशत र नदीनाला र भीरपाखा क्षेत्र ११ प्रतिशत रहेको छ । कृषियोग्य जमीन मध्ये ७४ प्रतिशत जमीनमा सिंचाइ सुविधा छ ।
जिल्ला झापाको जनसंख्या वि सं २०५८ को जनगणना मा ६८८१०९ थियो, जसमा पुरुष ३४१६७५ र महिला ३४६४३४ थिए । वि.स. २०६८ को जनगणनामा झापाको जनसंख्या ८६२००० नाघ्यो । जनसंख्या मध्ये हिन्दु ७९ः३७ प्रतिशत, किराँत ९ः०२ प्रतिशत बौद्ध ५ः३२ प्रतिशत, इस्लाम ३ः०१ प्रतिशत, क्रिस्चियन ०ः७६ प्रतिशत, शिख ०ः२६ प्रतिशत, बहाई ०ः००५ र अन्य २ः३४ प्रतिशत थिए, अहिले केही परिवर्तन भएको छ । नेपालको सुदूर पूर्व तराईकोे सवैभन्दा बढी जनघनत्व भएको जिल्ला झापा नै हो । क्षेत्रफलका दृष्टिले ४७ औं र जनसंख्याको दृष्टिले चौथो स्थानमा गनिने झापा उत्तरमा २६.२० २६.५० अक्षांश र पूर्वमा ८७.९-८८ः१२ देशान्तर सम्म फैलिएको छ । समुद्र सतहदेखि सवैभन्दा नजिक केचनाकल ५८ मि .देखि ५०० मि. सम्मको उचाइमा रहेको छ यो । मुलुककै लामो पक्की ७०२ मि. लम्बाइको कन्काई पुल झापामै पर्छ ।
बंंगालवाट बहने मनसुनी वर्षाले यहाँ धेरै वर्षा हुने गर्छ भने १६०६ वर्ग कि.मि. भएको झापाको पूर्व पश्चिमको लम्वाई ४६ कि.मि. र उत्तर दक्षिण चौडाइ २९ कि.मि.को रहेको छ । साल, सिसौं, कदम, जामुन, सिमल आदि वनस्पतिले धनी झापा उत्तरमा चुरेक्षेत्र र दक्षिणमा भारतको समथर क्षेत्रको कारण हिउँदमा धेरै जाडो नहुने र गृष्ममा पनि धेरै गर्मी नहुने गर्छ ।
नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको शासन काल भन्दा अघि मोरङ्ग र झापा सेन वंशको राज्यमा थियो । सन् १७३३ मा अभिमान सिंह बस्नेत र सरदार सारथी भण्डारीको नेतृत्वको फौजले मोरङ्ग र झापा हात लगाए । तत्कालीन राजा कर्णसेन भागी धरान विजयपुरतिर लागे । सन् १७४४ मा विजयपुर पनि कब्जा भयो । अभिमान सिंहको नेतृत्वले पल्लो किराँतको उत्तरी सीमाना र पूर्वी तमोर नदीसम्म अधिकार जमायो । सिंहलिला पहाडको पानी ढलो पश्चिमतर्फ र सिक्किमबाट भगाइएका लिम्बुहरुले गोर्खालीको आश्रय स्वीकार गरेकाले पृथ्वीनारायण शाहको पालासम्म नेपालको सीमाना पूर्वतर्फ सिंहलिला डाँडो र मैदान कन्काइ नदी क्षेत्र रहन पुग्यो ।
रणबहादुर शाहको कार्यकाल सन् १७८३ मा नेपालको सिमाना पश्चिमतिर कुमाउँ गढवाल र पूर्वतिर टिष्टासम्म पुगेको थियो । सन् १८१४ मा बृटिश इण्डियाले विराटनगर, रंगेली, कमरखोदको झापा, इलाममा आक्रमण गरेको कारण पछि सुगौली सन्धि पछिको नेपालको अन्तराष्ट्रिय सीमाना पूर्वतर्फ मेची नदी नै बन्न पुग्यो । मेची राजमार्गमा पर्ने मेची नदीमा भारतले रेल्वे पुल निर्माण गरेको छ । स्थानीय भित्र खगेन्द्र घिमिरेलाई लिई म मेचीनदीको निर्माणाधीन पुलको अवलोकन तथा नजिकै पर्ने पृथ्वीनगर महेशपुरस्थित ऐतिहासिक स्थल किचकवध क्षेत्रको दर्शनको लागि एका विहानै त्यस क्षेत्रतिर पुगेको थिएँ, समय केही वर्षअघिकै हो ।
संसारकै अग्लो क्षेत्र सगरमाथा हामीसँग छ भने होचो क्षेत्र झापाको केचनाकल पनि झापाकै नमूना क्षेत्र हो । त्यहाँ रहेको रमणीय स्तम्भलाई मनभित्र कुँदेर धार्मिक स्थल किचकवधतिर हाम्रो यात्रा तय भयो । यस क्षेत्रमा रहेका प्राकृतिक बुटेन क्षेत्र, सत्यदेवी मन्दिर गंगा जमुना, शिवालय, वारुणी पोखरी सानो कुवा, खानेपानी टंकी र सामुदायिक भवन हेर्न लायक छ । महाभारतकालमा गुप्तवासमा रहेका पाँच पाण्डव मध्ये द्रौपदीलाई किचकले आँखा गाढेकाले भीमसेनले उसलाई वध गरेका दृश्य सहितको मूर्ति पनि यहाँ हेर्न लायक छ ।
अघि पाण्डवहरु विराट राजाको दरबारमा गुप्तवासमा थिए । राजाको सेनापति किचक थियो । गुप्तवासमा भीमसेनले भान्छेको काम जिम्मा पाएका थिए भने द्रौपदीले दासीको रुपमा काम गरेकी थिइन् । उनी दासी सैरन्ध्रीका रुपमा थिइन् जसलाई सेनापति किचकले जिस्क्याउने गथ्र्यो । शक्तिशाली किचकको हातवाट बच्न सैरन्थीलाई गाह्रो परेकोले एकदिन उनले नाट्यशालामा आफूलाई भेटन आउने निम्तो दिइन् । कामुक किचक सैरन्ध्रीलाई भेटन जाँदा नाट्यशालामा सैरन्ध्रीको भेषमा बसेका भीमसेनसँग मुकाविला गर्न उसले सकेन ।
आक्रमणको तयारी नगरी काम मोहित भएर आएको किचकले भिमसेनको बलसँग लड्ने क्षमता राख्न सकेन र ऊ मारियो । त्यही नाट्यशाला नै यो किचकवध क्षेत्र हो भनी भन्ने गरिन्छ । किचक वध भएको दिन माघ शुक्ल पूर्णिमामा यहाँ भव्य उत्सव अनि मेला पनि लाग्ने गर्छ । यहाँ नजिकै वारुणी पोखरी छ । तीनकुने यो पोखरीलाई वारुणी भनौं भीमसेन पोखरी पनि भनिन्छ । भनिन्छ, मर्ने बेला किचकले पानी माग्यो । उसको तिर्खा मेट्न भीमसेनले आफ्नो कुहिनाले हिर्काएर जमीनमा खाल्टो पारे । जमीनबाट पानी किस्कियो । त्यसैबेलादेखि बनेको भनिने पोखरी अहिले पनि छ त्यहाँ । कसैको मतमा यो पोखरी स्वयम् किचकले खन्न लगाएको पनि भनिन्छ । भनिन्छ, किचकको आराध्यदेवता स्वयम् वरुण थिए ।
वरुण देवतालाई खुशी पारी यो पोखरी बनाएकोले वारुणी पोखरी नामकरण भएको भन्नेहरु पनि छन् । भौगोलिक दूरीवाट हेर्दा हालको विराटनगरको दूरी र यो दूरी अलि टाढै देखिन्छ । झण्डै ७०-८० कि.मि.पर । विराट राजाको नाट्यशाला यति टाढा होइन कि भन्न खोजिए पनि हात्ती, घोडाको सवार संभावनालाई हेर्दा विराट राजाको नाट्यशाला नभए पनि सेनापति किचकको नाट्यशाला होला भन्ने अनुमान गर्न सकिन्छ ।
हाल केही वर्ष यतादेखि त्यस क्षेत्रमा पुराना थुप्रै भग्नावशेषहरु भेटिएका छन् । पुरातत्व विभागले उत्खनन् कार्य पनि गरेको छ र त्यहाँको धार्मिक, आध्यात्मिक महत्व हाल दिन पर दिन वृद्धि पनि हुँदैछ । मेची बहुमुखी क्याम्पसले २०३३ साल देखि नै अध्ययन, अनुसन्धान र उत्खनन गर्दै आएकोमा वि.स. २०५८ देखि स्वयम् सरकारी स्तरबाटै यसको थालनी भएको छ भने हाल त संरक्षणका लागि ऐतिहासिक समिति समेत बनिसकेको तथ्य पंक्तिकारले त्यसक्षेत्रमै पाएको हो ।
किचक त्यति बेलाका सामन्त सेनापति थियो । हालको मेची र देउनिया किनाराको छेउमा उसको दरबार थियो । उसको बढी बसोबास भने विराट राजाको दरबारमै हुने गथ्र्यो । हालको भद्रपुर बजारवाट १० कि.मि. दक्षिण पृथ्वीनगर गाउँमा रहेको किचकवध क्षेत्र देउनिया खोलाको किनारमा जस्तो देखिने सो क्षेत्र परैदेखि कुनै किल्ला वा दरबार हो कि जस्तो लाग्छ । दरबार वा किल्ला निर्माणका क्रममा जमीन पुरेर केही अग्लो पारिएको अनुमान गरिने यस क्षेत्रको उत्खनन् गर्दा वहुमूल्य भाँडाकुँडा र सरसामग्री भेटिएको पाइएको छ । नयाँ, नौला र चाखलाग्दा सूचनाहरु संकलन गरी खगेन्द्रजी र म भद्रपुर बजारतर्फ फर्केका थियौँ पुगेकै दिन बिहान ।
पूर्वको पशुपति भनिने अर्जुनधारा जलेश्वरधाम पनि निकै रमणीय र पावन तीर्थस्थल हो । मित्र श्यामप्रसाद दाहाल, खगेन्द्र घिमिरे र १ जना अर्का साथी सहित हामी त्यहाँ पुगेका थियौँ । मन्दिर दर्शन वेद विद्याश्रमको अवलोकन, पाटी पौवा र रमणीय उद्यानको अवलोकन सहितको पाखेरी दर्शन एवं अवलोेकन गर्न पछि परेनौँ हामी त्यहाँ । त्यहाँका आश्रम गुरु मेरो रेडियो नेपालको धार्मिक कार्यक्रमवाट आफू निकै प्रभावित भएको तर हिजोेआज मेरो स्वर र प्रस्तुति नपाउँदा त्यहाँका गुरु पुष्पलालजी आफू धेरै दुःखी भएको गुनासो मैले सुनेँ ।
उनको संरक्षकत्वमा भएको त्यहाँको स्थलको राम्रो व्यवस्थापनबाट म पनि प्रभावित भएँ र उनकै स्मारिकालाई लेख पठाउन कबोल गरी त्यहाँवाट फर्किएको पनि धेरै समय बितेछ । पुष्पलालले यो धर्ती छोडिसकेको अवस्था छ अहिले । यो धर्ती केही समयका लागि मात्रै हो हाम्रो । तर राजनीतिकर्मीहरुले यो सोचिदिएनन् । सबैतिर सन्नाटा छाएको छ अहिले । रस्साकसी र दौडधूप छ पद र प्रतिष्ठाकै लागि ।
हिजो आज मानिसलाई चिया नभई हुन्न । पूर्वको झापामा चिया बगान र कारखानाहरु पनि धेरै छन् । दोस्रो विश्वयुद्धपछि सन् १९५३ मा टेटले नामक एक बेलायती कम्पनीले व्यावसायिक टि व्याग बजारमा ल्याए र बेलायती बजारमा यसपछि चियाले फक्रने मौका पायो ।
स्वीट्जरलैण्डमा सन् १९८३ देखि बोतलमा भरेर चिसो चियाको औद्योगिक उत्पादन सुरु गर्न थालियो । सन् १९८१ देखि जापानमा तयारी चियाको बिक्री अत्यधिक हुन थाल्यो । युरोपमा दूध हालेको चिया खाने चलन भने १६८० देखि प्रारम्भ भएको जानिफकारहरु बताउँछन् । हिमाली भेगमा चौंरीको घिउ र नून मिलाएर पिउने चलन छ । बेलायत, अमेरिकामा अलैंची, दालचिनी, सुकुमेल आदि भारतीय मसला मिसाई चिया पिउने चलन चलेको धेरै भइसकेको छ । अहिले पनि अल्जेरिया, लिविया, मोरक्को उत्तर अफ्रिकी आदि मुलुकहरुमा चियाको गिलासमा फिँज आउने गरी माथिबाट चिया खन्याउने गरिन्छ ।
हिजोआज नेपालीहरुका घर आँगनमा पनि चियाले निकै प्रश्रय पाएको छ । बिहानको सूर्याेदय नै सायद चियाले गराउँछ । साँच्चै पूर्वको इलाम, झापाबाट सूर्याेदय हुँदा नेपाली घर आँगनमा चियाकै स्वादको उदय भैसक्छ हिजोआज । फिक्कल र श्रीअन्तु डाँडाले सायद त्यही भन्छ । दार्जिलिङ्ग पनि त उतै छ, दार्जलिङ्गमा नेपालीहरु पनि धेरै छन् नि । दार्जलिङ्ग नसुन्ने कुन विदेशीहरु होलान् र ?
आधुनिक चिया कुनै स्थान विशेषको मात्रै छैन, यसले विश्व बजार ढाकेको छ । पूर्वमा चीन, जापान होस् वा मध्यपूर्व या बेलायत, अमेरिका, अफ्रिका जताततै चिया संस्कृति हुर्किसकेको छ । नेपालमा चिया संस्कृति हुर्केको धेरै भएको छैन । वि.सं. २००७ पछि यसले नेपाली संस्कृतिको रुपमा प्रश्रय पाएको हो । त्यसो त करीब डेढ सय वर्ष पहिले गजराजसिंह थापाले उही चीनबाट उपहार स्वरुप चियाको बीउ ल्याई इलाममा रोप्न लगाए । सन् १८६२ मा यसरी नेपालमा चिया खेती आरम्भ भए पनि व्यावसायिक खेती भने सन् १९६० बाट मात्र भएको देखिन्छ नेपालमा ।
पछि झापा, पाँचथरतिर पनि यसको खेती सुरु भएको र हाल यसले अन्य क्षेत्रमा पनि प्रश्रय पाइसकेको छ । इलामको फिक्कल चियाको प्रसिद्ध क्षेत्र हो । नेपालमा चिया खेतीको सम्भावना घेरै छ । नगदे बालीका रुपमा लिइएको चियाले डलरको खेती पनि हुने सम्भावना देखेर राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई सन् १९८० मा चिया क्षेत्र घोषणा गरे । यसै घोषणापछि लमजुङ्गले समेत यस्तै क्षेत्रका रुपमा विकसित हुने अवसर प्राप्त गर्यो । विश्वका अन्य मुलुकको चिया उत्पादनको तुलनामा हाम्रो मुलुकको चिया उत्पादन नगन्य नै छ । आ.व. ०५७-०५८ देखि मुलुकभर चिया निकासी हुन थालेको छ । १० वर्षको अवधिमा झण्डै दुई अर्ब बराबरको चिया निर्यात भैसकेको छ । गुणस्तरीय भए पनि विश्व बजारमा नेपाली चियाले उचित बजार भने पाइसकेको छैन ।
पुसको चिसो बढ्दै थियो । दिनहरु आधाआधी ढल्कदै थिए । झापा काँकडभिट्टा, जोरसिमल, बिर्तामोड एवं चारपानका केही मित्रहरुले त्यसतर्फ निम्त्याए । बुद्ध एयरको टिकट काटी चन्द्रगढी पुगिहालँे म । झापाको कीचकबध, सतासीधाम, अर्जुनधारा आदि क्षेत्र धार्मिक दृष्टिले प्रख्यात मानिएका छन् झापामा । पहिलो भेट भद्रपुर न.पा.का कार्यकारी अधिकृतसँग, त्यस्तै विस्तारै भेटिंदै गए कृषिका, त्यस्तै प्रजिअ, दमक र मेची नगरपालिकाका कार्यकारी अधिकृतहरु पनि । झापा चन्द्रगढीको रात्रिबासपछि काँकडभिट्टा पुग्ने योजना तय भयो ।
भद्रपुरका केही आफन्त, केही मित्रहरुसमेतको भेट र महेशपुरको भ्रमणपछि काँकडभिटृा पुर्याउने कार्यमा सहयोग गरे अन्य मित्रहरुले । काँकडभिट्टाको एउटा होटलमा बास बस्न पुगियो । बाक्लो बस्ती र धेरैको आवतजावतका कारण होटल राम्रो मिलेन छ । साँझ घुम्ने क्रममा मेचीको सिमाना पुगियो । भंसारका मित्रले भंसारतिरै बस्न अनुरोध गरे तर होटलमा पैसा बुझाई सकेकाले उहाँहरुको प्रस्तावमा समर्थन गर्न सकिएन । मेची भंसार आफैमा ब्यस्त छ । लोडसेडिङको कारण लामो घुमफिर भएन मेरो त्यतिबेला ।
बिर्तामोड चारपानेबाट पटकपटक फोन आइरहेको थियो । विवेकशील महिला सहकारी संस्था चारपानेले रोजगारी, उद्यम र आय आर्जनमा सीप र दक्षतामा राम्रो प्रयास गरेको छ रे । एकपटक हेरिदिनु पर्यो भनेर संस्थाकी सचिवको भनाई रहेको थियो । स्वदेशी श्रम र सीपको प्रयोग गरी संचालनमा ल्याइएको सहकारी समूहको अवलोकन गर्नै पर्ने थियो मैले । चार छ घण्टाको समय मिलाई अर्कोदिन चारपाने पुगँे म । वरिपरि घरहरुका केही बास्तु सल्लाह, परिवारका केही चिना टिप्पनहरु अवलोकनदेखि संस्थाले गरेको कार्यको अवलोकन पूरा गरी काँकडभिट्टा फर्किएँ म । त्यतिबेलासम्म केही राजनैतिक ब्यक्तित्वहरुसँग भलाकुसारी भइसकेको थियो मेरो । भोलिपल्ट बिहान सवेरै दार्जलिङ जाने योजना बुन्न थालेँ म !
झापा पुगेदेखि नै काठमाडांैका मित्रहरुबाट फोन आइरहेको थियो । लेखका लागि, रेडियोमा अन्तर्वाता राख्न र टेलिभिजन च्यानलहरुबाट विषयसँग सम्बन्धित संवाद प्रस्तुत गर्न । दुई चारदिनलाई सकिएन भन्ने जवाफ दिंदै म भने इलामको चियाबारीतिर हुइँकिने प्रयासमा थिएँ । केही साथीहरुको आग्रहमा मेची नदीको किनारा स्थित घरेलु रेष्टुराँमा खाना खाने निम्तो भयो । सुख्खा रोटी मेरो आहार, तैपनि साथीहरुको आग्रहलाई अस्वीकार गर्न सकिएन । मान्द्रो, चित्रो, निंगालो र बाँसले बनेका खरको छाना भएको घरेलु रेष्टुराँमा रमियांै हामी केही बेर । लोडसेडिङकै मारमा पर्दै झापाको रात्रिबास पूरा भयो दोस्रो र तेस्रो दिनको ! कुरो मेची नदीके किनाराकै हो, जताबाट बाहुनडाँगी पुगिन्छ, जहाँ हात्तीको आतँक छ, सधैँ !