• मंसिर ११ २०८१, मंगलवार

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ !

फाल्गुन १७ २०७७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ‘सुरक्षा थ्रेट’ आएको भनेर सार्वजनिक रुपमा घोषणा गरेपछि यसले सबैलाई सोच्ने बनाएको छ । देशकै कार्यकारीमाथि जीउज्यान नै नरहने गरी सुरक्षा थ्रेट आउँदा राज्यका सम्बन्धित निकाय कहाँ छन् ? प्रश्न उठेको छ । सधैं मानिस हँसाउने र जोक सुनाउने प्रधानमन्त्रीले सुरक्षा थ्रेटजस्तो गम्भीर कुरा सार्वजनिक रुपमै सुनाए ।

यसको प्रतिक्रिया वा टिप्पणी सुरक्षासँग सम्बन्धित निकायले हल्काफुल्का रुपमा नदेला भन्ने जनताको आशा छ । किनकि यी निकायले हालको अवस्थाका बारेमा सही र यथार्थ जानकारी आफ्ना जनताका बीचमा प्रवाह गर्नुपर्छ र गर्न सक्नुपर्छ पनि । ढिला भैसकेको छ, कुनै पनि सुरक्षा निकायले यस्तो जानकारी सार्वजनिक गरेका छैनन् ।

यो एउटा अमूक सुरक्षा निकायको जिम्मेवारी वा चासोको कुरा मात्र पनि होइन । यो देश र राष्ट्रको सुरक्षासँग जोडिएको कुरा हो । सुरक्षा निकायको तत्काल संयुक्त मिटिङ बसेर हो वा होइनको सूचना जनतामा दिनु पर्छ । जनतालाई यसको बारेमा सुसूचित हुने अधिकार छ ।

त्यसो त नेपालमा सुरक्षा थ्रेटका कुरा बेलाबेलामा धेरै नेताहरुले सार्वजनिक रुपमा बताउने गर्दै आएका पनि छन् । यद्यपि त्यसका बारेमा सुरक्षा संयन्त्रको कुनै आधिकारिक सूचना जनतामा दिइएको छैन । मानौ यो हल्लाको विषय हो र हावाले उडाएर लगेपछि सकिइहाल्छ । तर जनता यो मान्न तयार छैनन् ।

प्रधानमन्त्रीलाई देशको सबैभन्दा संवेदनशील सूूचना हर सेकेण्डमा पुर्याइन्छ, यसको विश्लेषण र आधिकारिकताको खोजी पनि गरिन्छ । प्रम ओलीले जुन कुरा सार्वजनिक गरे, यसको ब्रिफिङ कसले गरेको हो, खोजी हुनु जरुरी छ । राज्यका संवेदनशील अंगहरुमा रहेका प्रशासक तथा कमाण्डरहरु यसका बारेमा सुसूचित छन् कि छैनन् ? उनीहरुले यो कुरालाई कसरी लिइरहेका छन् ?

राज्यको कार्यकारीले जनतालाई दिउँसै ढाँटे त ? ढाँटेका हुन् भने उनले जनतालाई आफ्नो स्वार्थसिद्धिका लागि किन ‘इमोश्नल ब्ल्याकमेलिङ’ गरिरहेका छन् ? के यसो गर्ने छूट छ उनलाई ? जनतालाई आतंकित पार्ने र आफू आत्मरतिमा रमाउने छूट देशका कार्यकारीलाई होला र ? होइन भने यो विषयको गाम्भीर्यतालाई कसरी लिने ?

हामीले हाम्रै देशमा कार दुर्घटनाको नाममा मदन भण्डारी तथा जीवराज आश्रितको त्रिशुलीको दासढुंगामा असामयिक निधन बेहोरेका छौं । वंश विनाससहितको विभत्स दरबार हत्याकाण्ड पनि हामीले बेहोरेका छौं । यसका बारेमा पूर्वसूचना वा संकेत कसैले पाएको नेपालमा आजसम्म खुलेको छैन । तर घटना त हाम्रा अगाडि घटेरै छाड्यो ।

हाल दाहाल–नेपाल समूहका अध्यक्ष रहेका पुष्पकमल दाहालले पनि बेला मौकामा आफूमाथि सुरक्षा थ्रेट आएको भन्दै गरेका थिए । तर उनको भनाइमा कत्तिको सत्यता थियो वा थिएन, त्यस कुराको खोजी र जानकारी आजसम्म पनि भएको रेकर्ड छैन । ‘हिँड्दैछ, पाइला मेट्दै छ’ को चाला नै निरन्तर रहिरहने भने कसको भनाइ वा अभिव्यक्तिमा कसले चासो राख्ने र विश्वास गर्ने ?

अर्कोतर्फ, सुरक्षाजस्तो संवेदनशील विषयलाई ठेलागाडामा राखेर बिक्रि गर्न थाल्ने हो भने देशको हालत के होला ? देशका कार्यकारीले सार्वजनिक समारोहमा बोल्ने कुरा यस अर्थमा लिपिबद्ध हुनु जरुरी पनि छ । किनकि मानिस आफैमा बग्ने र सम्हालिने गर्ने मनोविज्ञानको अभिव्यक्ति पनि हो । कसैले यसो चिया खाँदाको बखतमा आधार नै नभएका कुरा फुत्त मुखबाट निकालेर नेताका खोपडीमा घुसाइदिएको पनि हुनसक्छ । चिया गफमा यो केही नहोला, तर सार्वजनिक समारोहमा त यो निकै गम्भीर संवेदनशील कुरा हो ।

आजका दिनमा राजनीति च्यातिदो छ । एकअर्कामा पूर्वाग्रह छ । एकले अर्कालाई जतिसक्यो उडाउनमै मजा लिइरहेका छन् । मानिसले आफ्नो यथार्थता बिर्सेको छ । आफ्नो हैसियतको पनि ख्याल छैन । निकृष्ट र निन्दनीय शब्दमा रमाइरहेको छ । कार्यकर्ताको रोजाइमा ताली र गाली परेको छ ।

यति बेला नेता तथा देशका कार्यकारी निकै गम्भीर बनिदिनु पर्छ । सुरक्षा थ्रेटका कुरा राज्यको सुरक्षा व्यवस्थासँग जोडिएका कुरा हुन् । यी हल्काफुल्का टिप्पणीका कुरा होइनन् । यिनको आधिकारिकताको पुष्टि पनि हुनु जरुरी छ ।