• मंसिर ११ २०८१, मंगलवार

के तपाईलाई अनिद्राको समस्या छ ? यस्ता छन् छुटकारा पाउने विधि

फाल्गुन २२ २०७७, शनिबार

काठमाडौं । अनिद्रा सुत्न नसक्नु वा नसुत्ने बानी हो । यदि एक महीनासम्म प्रति हप्ता तीन रात सहज रूपमा निद्रा लागेन वा निदाउन सकिएन भने त्यसलाई चिकित्सकीय भाषामा अनिद्रा भनिन्छ । अनिद्राको कुनै निश्चित एउटै कारण हुँदैन । शारीरिक, मानसिक, आत्मिक, सामाजिक, पर्यावरणीय, आर्थिक आदि धेरै कारणले अनिद्राको समस्या देखिन सक्छ।

सन्तुलित खाना, स्वच्छ पानी, शुद्ध वायु जस्तै अपरिहार्य छ, गहिरो निद्रा पनि । चिकित्सकहरुले यसलाई औषधि समान भनेका छन् । अर्थात गहिरो निद्रा लिनु भनेको स्वास्थ्य शरीरको सूचक पनि हो । जब निद्रा विथोलिन्छ, स्वास्थ्यमा गडबड सुरु हुन्छ । अनिद्रा आफैमा एक यस्तो समस्या हो, जसले अरु समस्या पैदा गर्छ । उच्च रक्तचाप, मधुमेह, तनाव, छटपटीसँगै अरु रोगहरु यसले निम्त्याउँछ ।

निद्रा नलाग्नुका १२ कारण
१. मोबाइल, कम्प्युटर लगायत विद्युतीय सामग्रीको अत्यधिक प्रयोग।
२. सोसल मिडियाप्रतिको लगाव एवं आदत।
३. अत्यधिक मात्रामा ध्वनी एवं प्रकाशको असर।
४. सुत्ने वातावरण शान्त नहुनु, सडक छेउमा घर, छरछिमेकमा नियमित रुपमा गाडीको आवाज आदि।
५. रातिको खाना ढिला खानु, खाना खाने र सुत्ने बीचको समय २ घन्टाभन्दा कम हुनु।
६. तनाव, आर्थिक, पारिवारिक, अध्ययन एवं पेसागत समस्या।
७. कुनै समस्याबाट उम्किन नसक्नु, त्यसको बारेमा आवश्यकताभन्दा बढी सोच्ने, कल्पना गरिरहने बानी।
८. घट्दो पारिवारिक, सामाजिक आत्मीयता।
९. नकारात्मक सोचको प्रभाव।
१०.नियमित योग, व्यायामको कमी।
११. उच्च रक्तचाप एवं अन्य दीर्घकालीन रोग।
१२. उमेर, सामान्यतया वृद्घावस्थामा निद्रा कम लाग्छ।

अनिद्राबाट कसरी छुटकारा पाउने त ? यस्ता छन् केही सरल उपायहरु ।

बेलुकाको खाना छिटो खाने

निद्रा विशेषज्ञ र मेडिकल अनुसन्धार्ताहरुले धेरैजसो रातको खाना विस्तरामा जान भन्दा डेढ घन्टा पहिले खानुपर्नेमा जोड दिने गर्छन । अन्यथा अपच हुन सक्छ । अपच अनिद्राको मुख्य कारण हो ।

आफ्नो ओछ्यान बदल्ने

असजिलो ओछ्यान हुदा डसना वा म्याट्रेसले पनि तपाईंको निन्द्रा खराब गर्न सक्छ । तपाईंलाई रातभर उठ्न र यताउता फर्कन बाध्य बनाउन सक्छ । यसले मांसपेसीहरुमा तनाव, नशा च्यापिने, शरीर दुख्ने र शारीरिक बनावटमा दिर्घकालिन क्षति पुर्याउन सक्छ । ओछ्यान सजिलो भएमा मात्रै तपाई आनन्दले निदाउन सक्नुहुन्छ ।

सुत्ने स्थान

तपाईले आफू सुत्ने स्थानमा कामसँग जोडिएका वस्तुहरु, मोबाईल वा अन्य मनोरञ्जनका साधनहरु नराख्नुहोस । कुने विशेष स्थानलाई ‘आरामक्षेत्र’ घोषणा गरेर त्यहाँ आरामदायक निन्द्राको लागि सहायक हुने वस्तुहरु जस्तै बास्नादार मैनबत्तिहरु, ध्यान एकाग्र गर्ने संगीत जस्तै पानी परिरहेको जस्तो निरन्तर आउने आवाज आउने व्यवस्था गर्नुहोस । यस्तो गरेमा तपाई दिमागलाई आवश्यक शान्ती प्राप्त हुन्छ र तपाई आरामले निदाउन सक्नुहुन्छ ।

सल्लाह लिने

जब हामी आफ्नो कार्यस्थलमा पुरै समय व्यस्त हुन्छौं र यसपछि हामी जब एक्लो हुन्छौं त्यतिखेर चिन्ता र अत्यासको कारण हामीलाई निन्द्रा आउँदैन ।

जब अनिन्द्रा र बेचैनी एकैसाथ हुन्छ यसको अन्तर थाहा पाउन कठिन हुन्छ । त्यसैले हामीले आफ्नो चिन्ता, आशंकाहरुको बारेमा समय छँदै कोही नजिकको साथीलाई यो कुरा भन्नु पर्छ जसले हाम्रो सहयोग गर्न सक्छन र त्यसले अनिन्द्राको समस्या बेलैमा समाधान हुनसक्छ ।

शारीरिक श्रम वा व्यायाम

थाकेको शरीरलाई आरामको आवश्यकता हुन्छ । दैनिक कम्तीमा पनि एक घन्टा कठिन परिश्रम गर्ने, नियमित योग वा एक्सरसाइज गर्ने, कार्यस्थलमा एकछिन भनेपनि हिँड्ने बानी बसाल्ने तथा हातहरुको हल्का परिश्रम सुनिश्चित गरेमा पनि तपाई आरामले निदाउन सक्नुहुन्छ ।

सामान्य मानिसले २४ घन्टामा ७ देखि ८ घन्टा मस्त निदाउनु शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। निद्रा नपुगेको अवस्थामा सुरुमा शरीर गल्ने, कमजोरी महसुस हुने, झर्को लाग्ने, काममा ध्यान नजाने, निर्णय क्षमतामा ह्रास, खाना नरुच्ने, दिसा कब्जियत हुने जस्ता सामान्य समस्या देखिन्छन्।

लामो समयसम्म निद्राको समस्या रहिरहेमा उच्च रक्तचाप, मधुमेह, मुटुको रोग, डिप्रेसनलगायत दीर्घकालीन रोगहरुले आक्रमण गर्छन्। तसर्थ समयमा नै सचेत भई स्वस्थ जीवनशैली अपनाउनु बुद्घिमानी हुन्छ।