घोराही २१ फागुन । प्वालमा अलिकति पानी हाल्नु भयो । दुई हातले अंठिलो गरी चपक्क शङ्ख समातेर मुखमा कोच्नु भयो । दुईटा गाला पुक्क उक्सिए । आँखा चिम्लिनु भयो । पूरा ध्यान र जोड शङ्खमा लगाउनु भयो । जब टाँठो धुन निस्कन थाल्यो, जेष्ठ नागरिक सेवा केन्द्र घोराही १४ को भाव बदलियो । सबै जेष्ठ नागरिक त्यसमा पनि बाहुन-क्षेत्रीको बाहुल्यता । धेरैका दिमागमा महिलाले शङ्ख बजाउन हुँदैन भन्ने परम्परा रहेकोले यो घटना आश्चर्यको विषय बन्यो । त्यसमा झन् ठूलो धुनका साथ घोराही-१५ न्यूरोड निवासी शारदा पोखरेलले शङ्ख बजाउनु भयो । उहाँले शङ्ख लामो स्वर निकालेर बजाइरहनु भयो ।
घुँडा टेकेर ढाड सिधा पार्दै पोखरेलले आशन ग्रहण गर्नु भयो । बेलाबेला हल्काहल्का अगाडि पछाडि ढल्किदै शङ्ख बजाउनुहुन्थ्योे । शरीरलाई पैतलामाथि फर्किएका खुट्टाले आड दिएका थिए । पूरै शरीर अँठिलो भएकोजस्तो देखिन्थ्यो । पूरा तागत लागाउनु भएको थियो । शुभ कार्यमा बज्ने दोहोरो शंख बजाउनु । त्यसपछि सहभागी जति सबैका आश्चर्यपूर्ण नजर पोखरेलतिर सोझिए ।
उहाँले सार्वजनिक स्थलमा गत चार गते जेष्ठ नागरिक सेवा केन्द्र घोराही १४ को सरस्वती पुजा कार्यक्रम बजाउनु भएको थियोे । त्यहाँ अधिकांश पाका उमेरका नागरिक हुनुहुन्थ्यो । उहाँहरु एक दुईजना लाठीको अडेस लाग्दै र आफन्तको सहराले आउनु भएको थियो । हिँड्न नाच्न सकेपनि सबै जेष्ठ नागरिक हुनुहुन्थ्यो । त्यसमा थोरै संख्यामा महिला हुनुहुन्थ्यो ।
अधिकांश पुरुषको सहभागिता थियो । पोखरेलले शङ्ख फुक्दा सबैजसोले नौलो अनुभुति गर्नुभयो ।
उपस्थितको भावले महिलाले शङ्ख फुकेको पहिलो पटक महशुस गरेको देखाउँथ्यो । एकजना जेष्ठ नागरिक कानमै आएर फुस्फुसाउँदै भन्नुभयो ‘हेर्नुस् त महिलाले पनि शङ्ख बजाएको’ उहाँले थप्नुभयो- ‘कस्तो अनौठो हो ? कस्तो जान्या हो ?’ उहाँले भनेजस्तै शारदाले बजाएको शङ्ख निकै ठूल्ठूलो स्वरमा घन्कियो । अर्को शङ्ख पुरुष चन्द्रकान्त खरेलले बजाउनु भयो । तर, सबैको चासो पोखरेलले बजाउँदाको भावभङ्गिमा थियो ।
पतञ्जली योग समिति लुम्बिनी प्रदेश सहप्रभारी पोखरेल धेरै जनाका लागि शङ्ख बजाउने पहिलो महिला हुनुभयोे । उहाँले बजाइरहनु भएको थियो । ‘यस्तो गरी शङ्ख बजाउने महिला कहिल्यै थाहपाइन’ भन्ने धेरै थिए । उहाँ शङ्ख बजाएर पोखरेल थाक्दै थाक्नु भएन । शरीर हृष्टपुष्ट जस्तै स्वभावमा चातुर्यता छ । उहाँले बजाउँदा सुन्नेहरुको आश्चर्यजनक प्रतिक्रिया राम्रोसित महशुस गर्नुभएको थियो । बजाउनका कारणबारे व्याख्या गर्नुभयो ।
‘शङ्ख बजायो भने घाँटीको समस्या हट्दोरहेछ’ पोखरेलले शङ्ख बजाएपछिको अनुभव सुनाउनुभयो । ‘श्वास प्रश्वासमा सजिलो बनाउँदो रहेछ ।’ शङ्ख बजाएर उहाँले धेरै फाइदा भएको बताउनुभयो । सुरु गर्दाको प्रक्रिया र कारण पनि सुनाउनु भयो । ‘मैले गुरुहरु साक्षी राखेर शङ्ख बजाउन सिकेँ, उहाँले थप्नुभयो, ‘मैले बजाउन थालेको धेरै भयो ।’ उहाँले दिएको जवाफ पुष्टि गर्न शङ्खको धुन पर्याप्त थियो । उहाँको आसन र शैलीले सहभागिको चित्त बुझाउने हैसियत र राख्थ्यो । उहाँले सबैले यसरी बजाउँदा उपयुक्त हुने बताउनुभयो ।
शङ्ख बजाउँदा आँतैसम्मको बल लाग्ने लामो समयदेखि शङ्ख बजाउँदै आउनुभएका घोराही-१८ गाउँवेशी टोलका शोभिलाल पुनको भनाइ छ । उहाँको घरमा हरेक बिहान शङ्खको मीठो धुन बज्छ । ‘पहिला पल्टनमा छँदैदेखि बजाउँदै आएको’ पूर्वलाहुरे पुन बताउनुहुन्छ । उहाँका अनुसार यति धेरै बल लाग्छ कि पखाला लागेको वा कमजोरले आवाज निकाल्नै सक्दैन । यसरी पूर्वलाहुरेलाई कठिन हुने काम योग साधनामा रहे कि शारदालाई सजिलो छ । उहाँले शङ्खको धुन झ्वाट्टै निकाल्नुहुन्छ । असक्तले धेरैपटक बटारेर मात्रै निकाल्छन् । मुख बंग्याउँछन्, बल नपुगेर शरीर बटार्छन् तर शारदा आनन्दले धुन निकाल्नुहुन्छ ।
मीठो धुन निकाल्दै लामो समय शङ्ख बजाउँदा आँखामा तरररर आँशु झर्ने घोराही क्षेत्रका युवा पण्डित युगराज पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार मर्दा उल्टो र शुभकार्यमा शुल्टो शङ्ख बजाइन्छ । यस क्षेत्रमा कसैको घरमा बजाउनु परे उहाँ र उहाँका पिता ७७ वर्षे मेघराज पोखरेल शङ्ख बजाउन जानुहुन्छ । पोखरेलका अनुसार दाँत झरेपछि शङ्ख बजाउन नसकिने भएकाले पिता पोखरेलले छोड्दै जानुभएको छ । युगराजले क्षेत्र बढाउँदै लग्नुभएको छ ।
मेघराजको बैंस जोवन छँदा थोरै घर थिए । बजाएको ठूलै क्षेत्रमा सुनिन्थ्यो । उहाँलाई राजा वीरेन्द्रको सवारीमा घोराही बजारैभरि बजाउँदै हिँडेको स्मरण छ । दाँत र बल दुवैको उत्तिकै आवश्यक पर्ने भएकाले अहिले उस्तो धुन निकाल्न सकिन्न । शङ्ख बजाउन दाँत चाहिन्छ नै । मुखको सासलाई केन्द्रित गरेर बल लगाउन दाँतबिना हुँदैन ।
शङ्ख बजाउँदा कम्मरदेखि माथि पूरै शरीरमा कसरत हुने पण्डित युगराजले आफ्नो अनुभव सुनाउनुहुन्छ । उहाँका अनुसार नाकका पोरा फुलिन्छन्, चण्डि दुख्छन्, कोखा चस्किन्छन् । धेरै बजाए पेटका लाम्टा दुख्छन्, छाति कसिन्छ, पेट खुम्चिन्छ, हातमा पूरा शरीरको बल खिच्नुपर्छ । त्यसैले, शारीरिक व्यायामका लागि निकै उपयुक्त छ । स्वाथ्य लाभका लागि जसका घरमा जसले बजाए पनि हुन्छ । बाहुनले मात्रै बजाउनुपर्छ भन्ने छैन ।
उहाँले कुनै पनि शास्त्रमा महिलाले शङ्ख फुक्नु हुन्न भन्ने नलेखिएको पण्डित मेघराजको भनाइ छ । उहाँका अनुसार महिला पुरुष जसले सक्छ उसले बजाए हुन्छ । पहिलेदेखि महिलाले बजाउने अभ्यास नभएकाले नयाँ लागेको हो । तर, यो महिलाले गर्न नहुने काम होइन ।
भागवत पुराणमा जहाँसम्म शङ्ख घण्टको ध्वनी सुनिन्छ त्यहाँसम्म भूतप्रेत अघि बढ्न सक्दैनन् भन्ने लेखिएको छ । त्यसले पनि शङ्खघण्टमा शक्ति छ भन्ने बुझ्नुपर्छ । शङ्ख कसले बजाउने कसले नबजाउने भन्ने कहिँ पनि लेखेको छैन । भनेको पनि सुनिंदैन । कतिपय मान्यता सुन्दै र पालना गर्दै आएका पनि हुन्छन् । शङ्खमा अरु कुराहरु भेटिंदैन । लुम्बिनी प्रदेश सहप्रभारी पोखरेलका अनुसार सबैका घरमा शङ्ख राखेर जहानैले पालैपालो बजाए हुन्छ ।
त्यसले परिवारमा स्वस्थ र घरमा सभ्यता दिन्छ । महिलाले बजाउँदा अच्चम्म मान्नु पर्दैन । बरु अरु महिलाले पनि श्वास प्रश्वास ठीक पार्न बजाउनुपर्छ । शारीरिक कसरतका लागि दिनमा एक पटक बजाउँदा पनि धेरै उपलब्धी मिल्छ ।