संसद अधिवेशनको दिन आइसक्यो । फागुन २३ गते ४.० बजे अधिवेशन आह्वान भैसकेको छ । अधिवेशनमा वैकल्पिक सरकार दिनुपर्छ । यो दिन सकिएन भने संसद पुनस्र्थापना गरिए पनि ओलीकै सरकारले निरन्तरता पाउने देखिन्छ । त्यति मात्र होइन, घुमीफिरी फेरि मध्यावधि नहोला, तर नेपाली कांग्रेसले भने झैं ‘अर्लि इलेक्सन’ मा जानु जरुरी हुन्छ, त्यो पनि ओली सरकारकै नेतृत्वमा ।
यसले भर्खरै विभाजित हुँदै गएका नेकपाका दुई शाखामा निकै ठूलो पूर्वाग्रहीपूर्ण झडप र इष्र्यालाई निम्तो दिने देखिएको छ । हार र जितको मानसिकतामा रहेका यी दुई खेमामा अविश्वासको प्रस्तावले थप तिक्तता ल्याउने छ । थप केही समयका लागि यसले पानी बाराबारको अवस्थामा राखिरहने छ ।
नेकपाका दुई खेमा विभाजित हुने क्रम अब अन्तिम चरणमा पुगेको छ । दाहाल–नेपाल खेमाले शुक्रवार प्रम ओलीलाई संसदीय दलको नेताबाट समेत् हटाइसकेपछि अबका दिनमा यी दुई चिरामा सामिप्यता रहने छैन । यसको सुविधा प्रतिपक्षी दल नेपाली कांग्रेसले पाउने देखिन्छ ।
यसका लागि नेपाली कांग्रेसको रोजाइमा दाहाल–नेपाल पक्ष पर्न गएको छ । कांग्रेस सभासदहरुले केपी शर्मा ओलीइतर पक्षसँग सहकार्य गरेर जानु पर्ने धारणा खुलेर राख्न थालेका छन् । योभन्दा पहिले नेकपाका दुई चिरामध्ये कसैसँग पनि सहकार्य गरेर जान नसकिने नेपाली कांग्रेसको धारणा सार्वजनिक भएको थियो ।
शायद दाहाल–नेपाल पक्षले आफ्नो संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरी केपी ओलीलाई कारवाही गरेपछि नेपाली कांग्रेसले अनौपचारिक रुपमा नेकपा फुटेको महसुस गर्न पुगेको देखिन्छ । यसले अब के यसले विश्वासको मत पुर्याउन सहयोग पुर्याउला अविश्वासको प्रस्तावमा भन्ने प्रश्न उठाइदिएको छ ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा अझै पनि पर्ख र हेरको नीतिमा छन् । तर पनि वर्तमान राजनीतिक समस्याको निकासको कुञ्जी नेपाली कांग्रेसको हातमा छ भनेर सबै विश्वस्त छन् । कुरा केमा पनि बलियो गरी अल्झिएको छ भने काङ्ग्रेसले राजनीतिक, नैतिक र संवैधानिक सम्मानको खातिर पनि केपी ओली सरकारलाई समर्थन गर्न गाह्रो छ ।
उता दाहाल–नेपालले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पहिले नै दर्ता गराइसकेकाले फिर्ता लिन पनि गाह्रो भएको छ । दाहाल–नेपालको अविश्वासको प्रस्तावलाई समर्थन गरेर जान नेपाली कांग्रेसलाई पनि सजिलो छैन । किनकि त्यसमा प्रधानमन्त्रीका रुपमा दाहाललाई प्रस्ताव गरिएको छ ।
दाहाल–नेपाल पक्षले उक्त अविश्वासको प्रस्ताव परिमार्जित गरेर देउवालाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिहाल्ने संकेत पनि दिइसकेका छैनन् । यो भन्दा अगाडिको भेटघाटमा दाहाल–नेपालले कांग्रेससँग मिलेर सत्ता साझेदारी गर्ने प्रस्ताव मात्र अघि सारेको नेपाली कांग्रेसका नेताले पनि स्वीकार गर्छन् ।
तर पछिल्लो समयमा नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको प्रस्ताव ढोकैमा आएको थियो, तर कांग्रेसले ढोका खोलेन भनेपछि केही आशंका पैदा भएको छ । यो प्रस्ताव दाहाल–नेपाल समूहले नै लगेको हुनु पर्छ । किनकि ओली त आफू अविश्वासको प्रस्ताव फेस गर्ने हैसियतमा खडा भएका छन् ।
शुक्रवार भएको सरकार–विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच सम्पन्न वार्तापछि विप्लवसँग भएको हतियार लिन सरकार तयार नभएको भनेर सार्वजनिक आलोचना गरिरहेको छ । यसले ओली र नेपाली कांग्रेसको सम्बन्धलाई केही तिक्त र टाढा त अवश्य पनि बनाउँछ ।
संसद अधिवेशन हुन दुई दिन मात्र बाँकी रहे पनि यो बीचमा खेल्ने ठाउँ र समय प्रशस्तै रहेको राजनीतिक विश्लेषकहरुको रहेको छ । यसले अझै पनि के जुट्ला त विश्वास अविश्वासको प्रस्तावका लागि भन्ने प्रश्न उठाइदिएको छ ।