काठमाडौं । भारतका उद्योगपति मुकेश अम्बानीलाई भारत सरकारले जेड प्लस भीभीआईपी सुरक्षा प्रदान गरेको छ । यो सुरक्षाअन्तर्गत उनले १० कमान्डोसहित ५५ सुरक्षाकर्मी, कार्केडमा बीएमडब्ल्यू र रेन्ज रोवर पाएका छन् । अम्बानीलाई सुरक्षा खतरा नहोस् भनी सरकारले यो सबै व्यवस्था मिलाएको हो । भारतका सफल उद्योगपति अम्बानी ७१.२ अर्ब डलर सम्पत्तिका मालिक हुन् । भारतीय रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष अम्बानी यो कम्पनीका प्रबन्ध निर्देशक पनि हुन् । उनी भारतका सबैभन्दा धनी व्यक्ति पनि हुन् ।
उनकै रिलायन्स कम्पनीका कारण भारतमा इन्टरनेट पहुँच निकै सहज र सरल भएको छ । यसले गर्दा भारतले अन्तर्राष्ट्रिय क्षेत्रसँग आफूलाई सेवा प्रवाहको क्षेत्रमा अपडेट गर्न पाइरहेको छ । आफै आत्मनिर्भर हुनु र भारतीय पैसा भारतमै राख्न पाउनु अम्बानीको उद्योगसम्बन्धी सोच र त्यसको सफल प्रयोगका कारणले संभव हुन गएको हो । अहिले भारत सरकारले उनको सुरक्षाका लागि सबैभन्दा बढि ध्यान दिएको छ । आफैमा मुकेश अम्बानी भारतका एक मात्र उद्योगपति हुन्, जसको सुरक्षा जिम्मा अब सरकारले नै लिएको छ ।
भारतमा यो खाले सुरक्षा उद्योगपति अम्बानीबाहेक गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथ र कांग्रेस नेता प्रियंका गान्धीले पाएका छन् । सरकारले सुरक्षा जिम्मा लिने भएपनि प्रतिमहिना २० लाख भारु सुरक्षा खर्च जेड प्लस सुरक्षा लिएवापत आफूले पनि पठाउने गरेका छन् । यस अतिरिक्त अम्बानीको खर्च प्रतिमहिना भारु २० लाख छुट्टै हुने गरेको उनको निजी सचिवालयले भारतीय सञ्चारमाध्यमलाई दिने गरेको छ ।
हाल अम्बानीको सुरक्षामा ५५ जना कमाण्डो सुरक्षाकर्मी, जसमा १० एनएसजी र एसपीजी कमान्डो रहेका छन् । यस अतिरिक्त थप प्रहरी अधिकारी पनि रहन्छन् । उनको सुरक्षाको पहिलो घेरामा एनएसजी, त्यसपछिको घेरामा एसपीजी र बाहिरी घेरामा आईटीबीपी र सीआरपीएफ् रहने गरेका छन् ।
उद्योगपति मुकेश अम्बानीका आफ्नै आर्मड् बीएमडब्ल्यु सेभेन सिक्स जेरो ली र मर्सिडिज बेन्ज एस् सिक्ससिक्स जेरो दुईवटा बुलेटप्रुफ कार छन् । अम्बानीको सुरक्षाका लागि अगाडि रहने दुई स्पेसल बाइक रहेका छन् । उनको परिवार नीता अम्बानीलाई पनि वाई श्रेणीको सुरक्षा प्रदान गरिएको छ । आधुनिक हतियारले सुसज्जित टेन सीआरपीएफ् कमान्डो नीताको सुरक्षामा तैनाथ छन् ।