• मंसिर ११ २०८१, मंगलवार

प्रदूषण फैलाएर आफ्नै आयु घटाइरहेका हामी

फाल्गुन १६ २०७७, आईतवार

वायु प्रदूषणले आक्रान्त बनाउँदा दिल्लीमा संकटकाल घोषणा गरियो, त्यहाँको भन्दा प्रदूषणको मात्रा बढी  हुँदा काठमाडौँमा खासै चासो दिइएन । यसबाट के स्पष्ट हुन्छ भने हाम्रो स्वास्थ्यको स्थिति नाजुक छ । साँच्चै विश्वका ५० सहरमध्ये काठमाडौँ प्रदूषणमा पहिलो श्रेणीमा पर्छ । हालको अध्ययनले मात्रै नभएर विगतको अध्ययनले पनि बताएको कुरा हो यो । वातावरण विभागकै भनाइमा पनि देशमा वायु प्रदूषण उच्च छ । काठमाडौँ मात्रै नभएर पूर्वको विराटनगर, पश्चिमको नेपालगन्ज पनि उस्तै छ ।

गत पुस २२ मा २४ घण्टाको प्रदूषण मापन गर्दा रत्नपार्कमा ४४१ युपीजी एम पुगेको देखियो । यस्तो अँक १०० बढी हुँदा खतराको संकेत हो भने विराटनगरमा ३६६, ल पु को भैँसेपाटीमा ३३१ र जनकपुर, चितवन, हेटौँडा, दाङ, पोखराको स्थिति पनि त्यस्तै देखियो । त्यसो त मार्ग, पौष, माघमा हामीकहाँ वायु प्रदूषण बढी हुने समय नै हो, तर विगतमा पानी पर्ने गर्नाले यसको असर केही कम हुन्थ्यो र यसपालि यो मौसम सुख्खा नै रह्यो ।
वायु प्रदूषणका कारण वृद्ध, बालबालिका, गर्भवती महिलाहरु बढी आक्रान्त हुने गर्छन् ।

दम रोग, फोक्सो, मुटु, मष्तिस्क, क्यान्सरको समस्या, दीर्घ रोगीका लागि त प्रदूषण घातक नै हो, झन् अहिले कोरोनाले ग्रस्त पारेको समयमा यो झन् बढी घातक हो । उद्योग, कल, कारखानाको धूलो, पुराना गाडी, मान्छेको भीड, खुल्ला ढल, हाम्रो बाटोको अवस्थाले प्रदूषणको यथार्थ अवस्था देखिन्छ । दलहरुको सडक नाराले पनि प्रदूषण बढेको छ ।
सरकारले काठमाडौँ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्य योजना २०७६ स्वीकृत गरेको छ ।

विद्युतीय गाडीमा भंसार छूट लगायत केही सहुलियतका योजनालाई अघि सारेको छ ।

विभिन्न खाले प्रदूषणका कारण विश्व वातावरण बिगंदा मानव स्वास्थ्य भनौँ आम जनजीवन संसारमै जोखिममा छ । वातावरणकै कारण मुटु रोग, स्टोक, फोक्सो आदिका समस्याले वर्षेनी संसारमा ७० लाख मानिसले ज्यान गुमाइरहेका छन् । हामीले सास फेर्ने वायुमण्डलमा आँखाले देख्न नसकिने धूलाका कणहरु हुन्छन् । विश्व स्वास्थ्य संगठनले पीएम २ः५ को मात्रा प्रति घन मिटर २५ सम्म सामान्य मानेको छ, तर संसारभरि उसले यसलाई १० मा झार्ने प्रयास पनि गरेको छ । हाम्रो सरकारी मापदण्ड ४० हो । तर राजधानी काठमाडौँ उपत्यकाको वायुको गुणस्तर स्वीकृत मापदण्डभित्र छैेन । त्यसो त विश्व स्वास्थ्य संगठनले तोकेकोभन्दा बढीमै संसारका झण्डै ९३ प्रतिशत मानिसहरु बाँच्न बाध्य छन् । विश्वका विभिन्न ९८  प्रदुषणयुक्त देशमध्ये नेपाल ८ औँ स्थानमा छ । विश्वकै ९५ प्रदूषित सहरमध्ये काठमाडौँ सहर २२ औं स्थानमा देखिन्छ ।

वातावरण विभागका अनुसार वायुको गुणस्तर मापनका लागि काठमाडौँँ उपत्यकामा नै ७ स्थान र पोखरामा ३, पूर्वको दमक,  झुम्का, धनकुटा, सिमरा, त्यस्तै सौराहा, लुम्विनी, दाडः, नेपालगन्जमा एक एक गरी २१ स्टेशन रहेका छन् । प्रदूषण नियन्त्रणकै लागि यूरो ४ का गाडी भित्र्याउँने, ५ वर्षभित्र १० स्थानमा विद्युतीय रिक्सा सन्चालन गर्ने, विद्युत् चार्जका लागि मोबाइल स्टेशनहरु स्थापना गर्ने, इँटा लगायत अन्य उद्योगका चिम्नीलाई प्रदूषण रहित बनाउने विभिन्न कार्य योजना पनि अघि सारेको हो, नेपालको संविधान २०७२ को धारा ३० ले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएअनुसार पत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । त्यस्तै वातावरणीय प्रदुषणबाट हुने क्षति वापत् पीडितलाई प्रदुषणबापत् कानून बमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ । विकाससम्बन्धी कार्य र वातावरण बीच सन्तुलन गरिने पनि उल्लेख छ । नेपाल आयल निगमले बेच्ने गरेको इन्धनबाट प्रदूषण कर भनी उपभोक्ताबाट लिएको ११ अर्व खर्च नै नभएको भनाइ छ ।

वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ ।

त्यसमध्ये वन जंगल पनि प्रमुख हो । सानैदेखि हामीले सुनेको विषय हो “नेपालको धन हरियो वन” केही दशक यतादेखि हाम्रो वन सम्पदामा व्यापक कमी आएको छ । सन् १९५४ अर्थात् वि.सं. २०११ सालसम्म हाम्रो मुलुकको ४५ प्रतिशत भन्दाबढि भूभाग वन क्षेत्र थियो । वि.सं. २०३६ मा आइपुग्दा ४३ प्रतिशत, वि.सं. २०४३ मा आइपुग्दा ३७.४  प्रतिशत अर्थात् ४५ प्रतिशतबाट ओरालो लाग्यो । विगतमा आवास पुनर्वास वा अन्य काराणले वन फँडानी धेरै भए । भूधरातल, माटो, हावापानीले तत् तत् क्षेत्रको वन वनस्पतिलाई प्रभाव पार्ने हुन्छ ।
पूर्वदेखि पश्चिमसम्म समानान्तर रहेको पहिले ४ कोशसम्म फैलिएको तराई, भावर, चुरे, दुन पर्वतको १,२०० मिटर सम्मको उचाइमा रहेको उष्णप्रदेशीय जंगल ४ कोशे वन जंगल हो, हाम्रो । यस क्षेत्रमा गर्मी बढी र वर्षा पनि बढि नै हुन्छ । यहाँका वन बुटेनहरु मोटा, बलिया, अग्ला सदावहार हराभरा हुन्छन् ।

साल, सिसौ, सिमल, खयर, ढड्डी, गोंज, सार्व आदि धैरै छन् । चुरेको माथिल्लो र मध्य भाग एवं महाभारतको तल्लो भागलाई पतझर जंगलले चिनिन्छ । १,२०० मिटर देखि २,१०० मीटर सम्मको यसको क्षेत्र हो । यसको मथिल्लो भाग बढि चीसो हुने गर्छ । तुसारो पर्छ । धेरै पात पतिङ्गर झर्ने गर्छन् । कडा र नरम दुवै खालका बृक्षहरु छन् । यहाँ साल, सल्लो, दिनदारु, ओखर, कटुस, चाँप, लाकुरी, पलाँस, पिपल, चिलाउने, गुराँस, वर, सिमल, उत्तीस, वाँस, चोप यहाँ धेरै छन् । माथि भनिएको सदावहार चारकोशे झाडीका रुखभन्दा यी कम गुणस्तरका छन् । सधै चीसो भइरहने हिमपात भैरहने क्षेत्र हो यो । २,१०१ देखि ३,३५० मिटर सम्मको उचाइ, महाभारतको माथिल्लो क्षेत्र, हिमाली क्षेत्रको तल्लो भाग यसमा पर्दछ । यहाँको माटो सेपिलो छ । नरम खालका रुख, सीमल, धुपी, उत्तीस, बाँस, गुराँस चिलाउने, बेतवास भोजपत्र धेरै पाइन्छन् यहाँ ।

तापक्रम अति न्यून, वर्षा पनि न्यून हुने क्षेत्र, जसको उचाइ ३,३५१ मिटरदेखि ५ हजार मिटर सम्मको छ, यस्तो हिमाली क्षेत्र यसमा पर्दछ । बुल्क जलवायुका कारण, कडा, मोटा अनि अग्ला रुखहरु यहाँ टिक्न सक्तैनन्, गुराँस, निगाला हल्का झाडी जस्ता रुख भने ३,६०० मीटरको उचाइसम्म केही सप्रन्छन् ।  पुकीफूल, जडीबुटी भने यस क्षेत्रमा रहने गर्छन् । ५ हजार मिटर भन्दा माथि भने हिमपात् भइरहने हुनाले त्यस्ता क्षेत्रमा वन, वनस्पती हुँदैनन् । प्राकृतिक वातावरणको संरक्षण, पुनः स्थापन र वुद्धिमतापूर्ण उपयोगमा जोड दिने, सहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसहरुलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धताको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजना हाम्रासामु प्रस्तुत भएका थिए ।

त्यसो त छैठौँ पंचवर्षीय योजना अवधि देखि नै हाम्रो मुलुक वातावरण प्रति सचेत हुँदै आएको हो । हाम्रो मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, वातावरणसम्वन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो । वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो । सहश्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको हो ।

स्थानीय स्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, जिल्ला विकास समितिहरुले योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षा तर्पm प्राथमिकतहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठन पाठन चालु भएर राष्ट्रिय स्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका हुन् । काठमाडौँको धूवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरुको अवस्था हेर्दा जो कोहीलाई पीडा र छट्पटाहट हुन्छ । इट्टाभट्टाहरु कम भए पनि ढुंगा खानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या छ । ढुंगाखानीको कारण पानीको मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको छ । गाउँमा पानीको मुहान सुक्नाले जनताको जीवन पीडाग्रस्त भएको छ ।

काठमाडौँकै मुटु मुख्य नदीहरुमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौँ थप जटिल हुने छ ।

अव्यवस्थित सहरीकरण, सिमेन्टका खम्बा झैं भवनहरु ती भवनमा रहने मानिसबाट निस्कासन भएको प्रदूषणको कारण काठमाडौंको स्रोतभूमिको पानी प्रदूषित बनेको छ । नदीहरुमा अक्सिजन शून्य छ । हिउँदमा मात्र होइन, वर्षायाममा पनि यी नदीहरुमा अब पानी होइन ढलमात्र बग्छन् । अक्सिजन नहुँदा पनि बाँच्ने काइरोनोमिड र ओलिजोकेड जीव मात्र यहाँ बाँकी रहेको छ । जलचर, वनस्पति र अक्सीजन नपाइने पानी प्रयोग योग्य हुँदैन । सहायक नदीहरु पनि सबै यस्तै हुने क्रममा छन् !

७ अर्व ८२ करोड मानिस रहेको यस विश्वमा ३५ करोड मानिस पानीको चरम संकटमा छन् । ब्राजिल पछिको विद्युतीय ऊर्जा स्रोत पानीमा दोस्रो स्थान ओगटेको नेपालमा असंख्य नदीनाला छन् । तर पनि अत्यधिक विद्युत्को लोडसेडिङ्ग तथा पिउने पानीको संकट यहीँ धेरै छ । काठमाडौँ सहरका धारामा पानी चुहिन छोडेका छन् । काठमाडौँ उपत्यकाका सबैजसो वितरित पानीको शुद्धता परीक्षण गर्ने हो भने प्रदूषण मिसिएको नै पाइन्छ । विषाक्त प्रदूषणकै कारण सहरका बजारमा अत्यधिक बिक्रि वितरण हुने तरकारी एवं फलपूmलका कारण पनि यहाँका मानिसले आफ्नो आयु क्षिण गरिरहेका छन् ।

कृषिवालिको विविधता गुमेकाले आगामी दिनमा थप खाद्यसंकट हुने निश्चित छ । जैविक प्रजातिका दृष्टिले विश्वको ०.००३ र एसियाको ०.३ प्रतिशत भूभाग नेपालले ओगटेको छ । तराईको समथरक्षेत्र ६० मि. देखि सर्वोच्च शिखर सगरमाथा १९३ माइलसम्म र पूर्व पश्चिम ८८५ माइल भूभाग रहेको नेपालमा ५ किसिमको भौगोलिक वातारण पाइन्छ । त्यस्तै ३५ किसिमको वनक्षेत्र, १३ किसिमको हावापानीले गर्दा जैविक विविधताको प्रचुर संभावना पछि छ यहाँ !

पूर्वको ताप्लेजुङ्गदेखि पश्चिमसम्म लमतन्न  फैलिएको झण्डै तीनहजार कि.मि. भूभागमा संधै सेता हिमाल देखिन्छन् भने दक्षिणतिर फैलिएका समथर जमीन त्यस वीचमा पर्ने पहाड, खोला, थुम्का, उपत्यका, पतझर र कोणधारी जंगलले गर्दा मुलुकको शोभा थप रमणीय देखिएको छ । फलस्वरुप विश्वमान चित्रमै नेपाल सुन्दर रहेकाले विश्वकै लागि पर्यटकीय स्थल पनि बन्न पुगेको छ । विविध हावापानी र विविध जाति प्रजातिका जीवजन्तुको बासस्थान रहेका हाम्रो मुलुकको सौन्दर्यमा विगत केही सयम यतादेखि नकारात्मक परिदृष्य देखा पर्न थालेका छन् । ०.०८ डिग्री का दरले तामक्रम वृद्धि हुन जानाले हिमालमा हिउँ कम भएको र समग्र नेपालमा वार्षिक ०.६ प्रतिशतले तापमान वृद्धि हुन जानाले हिमालीक्षेत्र र अन्य क्षेत्रमा गतिविधिमा असर पर्न गएको छ ।