• मंसिर १७ २०८१, सोमबार

डुुब्न लागेको मानिसको उद्धारपछि धन्यवादको पर्खाइमा हुन्छन् डल्फिन

फाल्गुन १६ २०७७, आईतवार

डल्फिन जलचर प्राणी हुन् । यिनीहरुलाई जलमा रहने प्राणीहरुमा मानिसपछिको सचेत प्राणीका रुपमा लिइन्छ । यिनीहरुमा सोच्ने तरिका, सोच अनुसार काम गर्ने तरिका र परिणामलाई नियाल्ने र काम गरेवापत् धन्यवाद वा स्यावासीको पर्खाइमा रहने मानिसको जस्तो व्यवहार हु्न्छ ।

मनिसले डल्फिनलाई माछा प्रजातिमा राख्छन् । यिनको पहिले पहिले निकै सिकार पनि गरिन्थ्यो । तर पछि यिनमा मानवमैत्री स्वभाव हुने कुरा पत्ता लागेपछि डल्फिनको संरक्षण गर्न थालिएको छ । यी जलचर प्राणी थलचर मानिससँग निकै नजिक हुन्छन् । हाँसीखुशीको व्यवहार साट्ने, प्यारो हुन र साखिन चाहने यी प्राणी खेलकुदप्रेमी हुन्छन् । डल्फिनलाई यसअर्थमा असाधारण मानिन्छ । यी स्तनधारी प्राणी हुन् । यिनले मानिसलाई सँधै आकर्षित गर्न चाहन्छन् । यिनका नानी र वयस्कले अन्य समुद्री प्राणीको आदर पनि गर्छन् । झट्ट हेर्दा कहिलेकाँही यिनले मानवजस्तो व्यवहार पनि देखाउँछन् ।

वैज्ञानिकको निष्कर्ष छ- डल्फिन अविश्वसनीय रूपमा स्मार्ट जलचर प्राणी हुन् । यिनीहरु आफ्नो शारीरिक बनावटका कारण सुपरफास्ट पौडीवाज पनि हुन्छन् । समुद्रमा माछा प्रजातिको उत्पत्ति र विकाससँगै करोडौं वर्ष अघिदेखि पानीमा विचरण गर्दै आएको डल्फिन चारखुट्टे थलचर जनावरबाट विकसित भएको मानिन्छ ।

“डल्फिन” ग्रीक शब्द “डेलफिस” र “डेलफस” बाट बनेको हो । यसको अर्थ “गर्भधारण गर्ने माछा” भन्ने हुन्छ । समुद्रमा पाइने विभिन्न प्रजातिका डल्फिनमध्ये किलर ह्वेल डल्फिन परिवारको सबैभन्दा जेठो हाँगो मानिन्छ ।

डल्फिनका सबैभन्दा सामान्य प्रजाति अन्टार्कटिक र आर्कटिक महासागरमा पाइन्छन् । जलमण्डलमा प्रायः सबै स्थानमा डल्फिन बसोबास गर्दछन् । माछाका अन्य प्रजातिसँग तुलना गर्दा डल्फिनको शरीरको आकार, फिन र अनुहारमा हुने भिन्नताका आधारमा पहिचान गरिन्छ ।

डल्फिन पानीको माथिल्लो तहमा बस्छन् । तर पनि यिनी हजारौं फिटमुनिको गहिराइसम्म डुबुल्की मार्न माहिर हुन्छन् । साना माछा आहारा बनाउने डल्फिनमा खाना छिटो पचाउने विशेषता हुन्छ । डल्फिन पानी पिउँदैनन् । डल्फिनको दाँतले आहारा समात्ने काम मात्र गर्दछन् । सिंगै निलेको आहारा पहिले डल्फिनको पेटमा रहेको भोजन भण्डारणमा त्यसपछि पाचनकक्षमा पुग्दछ ।

डल्फिन हल्का जीउ, अत्यधिक लचिलो, तर कमजोर हड्डीहरू भएको प्राणी हो । यी निकै गतिशील र चलायमान रहन्छन् । विभिन्न कलाले सुसज्जित यिनी सित्तिमा कुनै पनि सिकारी शार्क वा अन्य ठूला माछाको मुखमा पर्दैनन् ।

डल्फिनमा लामो स्मरण शक्ति हुन्छ । यी पानीमा घुमिरहँदा आइपर्ने बाधाव्यवधान र सिकारी शत्रुको पहिचान हुना साथ एकले अर्कालाई शेयर गरी एक जुट भएर प्रहार गर्न थाल्छन् । यिनको सुन्ने प्रणाली यति परिष्कृत र उन्नत हुन्छ कि अन्धा डल्फिन पनि शत्रुबाट सजिलै बच्न सक्छन् । यिनको सुँघ्ने शक्ति निकै कमजोर हुन्छ । स्वाद पनि त्यति थाह पाउँदैनन् ।

डल्फिनले नाकलाई शार्क मार्न प्रयोग गर्छन् । यो उनीहरुका लागि अचूक अस्त्र हो । डल्फिनसँग पौडी खेल्ने क्रममा छलिनका लागि अति मुलायम र चिप्लो खालको छालाले सहयोग गरिरहेको हुन्छ । छालामा लागेको चोट दुई घण्टामा पुनः ताजा भएर आउँछ । डल्फिनको फोक्सो हुन्छ । यी मानिसले जस्तो सास फेर्छन् ।

डल्फिन प्रत्येक दिन आठ घण्टा सुत्छन् । उनीहरु पनि मानिस झै निद्रा पुर्याउने गर्छन् । बाँकी समय आहाराको खाजी र पौडी खेलेर बिताउँछन् । डल्फिन प्रतिमिनेट तीन-पाँच पटक सास फेर्न पुनः सतहमा आउँछन् । डल्फिन निरन्तर निद्रामा हुँदैनन् । छिनछिनमा ब्युझ्ने र निदाउने गर्छन् । यसो गर्नुको कारण दुस्मनको अक्रमणबाट बच्न सजग रहनु हो ।

गर्भावस्थामा पोथी डल्फिनले एक पटकमा एक बच्चा पाउँछन् । कहिलेकाँही जुम्ल्याहा पनि हुन्छन् । बच्चालाई पोथी डल्फिनले आफ्ना ढाडमा बोकेरै हुर्काउँछन् । आमा डाल्फिनले आफ्ना बच्चालाई अत्यन्त पौष्टिक र शक्तिबद्र्धक दूध चुसाउने गर्दछन् । डल्फिनको औसत आयु २० देखि २५ वर्ष भए पनि तिनीहरू ५० वर्षसम्म बाँच्न सक्छन् ।