नेपालमा दमकल श्री ३ जुद्धशमशेरका पालामा भित्र्याईएको हो । यो १९३७ ताकाको कुरा हो । त्यो भन्दा अघि बारुण यन्त्रको नाम नै सुनिएको थिएन । आगो निभाउनका लागि यन्त्र नै बनाइएको हुन्छ भन्ने पनि थिएन । तर बेलायत भ्रमणमा जाँदा जुद्धशमशेरले देखेका हुनाले नेपाल फर्कंदा एउटा बारुण यन्त्र पठाइदिन आग्रह गरेका रहेछन् । बेलायतबाट दिल्लीसम्म जहाजमा ल्याइएपछि रेलबाट नेपालको बोर्डरमा पठाइएको थियो । त्यहाँबाट भीमफेदीसम्म गुडाउँदै ल्याएर भीमफेदीबाट पाटपूर्जा फुकालेर बोकेर काठमाडौं भित्याइएको थियो ।
आज जुद्धशमशेर नरहेको पनि ७० वर्ष भैसक्यो र नेपालमा दमकल भित्याएको पनि ८४ वर्ष भैसक्यो । तर दमकलको संख्या निकै नै कम छ, नेपालमा । जुद्ध शमशेरको पालामा भएको नेपालको ८० लाख जनसंख्या बढेर ३ करोडभन्दा बढि भैसक्यो । नेपालमा एक दिनमा सरदर ६ वटा आगलागी हुने गर्दछन् । त्यो पनि बढि त सहरबजारमै हुने गरेको छ । तर मानिसहरु दमकल ल्याउने र जनधनको सुरक्षा गर्ने भन्दा पनि भ्यूटावर बनाउन र डोजर खरिद गर्नमा व्यस्त छन् ।
दीगो र व्यवस्थित आवादभन्दा पनि अराजक किसिमले बस्ती बसाउन र पैसा कमाउन व्यस्त देखिन्छन् । हाल अत्यधिक घना बस्ती भएको काठमाडौंमा पनि जम्मा १० वटा दमकलमात्र कामचलाउ अवस्थामा छन् । आधुनिक यन्त्र बन्नुभन्दा पहिले बेलायत र क्यानडामा घोडाले तान्ने बग्गीमा राखेर वाष्फ इन्जिनमार्फत् आगलागी भैरहेको घरमाथि पाइपबाट पानी छर्कने गरिन्थ्यो । यसलाई पनि तात्कालीन अवस्थामा निकै प्रगतिका रुपमा लिइएको थियो । विकासका क्रममा क्यानडामा आगलागी निभाउन व्यवस्थित रुपमा १७औं शताब्दीतिर फायर ब्रिगेड खोलिएको देखिन्छ ।
लण्डन सहरमा सन् १६६० मा महाअग्नि परेर सहरको लगभग पूरै भाग सखाप भएको थियो । त्यति बेला नै त्यहाँ अग्नि नियन्त्रणका लागि सनु १९६७ मा फायर अफिस निर्माण गरिएको थियो । आगो मानिसका लागि नभैनहुने कुरा भए पनि यसले बेलाबेलामा महाविनाश निम्त्याउँदै आएको छ ।