• मंसिर ११ २०८१, मंगलवार

जनप्रतिनिधि र कर्मचारी मिलेर ७९ शीर्षकमा बजेट दुरुपयोग गरेको खुलासा

फाल्गुन १३ २०७७, बिहीबार

काठमाडौं । बाराको सुवर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर कोरोनाकालमा ७९ वटा शीर्षकमा बजेट दुरुपयोग गरेको पाइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको छानबिन प्रतिवेदनले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत पदाधिकारी र कर्मचारीले भ्रमण प्रतिवेदन नबनाई भ्रमण भत्ता बुझेको देखाएको छ। उनीहरूले आफ्नै गाउँपालिका र जिल्ला जाँदा पनि दैनिक भत्ता लिने गरेको छानबिनमा भेटिएको छ ।

गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष बबिता यादव, प्रमुख प्रशासकीय अधिकृत (साविक प्रमुख कार्यकारी अधिकृत) नवीनकुमार श्रीवास्तवसहित वडाध्यक्षले मिलीजुली बजेट हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ। उनीहरूले लाखौं रकम निकासा लिई गाडी सुविधासमेत लिएका छन्।

गाउँपालिकाभन्दा १० किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम कलैयामा आवास सुविधा लिएको भेटिएको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र लेखापाल प्रिन्सकुमार साहलाई गाउँपालिकाको निर्णयबिनै सदरमुकाममै घर र कोठा भाडामा लिएर राखिएको छानबिनमा देखिएको छ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।