१४ फागुन, काठमाडौं । संसद पुनःस्थापना पश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आएको नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले प्रचण्ड–नेपाल पक्षसँग सत्ता साझेदारी नगर्ने भएको छ ।
नेपाली काँग्रेस र जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल) पक्षसँग अब बन्ने सरकारका लागि साझेदारी नगर्ने बताएको छ ।
यी दुई पार्टीले आधिकारिक निर्णय गरी लिखित रूपमा सत्ता साझेदारी नगर्ने स्पष्टोक्ती दिएका छन् । त्यस्तै पार्टीका शीर्षस्थ नेताहरूले पनि विभिन्न कार्यक्रममार्फत प्रचण्ड–नेपाल पक्षसँग तत्काल सत्ता साझेदारी नगर्ने बताउँदै आएका छन् ।
काँग्रेसले अहिलेको परिस्थितिमा सत्ता साझेदारीका लागि कसैलाई साथ नदिने भएको छ । बिहीबार (हिजो) काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारीसँगको बैठक बसालेर सत्ता साझेदार नगर्ने निर्णय गरेका छन् ।
नेकपा अहिले एकै रहेकोले यसको नेता ओली नै भएकोले यस विषयमा छिनोफानो नभएसम्म काँग्रेसले सत्ता साझेदारीका लागि कुनै पार्टीलाई साथ नदिने सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, –‘उहाँहरूको पार्टी अहिले एकै छ । उहाँहरूको नेता ओली नै हुनुहुन्छ । उहाँहरू एकै भएर जान सक्नुहुन्छु । यसर्थ काँग्रेस हतारिएर यो पक्षमा लाग्छु, त्यो पक्षमा लाग्छु भन्नु हुँदैन । पार्टीको निष्कर्ष यही नै रह्यो । अहिलेको अवस्थामा मिलेर सत्ता सञ्चालनको कुनै औचित्य छैन ।’
प्रचण्ड–नेपालले सत्ता साझेदारीका लागि काँग्रेससँग प्रस्ताव गर्नु अन्यथा होइन । तर, अहिलेको अवस्थामा प्रचण्ड–नेपालमात्रै होइन, ओली पक्षले पनि यस्तो प्रस्ताव ल्याएको खण्डमा त्यो पार्टीका लागि स्वीकार्य नहुने काँग्रेसले बताएको छ ।
यो अवस्थामा नेकपाको दुवै पक्षका लागि काँग्रेसले साझेदारी गर्नु नै मुर्खता हुने सहमहामन्त्री डा. महत बताउँछन् । हामीले यो वा त्यो पक्षका लागि साझेदारी बनेको खण्डमा हाम्रो अपरिपक्वता हुन्छ र त्यसैले हामी तत्काल यी दुई पक्षका लागि साझेदारी बन्न सक्दिनौँ ।
२४ गते संसदको बैठक बसेपछि के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै सहमहामन्त्री डा. महत भन्छन्, –‘नेकपा अघि बढ्छ त्यही अनुसार अघि बढ्ने तयारी काँग्रेसले गर्नेछ । नेकपाले के निर्णय गर्छ त्यो काँग्रेसको नियन्त्रणभित्रको कुरा होइन । सत्ता समीकरणबारे काँग्रेसले यसो गर्छ, उसो गर्छ भन्ने स्थिति अहिले नै आइसकेको छैन ।’
पुष ५ गते विघटित संसद फागुन ११ गते पुनःस्थापना भएको भोलिपल्ट अर्थात् १२ गते प्रचण्ड–नेपाल पक्ष सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । देउवासँगको भेटमा प्रचण्ड र नेपालले सत्ता सञ्चालनको साझेदारीका लागि प्रस्ताव गरेका थिए ।
प्रचण्ड–नेपालको उक्त प्रस्तावका लागि देउवाले पार्टीसँग छलफल गरेर निष्कर्ष निकाल्ने बताएका थिए । बिहीबार (हिजो) बसेको पार्टी पदाधिकारीको बैठकको निष्कर्षअनुसार काँग्रेसले तत्काल कुनै पार्टीलाई सत्ता साझेदारीका लागि समर्थन नगर्ने निर्णय गरेको छ । काँग्रससँग सत्ता साझेदारीका लागि सर्वप्रथम नेकपा प्रष्ट हुनुपर्ने काँग्रेसले अडान राखेको छ ।
त्यस्तै जनता समाजवादी पार्टी जसपाले पनि प्रचण्ड–नेपाल पक्षसँग सत्ता साझेदारीका लागि आनाकानी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बिहीबार (हिजो) सत्ता समिकरणका लागि जनता समाजवादी पार्टी (जसपा)का नेताहरूसँग छलफल गरेका छन् ।
प्रचण्ड–नेपालसँग छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ कोटेश्वर पेरिसडाँडा पुगेका थिए । श्रेष्ठले बुधबार (अस्ति) पनि प्रचण्ड र नेपालसँग छलफल गरेका थिए । उनीहरूबीच झन्डै डेढ घण्टा छलफल चलेको थियो ।
छलफलका क्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रचण्ड–नेपाल पक्षको पार्टी कुन हो ? त्यो स्पष्ट हुनुपर्ने विषयमा कुरा उठाएको बताए । ‘उहाँहरू कसरी अगाडि बढ्ने भन्ने कुरा गर्दै हुनुहुन्थ्यो । सहकार्य गर्न सकिन्छ कि भनेर कुरा राख्नुभयो’ –नेता महतोले भने । ‘तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो भनेर जिज्ञासा राखेका छौँ ।
यसरी हेर्दा ओलीले सत्ता त्याग गरे पनि प्रचण्ड–नेपाल पक्षले पुनः सत्ता सञ्चालनका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बाट साथ नपाउने पक्का छ । उसले साथ पाउनका लागि सर्वप्रथम आफ्नो बटम लाइन प्रष्ट पार्नुपर्ने छ ।