काठमाडौँ । आर्थिक वृद्धिदर १ दशलमव ९९ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ । कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा गत बर्षको आर्थिक वृद्धिदर ऋणात्मक भएको हो । विभागले बिहीबार सार्वजकि गरेको राष्ट्रिय लेखा तथ्यांकले सो कुरा देखाइएको छ । योसँगै चालु आर्थिक वर्षको पहिलो त्रैमासीक अवधिमा पनि आर्थिक वृद्धिदर ४ दशलमव ६ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
२०७२-७३ मा भूकम्पपछि नेपालको व्यापारमा भारतबाट अवरोध हुँदा आर्थिक वृद्धिदर शुन्य दशमलब २ प्रतिशत रहेको थियो । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषका १ सय ९० सदस्य मुलुकमध्ये नेपाल सहित २३ देशले महामारीका बाबजुद पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान गरेपनि केन्द्रीय तथ्यांक विभागको संशोधित अनुमानले नेपाली अर्थतन्त्र पनि महामारीका कारण ऋणात्मक आर्थिक वृद्धिदर हुने मुलुकहरूको सूचीमा परेको छ ।
सरकारले कोभिड–१९ महामारीको नियन्त्रणका लागि गरेको लकडाउन र त्यसपछिको समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नआएको उद्योग वाणज्य तथा आपूर्ति मन्त्रालयको सर्वेक्षण तथ्यांकले देखाएको छ । १० दशलमव ८१ प्रतिशत पूर्ण बन्द रहेको र ८९ दशलमव १९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा छन् । पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत छ । उद्योगको उत्पादन क्षमतामा समेत उल्लेख्य रूपमा गिरावट आएको छ । सर्वेक्षणमा सहभागी उद्योगहरुमध्ये ५४ प्रतिशत उद्योगहरूको ५० प्रतिशतले उत्पादन क्षमतामा ह्रास आएको छ । त्यसै गरी ३२.४३ प्रतिशत उच्चोगहरूको ७५ प्रतिशत सम्म उत्पादन गिरावट आएको छ । अध्ययनमा सहभागीमध्ये २३ दशलमव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको उल्लेख छ ।
कोभिड–१९ महामारीकै कारण छिमेकी राष्ट्र भारतको आर्थिक वृद्धिदर सन २०२०-२१ मा ७ दशमलब ७ प्रतिशतले ऋणात्मक रहेको थियो । विभागले राष्ट्रिय लेखाको आधार वर्ष सन २०००–०१ बाट सन् २०१०–११ लाई आधार मानेकाले आर्थिक वर्ष २०७६-७७ मा अर्थतन्त्रको आकार भने ३९ खर्ब ४३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसअघि आर्थिक वृद्धिदर २ दशलमव २७ प्रतिशत कायम हुँदा पनि ३७ खर्ब ६७ अर्ब हुने विभागको अनुमान थियो ।
विभागले गत वर्ष आर्थिक वृद्धिदर अनुमान २ दशलमव २७ प्रतिशत हुने अनुमान सार्वजनिक गर्दा जेठदेखि आर्थिक क्रियाकलाप सामान्य हुने अनुमान पुरा हुन सकेन । लकडाउनको अवधि असार सम्म लम्विएको कारण सरकारी खर्चमा हुने वृद्धि भएको थियो । जस्को कारण गत आर्थिक वर्षको अन्तिम त्रैमासीक अवधिमा आर्थिक वृद्धिदर १५ दशमलब ४ प्रतिशतले ऋणात्मक भएको पनि विभागले जनाएको छ ।
तर पनि कोभिड–१९ बाट लामो समय प्रभावित बनेको मुलुकको अर्थतन्त्रमा निरन्तर सुधार देखिन थालेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाका केही सूचकहरूले अर्थतन्त्रमा सुधारको संकेत दिएका थिए । सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको वैदेशिक रोजगारीको क्षेत्रमा कोरोनाले ठुलो प्रभाव पारेन । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको तीन महिनाकै तथ्यांक हेर्ने हो भने रेमिट्यान्स आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको छ ।
लकडाउनको समयमा आर्थिक गतिविधी ठप्प भएपछि सबैभन्दा बढी प्रभाव वैदेशिक व्यापारमा परेपनि लकडाउन खुलेपछि वैदेशिक व्यापारमा समेत सुधार आउन थालेको छ । तीन महिनाकै समीक्षा अवधिमा निर्यात १४ दशमलव ३ प्रतिशतले बढेको विभागको तथ्यांकले देखाएको छ ।