सौगात भट्टराई । कोरोना प्रकोपको सुरूआतसँगै नेपाल सरकारको निर्देशन बमोजिम ठप्प रहेको अन्तर्राष्ट्रिय नाका कोरोना प्रकोपको क्रमशः कमीसँगै खुल्दै गएका छन् । यसै बिच धेरै ठाउँका भारतीय नाकाहरू खुला हुँदै गएका छन् । विराटनगरको जोगवनी नाकासमेत खुल्ला भएको भनी जानकारी आएसँगै म पनि सीमावर्ती नाका जोगवनी गएँ ।
सीमा छेउमै पुगेपछि मात्र थाहा भयो, जोगवनी नाका खुलेको छैन । जोगवनी नाका नखुलेको भनिए पनि मानिसको दोहोरो लर्को जारी थियो । ती मानिसकै पछिपछि लागेर आफू पनि लागें । जोगवनी नाकादेखि पश्चिमपट्टि खुला चौरको एक कुनामा टिनले बारेको बारलाई काटेर वारीपारी गर्न मिल्ने बनाइएको रहेछ भने टिनको बारकै छेउमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी तैनाथ रहेछन् ।
जतिजति मानिस त्यो बाटोबाट ओहरदोहर गरिरहन्थे, त्यसैसँगै त्यो बारेको ठाउँको छेउबाट अज्ञात व्यक्तिले दिसासहितको शौचालयको फोहोर पानी छ्यापिरहेका थिए । जतिजति फोहोर पानी छ्यापिन्थ्यो उतिउति सशस्त्र प्रहरी रमाएर हाँसिरहेको विचित्रको दृश्य देखिन्थ्यो । म पनि त्यसकै साक्षी बन्न पुगें । केही पर्तिरबाट समेत मानिस अगाडी गइरहेको देख्दा त्यतै लागें ।
प्रहरीले नै यताबाट जानुस् भनेर बाटो देखाइरहेको समेत देखें । बिना रोकटोक जोगवनी नाका प्रवेश गर्न सकिन्थ्यो । जोगवनी भित्रबाट नेपाल तर्फको क्षेत्र हेर्दा भन्सार अघिल्तिर मात्र शान्त थियो भने आउने जाने व्यक्तिको दोहोरो लर्को केही मिटर पर्तिरबाटै कायम थियो ।
निस्कने हरेक गौंडामा प्रहरी प्रशासनको उपस्थिति देखिन्थ्यो, तर कुनै किसिमको चेकजाँच थिएन । यसरी मुख्य नाका बन्द गरेर चोरबाटोलाई प्रशासनले नै प्रशय दिँदा नेपाल सरकारको विधिवत उठ्ने राजश्व त गुमेको छ नै । साथसाथै, यससँगै सीमाबाट हात्ती नै प्रवेश गरे पनि कुनै किसिमको खोजखबर नहुने पाएँ । यसबाट देशमा अवाञ्चछित गतिविधि हुन सक्ने खतरा कायमै देखिन्छ ।
सरकारका प्रतिनिधि अमानवीय रूपमा शौचालयको फोहोर पानीले ओहरदोहर गर्ने उपर छ्यापिरहँदा हाँस्दै रमिता हेरिरहनु, सिमानाकाबाट खुला ओहरदहर गर्न दिनु र मालसामानको चेकजाँच नगर्नु, औपचारिक नाका बन्द पारी देशको मुख्य आर्थिक स्रोत भन्सार असुली ठप्प पार्नु निकै चिन्ताको विषय होइन र ?
निर्वाध चोरी र तस्करीलाई प्रशय दिँदा देश आर्थिक रूपमा कमजोर हुनुका साथसाथै सुरक्षा जटिलता थपिनेमा दुईमत नहोला ।
जिल्ला प्रशासन मोरङ, गृह मन्त्रालय, अर्थ मन्त्रालय र सरोकार राख्ने सम्पूर्ण निकायले कि त नाका खुलाउने अथवा पूर्णरूपमा नाका बन्द गर्ने तर्फ अग्रसर हुनुपर्छ । अन्यथा, भोलि आइपर्ने समस्याको जिम्मा लिने अवस्थातर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।
(भट्टराई विराटनगर महानगरपालिका, मोरङ निवासी हुन्।)