मानिसका लागि सबैभन्दा प्रिय वस्तु आफ्नै शरीर हो । तर एक जुनीमा एकचोटी पाएको यो अमूल्य शरीर नै गए जावस् भनेर मानिस युद्ध वा आन्दोलनमा किन हामफाल्छ ? यसको जवाफ सरल छ । त्यो हो, मानवजातिका लागि हालको भन्दा उच्चतम व्यवस्था स्थापना गर्न । मानिसहरु भन्ने गर्छन्, जे सुकै व्यवस्था होस् मर्ने ठाउँमा किन गएको होला ? यसको उत्तर पनि सरल नै छ ।
जब मानिसले हिजोको समाजको अध्ययन गर्छ, आजको समाज बुझ्छ र भविष्यको सुखी समाजको कल्पना गर्छ, अनि वर्गवैरीप्रति भित्रैदेखि आक्रोशका ज्वाला छुट्छन् तब मानिस होमिन्छ, त्यो कल्पनाको सुन्दर र समतामूलक समाज निर्माणको अभियानमा । जब ऊ सचेततार्पूवक त्यो अभियानमा लामवद्ध हुन्छ, तब यसलाई कसैले रोक्न सक्दैन । हिंसात्मक राजनीतिका लागि जब राज्यले बाध्य पार्छ तब उसलाई व्यक्तिगत कुराहरु सामान्य लाग्छन् र सामूहिक स्वार्थहरु मुख्य लाग्न थाल्छन् । विश्वका र नेपालकै पनि ००७ देखि यताको मात्रै राजनीतिलाई सामान्यरुपमा नियाल्नु भयो भने पनि यस्तै भाव र उद्देश्य पाउन सकिन्छ ।
गंगालाल किन मारिए ? प्रजातन्त्रका लागि । झापा विद्रोह किन भयो ? मोहनचन्द्र १४ वर्ष जेल किन बसे ? बहुदलीय व्यवस्थाका लागि ।
माओवादी जनयुद्ध किन भयो ? साम्यवादी व्यवस्थाको लागि । हाल पनि विभिन्नरुपका आन्दोलन चलिरहेका छन् । ती पनि यो व्यवस्थामा भएका खराबी हटाएर उन्नत व्यवस्थाका लागि नै चलेका हुन् । अनि युद्ध र आन्दोलन समाज विकासको क्रमलाई माथि उठाउनका लागि हो भने त्यसमा किन राज्यले दमन गर्छ त ? किन कि राज्य वर्गीय हुन्छ र उसले आफ्नो स्वार्थ रक्षा गर्नका लागि दमन गर्छ । मानिस आन्दोलनमाथि दमनमा किन उत्रिन्छन् र मानिसका छातिमा गोली किन हान्छन् ? त्यो उनीहरुको नुनको सोझोको कुरा हो ।
वि.सं. १९९७ सालमा राणाहरुको जहानियाँ र क्रुर शासन फालेर प्रजातन्त्र ल्याउने आन्दोलन दबाउन मारिएका गंगालाललाई उनका आफन्तले ‘राणाविरुद्ध अबदेखि लाग्दिन भन् मार्दैन रे’ भन्दा गंगालालले ‘बरु मर्छु तर त्योसित झुक्दिन’ भनेका थिए रे । २०५२ सालमा माओवादी जनयुद्ध सुरु भए लगत्तै गोरखामा विद्यालयमा पढाइरहेका शिक्षकलाई प्रहरीले माओवादी आशंकामा पक्राउ गर्न खोज्दा ११ वर्षीय बालक दिलबहादुर रम्तेलले चिच्याउँदै ‘हाम्रो सरलाई नलैजाऊ’ भन्दै प्रतिकार गर्दा उनलाई प्रहरीले गोली हानेर हत्या गर्यो ।
झण्डै २६ वर्षअघिको सो घटनाको आजको दिनमा स्मरण गरिन्छ । माओवादी जनयुद्धका क्रममा मारिएका पहिलो सहिद उनै दिलबहादुर रम्तेल लगायतका सहिदको सम्झानामा आज देशैभर विविध कार्यक्रम गरिए । यी कार्यक्रम सहिद सप्ताहको रुपमा एक हप्तासम्म मनाइने छन् । राज्यले दमन गरेपछि तिब्र भएको माओवादी जनयुद्धमा राज्य र विद्रोही दुवै पक्षका करिव १७ हजार मानिसको ज्यान गएको मानिन्छ, तर निश्चित तथ्यांक भने अलि फरक छ ।
माओवादी जनयुद्धले स्थापित गरेका धेरै मुद्दाहरु आज राज्यका मुद्दा बनेका छन् । राज्यको तहमा हाल धमिलो छायाँका रुपमा रहेका ती मुद्दाहरु पूर्णरुपमा लागु भने भएका छैनन् ।
‘सन्तान जन्माउने एउटा, हुर्काउने अर्कै’ भएपछि मुद्दाहरु सहि भएपनि लागु नहुने खतरा रहन्छ । नेपालमा भएको यही हो । विभिन्न समूहमा छरिएर रहेका माओवादीहरुले आज देशभर सहिद सप्ताह मनाए । भावनात्मक कोणबाट हेर्दा सहिद परिवार र घाइते तथा अपाङ्गको आज बेहाल छ ।
घाइते शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेको छ । राज्यले उसको उपचार गरेन । छर्राले पोलिरहेको घाउबाट पीप चुहाँउदै हिंड्न बाध्यहरु आज नेपालमा हजारौंको संख्यामा छन् । अपाङ्गहरु आधा शरीर हुनुको पीडामा छट्पटिइरहेको छ । असरल्ल छोडिएका कार्यकर्ताहरु खाडीमा उँट चराइरहेका छन् । ५ लाखमा बिक्री भएका लडाकु बहुराष्ट्रिय कम्पनीको सुरक्षा गार्डमा खटिइरहेका छन् । सहिद परिवारहरु आफन्तको सम्झनामा आजपनि रातीराती सपनामा झस्किन्छन् र अझाक्किँदै ब्युँझिेर रुँदै बतुराउँछन् । युद्धले लगाएका घाउहरु सजिलै निको नहुँदो रहेछन् । युद्धमा आफन्त गुमाएका लागि यो समय ‘धन शोक बिर्सिन्छ, पुत्र शोक बिर्सन्न’ भने झैं भएको छ । सहिद सप्ताह मनाउनु एउटा औपचारिता हो, भावना हो र संस्कार पनि हो तर शोक मनाएर मात्रै सहिदका सपना पुरा हुँदैनन् ।
सहिदको सपना पूरा गर्नका लागि प्रतिवद्धता व्यक्त गर्ने अवसर पनि हो सहिद सप्ताह । श्रद्धाञ्जली व्यक्त गर्ने मौका हो यो । जनयुद्धका पहलकर्ता मध्येका एकजना माओवादी नेता नारायण शर्मा भन्छन्- ‘आज देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसीजस्ता जेजति उपलब्धी भएका छन्, तिनमा सबैभन्दा ठूलो योगदान यिनै सहिदबाट भएको छ । त्यसैले २०५२ साल फागुन १ मा सुरु भएको जनयुद्ध र यसक्रममा फागुन १४ मा पहिलो सहिद बनेका बालक दिलबहादुर रम्तेलको सहादतको विशेष अर्थ र महत्व छ ।
तसर्थ, दिलबहादुर रम्तेल तिमी धेरै महान् छौ, तिम्रो जाति कर्मठ जाति मात्र नभएर श्रम, सीप, शौर्यसहितको जाति हो र तिम्रो सहादत सराहनीय छ । त्यसैले तिम्रो सपना स्वीकार्य र साकार्य छ । त्यसनिम्ति तिमी स्मरणीय र स्तुत्य छौ ।’ उनको जस्तै प्रतिवद्धता अबको पुस्ताले गर्न सक्ला ?
उता आज फाल्गुन १४ गते जनयुद्धका सहिदको सम्मान गर्ने दिनको स्मरणमा दाङका सहिद परिवार श्रीराम गिरीले हालको विकृत राजनीतिप्रति व्यंग्य गरेका छन् । ‘एउटा बाँदरलाई हटाएर फेरि अर्को ढेडुगुनालाई मकैबारीको चौकिदार बनाउनलाई नै हो त आन्दोलन् ? यतातिर पनि सोच्ने कि हनुमानहरुले !’ साथै उनले एमसीसी पास गराउने पालो प्रचण्डकै हो त ? भनेर प्रश्न पनि गरेका छन् ? जनयुद्धमा भाई र बाबु सहिद भएका गिरीले जनयुद्वका प्रथम सहिद दिलबहादुर रम्तेलप्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्वाञ्जली पनि व्यक्त गरेका छन् । गिरीले चुनावका बेला ५० वर्ष कम्युनिस्ट शासन चलाउछौं भनेर डिङ हाँक्नेहरुले फेरि इतिहासमा असक्षम प्रमाणित भएका उनै शेरबहादुरबाट बैतर्नी तर्नु पर्ने भयो ? भन्दै प्रश्न पनि गरेका छन् ।
आजको दिनमा युद्धमा सहभागी भएकामध्ये सहिद परिवारहरु नै बढि भावुक र उद्वेलित हुन्छन् । जेल र हिरासतमा यातना पाएर आधा जीवन जीउन विवसका लागि पनि आजको दिन निकै पीडादायी हुन्छ । किनकि उनीहरुले यातनाका कारण मान्छे मरेको देखेका छन् । सिस्नोपानी र करेन्ट लगाएर मान्छेलाई अपाङ्ग बनाएको पनि देखेका छन् । मान्छेलाई जिँउदै खाल्डोमा हालेको पनि देखेका छन् ।
तर साँच्चै भन्नु पर्दा नेपाली जनयुद्धलाई सुरक्षित अवतरण गर्ने जिम्मा तत्कालीन ७ दलको पनि थियो । राजाको शासनको मारमा परेका सबै क्षेत्रका जनताको प्रनिधित्व गर्ने पार्टीहरुले राजा हटाउनका लागि माओवादीलाई मजाले प्रयोग गरे । तर जब माओवादी उत्पीडितका मुद्दासहित आयो, तब उनीहरुलाई जलन भयो । फलस्वरुप माओवादीको साइज घटाउन उनीहरु कम्मर कसेर लागे । माओवादीको साइज घटाएर दलहरुले सानो त बनाए तर उनीहरु उही पुरानै शासनशैलीमा फर्किए ।
त्यसकै परिणामस्वरुप आज देशले यो हालत व्यहोर्नु परेको छ । गणतन्त्रको नाममा पुरानै आर्थिक, सामाजिक प्रणालीमा फर्किएपछि देश र जनताले व्यहोर्नु पर्ने यही अवस्था त थियो नै । आज ठूला भनिएका पार्टीहरुका नेताहरु बीच भएका झगडा देख्दा लाग्छ यिनीहरुसित लाज र नैतिकता भन्ने चिज गुमिसकेको छ जस्तो लाग्छ । ७ दल र माओवादी मिलेर ल्याएको यो व्यवस्था उनीहरु आफै किन बचाउन सकिरहेका छैनन् ? प्रश्न उठेको छ । यिनीहरुको झगडा देख्दा जनतालाई दिक्क लागिसक्यो ।
आज नेताहरुले युद्ध र आन्दोलनलाई उपहासको विषय बनाएका छन् । नेपाली समाजको वास्तविकता बुझ्ने र समस्याको हल गर्नेभन्दा विदेशीको चाकडी गरेर सत्तामा जाने र सत्ता टिकाउनका लागि देशका स्रोत, साधन सुम्पिने चलन कहिलेसम्म होला ? त्यसकारण आज देशको हाल यो अवस्थमा पुगेको छ यसको मुख्य कारण नेपालमा रहेका नेता र तीनको दिमागमा रहेको कमजोर मानसिकता नै हो । किन कि नेताहरु गरिब छन् । नेता गरिब रहँदासम्म देश धनी हुँदैन । किन कि पुरानो उत्पादन प्रणालीमा बदलाव ल्याउनका लागि उनीहरुसित कुनै नयाँ योजना छैन ।
त्यसका लागि नयाँ नीति पनि छैन । अनि यस्तो हालतमा देशलाई छोड्न अबका युवाले मिल्छ ? मिल्दैन । सहिदहरुले बगाएको रगत पनि आर्थिक, सामाजिक प्रणालीमा परिवर्तन ल्याउनका लागि त थियो । त्यसकारण सहिद वर्गीय त हुन्छन् नै तर कसैका निजी भने हुँदैनन् । किनकि उनीहरुले सिंगो समाजलाई नै अगाडि बढाउनका लागि बलिदान दिन तयार भएका हुन् । उनीहरुले ल्याएको परिवर्तन् सबैका लागि हो । र, त अबको पुस्ताले फेरि पनि उनै सहिदहरुको सपना पूरा गर्न अर्को प्रविद्धता व्यक्त गर्नुपरेको छ ।