• मंसिर ११ २०८१, मंगलवार

महिला उद्यमशीलता र आर्थिक विकास

फाल्गुन ११ २०७७, मंगलवार

ग्रामीण मात्र नभई सहरी इलाकामा समेत छरिएर रहेका ससाना रकमलाई संकलन गरी ठूलो पुँजी बनाउने कार्यमा महिला समूह सक्रिय छन् । आज हरेक समूहका नाममा स्थापित संस्थाले गर्ने कार्यलाई सहकारीका नामले पनि बढि चिनिने गरिन्छ । आमा महिला लगायतका अनेकौं नाममा खुलेका हजारौंका संख्यामा रहेका वैधानिक संस्थाबाट हाम्रो समाजमा आर्थिक क्रियाकलाप सुचारु भएको छ ।
महिला नेतृत्वको विकास पुँजीको सदुपयोग मात्र नगरी अनि सानो रकमलाई ठूलो पुँजीको रुपमा विकास गर्दै विविध व्यवसाय सञ्चालन गरेका छन् । यस्तो कार्यले रोजगारी नेतृत्व विकास बचत गर्ने बानीको विकास आपसमा सहकार्य सहयोग गर्दै समृद्ध बन्ने बाटोमा लागेका महिला वास्तवमा आर्थिक क्षेत्रको उत्थानमा महत्वपूर्ण हुन् ।

उद्यमशीलताको विकास चानचुने काम होइन । त्यसकै लागि राज्यले करोडौं खर्च समेत गर्ने गरेकै छ । सीप विकासका लागि ग्रामीण क्षेत्र प्राथमिकतामा राखिने भएकाले पनि ग्रामीण क्षेत्रमा महिला विकासका अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन र स्रोतको परिचालन गर्दै अनेकौं सरकारी तथा गैरसरकारी कार्यालयबाट कार्यक्रम सञ्चालन गरिएका हुन्छन् । आफ्नो वरपर भएका स्थानीय तहभित्रका साधन स्रोतको परिचालन गर्दै अनेकौं व्यवसाय सञ्चालनमा आएका छन् । व्यवसायले अन्तत नाफा प्राप्त गरी आर्थिक रुपले सवल बन्ने प्रक्रियाको आधार निर्माण गर्छ ।

तितौरा, आलुचिप्स, सेनेटरीप्याड, दालमोठ, मैनबत्ति, साबुन, बुनाइ, सिलाइ लगायत सयौं प्रकारका सीपमूलक व्यवसायले महिला सशक्तिकरणमा पनि टेवा पुराएको हुन्छ । वास्तवमा घरायसी काम गरेर पनि समय निकाल्दै मासिक बैठक व्याज तथा साँवा फिर्ता संकलन गरी व्यवस्थित र उत्पादनमुखी कार्यमा लगाउने कार्य आफैमा चुनौतीपूर्ण हुँदैछ ।

पुरुष प्रधान समाजमा महिला घरबाहिर निस्किएर आआफ्ना व्यवसायमा संलग्न र सक्रिय रहँदै जीविकोपार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हरहिसाबले सकरात्मक र आर्थिक विकासका लागि ज्यादै प्रशंसायोग्य कार्य पनि हो ।

आफूलाई केही रकम आवश्यक पर्दा तत्कालै लिन पाइने घरमा आवश्यक पर्ने दैनिकी खर्चको जोहो हुन्छ । बालबालिकाले पढ्न लेख्नका लागि कापी, कलम र किताब आदिको प्रयोगमा समूहको नियमानुसार लिई त्यसलाई दुईवटा मात्र उन्नत जातका बाख्रापाठी खरिद गरेर पाल्दा एक वर्षमा एकडेढ लाख बनाउने महिला असंख्य भेटिन्छन् । कृषि र व्यवसाय एउटै सिक्काका दुईपाटा हुन भन्ने बुझेर पनि हामी त्यसलाई स्वीकार गरिरहेका छैनौं । यी तीनवटा पक्ष हरेक उत्पादन गर्ने संस्थाहरुले ख्याल गरेका हुन्छन् । समाजको विशेषता नै परिवर्तनशीलता भएकाले अपेक्षा पनि बदलिन्छन् । समाजमा नवीन परिवेशको सिर्जना हुन्छ । मानवले पनि परिवेश अनुकूलका आवश्यकता पूरा गर्न चाहन्छन् ।

हाम्रो समाजमा रहेका आर्थिक अवस्थाको नियन्त्रण नियमित र निर्देशित गर्नका लागि पनि आर्थिक संस्था गठन गरिएका हुन्छन् । प्रत्येक आर्थिक संस्थामा निश्चित पद्धति, सिद्धान्त, व्यवहार र आदर्शहरु रहन्छन् । यसैबाट समाजमा आर्थिक व्यवहार हुने गर्छन् । आय आर्जनको लागि काम गर्ने संस्था पनि औपचारिक र अनौपचापरिक हुन्छन् । सामान्यतया अनौपचारिक संस्था भन्नाले घर परिवारमा गरिने कार्यलाई बुभिन्छ । जहाँ कार्य गरेबापत ज्याला वा पारिश्रमिक पाइँदैन । औपचारिक भन्नाले बैंक तथा वित्तिय संस्था सरकारी तथा गैरसरकारी कार्यहरु पर्छन् । यस्ता संस्थामा काम गरेपछि निश्चित रकम बोनस तथा सञ्चय कोषजस्ता विविध शीर्षकमा सुविधा र पारिश्रमिक पाइन्छ ।

सरल ढंगले बुझ्ने हो भने पनि सामुहिक कार्य आफैमा प्रभावकारी र हरेकले जिम्मेवारीबोध गर्ने हुन्छ । त्यसैले साझेदारी व्यवसाय फुटाउने गरेका दृष्टान्त पर्याप्त पाइन्छन् । राज्यले पनि विभिन्न क्षेत्र साझेदारी कार्यक्रममार्फत् कार्यहरु गरेका छन् । वन र वातावरण संरक्षणमा संघ र केन्द्र, प्रदेश र स्थानीय तहमा कार्य हुने गरेका छन् । हामी हाल चौधौ योजना समाप्त गरी पन्ध्रौ योजनाका उत्तरार्धतिर लम्किरहेका छौं । योजनाका साथ गरिने कार्य प्रभावकारी नतिजामुखी र निश्चित समय मात्र चल्ने हुन्छन् । संयुक्त राष्ट्रसंघको महासभाबाट सर्वसम्मत रुपमा सन् १९३० सम्म हासिल गरिसक्ने प्रतिवद्धता गरिएका दिगोविकासका लक्ष्यहरु पनि निर्धारण गरिएका छन् ।

वर्तमान समयमा प्रादेशिक र स्थानीय तहसम्म विकास व्यवस्थापनको क्षमता बढाउँदै सबै तहमा जवाफदेही स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु महत्वपूर्ण रणनीतिको रुपमा रहेको छ । यसलाई कार्यान्वयन गर्न सकियो भने आर्थिक बृद्धिदर सोचेको भन्दा बढि भै समग्रमा गरिबी निवारण गर्न सहयोग पुग्छ । महिलाबाट सञ्चालित सबै संस्थामा स्थानिय देखि संघसंस्थाले उत्प्रेरणा जगाउने कार्य गर्नुपर्छ ।

सामाजिक न्यायसहितको लोक कल्याणकारी राज्य भनेर परिचित हाम्रो देशमा गरिबीको निवारणमा क्रमिक रुपले प्रर्याप्त काम गर्नुपर्ने देखिन्छ । जुन कामका लागि स्थानीय स्तरमा महिला सहभागिता महिला शक्तिकरण र महिला नेतृत्वका साथ आर्थिक सबलता हासिल गर्नुपर्छ । जसका लागि हक अधिकार समाज संस्कृति, मूल्य, मान्यता र परिवेश सबै तत्वलाई गंभिरतापूर्वक मनन गरी आयआर्जन रोजगारी र पुँजी सङ्कलनमा जोड दिनुपर्छ ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत् कार्यक्रम सञ्चालन भएको पनि दुई दशक बितिसक्यो । अझै पनि समाजमा महिला भनेका दोस्रो दर्जाको नागरिक हुन् भनेर भन्ने सोच प्रभावकारी नै छ । शिक्षित सीपयुक्त र दक्ष जनशक्तिको रुपमा वित्तिय संस्था विश्वविद्यालय र विद्यालय लगायत निजी क्षेत्रका अधिकांश कार्यालयमा महिलाको उपस्थिति बृद्धि भएको देखिन्छ । मूलतः आरक्षण र समावेशिताको सिद्धान्तलाई अंगीकार गरेपछि महिलाको सहभागिता विकासका क्षेत्रदेखि अन्य स्वास्थ्य, शिक्षा, वित्तिय संस्थामा बढेर गएको देखिन्छ । मानवलाई सर्वप्रथम आर्थिक रुपमा सबल बनाउनुपर्ने हुन्छ ।

आर्थिक रुपले सक्षम भएपछि मात्र अन्य क्षेत्रमा जाने मार्ग सुगम बन्ने रहेछ । त्यसैले, आर्थिक पक्ष बलियो बनाउनका लागि छरिएर रहेका नगदलाई संकलन गरी उत्पादनका क्षेत्रमा आफ्नै समाजमा रहेका सीपको उपयोगबाट आय आर्जन गर्न सकिएकाले नै सहकारी फष्टाउँदै गएको हो । आर्थिक हिसाबमा मजबुत भएपछि शिक्षा, स्वास्थ्य, सञ्चार, पोषण लगायतका सबै क्षेत्रमा सहज पहुँच पुग्छ । सामान्य कार्यका लागि पनि ठूलो रकम खर्चनुपर्ने अवस्था छ । एकजना श्रमिकको ज्याला हजारदेखि पन्ध्र सयसम्मलाई न्यूतम भन्नुपर्ने भएको छ । घर निर्माण प्लम्बिङ, वायरिङ, पेन्टिङ लगायतका कार्यमा पनि पर्याप्त आर्जन गर्न सकिन्छ ।

अल्पकालिन सीपबाट व्यक्ति दक्ष बनेर आफ्नै समुदायमा सहजै रोजगारी प्राप्त गर्न सकिन्छ । सामान्यता एकदिन धान चुट्ने कामका लागि प्रतिव्यक्ति हजारदेखि पन्ध्र सय भन्ने गरिन्छ । त्यसमा खाजा, चिया, चुरोटसमेत जोडिन्छ । यसरी हेर्दा कम्तीमा दुई हजार श्रम गरे बापत लिने अवस्था हाल रहेको छ । कृषिमा अल्पकालिन रोजगारी मात्रै प्राप्त हुने भएकाले पनि अवसरको लाभ लिने गरिन्छ । अर्थव्यवस्था अथवा आर्थिक अवस्थाले हाम्रो समाजको सामाजिक सांस्कृतिक सम्बन्धमा समेत परिवर्तन ल्याउँछ ।

चर्चित समाजशास्त्री तथा दार्शनिक कार्ल माक्र्सले पनि आर्थिक पक्षलाई सामाजिक क्रियाको केन्द्रबिन्दु मान्छन् ।

हाम्रो समाजमा आर्थिक संस्था अनेकौं छन् । हरेक संस्थाका आआफ्नै उद्देश्य र कार्य हुने नै भयो । आर्थिक संस्थाले मुलभूत रुपमा तीनवटा पक्षलाई महत्व दिएका हुन्छन् । प्रथम भनेको केकस्ता वस्तु तथा सेवाको कुन मात्रामा उत्पादन गर्ने भन्ने विषय हो । दोस्रो समाजमा रहेका प्राकृतिक स्रोतसाधनलाई के कसरी अपेक्षित वस्तु तथा सेवाको उत्पादनमा लगाउन सकिन्छ भन्ने र तेस्रो कसका लागि वस्तु तथा सेवाको उत्पादन गर्ने भन्ने हो ।

महिला समूह वा संगठन मिलेर गर्न सकिने विविध क्षेत्र छन् । रोजगारी सिर्जना शिक्षा स्वास्थ्य सरसफाई खानेपानी फोहर व्यवस्थापन कृषिजन्य उत्पादन त्यसको बजारीकरण भण्डारण प्रशोधन लगायतका धेरै कार्य पर्छन् । यी सबैबाट रोजगारी प्राप्त भई आय आर्जनका साथै वातावरणको संरक्षण नेतृत्वको विकास स्वस्थ्य जीवनयापन शिक्षित व्यक्तित्व जस्ता मानवका चौतर्फी विकासमा टेवा अवश्य नै पुग्छ । सीप विकासबाट स्वरोजगार बन्दै व्यस्त जीवन व्यतित अनि आफ्ना साथीलाई समेत उत्प्रेरित गरी थप रोजगारी र आय आर्जनका कार्य सहजै गर्न सकिन्छ ।

स्वेटर बुन्ने कपडा सिलाउने घर सजावटका सामग्री बनाउने कागजका चित्रकलामा रंग भर्ने थाङ्का, पौभा, मिथिला लगायतका अनेकौ कलाका माध्यमले रोजगारी बनेर मनग्यै आम्दानी गर्न टाढा जान र ठूलो लगानीको खाँचो पर्दैन । काम गर्ने जाँगर र सीप मात्र हुनुपर्छ घर घरमा रोजगारी स्वयम् सिर्जना गर्न सकिन्छ । अर्काको भरमा परेर अनेकौं प्रक्रिया र दुर्वचन सहनु भन्दा स्वरोजगार बन्नु उत्तम देखिन्छ ।