• मंसिर ११ २०८१, मंगलवार

कोभिशिल्ड लिएकालाई दोश्रो खोप पनि कोभिशिल्ड नै

फाल्गुन १८ २०७७, मंगलवार

काठमाडौं । कोभिशिल्ड खोप लिएकाहरुका लागि अर्को डोजको खोप पनि कोभिशिल्ड नै लिनु पर्ने जरुरी भएको स्वास्थ्यकर्मीले बताएका छन् । माघ १४ गते पहिलो डोज लिएकाले अबको अर्को डोज पनि कोभिशिल्ड नै लिनु पर्ने छ । यो खोपमा रहेको औषधिको संयोजन वा ‘कम्पोजिशन’अनुसार पहिलो र दोस्रो डोज जोडेर लिनु पर्छ । त्यसपछि मात्र यो खोपको पूरा डोज लिएको मानिने छ ।

यो खोप लिंदा, समयावधिका हिसाबले, आठ हप्ताको फरक पार्नुपर्ने हुन्छ । खोपले कोरोना भाइरस तत्काल मारिहाल्ने गर्दैन । तर यसले कोरोना भाइरसविरुद्ध लड्नका लागि शरीरमा एन्टीबडीको निर्माण गर्दछ । एन्टिबडी भनेको कुनै पनि रोग विरुद्ध लड्नसक्ने कोषिकाहरुको निर्माण हो । यो कोषिका निर्माणले मानिसमा शरीरिक शक्ति वा तन्दुरुस्ती ल्याउन थाल्छ ।

कोभिशिल्ड यही एन्टीबडी निर्माण गर्न सहयोग पुर्याउने औषधीय कम्पोजिशन हो । यो अहिले भारतको सेराम इन्टिच्युटबाट व्यापक मात्रामा उत्पादन र वितरण भैरहेको छ । यो औषधि अक्सफोर्ड एस्ट्राजेनेकाको सहयोगमा निर्माण भएको हो ।

विश्वमा कोभिड विरुद्ध विश्व स्वास्थ्य संगठनले सिफारीश गरेको सबैभन्दा भरपर्दो खोपमा एस्ट्राजेनेका पर्दछ । तर अफ्रिकामा यो खोप प्रभावकारी देखिएन । यसको प्रभावकारिता नहुनुको पछाडिको कारण भनेको अफ्रिकामा विकास भएको कोरोनाको नयाँ संस्करण वा प्रकार नै हो । त्यहाँ यो खोप प्रभावकारी नभए पनि विश्वका अन्य क्षेत्रमा भने यसलाई सिफारीश गरिएको छ । र, यसको प्रभावकारिता पनि देखिएको छ ।

नेपालमा माघ महिनाको दोस्रो सातामा पहिलो पटक दिइएको कोभिशिल्डबाट धेरैलाई प्रत्यक्ष फाइदा पुगेको छ । यो खोप लगाएर यसको साइट इफेक्ट भएर कसैको पनि ज्यान गएको छैन । त्यसैले पनि नेपालमा रहेको कोरोनाको प्रकारलाई हाल दिइरहेको कोभिशिल्ड खोपले नियन्त्रण गर्न सकेको पाइएको छ ।