• मंसिर ११ २०८१, मंगलवार

‘कोत पर्व’ हुँदै त छैन २३ गते बस्ने संसद अधिवेशन ?

फाल्गुन १६ २०७७, आईतवार

सर्वोच्च अदालतद्वारा संसद विघटनको रिट खारेजी र अधिवेशनमार्फत् संसद पुनस्र्थापनाको परमादेश आदेश जारी भएपछि आउँदो २३ गते आह्वान गरिएको अधिवेशन द्वन्द्वको थलोमा रुपान्तरण हुने देखिएको छ । संविधानको रक्षा र बचाउका लागि संसद पुनस्र्थापना गरिएको भनिए पनि यसले समस्या अझैं बल्झाउने देखिएको छ । संसदमा शक्ति प्रदर्शन गर्ने हैसियत बोकेका नेकपाका दुई धार र नेपाली कांग्रेसको आधिकारिक अभिव्यक्तिलाई नियाल्ने हो भने संसद भित्रको शान्तिपूर्ण कोतपर्वलाई इन्कार गर्न नसकिने अवस्था छैन ।

इतिहास दोहरिन्छ, तर उही रुपमा होइन । पहिलेको दुखान्त वा ट्रेजेडी अर्को पटक पुनरावृत्ति हुँदा फार्स वा हास्यका रुपमा दोहोरिएको हुन्छ । नेपालमा त्यो संभावनालाई नजरअन्दाज गर्न मिल्दैन । सडकमा साँढे झैं मैमत्त रुपमा अभिव्यक्त हुँदै गरेको आक्रोश र शक्ति प्रदर्शन सर्वोच्चको आदेशमा अहिले संसदको कान्जीहाउसभित्र ल्याइएको छ । यहाँ पनि कोही बाँधिएका हुने छैनन् ।

सिने चलचित्रमा गोलीगट्ठा, गुण्डा र आ-आफ्ना लठैतको लडाइँ सिद्धिएपछि अन्त्यमा हिरो र भिलेन अनिवार्य मल्ल युद्धमा होमिन्छन् । आउँदै गरेको संसद अधिवेशनमा पनि सबैले आफूहरुलाई हिरो र अर्को पक्षलाई भिलेन घोषणा गरिरहेका संसदीय राजनीतिक पार्टीहरु मल्ल युद्धमा नहोमिएलान् भन्ने रत्तिभर विश्वास गर्न सकिन्न । उनीहरुले आ-आफ्ना सिङ तीखो बनाउने गरी सिंगौरी खेलिरहेकै छन् । सकेजति सिंगौरी खेलिरहेका यी शक्तिहरु जुध्ने मुडमै देखिएका छन् ।

अगुवा आफै नै के भन्छन् ?

अबको दुई वर्ष म नै, नो राजीनामा : प्रम ओली

अबको दुई वर्षसम्म पनि आफ्नै सरकार रहने राजीनामाको कसैले पनि कल्पनासम्म गर्न नसक्ने प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । संसद पुनस्र्थापना पछि नैतिकताका आधारमा राजीनामा दिन दबाब परिरहेका बेला ओलीले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

संसद पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणका लागि दाहाल–नेपाल संसदमा प्रतिपक्षी रहेको दल नेपाली कांग्रेससँग सत्तासहकार्यका लागि भेटघाट थाल्दा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । शुक्रवार आफूनिकटका सांसदसँगको छलफलमा उनले यो कुरा बताएका हुन् ।

ओलीसँग एकता हुँदैन : अध्यक्ष प्रचण्ड

दाहाल-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ओली पक्षसँग एकता नहुने बताएका छन् । बीबीसी नेपाली सेवासँगको कुराकानीमा ओलीले प्रतिगमनतिर कदम चालेकाले तत्काल पार्टी एकता नभए पनि संवाद भने हुने बताएका छन् ।

‘मैले केपीजीसँग संवाद र सहकार्य गर्दिन भन्ने संकीर्णता हाम्रो दिमागमा छैन तर तत्काल पार्टी एकता गरेर मिलेर सरकार चलाइदैन । किनकि त्यो सम्बन्ध उहाँले नै सिध्यादिनु भएको छ ।’

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रनु एउटै हो : माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रनु एकै भएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले पनि वामदेव गौतमले केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए । कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर केपी ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको उल्लेख गर्दै अहिले फेरि ओलीलाई सुधार्न उनले नै कोसिस गरिरहे पनि आफूले बालुवा पेलेर तेल निस्किँदैन तर पनि कोसिस गर्नुस् भनेको बताए ।

सरकारमा सहकार्यका लागि पार्टीले निर्णय गरेको छैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब संसद्‍मा नेकपाको कुन समूहलाई सहयोग गर्ने भन्‍नेबारे धारणा अहिलेसम्म नबनाएको बताएका छन् । रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताए ।

उनी भन्छन् – ‘हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्‍मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।’

कांग्रेस र कम्युनिष्टको असफलताले विदेशी चलखेल निम्त्यायो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको असफलताका कारण विदेशी प्रभाव र चलखेल बढेको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको भ्रातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनका लागि राष्ट्रवादी आन्दोलनको आवश्यकता भएको विचार व्यक्त गरे ।

राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाइ गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दुत्व समृद्धिको बाधक नभएको बताए ।

कसले कसलाई उचालिरहेका छन् ?

अनुचित, क्षुद्र र अनैतिक दबाब किन ? : ईश्वर पोखरेल

शनिबार साझा ट्वीट गर्दै, ईश्वर पोखरेलले भने– ’ताजा जनादेशका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो ।’

उनको आशय रहेको छ – यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दबाब दिइरहेका छन् ।

संसद पुनस्र्थापनापछि सांसद खरिदबिक्रिको खतरा : ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनस्र्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदको खरिदबिक्री हुने थलो बन्ने खतरा बढेको बताए । उनले प्रतिनिधि सभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताए ।

पुनस्र्थापनापछि प्रधानमन्त्री झन् बलियो : सुवास नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्र्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनस्र्थापनापछि दह्रो भएको बताएका हुन् ।

प्रमले राजीनामा नदिए संवैधानिक संकट आइरहन्छ : देव गुरुङ

दाहाल–नेपाल पक्षका नेता देव गुरुङले संसद पुनस्र्थापना भैसक्दा पनि प्रमले राजीनामा नदिए यसले क्षणक्षणमा संकट निम्त्याउने बताएका छन् । उनले एक अन्तर्वार्तामा यो कुरा बताउँदै संसद अधिवेशनपूर्व नै प्रम ओलीले राजीनामा दिएर बाटो फराक गर्नुपर्ने बताए । यसो नभएमा ओलीले फेरि पनि संकट निम्त्याउन चाहेको तर्फ गुरुङले सङ्केत गरे ।

प्रचण्ड-नेपाल नेकपाकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई

नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने दाबी गरेका छन् ।

आफ्नो समूह निकट प्रेस संगठनको प्रदेश १ भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले प्रतिगमनविरूद्ध लडेका दलहरूको सरकार बन्ने र त्यो नेकपा (प्रचण्ड-नेपाल) समूहको नेतृत्व हुने बताएका हुन् ।

के भन्छन् सभामुख ?

दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसद पुनस्र्थापना भएसँगै दलहरूबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । चितवनमा पत्रकार भेटघाटका क्रममा उनले उक्त कुरा बताउँदै संसद नियमित चल्ने संकेत दिए । उनले थपे, ‘पहिले जसरी संसद चलेको थियो । त्यही अनुसार संसद चल्छ । अब दलहरूबीच छलफल र समझदारी हुन्छ ।’