• मंसिर १२ २०८१, बुधबार

सामाजिक मनोविज्ञानको आँखामा नारी

फाल्गुन २४ २०७७, सोमबार

अन्तर्राष्ट्रिय महिला मुक्तिको तथा श्रमिक महिलाको सम्मानार्थ मार्च ८ ले कोरेको इतिहाससँग नेपालले पनि नारी दिवसका दिन नारी सशक्तिकरणमा सक्रियता जनाएको छ । नारी दिवस त मनाइन्छ तर एक दिनको कर्मकाण्डीय नियम पूरा गर्ने शैली मात्रै लाग्छ । आज आत्मनिर्भर बनिरहेका नारीमा आत्मबलले प्रतिभाको जागरण गर्दैछ । तर, आजसम्म पनि देशका प्रभावकारी प्रशासनिक फाँटमा नारीलाई जिम्मेवारी दिन र लिन मनोवैज्ञानिक प्रभावले किच्ने गरेको बोध हुन्छ ।

देशले परिवर्तनकारी सोचको सिँढी चढ्दै जाँदा, विभिन्न आरोह अवरोहमा राजनीति मोडिँदै गर्दा पनि भनौँ– स्थानीय चुनावपश्चात् नवीन नेतृत्वका मुहारलाई स्वागत जसरी गर्न सक्नुपथ्र्यो त्यसरी गर्न सकेको देखिँदैन । गाउँ टोलले परिवर्तनको अनुभूत गरिरहँदा त्यहाँका जलनलाई सुधार्न, हिंसा रोक्न या त उत्पीडनमा आवाजलाई बुलन्द गर्न अब देशले नारीशक्तिको नेतृत्वलाई खोज्दै छ । भ्रष्ट प्रवृत्तिलाई निरुत्साहित तुल्याएर सामाजिक रुढी परम्परा तोड्ने, समसत्तामा नारीले घर सुधार्ने खुबी राख्छन् । समाजले अलिकति महिला नेतृत्वलाई नीतिगत बाध्यताले वा देखेर अर्थात् रहरमा या त बुझेर जे होस्, अलिकति स्थान नदिएको त होइन । कतिपय अवस्थामा नारीमा दमन मात्रै भएको हो भन्ने सोच पनि गलत हो । आमाको स्थान, भाउजूको सम्मान, दिदीबहिनीको श्रद्धामा अपमान मात्रै त छैन नै तथापि समाजभित्र घरायसी हिंसा, बलात्कार, प्रथागत दमनको सिकार जस्ता समस्याले हाम्रो समाज निर्घिणी सोचले आक्रान्त छ । छोरी जोगाउने संकटमा नेपाली परिवेश दिनदिनै दुखिरहेको छ ।

असारमा रोपाहारलाई दिने ज्याला र हली, बाउसेलाई दिने ज्याला फरक हुनु, खानपानमा विभेद गरिनु, बाहिरी काम मात्रै ठूलो ठानेर घरायशी कामलाई नहेरिनुजस्ता अनेकौँ असमानता आजसम्म उत्तिकै छन् । यद्यपि होला नहोला, हिजोको समाजमा छोरा-बुहारीको खाना नै फरक गरिन्थे, छोरो जन्माए स्याहार राम्रो गर्ने, छोरी जन्मिएमा हेपिन्थे, बुहार्तनको प्रताडना, बोल्ने अनुमति नपाइने कडा शासनमा भिज्नै पर्ने विवसता थियो । नारी बिलौनामा माइती जान पाउँदाको खुसी अनि माइती छोड्नु पर्दाको पीडा कति हृदयविदारक हुन्थे । त्यहाँ अमानवीय मनोवैज्ञानिक दमन नै थियो । छोरी र बुहारीमा आकाश पातालको फरक व्यवहार गरिन्थ्यो । हाम्रो समाजलाई राम्ररी नियाल्ने हो भने करिब दुई दशक यता अर्थात् राज्यमा भएका क्रान्तिकारी कदमले समाज सुधारमा टेवा पुर्याएको हो भन्न सकिन्छ । यसरी गहिराइसम्म पुगेर हेर्दा देशले परिवर्तनको धारमा नेपालको उपल्ला स्थानमा महिला नेतृत्वलाई स्वागत गरिरहेको खुसी थोरै मात्रामा जोडिन्छ ।

हरेक समाजका आफ्ना नियम हुन्छन्, अरुले जसो गर्यो हामी त्यस्तै हुनुपर्छ भन्दा आफ्नो मौलिकतालाई नै फोहोरको टोकरीमा फाल्नुपर्छ भन्ने अवश्य नहोला । असमानताको आँखाको चस्मा उतार्ने विषयलाई पक्कै बुलन्द पार्नुपर्छ । यसको अर्थ, यथास्थिति पनि होइन । आज थोरै नारीवादी सिद्धान्तले उठ्ने बाटो पाएको भान भइरहँदा अवसर र चुनौतीका दुबै खाले विपरीत ध्रुवले कुस्ती खेल्दै छ । चुलो चौको र घाँस दाउरा अनि मेलापातमा जीवनको सर्वश्व देख्ने नारीहरूले पनि समाजमा बसेर देशोन्नतिको बारेमा चासो राख्न थाले । हँसिया समातेर घाँस दाउरा, स्याउलालाई भेला पार्ने गाउँले नारीले अलिकति देशतिर पनि आँखा लम्काउन थालिन् । राज्यले अवसर दियो, समाजले हौसला दियो अनि नारीले आँट जन्माए । वर्तमानका नेतृत्वले भावी नारीमा शिक्षा र जोस बढाइदिए ।

विश्वको इतिहास हेर्दा सन् १८४८ को सेनेका फल्स कन्भेन्सन अर्थात् १९ औँ शताब्दीको मध्यतिर भनौँ पाश्चात्य समुदायले नारी आन्दोलनको जग बसाल्यो ।

पितृसत्ताको जाँतोमा पिँधिएर महिला लेखन पनि छायामा परेको अवस्थामा नारीवादी आन्दोलन समसत्ताको अभिप्रायबाट भयो । करिब २५०० वर्ष पुरानो नारीलेखनको पाश्चात्य इतिहास र पूर्वीय दर्शनमा गार्गी, विद्योत्तमा, तिलोत्तमा जस्ता नारी पात्रको विद्वतालाई समाजले त्यतिखेरैबाट बुझ्दै नबुझेको अवश्य थिएन । यद्यपि एक्काइसौँ शताब्दीको आजको दिनसम्म पनि नारीले हामीमाथि दमन भयो भनेर आवाज बुलन्द गरिरहनुपरेको छ । महिला भएकै कारणले अन्धविश्वास, कुरीति, दाइजो प्रथा जस्ता सामाजिक, सांस्कृतिक घेराभित्र राखेर नारीलाई अमानवीय यातना दिइएका घटना हिजोआज उत्तिकै घटेका छन् । यद्यपि, कानुनी दायराभन्दा मास्तिर चेतनाको दायरा फराकिलो हुन सकेन । एउटा पुरानो पुस्ताको घिडघिडोले नारीको जीवन जीवन जस्तो हुन सकेन ।

सामाजिक सञ्जालमा गुञ्जिएका हरेक आवाजले देशको राम्रै व्याख्या देश नयाँ परिणाम र दिगो शान्तिको विगुल घन्काउन दौडिँदै छ । विश्व इतिहासतिर ढल्कँदा नारीवादी सोचले विकासको ढोका ढक्ढक्याएको इतिहास लामो पनि त छैन । बीसौँ शताब्दीको उपज बनेको विशुद्ध नारीवाद र समाजवादी नारीवादको दुई धारले नारीवादी समसत्तामा पितृत्तात्मक सोच तथा सहकार्य खोज्यो । लैङ्गिक आधारबाट खोसिएका, दमन गरिएका, कुण्ठित भाव, व्यवहार तथा अधिकारका बारेमा वैचारिक सङ्घर्षका रुपमा नारीवादी सोचले विकसित रूप धारण गरेको बुझ्न सकिन्छ । नारीहरू अक्षम हुन्छन्, पुरुषको तुलनामा कार्यसम्पादन गर्न सक्दैनन् अर्थात् नारीमा नेतृत्व क्षमता कमजोर हुन्छ भन्ने सोचसँग जन्म्यो-नारीवादी हक र अधिकारको आवाज ।

अपूर्ण शारीरिक बनोटको सोचमा अड्केको भावका विरुद्धमा उर्लिएको आवाज रहेछ नारी सहभागिता । त्यसो त नारीलाई केवल पुरुषले दमन गरेको होइन रहेछ । सासूले बुहारीलाई दमन गरिन्, जेठानीले देउरानीलाई दमन गरिन्, घरेलु हिंसाको सिकार बन्नुपर्यो- आखिर नारीवादी सोचमा संस्कारले प्रहार गर्यो । त्यहाँ सामाजिक व्यवस्थाले सिकायो, दुनियाले अन्धाधुन्ध अपनायो । ईष्र्या र घृणा सिक्यो तर प्रेम र मानवीय सोचलाई चिन्न र बुझ्न सकेन । सुशीलाको आत्माले न्यायको श्वास लिए पनि निर्मलाको रोदन र चित्कार रहस्यमा कुण्ठित छ । घरभित्रै असुरक्षाको त्रासदीले नारी जीवन शरीरका लागि उपयोग भएको छ । समभावमा सहकार्य गर्ने नारी सहभागिताको महत्वलाई बुझ्न नसक्दा नारीवादी सक्रियता भन्ने बित्तिकै पुरुषको विरोध हो भन्ने भ्रम यदाकदा नभएको पनि होइन । भोग्या, रखौटी बनाउने सामन्ती संस्कारलाई आजको समाजले पनि नजानिँदो कोणबाट अपनाएको छ । भलै पैसा दिएर नै किन नहोस् तर नाङ्गो नाच नाच्ने, अङ्ग देखाएर, रूप प्रदर्शन गरेर जागिरमा स्थान पाउने संस्कार आधुनिक नारी शोषणको दृष्टान्त हो । रिसेप्सनमा राम्री भएर बस्नुपर्ने, होटलमा राम्री नारी बस्नुपर्ने, नाटकतिर नारीले नाङ्गो भए मात्रै दर्शकले मन पराउने भएकाले नाङ्गो हुनुपर्ने यी नबोलिने तर बोल्नैपर्ने नारी शरीरमाथि गरिएको राजनीति हो जसलाई शरीर राजनीति भन्नुपर्छ ।

नारी हुङ्कार नै किन ?

वास्तवमा नारीले चुलो चौकोको दुनियाँबाट उक्सनु भनेको घरको सुव्यवस्था भत्काउनु भन्दा पनि नारी हकलाई सुनिश्चित पार्दै परिवार, समाज र सिङ्गो राष्ट्रका लागि सुधारको बिगुल फुक्नु हो, विकासको ढोका खोल्नु हो अनि समाजलाई परिवर्तनमा उदाहरण बनेर देखाउनु हो । आज जति भ्रष्ट्राचार र अन्यायपूर्ण कर्म भएका छन्, तुलनात्मक रूपमा पुरुषकै लोभानीपापानी भावमा भएका छन् । हुन त नारी जोडिएका छन्, नेतृत्व नै नपाएकाले यस्तो भयो होला तर तिनमा संवेदना र सोचको पृथकता अवश्य हुन्छ । परिवर्तनको दौडाहामा नारी जागरण, नारी सबलीकरणको सुसमाचारले देशमा परिवर्तनको आभाष हुँदैछ । त्यसो त यसअघि पनि नारी हक र अधिकारका कुरा, अवसरका आधारबाट अघि दौडाउने व्यवस्था नभएका पनि होइनन् । तथापि उत्तरआधुनिक समाजको परिकल्पनासँगै नियाल्दा विगतको तुलनामा पिछडा, दमित, अल्पसङ्ख्यक, प्रताडित वर्गका नारीले समेत् कमसेकम देश र परिवर्तनमा टाउको उठाएको भान यो स्थानीय चुनावले गराएको बुझ्न पाइन्छ । अब एउटा आशा सचेतनाको बृद्धिसँग जोडियो अर्को निरीहलाई बोक्सीको आरोप लाग्ने, यौन शोषणको सिकार बन्नुपर्ने, बहुविवाह जस्ता कुसंस्कारले नारी सक्रियतासँगै सुध्रने दर्बिलो मार्ग भेट्टाएको भान हुँदैछ ।

गहिरिएर हेर्दा नारीलाई शारीरिक, अनुभूतिगत, भाषागत, मनोविश्लेषणगत, सामाजिक-आर्थिक आदि आधारबाट भिन्नता प्रकट गरिएकाले नारीवाद आन्दोलनको रूपमा पाश्चात्य संस्कृतिबाट विकसित वाद हो । नारीवादी सोच केही रुपमा मार्क्सवादी विचारतिर ढल्केको पाइन्छ । समाज विकासका क्रममा माक्सले पुरूषले बल पर्ने कामहरू आपूmले गर्दै गएर महिलालाई कमजोर पार्दै गएको तथ्य अघि सारेको पाइन्छ । शक्तिको कुरासम्म पुगेर हेर्दा दार्शनिक फुकोल्डको शक्ति सिद्धान्तसँग ठोकिन पुग्छ । साथमा वर्तमान युगीन परिवेशमा विकसित बनिरहेको उत्तरआधुनिक युगसम्म आएर जोडिन्छ । यही नारीवादी चिन्तनसम्म आउँदा हाम्रो समाजमा पनि विभेदको ठूलो रूपले अद्यापि जरा गाडेकै छ ।
गाईलाई पुजिन्छ तर गोरुलाई जोतिन्छ, बोकोलाई बलि दिइन्छ तर बाख्रीलाई पालिन्छ । कुमारीको पूजा गरिन्छ तर कुमारको नाम त्यहाँ अटाउँदैन । अलिकति हाम्रै देशको सांस्कृतिक इतिहासतिर हेर्दा केही अपव्याख्या र पछिल्लो समयका दमनकारी भावबाहेक हिन्दू दर्शनको सारमा हेर्दा ब्रह्मा, विष्णु र महेश्वरले आपत्को अन्तिम विकल्पको रूपमा भगवती दुर्गाशक्ति जसलाई सर्वशक्तिको स्वरूपमा पुकारा गर्छन् । अर्थात् संसारमा नारीको सम्मान उच्च रहेको तथ्य हिन्दू दर्शनमा भेटिन्छन् । नारी शक्तिलाई सर्वशक्तिमान् मानेर त्रिदेव, इन्द्रादि देव, ऋषिगणले प्रार्थना गरेका हुन्छन् । हिजो पनि गार्गी, विद्योत्तमाजस्ता विदूषी नारीले शास्त्रार्थ गर्थे ।

नारीशक्ति नै जटिल क्षणमा निर्णायक बनेर उभिए । बुद्ध दर्शनमा अहिंसा नै धर्म हो भन्ने भाव छ । मुन्धुममा पनि नारी र पुरुषको समभाव र समकर्मशीलता छ । द्रौपदीको शक्तिका कारण महाभारतमा पाण्डवको विजय भएको प्रसङ्ग या त महिसासुरलाई महाकालीले मात्र बध गर्न सकेको विषय आखिर नारीको उच्च स्तरीय सम्मान नभएको भने होइन । तथापि नारीलाई भोग्या, कामनापूर्तिको साधन, रखौटी बनाइएका अत्यन्तै भयावह विषय पनि पूर्वीय दर्शनका कथाहरूमा जोडिएका छन् । यसरी हेर्दा त्यहाँ गरिब, अक्षम, पिछडा नारीमाथि धनी वर्गले प्रताडना दियो । बाध्यताका कारण निरीह नारीले मुक्तिको आवाज बोल्न सकेनन् ।

त्यहाँ शक्ति र सामथ्र्यबाट नारी शोषण भयो । त्यसो त सिङ्गो गरिब वर्गमाथि राजामहाराजाले अत्यन्तै दयनीय प्रहार गरे ।

यही तुष बोकेर हिँड्दा नारीलाई शारीरिक आकर्षण र घरभित्र सजाइने सुगा बनाइएका तीता पीडा बने । अन्धविश्वासमा अनावश्यक अमानवीय प्रताडनाको सिकार बनाइए । विभिन्न खाले प्रथाबाट नारीमाथि प्रहार हिजोभन्दा आज धेरै हदमा कम भए पनि अद्यापि कता न कता छँदै छन् । हेर्ने नै हो भने युरोपजस्ता विकसित भनिएको मुलुकमा समेत करिब ६ लाख हाराहारीमा यौन शोषणका मुद्दा परेको खबरले पनि महिलामाथिको अत्याचारलाई दर्शाउँछ । हुन त हाम्रो मुलुकले इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख पाएको छ, महिला सभामुख पाएकै हो । महिला प्रधानन्याधीश, महिला रेक्टरसम्म लगायत अन्य विविध उच्च पदस्थ स्थानमा समेत नेतृत्व पाएका हुँदा हुन् तर समाजले अझैं पनि बदल्नुपर्ने थुप्रै परम्पराका नाममा अडेका विकृति छन्, शोषण छन्, अन्धविश्वासका पोकाहरू छन् । यसो भनिरहँदा सबै नारी दोषरहित छन् अनि पुरुष नारीबाट दमित छैनन् भन्ने पनि होइन । नारीका कर्तुतले पुरुष र पारिवारिक सदाचार तहसनहस भएका आजका तीता सत्यमा अब नारी नारी भनिरहने अवस्था हुँदैन । समतामूलक समाजमा न्याय र सजाय अवस्था र कसुरमा निहीत हुनैपर्छ ।

यसर्थ अबका महिला नेतृत्वले ग्रामीण स्तरदेखि नै नारी र पुरुषको ध्रुवीयतालाई हटाएर लैङ्गिक समतामा हात थाम्नुपर्छ । पारिजातले उद्घोष गरेको मानुषी कवितामा भैmँ एकताबद्ध भएर जुट्नुपर्छ । नारीको सत्तामा पुरुषको विरोध होइन नारी जागरण, सहभागितामूलक भाव, समतामूलक सोच, विभेदरहित निष्पक्ष र स्वतन्त्र शासन र अधिकारको मार्गचित्रमा अबका नारीले हिँड्नुपर्छ । सकारात्मक पारिवारिक जीवनलाई बेवास्ता गर्नु नारीवादी सोच हो भन्न सकिन्न । न त श्रीमान् र घरको विरोध गर्ने भावना नारीवाद हुन सक्छ । नारीवादले त भएको राम्रो भत्काएर नभएको खोज्नेभन्दा राम्रो अँगालेर नराम्रोको विरुद्धमा एकताले लड्नुमा बुद्धिमानी ठहर्ला । हो, परिवर्तन एकैपटक हुने जादूको छडी होइन तर अन्धविश्वास, रुढीवादी सोचमा संयमता तथा चेतनासँग प्रेमभावकै विजय हुनेमा भने बढी आशा गर्न सकिन्छ । अतः नेपालीपनको नारीवादी सोचमा नवीन चेतनाको भाव जाग्नु पनि उत्तिकै आवश्यक छ । कसैको विरोध गर्नु नै प्राप्तिको बाटो पनि त होइन । तब, साँचो परिवर्तनको आशालाई सजाउन सकिएला ।

(दर्शनाचार्यमा अध्ययनरत)