काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लब बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा बाँसबारी श्री कुमारी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बाँसबारीले बराबरी खेल्दै अंक बाड्नु परेको हो ।
यस बराबरीसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । बाँसबारीले ७ खेलमा १५ अंक जोडेको छ । बाँसबारी तेस्रो स्थानमा रहेको छ । श्री कुमारीले ७ खेलमा ७ अंक जोडेको छ । श्री कुमारी आठौं स्थानमा रहेको छ ।
त्यस्तै शनिबार भएको अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले पनि बराबरी खेल्दै अंक बाडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
जसको कारण दुबै टिमले एक अंकमा चित्त बुझाउनु पर्यो । यस बराबरीसँगै श्री भगवतीले ७ खेलबाट ६ अंक जोडेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ’ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ’सी’ डिभिजनमा घटुवा हुनेछ ।