• मंसिर ११ २०८१, मंगलवार

सफलताको व्यापार र बढ्दो अमानवीकरण

फाल्गुन १३ २०७७, बिहीबार

हामी हजारौं वर्षदेखिका पत्रु र खिया लागेका विचारहरुलाई फेर्न आश्यक ठान्दैनौं ! तर कपडा चाँहि सकेसम्म दिनदिनै फेरेर सभ्य, आधुनिक र सुन्दर भएको भ्रम पालेर समय बिताउँछौं ! दिमागी कुरुपताले समाजै दुर्गन्धित होस् केहि चिन्ता छैन । तर शरीरको सुन्दरता र इज्जत कायम राख्न गहनामा लाखौं खर्च गर्छौं ।

आफूभित्रको विचार कस्तो छ ? यो विषयमा कहिल्यै आत्मनिरिक्षिण गर्दैनौं, तर सतहको लिपापोती अनि त्यसकै आधारमा गरिबी र सम्पन्नताको मूल्यांकन दिनदिनै गर्छौं ! यी र यस्तै अन्य मापदण्डहरुलाई हामीले आफ्नो जिउने आधार बनाएका छौं । यस्तो मनोदशाको पछाडी हाम्रो नियत या मानसिक गडबडी नभएर वस्तुजगत र विश्व बजारले हामीमाथि थोपरेको दर्शन छ । त्यो दर्शन भनेको उपभोक्तावाद हो । खन्चुवा दर्शन हो । त्यसको शिकार हुँदै जानु तर सवाल उठाउन नसक्नु चाँहि हाम्रो आफ्नो समस्या हो ।

निजी फाइदाको लागि दौडधूपको रफ्तार बढ्दो छ । प्रतिस्पर्धाको बजारमा एउटाले अर्कोलाई उछिनेर अगाडी पुग्नको लागि मरिहत्ते छ । तर यी सबैका बीचमा मानिसको सफलता, योग्यता, सुख र खुशीका परिभाषाहरु बजारको साँचोमा ढल्दै गएका छन् । सफलता प्राप्त गर्ने सूत्रहरुको ब्यापार दुनियाँभरि मौलाएको छ । केलाई भन्ने सफलता ? के हो खुशी ?

के हो जीवनको उत्कृष्ट प्राप्ती र योग्यता ? यस बारेमा बोल्दैनन् सफलताका व्यापारीहरु ।

उपभोक्तावादको नग्न नृत्य मानिसको जीवनमाथि यसरी सवार हुँदैछ कि अर्को मानिसलाई देख्दा एउटा भौतिक वस्तुको ठाउँमा राखेर हेर्ने प्रवृत्ति हावी भएको छ । एउटा मानिसले अर्कोलाई देख्दा उसले आफ्नो सहयात्री होइन ग्राहक या शिकार देख्छ । उपभोग्य सामाग्री देख्छ । केहि मानिसहरु यसलाई भौतिकवाद भनेर भ्रमित हुन्छन् र भ्रम सृजना गर्छन् । तर यो भौतिकवाद होइन । बरु यो त चुत्थो दर्जाको भोगवादी संस्कृति हो । जसले मानिसलाई फगत भोक्ता या भोग्य बस्तु भन्दा अर्को रहनै दिंदैन ।

भोग अपराध होइन । त्यसैगरि यो व्यवस्थाभित्र निजी सम्बन्ध र सम्पत्ति हुनु पनि अपराध होइन । बरु त्यसलाई केका निम्ति प्रयोग गर्ने त्यो मुख्य सवाल हो । जीवनको आदि र अन्तिम सत्य वस्तुभोग, व्यक्तिगत स्वार्थ र सम्पत्तिलाई ठान्नु जीवन र जगत दुबैमाथिको भयानक अपराध हो । सफलताको खोजी र सफलता गलत होइनन् । तर कस्तो सफलता ? कस्को सफलता ? के गर्नको लागि सफलता ? यी गम्भीर प्रश्नहरुको जवाफ बेगरका दौडहरु आत्मघाती साबित हुनसक्छन् ।

यतिखेरको विश्व व्यवस्था, सत्ता र त्यसले निर्माण गरेको सामाजिक मनोविज्ञान भनेको समाजकेन्द्रित होइन व्यक्ति केन्द्रित सफलता हो । सह अस्तित्व, सहकार्य र समन्वयमुखी होइन विभेदकारी औ मत्स्य न्यायमा आधारित सफलता हो । यसको अन्तर्यलाई बुझिसकेपछि यसलाई सफलताको होइन लुटपाटको प्रतिस्पर्धा भन्नु उपयुक्त हुन्छ ।

झनपछि झन वर्तमान विश्व व्यवस्थाले मानिसलाई स्वार्थी बनाउँदैछ । व्यक्तिगत इच्छापूर्तिको लागि जे पनि गर्ने बजारको कठपुतली बनाउँदैछ । तर हामीलाई यो होस्को आवश्यकता छ कि हरेक धन्दाको आफ्नो राजनीति छ र हरेक राजनीतिको पछाडि आफ्नो वर्गीय उद्धेश्य छ । व्यक्तिगत स्वतन्त्रता र रुचि भन्ने नाराको पछाडी मानिसलाई असामाजिक र बजारको दाश बनाउने ठूलो राजनीति छ ।

युवाहरुलाई अराजनीतिक र विचारहीन बनाउने ठूलो काम राजनीतिले  गरेको छ ।

किनकि मानिस सामाजिक प्राणी भएको नाताले ‘व्यक्तिगत’ मात्र भन्ने कुनै कुरा हुँदैन । हामीले सोच्ने र गर्ने हरेक काम कुराहरुको मूल्य समाजले चुकाउनु पर्छ । कल्पनातीत वस्तुहरुको आविष्कार भएको छ । तर कतिपय नैसर्गिक कुराहरुको भोकले दिनरात तड्पिएको छ मानिस । रासनपानीले ढाकिएको दुनियाँमा ऊ रासनपानीको भोको छ । तमाम पहिरन र सजावटका वस्तुहरुले झकिझकाउ बजारको बीचमा ऊ नांगै थुर–थुर काँपिरहेको छ । ऊ प्रेमको भोको छ । सुन्दरताको भोको छ । सृजना र आत्मसम्मानको भोको छ । बजारको क्रुर अमानवीय होडको बीचबाट निर्मित सम्पन्नताभित्र प्रेम, सुन्दरता, आत्मसम्मान, सृजना र मानवता सबै बिकाऊ मालमा परिणत भएका छन् । जब प्रेममा व्यापार सुरु हुन्छ, त्यो प्रेम रहँदैन । जब मानवीय विवेकको सौदाबाजी हुनथाल्छ त्यसपछि मानिस पनि मानिस रहँदैन । जब सम्बन्धहरुमा व्यापार सुरु हुन्छ ती सम्बन्धहरु मानवीय हुँदैनन् । हुँदाहुँदा सफलताहरुको चाङमाथि झुण्डिएर मानिसहरु आत्महत्या गर्न समेत उद्धत हुन्छन् ।

घुमीफिरी कसै न कसैको दाश नै बन्नुलाई स्वतन्त्रता भन्न कसरी मिल्ला ? विवेकको प्रयोगमार्फत गतिशील जिन्दगी जिउने कुराभन्दा बाहिर कतै स्वतन्त्रता भन्ने कुरा कसरी सम्भव होला ? त्यसैले आफूलाई नयाँ भन्ने नयाँ पुस्ता स्वतन्त्रता र सफलताको सवालमा भ्रमबाट मुक्त हुन आवश्यक छ । उसले साँच्चिकै वास्तविक स्वतन्त्रताको मुक्त गगनमा उडान भर्न जरुरी छ । त्यसको लागि उपभोक्तावादको मायावी जालबाट मुक्त हुनुको विकल्प छैन । बजारले निर्धारण गर्ने गरेका स्वतन्त्रताका परिभाषाहरु निकै शुक्ष्म ढंगले भयानक छन् । स्वतन्त्रताको नाउँमा मन्द विषको सेवन गराएर मानिसभित्रको मानवीय उदात्त गुणको हत्या गरिदिनु यसको विशेषता हो । तसर्थ नयाँ(स्वतन्त्र) मानिस बन्नको लागि नयाँ सर्तहरुको खोजी गर्ने समय आएको छ ।

युवा युवतीहरुको बीचमा सुन्दरता र प्रेमको नाउँमा नग्नताको व्यापार पूँजीवादले गरिरहेको छ ।

यसैलाई हामीले आधुनिकता र स्वतन्त्रता भनेर बुझिरहेका छौं । पूँजीवादी चकाचौंध र रंगीन पर्दापछाडिको दुनियाँ साँच्चिकै अंधकार छ । मानवताको निम्ति त्यो निकै घातक छ । नेपाली समाजमा त त्यो झनै विकृत भएर आएको छ । किशोर अवस्थै पार नगरी युवा युवतीहरु ‘प्रेम’ गर्न थाल्छन् । प्रेम भनेर उनीहरुलाई जे बुझाइएको छ, त्यो प्रेम नै हुँदैन । देखासिकीको भरमा उमेर नै नपुगी विवाह गर्ने क्रम रोकिएको छैन । जब कि उनीहरु पारिवारिक सम्बन्धलाई ठीक ढंगले बुझ्ने र व्यवहार गर्ने हैसियतमै पुगेका हुन्नन् । हिजो धर्म–कर्म र पाप–पुण्यको हवाला दिएर यी काम अज्ञानतावश हुन्थे भने आज देखासिकीमा हुने गरेका छन् । त्यो देखासिकीको लागि विकृत जानकारी र प्रशिक्षणले काम गरेको छ । एउटा अन्धश्विासको ठाउँ अर्को अन्धविश्वासले लिएको छ । अन्धविश्वासको थोक व्यपारको ठेक्का नै बजारले लिएको छ ।

हिजो बाध्यता र बलजफ्तीमा बेचिन्थ्यो मानिस । आज स्वेच्छाले बेचिन्छ । बेचिनुमा उसलाई कुनै हिनतवोध हुँदैन । एउटा बेचिन सफल भएकोमा गर्व गर्छ ! अर्र्को बेचिन र दाश बन्न नपाएकोमा हिनतावोध गर्छ । मानवीय प्रेमको स्थानमा भोगवादले वस्तु प्रेमलाई स्थापित गरिदिएको छ । यस्तो अवस्थामा मानिसको सफलताको एकमात्र मापदण्ड वस्तुभोगको प्राप्ती हुन जान्छ । जन्मेदेखि मृत्युसम्म वस्तुको प्रदर्शनको होडले जब ठाउँ लिन्छ यसबाट कस्को उद्धेश्य पुरा भइरहेको छ भन्ने कुरा कमैलाई थाहा हुन्छ ।

वर्तमान विश्व व्यवस्थाको उपभोक्तावादी साँस्कृतिक उद्धेश्यले समाजलाई जिवित बनाइरहेको छ्र्रैन । यसले मानिसलाई पूर्ण मानिस बन्नको लागि प्रेरित गरिरहेको छैन । यसको उद्धेश्य नै नाफा हो । बरु यसले जन्मदेखि नै मानिसभित्रको सक्कली मानिसको हत्या गर्न सुरु गर्छ । जसले गर्दा मानिसभित्र एउटा कृत्रिम मानिस हुर्किन थाल्छ । यो व्यवस्थाले बचपनदेखि नै मानिसलाई सहकार्य, समन्वय, मानवता प्रेम र संरक्षणको प्रशिक्षण गर्दैन । दिन्छ त केवल सफलता, पहिलो बन्ने र प्रतिस्पर्धाको प्रशिक्षण ।

भौतिक मृत्युको बेलासम्म मानिसभित्र पूर्णतः या अधिकांश रुपमा आत्मिक मृत्यु भैसकेको हुन्छ ।

यदि यही व्यवस्थाभित्र अपवादहरु निर्माण हुनथाले या भए भने उनीहरुलाई यो व्यवस्थाले ‘पागल’ करार गर्छ । तसर्थ समानता, स्वतन्त्रता र भाइचाराको भावना गुमाएर एउटा स्वार्थी, धूर्त, निर्दयी, क्रुर र कपटी व्यक्तित्वको निर्माण गर्न सक्नु यो व्यवस्थाको सबैभन्दा ठूलो सफलताभित्र पर्छ । मिठो, छलछामपूर्ण र धूत्र्याइँपूर्ण तालिमहरुमार्फत निर्माण गरिने सफल नायकहरु यस्तै हुन् । तसर्थ हाम्रो दायित्व भनेको अबको पुस्तालाई पूँजीवादी व्यवस्थाको चकाचौंधमय जादूको खेलबाट जोगाउनु हो ।

मानिसलाई मानिस बन्न नदिने सफलताको झूठो प्रशिक्षणबाट अबको पुस्ता मुक्त हुनैपर्छ । समाज र मानवजातिलाई बिर्सिएर भोग गरिने सफलता र स्वतन्त्रताले सफल रोबोट बन्न सक्छौं तर असल मानिस होइन । तसर्थ यो व्यवस्थाभित्र मानिस बन्नलाई सचेतन प्रयत्नकै आवश्यक छ । अबको पुस्ता विद्यमान सडेको व्यवस्थाले निर्माण गरेको भोगवादी संस्कृतिको दाश नबनेर त्यसको लाश बोक्ने पुस्ता बन्नुपर्छ । यसरी मात्र हामीले चाहेको नयाँ समाज जन्मिन सम्भव छ ।