• मंसिर ११ २०८१, मंगलवार

विभेद विरुद्धको संघर्षमा दलितभित्रको छुवाछुत बाधक

फाल्गुन १७ २०७७, सोमबार

नेपालको राजनीतिमा दलित समुदाय वर्षौंदेखि सबैभन्दा बढी प्रयोग हुँदै आएको समुदाय हो । यो समुदायको सामाजिक इतिहास निकै लामो छ । विभेदमा परेर दासको जस्तो जन्दगी बिताएको इतिहास पनि त्यस्तै छ । नेपालमा १७ लाख जनसंख्या भएका मधेसी र थारु समुदायले आफ्नो हक र अधिकारको निम्ति तराईको विभिन्न ठाउँमा आन्दोलन गरे र क्रान्ति गरे, उद्दण्ड मच्चाए । उनीहरुले गरेको आन्दोलनलाई उद्दण्ड भनिदिंदा उनीहरुलाई पीर त पर्छ होला । आन्दोलनका समयमा प्रहरीलाई भाला रोपेर मारेको घटनालाई मैले उद्दण्डता भनेको हुँ । प्रहरीलाई भाला आन्दोलनकारीले हानेका हुन् कि घुसपैठियाले ? त्यो समयले बताउला ।

लामो समयको अन्तरालपछि गरिने अनुमान कति सही हुने हो त्यो भने यसै भन्न सकिन्न । थरुहट राज्य स्थापनाका लागि उनीहरु एकजुट भएका थिए । उनीहरुको मन, भावना र उद्देश्य एउटै थियो । सामूहिक आवाज उठ्यो मर्न र मार्न तयार पनि भए । अधिकारका लागि लड्ने पनि सुनिश्चित पनि गरे । यता नेपालमा वर्षौंदेखि आजसम्म उत्पीडनमा परेको एकतिहाई जनसमुदाय दलितको संख्या ७० देखि ८० लाखको संख्या रहेको मानिन्छ । यो समुदायले अभिभावकविहीन अवस्थमा सडकको जीवन बिताइरहेको छ । वर्षैंदेखि पीडा मै छ र अन्याय सहेर बसेको छ । यो समुदायको मुक्तिका लागि धेरै आन्दोलन भए तर अझपनि दलित आन्दोलन सफल भएको छैन ।

थारु समुदायभन्दा ४ गुणा बढि भएको दलित समुदाय किन पछि परेको छ ? थारु समुदायको जत्तिकै दलित समुदायको मन र भावना किन मिल्न सकेन ? दलितभित्र पनि जातीय विभेद हुनु र राज्यले गरेको विभेदविरुद्ध लड्नका लागि एकता पैदा नहुनु वा कम हुनु यसका कारण हुन सक्छन् । किन कि दलित समुदायभित्र पनि पानी नचल्ने अवस्था रहनु । कामीले दमाईलाई विभेद गर्नु, दमाइले सार्कीलाई, सार्कीले गाइने र बादीलाई विभेद गर्ने भएका कारण भावनामा एकरुपता नआएको हुनसक्छ ।

यी यस्ता आन्तरिक विभेदका कारणले दलित मुक्ति आन्दोलन सफल हुन सकेको छैन । यो समुदायका मानिसका बिचमा नै एकता नहुँदा दलित आन्दोलन सेलाएको हो । अर्को कुरा र कारणमा दलित अगुवाहरुको आन्दोलन उठान गर्ने दृष्टिकोणमा रहेको भिन्नताले पनि यसमा काम गरेको हुन पर्दछ । यहाँभित्र पनि ‘तँ भन्दा म के कम’ भन्ने नकारात्मक विचारले काम गरेका कारण यो समुदायका मानिसको सोचमा परिवर्तन हुन सकेको छैन ।

जबसम्म मन, विचार र भावना मिल्दैन तब सम्म कुनैपनि समुदायमा एकता हुँदैन र आन्दोलन पनि सफल हुँदैन । त्यसकारण उत्पीडित समुदायका मानिसमै विचार र भावनामा एकता नहुँदासम्म मुक्ति आन्दोलन सफल कसरी हुन्छ ?
जबसम्म हाम्रो भोगाइ र पीडा एउटै बन्दैन । जबसम्म हामीभित्रै भेदभाव र छुवाछुत गर्नु हुँदैन भनेर दमाई, कामी, सार्की, गाइने र बादी र २६ जातमा बाँडिएका दलित समुदाय बीच एकता हुँदैन, तबसम्म आन्दोलन सफल हुँदैन । भावनात्मक रुपमा एकता भएपछि मात्र दलित आन्दोलन सफल हुन्छ र राज्यका सबै अंगहरुमा हाम्रो अधिकार सुनिश्चित हुन्छ ।

नेपालको कानुनी तथा सामाजिक इतिहास हेर्ने हो भने कानुनै बनाएर दलित समुदायलाई संरचनागत विभेदमा पारिएको र सोही विभेदको कारण आम दलित समुदाय राज्यको सम्पूर्ण अवसर, सुविधा र पहुँचबाट बञ्चित रहन पुगी जातीय भेदभाव र छुवाछूतजस्तो कुसंस्कारलाई स्थापित भएको हो र उनीहरुलाई जीवन गुजारा चलाउन गाह्रो भएको हो ।

दलित मुक्ति आन्दोलन इतिहासदेखि नै विभाजित रुपमा अघि बढ्दै गएको पाइन्छ । त्यसैले हिजोका सबैखाले बुझाइ र व्यवहारलाई समीक्षा गर्दै नयाँ योजना बनाई दलित मुक्ति आन्दोलनलाई अघि बढाउनु पर्दछ ।
दलित समुदायको हक, हित र समृद्धिका लागि सम्पूर्ण उत्पीडित दलित समुदाय एकीकृत भएर लडाइँ लड्नुको विकल्प छैन । त्यसका लागि विभिन्न राजनीतिक पार्टीमा रहेका दलित नेता तथा अगुवाहरु पहिला एक ठाउँमा आउनु पर्दछ । आन्दोलनको संयुक्त कार्यक्रम बनाउनु पर्दछ । यसका लागि सबै पार्टी, धर्म, जातजाति लगायतभन्दा पनि माथि उठेर आफ्नो समुदायको हितमा काम गर्न सक्नु पर्दछ । त्यसका लागि सबैभन्दा पहिले दलित भित्रैको विभेद र छुवाछुतको अन्त्य गर्नु पर्दछ । यो कामलाई समग्र दलितको मुक्तिको आन्दोलनको प्रक्रियामा हाल्नु पर्दछ । एकीकृत भएर विभेदको रुपमा देखिएको साझा समस्याको समाधानका लागि अभियान नै चलाउनु पर्दछ ।