२४ फागुन, काठमाडौं । कोभिड–१९ संक्रमण तथा उच्च जोखिमका कारण देशका सरकारी तथा निजी शैक्षिक संस्थाहरू केही महिना अघिबाट खुलेका छन् । महामारीको रोकथाम तथा न्यूनीकरणका लागि झन्डै नौ महिना बन्द गरिएका विद्यालय, क्याम्पस र विश्वविद्यालय मंसिरदेखि खुलेका हुन् ।
देशका अधिकांश शैक्षिक संस्थाहरू मंसिरबाट खुल्ला गरिएको छ भने क्याम्पस तथा विश्वविद्यालय पनि खुलेका छन् । तथापि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले फागुन अन्तिम साताबाट कक्षा सञ्चालन गर्ने जनाएको पनि तत्काल विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको बताएको छ ।
त्रिविले फागुन अन्तिम साताबाट विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने जनाए पनि परिस्थिति अनुकुल भएकोले फागुनको दोस्रो साताबाट कक्षा सञ्चालन गरिएको शिक्षाशास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकी मगरले बताए । तर, मंसिरबाट स्वास्थ्य सतर्कताको मापदण्ड बमोजिम कार्यालय तथा प्रशासनिक कार्य सञ्चालन गरिएको जनाइएको छ ।
त्रिविद्धारा सम्बन्धनप्राप्त एवम् आंगिक क्याम्पसहरूमा प िविद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिएको बताइएको छ । तर, कार्यालय, प्रशासनको कार्य भने मंसिरबाटै सुचारु गरिएको छ ।
त्यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्याय, काठमाडौं विश्वविद्यालय, खुल्ला विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयमा पनि पठनपाठन सुरु गरिएको बताइएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिएको ती विश्वविद्यालयले जनाएका छन् ।
उच्च जोखिमकाबीच जसोतसो विद्यालय सञ्चालन गरेपनि महामारीको संक्रमनबाट बच्ने र सुरक्षित हुने उपाय नभएको शिक्षक र विद्यार्थीहरूले गुनासो गर्दै आएका छन् । सेनिटाइजर, साबुनपानी र मास्कले मात्रै सुरक्षित नहुने कतिपय शिक्षकको तर्क छ ।
विद्यालयमा स्वास्थ्य सतर्कताको मापदण्ड बमोजिम पठनपाठन गराउँदा गराउँदै शिक्षक र विद्यार्थीहरू कोभिड–१९ संक्रमण भएका कयौँ उदाहरणहरू छन् । जसका कारण आफूहरू संक्रमणबाट जोगिने कुनै उपाय नै नभएको उनीहरूको गुनासो छ ।
दिनहुँ शिक्षक, विद्यार्थीहरूको हुलहुज्जत र उनीहरूसँगको उठबसका कारण यतिबेला शिक्षक र विद्यार्थी उच्च जोखिममा परेका छन् । यद्यपि उनीहरू उक्त जोखिमबाट बच्न निकै गाह्रो भएको काठमाडौंका विद्यालयहरूका शिक्षक, विद्यार्थीहरू बताउँछन् ।
कोभिड–१९ को उच्च जोखिमको बीचबाट खुलाइएका शैक्षिक संस्थाहरूका शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना खोप लगाउने व्यवस्था गर्नका लागि तयारी गरेको छ ।
जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको उक्त मन्त्रालयले जनाएको छ । मन्त्रालयले सरकारको नीतिअनुसार विद्यालय र विश्वविद्यालयमा अध्यापनरत शिक्षक र विद्यार्थीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था गरिएको बताइएको छ ।
देशभरका विद्यालय तथा विश्वविद्यालयका अग्रपंतिमा कार्यरत शिक्षक र कर्मचारीका लागि खोप लगाउनु पर्ने भन्दै विभिन्न शिक्षक संघ, संठगनहरूले यसअघि मन्त्रालयमा ध्यानाकर्षण गराएका थिए ।
ती संघ, संगठनहरूमध्ये नेपाल शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सनलगायतका संस्थाले शिक्षकहरू र विद्यार्थीलाई कोभिड खोप लगाउन आग्रह गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले खोप सबै शिक्षकलाई तत्काल लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेको बताएका छन् ।
कोभिड–१९ खोपका लागि शिक्षक कर्मचारीको विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरिसकेको छ ।
तर, स्थानीय सरकारका शिक्षा शाखालाई पुषमै परिपत्र गरिए पनि हालसम्म शिक्षकहरूको यकिन विवरण उपलब्ध नभएको बताइएको छ । तर बिस्तारै संकलन हुनेक्रम जारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गोल मिडिया खबरलाई बताएको छ ।
शिक्षकहरूको यकिन विवरण उपलब्ध भए पश्चात् ढिला नगरी खोप लगाउने कार्यक्रम सञ्चालन गरिने बताइएको छ । पहिलो चरणमा सफाइ र स्वास्थ्यकर्मीलगायत निजामती कर्मचारी र पत्रकारहरूलाई खोप दिइएको छ भने दोस्रो चरणको खोप जेठ नागरिकलाई दिन हिजोबाट सुरु गरिएको छ ।
यद्यपि शिक्षक र विद्यार्थीहरूलाई खोप लगाउन विभिन्न संघ, संस्था र संगठनहरूले ताकेता गर्दा पनि सरकारले कुनै पहल गरेको छैन । उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार फागुन २३ गतेबाट जेष्ठ नागरिक वा ५५ वर्षभन्दा माथिका नागरिकहरूलाई खोप लगाउन सुरु गरिएको छ ।
त्यसपछि पनि शिक्षक र विद्यार्थीहरूका लागि खोप लगाउने कुरा निश्चित नभएको प्रवक्ता गौतम बताउँछन् । उनको भनाइअनुसार यसपछि उपप्राथमिकताका आधारमा उनीहरूलाइृ खोप दिइने बताइएको छ ।
यसरी हेर्दा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरूले खोप लाउन पाउने अनिश्चित देखिएको छ । यसका लागि अझैँ केही महिना कुर्नैपर्ने छ ।