• मंसिर ११ २०८१, मंगलवार

अमेरिकाका लागि कोरोना युद्ध विश्वयुद्ध र भियतनाम युद्ध भन्दा खतरनाक साबित

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौं ।

आइन्सटाइन भन्छन्- ‘मानिसको अन्तरहृदयको आवाज सबैभन्दा मूल्यवान कुरा हो ।’ सच्चा कुरा अन्तर हृदयमा हुन्छ । यो आत्मा बोलेको कुरा हो । यस्तै अन्तरआत्माका कुरा केही दिन अघि मात्र बोले अमेरिकी राष्ट्रपति जो बाइडनले । अमेरिकामा मात्र कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेपछि उनले यो कुरा बोलेका हुन् ।

अमेरिकाको आधिकारिक तथ्यांकअनुसार सोमबारसम्म पाँच लाख नाघेपछि बाइडनको मुखबाट यो मनछुने कुरा आएको हो । उनले भनेका छन्- ‘लामो समयदेखि हामी यो महामारीसँग लडिरहेका छौं, तर यो समयलाई हामीले आफूलाई विक्षिप्त बनाएर केही गर्नै नसक्ने अवस्था सिर्जना हुन दिनुहुन्न ।’

विभाजित हुँदै गएको अमेरिका :

विश्वको सबैभन्दा बलियो र विश्व साम्राज्यको नेतृत्व गरिरहेको देश अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढि आक्रान्त छ । महामारीले अमेरिकालाई आफ्नो विगत सम्झने र समीक्षा गर्ने अवस्थामा पुर्याएको छ । विश्वमा अरु देशको आन्तरिक अन्तरविरोधमा खेल्ने र नाजायज फाइदा उठाउने गरिरहेको अमेरिका आज आफै आफ्नो आन्तरिक अन्तरविरोधमा फसिररहेको छ । अमेरिकी समाज आफैमा पुराना अमेरिकी र बसाइ सरेर आएका अमेरिकीमा बाँडिन थालेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अभियानको नेतृत्व गरिरहेका छन् ।

एकातिर कोरोनाले ग्रस्त भएको देश अर्कोतिर सामाजिक विभाजनले उत्तिकै आक्रान्त छ । बाइडेनकै शब्दमा यसलाई हामीले यसरी सजिलै बुझ्न सक्छौं- ‘परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति हामीले रोक्नुपर्छ, यो लडाइँ हामी सबै अमेरिकी नागरिक एक ढिक्का भएर लड्नुपर्छ ।’ निर्वाचनमा भएको पराजय आफूले सजिलै स्वीकार गर्न नसकेका ट्रम्पले ह्वाइट हाउस छोड्दाको दिन क्यापिटल हिलमा रहेको संसद भवनमाथि आक्रमण गर्न निर्देशन दिएर आतंक मच्चाएका थिए ।

आजको अमेरिका : विगतको समीक्षा

आजको २१ औं शताब्दीको नेतृत्व गरिरहेको अमेरिका त्यत्तिकै निर्माण हुन पुगेको होइन । विश्व साम्राज्य बिस्तार गर्ने क्रममा यसले ठूल्ठूला लडाइँ लडेको छ । लडाइँहरु हजारौं लडिएका होलान् । तर युद्ध चाहिं मूलतः दुईवटा लडिएका छन् : पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध । यी युद्धमा अमेरिकी जीवन र सम्पत्ति पनि नस्ट भएको छ । यसैको लेखाजोखा राष्ट्रपति बाइडनले अहिले कोरोनाको महामारीका बखत गरेका छन् । उनका अनुसार पहिलो तथा दोस्रो विश्वयुद्ध र भियतनाम युद्ध अमेरिकाका लागि अविष्मरणीय रहेका छन् । अमेरिकाका लागि भियतनाम युद्ध ‘तेस्रो विश्वयुद्ध’ भएको मानिन्छ । जहाँ उसको लज्जाजनक हार भएको थियो ।

पहिलो विश्व युद्ध :

पहिलो विश्व युद्ध सन् १९१४ देखि सन् १९१८ सम्म लगातार जल, जमिन र आकाशमा लडिएको थियो । अपूर्व धनजनको क्षति भएको यो युद्ध युरोप, अफ्रिका र मध्यपूर्वमा भएको थियो । यो युद्धमा २,२४,७७,५०० मानिसको मृत्यु भएको थियो । यसमा अमेरिकाको सेना मात्र १,१७,००० को मृत्यु भएको थियो ।

द्वितीय विश्व युद्ध :

दोस्रो विश्व युद्ध सन् १९३९ देखि सन् १९४५ सम्म चलेको थियो । यो युद्ध पनि पहिलो विश्व युद्ध झैं जल, जमिन र आकाशमा लडिएको थियो । यो युद्ध पहिलो विश्वयुद्धभन्दा निकै निर्मम र भयानक पनि थियो । यो युद्धमा ६ करोड मानिसको ज्यान गएको थियो । यसमा अमेरिकाको मात्र ४०५३९९ मानिसले ज्यान गुमाएका थिए ।

भियतनाम युद्ध :

भियतनाम युद्ध भियतनाम र अमेरिका बीचमा सन् १९५५ देखि १९७५ सम्म लगातार २० वर्ष चलेको थियो । धनजनको क्षतिका हिसाबले यो युद्धलाई पहिलो र दोस्रो विश्व युद्धसँग तुलना गरिन्छ । यो युद्धमा अमेरिकाको सेना मात्र ४७,४३४ जनाको मृत्यु भएको थियो । गैरसैनिक, प्रशासन र स्वयम्सेवक गरी थप १०,७८६ जना अमेरिकीको मृत्यु भएको थियो । उक्त लडाइँमा कूल जम्मा ५८,२२० जना अमेरिकीको मृत्यु भएको मानिन्छ । अमेरिकाको तथ्यांकमा देखाइएको यो संख्याको ४ गुणा अमेरिकीको ज्यान गएको तथ्यांक स्वतन्त्र विश्लेषकहरुले दिएका छन् ।

कोरोना युद्ध :

कोरोना महामारी सिंगो मानव जातिको दुस्मनका रुपमा आएको छ । सबैलाई चिन्ता छ मानव जगत यो महामारीलाई जितेर अघि बढोस् । तर यसो हुन सकिरहेको छैन । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो, दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा भएको अमेरिकी मृत्युभन्दा कोरोनाका कारण ज्यान गुमाउने संख्या धेरै भएकाले यो हृदयविदारक भएको बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नाघिसकेको छ । महामारीबाट संसारमा अहिलेसम्म २४ लाख ८४ हजारभन्दा बढि मानिसको मृत्यु भैसकेको छ । कूल मृत्युको प्रतिशतमा लिंदा यो १९ प्रतिशत हुन आउँछ । जब कि विश्वको कूल जनसंख्यामा अमेरिकाको हिस्सा ४ प्रतिशत मात्र रहेको छ ।