विश्वको कुनै पनि लोकतान्त्रिक राज्य व्यवस्थामा नागरिक भावनालाई सम्मान गर्ने परिपाटीको विकास भएको पाइन्छ । किनकि, नागरिकको सम्मानबाट नै समानता प्राप्त हुनेछ, जुन सफल राजनीतिक दिग्दर्शनको सूत्राधार हुन् । तर नेपालको लोकतन्त्रको विकास तथा विस्तारमा आजपर्यन्त केहि हदसम्म यस क्षेत्रमा कमी रहेको हुँदा बेलाबखत राष्ट्रिय राजनीतिमा हलचलको परिस्थिति निर्माण हुने गरेको हो ।
लोकतान्त्रिक समूहमा मनोवैज्ञानिक रुपमा सधै नै नागरिक भय उत्पन्न हुन गएको देखिन्छ । नागरिक भावनाको सही रुपमा प्रतिनिधित्व हुन नसकेको अवस्थामा मात्र यस प्रकारका त्रासहरु उत्पन्न हुने राजनीतिक सिद्धान्तका सामान्य प्रक्रियागत ब्यवहार हुन् । दीर्घकालिन राजनीतिक संघर्षको बाबजुद् पनि सही रुपमा नेपाली जनताका आर्थिक समुन्नतिको चाहना पूरा गर्न नसकिएको हुँदा तात्कालिन अवस्थामा सर्वपक्षीय गणतन्त्रको चाहना रहेकाले राजतन्त्रात्मक शासन पद्धतिविरुद्ध जनआवाज तीब्र रुपमा मुखरित हुन गएको हो ।
परिणामतः मुलुकले संघीय गणतन्त्रतात्मक राज्य ब्यवस्थालाई अबलम्बन गर्न सविधानसभाको निर्वाचनमार्फत् जनादेश लिन सक्षम रह्यो ।
तसर्थ, गणतन्त्रमा सफल लोकतन्त्रको प्रत्याभूति कायम रहन्छ भन्ने जन अपेक्षा रहिआएको छ । यस विरुद्धमा लाग्ने प्रयत्न गर्ने हो भने अराजकताले प्रश्रय पाउने निश्चित छ । मुलुक र जनचाहना अनुरुपको शासकीय पद्धतिलाई अवलम्बन गर्ने विश्व प्रशिद्ध लोकतन्त्रको प्रचलित मूल्य एवं मान्यता हुन् । किनकि, विश्वमा रहेका कुनै पनि लोकतान्त्रिक पद्धति आफैमा नराम्रो कदापि हुन सक्दैनन् । तथापि, त्यसमा आवद्ध रहने लोकतान्त्रिक समुहको व्यवहारपश्चात् निस्कने सकारात्मक वा नकारात्मक प्रतिफलले सम्बद्ध राष्ट्रको लोकतान्त्रिक समूहको सही रुपमा जनमूल्याङ्कन हुने वातावरण तयार हुनेछ ।
यसका अतिरिक्त तात्कालिन परिवेशमा विश्व राजनीतिको सकारात्मक परिणामले निम्त्याएको नतिजाले पनि कतिपय अवस्थामा जनचाहना अनुरुपको परिर्वतनका लहरलाई समय परिस्थितिअनुसार नियन्त्रण गर्दै शान्तिपूर्ण अवस्थामा रुपान्तरण गर्न सक्ने समूह नै यथार्थमा अब्बल राजनीतिका पक्षधर हुन् । जसको सबल एवम् सक्रिय नेतृत्वमा लोकतन्त्रले फल्नेफूल्ने सुनौलो अवसर प्राप्त गर्नेछ । जहाँ अवश्य पनि नागरिक भावनाको प्रतिनिधित्व झल्किनेछ । सही अर्थमा यस प्रकारको आचरण बोकेका पक्ष नै लोकतन्त्रका सच्चा हिमायती तथा परिर्वतनका सम्बाहक तत्वहरु हुन् ।
तदुपरान्त निश्चित अवधिभित्र प्राप्त उपलब्धिलाई सही रुपमा मूल्याङ्कन गर्दै उचित ढङ्गबाट सदुपयोग गर्न सकिएन भने नागरिक समाजको दायित्व पूरा गर्ने कार्यमा लोकतान्त्रिक समूह असफल रहेको मान्न सकिन्छ । परिणामतः सम्बद्ध पक्षको राजनीतिक भविष्यमा प्रश्नचिन्ह खडा हुने प्रवल सम्भावना जीवन्त रहन्छ । यस अवस्था पश्चात् सुक्ष्मरुपमा राजनीतिक मूल्याङ्कनको प्रक्रिया प्रारम्भ हुनेछ । जसका कारण लोकतान्त्रिक समुहमा नागरिक भय उत्पन्न भई आपसी खिचातानीको अवस्था सुरु हुन गई नागरिक-लोकतान्त्रिक समूहबीच विश्वासको संकट उत्पन्न हुनेछ । प्रस्तुत अवस्थालाई राजनीतिको क्षेत्रमा सबैभन्दा खराब परिसूचकको रुपमा लिंदा फरक नपर्ला ।
तत्पश्चात लोकतन्त्रको विकास, विस्तार, सम्बद्र्धन एवं प्रवद्र्धनमा गतिरोध उत्पन्न भई अराजक परिस्थितिको निर्माण हुने हुँदा सर्वपक्षीय संयमता आजको अपरिहार्य आवश्यकता हो । प्रष्ट राजनीतिक दिग्दर्शनको अभावमा आफ्नो निष्ठागत ब्यवहारबाट विचलन हुन पुगी निम्तिएको कहालिलाग्दो अवस्थाको रुपमा यसलाई चित्रण गर्न सकिन्छ । प्रस्तुत ब्यवहार मुलुकको राजनीतिमा दीर्घकालिन अवस्थासम्म कायम रहने हो भने नागरिक जनविश्वासमा तुषारापात हुनगई लोकतान्त्रिक संस्कृतिप्रति जनविश्सास गुम्नजाने डरलाग्दो अवस्था सिर्जना हुनेछ । उपरोक्त द्विविधायुक्त सञ्चयले लोकतन्त्रको भविष्यमा कालो बादल मडारिने निश्चित छ ।
जसलाई जनविश्वासको अभावको कारण देखिने घातक परिदृष्यको रुपमा लिन सकिन्छ ।
लोकतन्त्रको संंस्थागत गर्ने क्रममा देखिने यस प्रकारका ब्यवहारले केही हदसम्म राष्ट्रिय राजनीतिमा सुधारका लक्षण प्रतिविम्वित गर्नेछ । किनकि, आत्ममूल्याङ्कन गर्ने प्रवृत्तिको विकास यदि राजनीतिको क्षेत्रमा प्रविष्ट गराउन सकियो भने अनावश्यक बखेडा सिर्जना गर्ने क्रममा न्यूनता आई राज नेतागणले पदअनुसारको आचरण निर्माण गर्दै जनउत्तरदायी बन्न मद्दत पुग्नेछ । जसले सम्बद्ध पक्षलाई जिम्मेवारी बोधको साथसाथै आत्मआलोचना गर्न सदैब प्रेरित गर्दछ । जसका कारण भ्रष्टाचाररहित राजनीतिक शुद्धताको अनुभूति गर्न नागरिक समाज सक्षम रहनेछ भन्दा फरक नपर्ला । यो नै अब्बल राजनीतिक दिग्दर्शनको अनुपम नमूना हो । जहाँ लोकतन्त्रको सुन्दर भविष्यको आत्मबोध गर्न सकिनेछ ।
लोकतन्त्रको वास्तविक मर्म भन्नु नै नागरिक भयको अन्त्य हुनु हो । जहाँ राज्यका जनप्रतिनिधिले मुलुकको मूल कानूनको अधीनमा रही कार्य गर्नु नै एक्काईसौं शताब्दिको नेपाली लोकतन्त्रका आधारभूत विशेषता हुन्, जुन सफल लोकतान्त्रिक पद्धति ब्यवहारमा मात्र प्रतिस्थापन हुन सक्दछ ।
तसर्थ, उच्चत्तम राजनीतिक पद्धतिको विकासको सम्भावनालाई सदैव पालना गर्ने प्रतिवद्धताले सदाचारयुक्त राजनीतिक प्रतिष्ठाको अभिवृद्धि गर्नेछ । जसको अभावमा केवल अराजक गतिविधि मौलाउने हुँदा सर्वपक्षीय सदाचारको चाहना आजको राजनीतिक शुद्धताको आधार स्तम्भ समेत हो ।
अतः नेपाल लगायत विश्वका अन्य कुनै पनि लोकतान्त्रिक राज्य ब्यवस्थामा रहेको आार्थिक असमानताले निम्त्याउने प्रतिफल भनेको सम्बद्ध राज्यको अधिकतम गरिबीको दरलाई मान्न सकिन्छ । जहाँ गरिबी रहन्छ । त्यहाँ धेरैहदसम्म अशिक्षा रहैकै हुन्छ । यसै परिणामस्वरुप सही रुपमा लोकतान्त्रिक समुहको पहिचान हुन नसकी राजनीतिको क्षेत्रमा ऋणात्मक प्रभाव पर्नेछ । प्रस्तुत अवस्था लोकतन्त्रको लागि सबैभन्दा खराब पक्ष हो ।
जसमा नागरिक स्वतन्त्रता, मौलिक लगातयका तमाम संवैधानिक हकअधिकार कुण्ठित हुन गई राजनीतिमा जीवन्तता प्राप्त हुन सक्दैन । जसले लोकतान्त्रिक पद्धतिको भविष्यप्रति नै गम्भीर सवाल उत्पन्न गर्नेछ । त्यसो भएको हुँदा सर्वपक्षीय सर्तकता आजको आवश्कता हो । जसको अभावमा सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माण गर्ने चाहनामा निर्मित गणतान्त्रिक संविधान ०७२ को प्रस्तावनाको प्रतिकूल अवस्था तयार हुनेछ । समानताको सन्दर्भमा भन्दा नागरिक समाजले राज्यलाई सुषुप्त रुपमा सचेत गराउँदै नागरिक हितका लागि कार्य गराउन दबाब सिर्जना गर्दछ ।
यस प्रकारका सकारात्मक कार्यले समाजमा रहेको गरिबी न्यूनीकरण गर्न ठूलो सहयोग पुर्याउनेछ ।
सत्तासिन राजनीतिक समूह लगायत प्रतिपक्षमा रहने अन्य लोकतान्त्रिक गठवन्धनले नागरिक समाजका जल्दाबल्दा समस्यालाई समाधान गर्ने कार्यमा जोड दिनु पर्नेछ । किनकि, हरेक ५ वर्षको दौरान आमनिर्वाचन हुन्छ भन्ने गहन तत्थ्यलाई मनन गर्दै लोकसम्मति अनुरुपको कार्य गर्नु लोकतान्त्रिक संस्कृतिको विकासमा सहयोग पुर्याउनु हो । यदि प्रस्तुत तथ्यलाई समयमै हेक्का राख्न सकिएन भने वर्गीय द्वन्द्वको अवस्था पैदा हुनेछ । जसका कारण मुलुकमा रहेका विभिन्न सम्प्रदाय बीच राजनीतिक आस्थाका आधार समाज विभक्त हुने प्रवल सम्भावना रहन्छ । मूलतः यस प्रकारको ब्यवहारले अनुशासनहिनताको जन्म हुनेछ । जसबाट राज्यको कानून ब्यवस्थामा समेत प्रतिकुल असर पर्न जानेछ ।
यसका अतिरिक्त लोकतान्त्रिक समूहले समयानुकुल आफ्नो राजनीतिक सैद्धान्तिक पृष्ठभूमिलाई सुधारगर्दै लग्नुपर्ने हुन्छ । यस प्रवृत्तिको विकासले नागरिक समुदायको लोकतन्त्र प्रतिको आस्था एवम् विश्वास बढ्न गई सदाचारयुक्त राजनीतिको सर्वमान्य सिद्धान्तलाई अंगाल्ने वातावरण तयार हुनेछ । तत्पश्चात निष्ठावान राजनीतिज्ञको सदाचारयुक्त ब्यवहारले मुलुकले मनग्य आर्थिक प्रगतिको मार्ग पहिल्याउने छ भन्दा फरक नपर्ला ।